कोहलपुर, असोज २ कोहलपुरस्थित जिल्ला सैनिक बोर्ड (डीएसबी) परिसरमा भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका आश्रित परिवारलाई लक्षित गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा आएको छ । नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी (डिफेन्स एट्याची) कर्णेल भि. सुब्रमण्यमले विशेष समारोहबीच पोलिक्लिनिकको औपचारिक उद्घाटन गरेका हुन् ।
भूतपूर्व इकाई समितिका अध्यक्ष क्याप्टेन कुमारबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कर्णेल सुब्रमण्यमले स्वास्थ्यलाई सबैभन्दा ठूलो सम्पत्तिका रूपमा उल्लेख गर्दै बाँके तथा आसपासका क्षेत्रमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिक र उनीहरूका परिवारलाई पोलिक्लिनिकबाट उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न आग्रह गरे । पोलिक्लिनिकमार्फत भूतपूर्व सैनिक तथा आश्रित परिवारले स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श र उपचार सेवा प्राप्त गर्नेछन् । सञ्चालनमा आएपछि यहाँ दैनिक करिब एक सयको हाराहारीमा भूतपूर्व सैनिक उपचारका लागि आउने गरेका छन् ।
कार्यक्रममा कर्णेल सुब्रमण्यमले भूतपूर्व सैनिकले भोग्दै आएका पेन्सन व्यवस्थापन, कागजी प्रक्रिया तथा अन्य प्रशासनिक समस्याबारे समेत चासो व्यक्त गरे । उनले पेन्सन र आवश्यक कागजातसम्बन्धी प्रक्रियालाई प्रविधिमैत्री, सहज र छरितो बनाउने विषयमा पहल भइरहेको बताए । देश र संगठनका लागि लामो समय योगदान गरेका भूतपूर्व सैनिकको हित, सम्मान र समस्याको समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा सहभागी भूतपूर्व सैनिकहरूले स्वास्थ्य उपचारसँगै पेन्सन, औषधि, कागजात तथा प्रशासनिक कामका क्रममा भोग्नुपरेका समस्या र गुनासा रक्षा सहचरीसमक्ष राखेका थिए । कार्यक्रममा उनीहरूले पोलिक्लिनिक सञ्चालनले कोहलपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने भूतपूर्व सैनिक र उनीहरूका परिवारलाई स्वास्थ्य सेवा लिन सहज हुने बताएका थिए । औपचारिक उद्घाटनपछि भूतपूर्व सैनिकबीचको आपसी भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले परम्परागत ‘बडा खाना’ अर्थात् सामूहिक प्रीतिभोजसमेत आयोजना गरिएको थियो ।

महासचिव खड्ग रजाली मगरले सञ्चालन गरेको कार्यक्रममा जिल्लाभरिका उल्लेख्य संख्यामा भारतीय भूतपूर्व सैनिक, वीर नारी तथा परिवारजनको सहभागिता थियो । पोलिक्लिनिक सञ्चालनमा आएपछि उपचार सेवा लिन आउने भूतपूर्व सैनिकको संख्या दैनिक बढिरहेको समितिले जनाएको छ ।
















