काठमाडौं , चैत १० गते नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव पार्टी सभापति गगन थापाले प्रस्तुत गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सभापति थापाले महाधिवेशन भदौ २४, २५ र २६ गते काठमाडौंमा गर्ने प्रस्ताव पेस गरेका हुन्।
सभापति थापाले क्रियाशील सदस्यता वितरण र अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गर्ने योजना पनि पेश गरेका छन्। उनले चैत २१ गतेदेखि चैत मसान्तसम्म विशेष अभियान सञ्चालन गर्ने, र वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरेका छन्।
थापाका अनुसार जेठ मसान्तसम्म सबै सदस्यता विवरण केन्द्रमा पठाइनेछ भने असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी गर्नुपर्नेछ।
उनले विशेष महाधिवेशनबाट आएको टिमले गरेको काम र निर्वाचन प्रक्रियाको समीक्षा गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। यस क्रममा पार्टीको संगठन सुदृढ गर्ने र आगामी निर्वाचनका लागि रणनीति तय गर्ने विषयमा समेत छलफल हुने देखिन्छ।
पार्टी भित्रको सदस्यता वितरण, अद्यावधिक र विशेष महाधिवेशनको तयारीले नेपाली कांग्रेसको संगठनात्मक मजबुती र नेतृत्व व्यवस्थापनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।





















