२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

बाँके,  नेपालगन्ज उपमहानगरपालिका–४ बाइपास क्षेत्रबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । आइतबार साँझ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने ५ ग्राम ३ सय ३० मिलिग्राम पदार्थ र नियन्त्रित लागूऔषध स्पास्मो २८ ट्याब्लेट बरामद गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का २५ वर्षीय सबिन विष्ट र सोही नगरपालिका–६ का २३ वर्षीय समिर थापा रहेका छन् । बाइपास क्षेत्रमा शंका लागेर चेकजाँचका क्रममा प्रहरीले उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारेको बताइएको छ ।

उनीहरूविरुद्ध आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

सुर्खेत, मंसिर ३, कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा छलफल भएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो ।

सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताए । सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विषेशज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाए ।
उनले भने, ‘सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र करारकालाई स्थानीय तहसम्म परिचालन गरेपनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल छ ।’ उनका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनमा बजेट स्रोत घटिरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएको स्वीकारे ।

प्रदेश सरकारद्वारा स्वीकृत १५० शैया भएपनि हाल ३०० शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको र विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरे पनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।

प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले विशेषज्ञ चिकित्सकको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको जानकारी दिए ।
उनले चार/पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकताअनुसार विद्युत् आपूर्ति हुन नसकेको गुनासो गरे। समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषयका सम्बन्धमा छलफल भएको जानकारी दिए ।

नेपालगन्ज, मंसिर १,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।

जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोही बमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदान स्थलहरुको स्थलगत अनुगमन निरीक्षण सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

उनले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचन सुरक्षा प्रशासन र प्रहरीको जिम्मेवारी भएकाले निर्वाचनका बेला खटाउनुपर्ने सुरक्षाकर्मीको संख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रष्ट पारे ।

उनले हालसम्म नरैैनापुर, राप्तीसोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेर अवस्था बुझ्ने कार्य भएको र सो क्रम जारी रहेको बताए । मतदानस्थल र मतदान केन्द्रको अवस्था तथा संवेदनशीलताका सम्बन्धमा विस्तृत जानकारी अध्ययन गरेर प्रतिवेदन दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल गठन गरिएको प्रजिअ तामाङ्ले बताए ।

कार्यदलको प्रतिवेदनलाई हेरेर सुरक्षा रणनीति र योजना तयार गरिने पनि उनले जनाए । उता, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लाका सुरक्षा प्रमुखहरुले फिल्डमा गएर मतदान केन्द्र र स्थलको अनुगमन गरिरहेको बताए ।

उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार चुनावको बेला सुरक्षाकर्मी परिचालन गरिने बताए । मतदानस्थल र मतदान केन्द्रको स्थलगत अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख जिसीसँगै राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी बाँके बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालको सहभागिता छ । निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरेको छ ।

राप्तीसोनारी, मंसिर ३, राप्तीसोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एकजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बिहान सवा ७ बजे कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस अगैया बजारमा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर मोटरसाइकल चालक जिल्ला कञ्चनपुर पुर्नवास गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्ने वर्ष ४४ का कृष्ण घर्ती क्षेत्री घाइते भई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक र बसलाई नियन्त्रणमा लिएर अगैयास्थित प्रहरी चौकीमा राखिएको जनाउँदै मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमै राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगन्ज, मंसिर ३,  फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा बाँकेमा दुई भिन्न तस्वीर देखिन थालेका छन् । एकातिर सरकारले मतदाता संकलनदेखि मतदान केन्द्र निर्धारण, सुरक्षा अनुगमनदेखि प्रशासनिक तयारीसम्म सबै कामलाई तीव्ररूपमा अघि बढाइरहेको छ भने अर्कोतिर राजनीतिक दलहरू सुस्त देखिनुका साथै सर्वसाधारण मतदातामाझ अझै पनि चुनाव हुने या नहुने अन्योल छ । तयारीको गतिमा देखिएको यो विरोधाभासले जिल्लाभर एक किसिमको अनिश्चितता फैलिएको महसुस भएको छ ।
बाँकेका सुरक्षा अधिकारीहरूले जिल्लाभरका मतदानस्थल र मतदान केन्द्रहरूको स्थलगत निरीक्षणलाई तीव्र बनाएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा सुरक्षा अवस्था कस्तो हुन सक्छ भन्ने आँकलनका साथै स्थानीय सुरक्षा रणनीति बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ आफैँ अग्रसर भएर सबै मतदानस्थलको अध्ययनमा जुटेका छन् । उनले निर्वाचनमा शान्ति–सुरक्षाको पाटोलाई नै सबैभन्दा महŒवपूर्ण बताउँदै कुनै पनि अवस्थामा सुरक्षा कमजोरी हुन नदिने उद्देश्यले अधिकारीहरूको टोलीलाई किसान, बस्तीका बाटा, विद्यालय क्षेत्र र पहुँचबिनाका क्षेत्रसम्म पुर्‍याइएको जानकारी दिए । तामाङका अनुसार हालसम्म नरैनापुर, राप्तीसोनारी, खजुरा र डुडुवा गाउँपालिकाका धेरै मतदान स्थलहरूको अध्ययन पूरा भइसकेको छ र बाँकी पालिकाहरूमा पनि यही गतिमा अनुगमन जारी छ ।

स्थानीय सुरक्षा रणनीति झनै प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक विशेष कार्यदल गठन गरिएको छ, जसले मतदानस्थल तथा केन्द्रहरूको भौतिक पूर्वाधार, सुरक्षाका खतरा, संवेदनशीलता र आवश्यकताअनुसारका पूर्वतयारीबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ । यही प्रतिवेदनका आधारमा अन्तिम सुरक्षा योजना तयार गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन् । उता जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गर्दै प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू संयुक्तरूपमा फिल्डमा खटिएको उल्लेख गरे । जिसीका अनुसार मतदान केन्द्रहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिँदै छ र त्यही आधारमा निर्वाचनका दिन सुरक्षाकर्मीको परिचालन व्यवस्थापन गरिनेछ ।

यसरी एकजुट भएर अनुगमनमा खटिएको टोलीमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख अंगुर जिसी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी बागेश्वरी गणका प्रमुख शोभाकान्त खनाल सहभागी छन् । निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरिसकेको छ, जसको प्रभावकारी व्यवस्थापन गर्न सुरक्षातथा प्रशासनिक संयन्त्र निरन्तर फिल्डमै व्यस्त छन ।

जिल्लामा मतदाता नामावलीमा नाम दर्ता, मतदान केन्द्र अनुगमन भइरहेको जिल्ला निर्वाचिन अधिकारी टेकबहादुर शाहीले बताए । निर्वाचनका गतिविधिहरु जिल्लामा जारी रहेको उनी बताउँछन् । तर सरकारले चुनावका लागि आवश्यक पूर्वाधारमा तीव्रता देखाइरहे पनि मतदाताको मनोविज्ञान पूर्णरूपमा फरक छ । स्थानीय बासिन्दामा अहिले पनि चुनाव होलानहोला भन्ने अनिश्चितता छ । विगत वर्षहरूमा पटकपटक मिति परिमार्जन हुनुपरेको अनुभव, राजनीतिक दलहरूबीचको अविश्वास, गठबन्धन–विघटनको चक्र र स्थिरताहीन राजनीतिले सर्वसाधारणमा चुनावको विश्वसनीयता नै कमजोर बनाइदिएको छ । चुनाव नजिकिँदा सामान्यतया टोल–बस्तीमा देखिने राजनीतिक चहलपहल, पार्टीका झण्डा, घरदैलो अभियान, भेला तथा छलफलजस्ता गतिविधि यसपटक भने कहिँकतै देखिएका छैनन् । यसले मतदाताको अन्योललाई झनै गहिरो बनाइदिएको छ ।

राजनीतिक दलहरूको तर्फबाट पनि चुनावी वातावरण बनाउनुपर्ने बेला सुस्तता नै हाबी छ । प्रमुख दल नेपाली कांग्रेस स्वयम् आफ्नो आन्तरिक संघर्षमै उल्झिएको छ । गुट–उपगुटबीचको रस्साकस्सी, पार्टी महाधिवेशनको चटारो र नेतृत्व समायोजनका बहसले कांग्रेसको ध्यान चुनावी तयारीतर्फ मोड्न दिएको छैन । कांग्रेसका धेरैजसो नेता सभापति समूह, गगन समूह, शेखर पक्ष र विभिन्न स्थानीय गुटगत समूहमाझ शक्ति सन्तुलन मिलाउने प्रतिस्पर्धामा व्यस्त छन् । यसले पार्टीको चुनावी म्यान्डेटभित्र प्रवेश गर्ने क्षमता कमजोर बनाएको देखिन्छ ।

नेकपा एमालेतर्फ हेर्दा स्थिति अझै फरक छ । एमालेले स्पष्टरूपमा संसद् पुनर्स्थापनाको माग अघि सारेको छ र चुनावभन्दा पहिले राजनीतिक स्थायित्व र संवैधानिक प्रक्रियाको बहाली अनिवार्य रहेको दाबी गर्दै आएको छ । स्थानीय स्तरका एमाले नेताहरूले समेत पुनर्स्थापना नभएसम्म चुनाव हुने अवस्था नरहेको दाबी गर्दै आएका छन् । एमालेको यो राजनीतिक अडानले जिल्लामा मात्र होइन, मुलुकभरकै चुनावी माहोलमा असर पारेको छ । बाँकेमा एमालेका नेता तथा कार्यकर्ताहरू खुलेआम चुनावी अभियानमा उत्रिनुभन्दा पनि आफ्नो पार्टीको केन्द्रिक नीति व्याख्या र प्रचारमा केन्द्रित देखिन्छन् ।

त्यस्तै, माओवादी केन्द्रभित्र पनि स्पष्ट चुनावी गतिशीलता देखिँदैन । पार्टी संघीय राजनीतिक समायोजन, आन्तरिक गठबन्धन, संगठन पुनर्संरचना र नेतृत्व समन्वयका बहसमा व्यस्त छ । कुनैले पनि खुला सभादेखि घरदैलो अभियानसम्मका सक्रिय कार्यक्रम सञ्चालन गरेको देखिँदैन । राजनीतिक दलहरूको यस्तो मौन अभियानले सर्वसाधारणमा एक किसिमको राजनीतिक असुरक्षा र भ्रम फैलाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता नरेन्द्र न्यौपानेले चुनाव भने नै अब ‘अनिवार्य’ भइसकेको धारणा राखेका छन् । उनी भन्छन्, ‘पछिल्लो राजनीतिक परिस्थिति हेर्दा जनताले नै ताजा जनादेश खोजिरहेका छन् र त्यसैले पनि निर्वाचन अपरिहार्य हुन्छ ।’ उनको भनाइमा पार्टीभित्र अहिले एकता प्रक्रियाले प्राथमिकता पाएको हुँदा बाहिर देखिने गतिविधि कम देखिएको मात्र हो, १७ गतेसम्म सबै संगठनात्मक समायोजन पूरा भएपछि चुनावमूलक कार्यक्रमहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनेछन् । उनको विश्वास अनुसार निर्वाचन अब कुनै न कुनै रूपमा सम्पन्न हुने निश्चित छ ।

तर राजनीतिक विश्लेषक जनार्दन आचार्य भने यति आशावादी छैनन् । उनी अहिलेका पुराना दलहरू जनतामाझ गुमाएको विश्वास पुनःस्थापित गर्न सक्षम नरहेको बताउँछन् । उनका अनुसार दलहरू जनताको भरोसा गुमाएको र नयाँ राजनीतिक विकल्पप्रति मतदाताको चासो बढिरहेको अवस्थामा उनीहरू आफैँ चुनावमा जान इच्छुक नहुन सक्छन् । आचार्य भन्छन्, ‘दलहरू स्वविवेकले होइन, सधैंजसो बाहिरी शक्ति र बैसाखीको सहारामा चल्ने बानीले गर्दा राजनीतिक सन्तुलन बिग्रिएको छ र यही अवस्थाले निर्वाचन मिति नै प्रभावमा पार्न सक्छ । चुनावी वातावरण तयार हुन नसकेसम्म निर्वाचन हुने विश्वास गर्न नसकिने उनको निष्कर्ष छ ।

यता स्थानीय नागरिकहरू चुनावी माहोल नबनेको विषयमा चिन्तित देखिन्छन् । उनीहरूका अनुसार हरेक चुनावपछिको बस्तीमा हुने भेटघाट, टोलभेला, चुनावी बहस, नाराबाजी र उम्मेदवारहरूको दौडधूप नै चुनावको संकेत हो । तर यसपटक त्यो वातावरण कुनै कोणबाट पनि देखिँदैन । खजुरा, कोहलपुर, डुडुवा, नरैनापुरजस्ता स्थानहरूमा सामान्यतया चुनावपछिको गतिविधिमा सहभागी हुने युवाहरू अहिले राजनीतिकरूपमा निष्क्रिय र अनिश्चिततामा देखिन्छन् । उनीहरूका भनाइमा चुनाव हुने विश्वास भएमात्र वातावरण बन्ने हो, तर अहिले पार्टीहरूकै गतिविधि सुस्त हुँदा मतदातामा पनि उत्साह जगाउन नसकेको छ ।

यसैबीच निर्वाचन आयोग भने आफ्नो तयारीलाई निरन्तर अगाडि बढाइरहेको छ । मतदाता नामावली अद्यावधिकसम्मका कामहरू प्रक्रियागत रूपमा भइरहेका छन् । आयोगले आफ्नो सीमाभित्रका सबै दायित्व पूरा भइरहेको बताइरहे पनि दलहरूको निष्क्रियता र मतदाताको अन्योलले आयोगको प्रयासलाई व्यवहारमा रुपान्तरण भइरहेको अनुभूति भने जनताले गर्न सकेका छैनन् ।

समग्रतः बाँकेमा अहिले देखिएको वातावरणले एउटा महŒवपूर्ण सन्देश दिन्छ, ‘सरकार, प्रशासन र सुरक्षा संयन्त्र पूर्णरूपमा चुनावकेन्द्रित रहेका छन् तर राजनीतिक दल र मतदाता भने मनोवैज्ञानिक रूपमा अझै स्पष्ट अवस्था पुगेका छैनन् ।’ दलहरू आन्तरिक व्यवस्थापनमै अल्झिँदा जनतामा चुनावप्रतिको भरोसा कमजोर छ । यता सरकार र आयोगको तयारीले भने चुनाव हुने संकेत दिइरहेछ । यही दोधारमै बाँकेको चुनावी यात्रा अहिले अघि बढिरहेको छ तयारीका गडगडाहटले भरिएको प्रशासनिक पाटो र मौनताले छाएको राजनीतिक पाटोबीच । मतदाताले चाहेको स्पष्टता अझै पाएका छैनन्, तर निर्वाचनको घडी भने दिनदिनै नजिकिँदै छ ।

राँझा ,बाँके मंसिर ३,  नेपालगन्ज–बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ ।
करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताए । पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उनले विश्वास व्यक्त गरे ।

उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उनले आगामी असारभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको जानकारी दिए ।
सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो । विसं २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

पुलको लागत भ्याटसहित रु एक अर्ब १९ करोड रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए । करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।