नेपालगन्ज, फागुन २९ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न युवासंघ, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूले न्यायको माग गर्दै पम्प्लेटसहित र्याली निकाल्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
इनिसा गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । उनी उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । शनिबार बिहान ६ बजे प्रयोगात्मक कक्षामा शिक्षकले बोलाएको भन्दै उनी घरबाट विद्यालयतर्फ हिँडेकी थिइन् । तर केही समयपछि उनको मोबाइल बन्द भएपछि परिवार चिन्तित बनेको थियो ।
इनिसाकी आमा तिला विकले बिहान ८ बजेतिर फोन गर्दा मोबाइल स्वीच अफ थियो । विद्यालयमा बुझ्दा उनी त्यहाँ नपुगेको जानकारी पाएपछि परिवार थप चिन्तित भएको थियो । त्यसैबीच एक अपरिचित व्यक्तिले फोन गरेर सहिदपार्क नजिकको जंगलमा इनिसा अचेत अवस्थामा रहेको जानकारी दिएपछि आमा घटनास्थल पुगेकी थिइन् ।
परिवारका अनुसार घटनास्थलमा इनिसा रक्ताम्मे अवस्थामा अचेत थिइन् । उनको कपाल लुछिएको, जुत्ता र मोजा अलग–अलग परेको तथा शरीरमा कपडा नभएको अवस्थामा फेला परेको थियो । तत्काल खबर पाएर पुगेको प्रहरीले उनलाई उद्दार गरी वीरेन्द्रनगर–४ स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
प्रहरीले घटनास्थलबाट वीरेन्द्रनगर–९ का १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ भने अनुसन्धानका क्रममा थप तीन जना बालकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख छ । तर पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । मानवअधिकारसम्बद्ध संघसंस्थाले पनि घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।





















