
केही वर्षअघिसम्म बजार अभाव, ढुवानी कठिनाइ र लगानी जोखिमका कारण रैथाने बाली खेती घट्दो अवस्थामा थियो । तर अहिले व्यापारीको पहुँच र किसानको बढ्दो आत्मविश्वासले सोरु गाउँपालिकामा रैथाने बाली खेतीप्रति आकर्षण बढेको गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।
कोहलपुर, मंसिर २२ मुगुको सोरु गाउँपालिकाबाट यो वर्ष ६५ टन रैथाने बाली बाहिरी बजारमा निर्यात गरिएको छ । सीमित सुविधा र कठिन भौगोलिक अवस्थाबीच परम्परागत रूपमा खेती गर्दै आएका स्थानीय किसानका घरमै पुगेर व्यापारीहरूले सिमी, चिनो, कागुनो, लट्टे, कोदोलगायतका बाली संकलन गरिरहेका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुगुले आर्थिक वर्ष ०८२/८३ मा स्वीकृत कार्यक्रमअनुसार मुगु–नेपालगन्ज ढुवानीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यही अनुदानका कारण व्यापारीहरू गाउँ–गाउँ पुगेर किसानको उत्पादन खरिद गर्न सक्षम भएका हुन् ।
सोरु गाउँपालिका–१ का किसान नन्दबहादुर शाहीका अनुसार पहिले बजार अभाव र ढुवानी समस्याका कारण उत्पादन घरमै थन्क्याउनुपर्ने बाध्यता थियो । तर सडक विस्तारसँगै व्यापारीहरू घरमै आएर खरिद गर्न थालेपछि किसानमा रैथाने बाली उत्पादनप्रति उत्साह बढेको छ । सोही वडाकी किसान नन्दादेवी शाहीले यस वर्ष गाउँमै सिमी, चिनो, कागुनो, लट्टे र कोदो व्यापारीहरूले सिधै आएर खरिद गरेको बताइन् ।
स्थानीय व्यापारी टोपबहादुर शाहीका अनुसार ढुवानीमा ५० प्रतिशत अनुदान पाएपछि व्यापारीका लागि दुर्गम गाउँमा पुगेर खरिद गर्नु सजिलो भएको छ । ‘यसले किसानलाई राहत दियो, र हाम्रो व्यवसाय पनि दिगो बन्दै गएको छ,’ उनले भने । उनका अनुसार मुगुको रैथाने सिमी, कोदो, चिनो, कागुनो, लट्टेजस्ता अन्नबालीको माग देशका धेरै सहरमा तीव्र रूपमा बढिरहेको छ । यहाँ उत्पादन हुने बालीमा रासायनिक मलको प्रयोग न्यून हुने भएकाले स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइमा परेको उनको भनाइ छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुगुका कार्यालय प्रमुख तेजविक्रम मल्लका अनुसार रैथाने बाली केवल उत्पादन मात्र नभई स्थानीय जैविक सम्पदा पनि हो । किसानका घरमै गएर खरिद हुने क्रम बढेसँगै यसको संरक्षण र प्रवद्र्धन सहज बनेको उनले बताए । कार्यालयका अनुसार प्रतिकेजी ६ रुपैयाँका दरले उपलब्ध गराइएको ढुवानी अनुदानले उत्पादन, संकलन र बजार विस्तारमा महŒवपूर्ण प्रभाव पारेको छ । आगामी वर्ष अझ धेरै किसानलाई समेटेर उत्पादन क्षेत्र विस्तार गर्ने योजना रहेको मल्लले बताए ।
केही वर्षअघिसम्म बजार अभाव, ढुवानी कठिनाइ र लगानी जोखिमका कारण रैथाने बाली खेती घट्दो अवस्थामा थियो । तर अहिले व्यापारीको पहुँच र किसानको बढ्दो आत्मविश्वासले सोरु गाउँपालिकामा रैथाने बाली खेतीप्रति आकर्षण बढेको गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।
गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार सोरु गाउँपालिकामा उत्पादन हुने रैथाने बाली स्वाद, गुणस्तर र पौष्टिकतामा उत्कृष्ट मानिन्छ । ‘यदि ब्रान्डिङ, प्याकेजिङ र नियमित बजार वितरण व्यवस्था विकसित गर्न सकियो भने किसानले वार्षिक करोडौं रुपैयाँ बराबरको व्यापार गर्न सक्छन्,’ उनले बताए । उनका अनुसार ६५ टन निर्यात आँकडा ठूलो नदेखिए पनि यसले किसानको मनमा स्थायी व्यापारिक सम्भावनाको नयाँ आशा रोपेको छ ।
बैजनाथ, मंसिर २२ बाँकेमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ बस्ने तथा बैजनाथ गाउँपालिका–१ घर भएका ३० वर्षीय ललित शाही पक्राउ परेका हुन्।
पीडित महिलाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ ।
शाहीले ति महिलालाई डरधम्की र विभिन्न प्रलोभन पारेर जबरजस्ती करणी गरेको विषयर्मा लाका प्रहरी कार्यालयमा उजुरी परेको प्रहरीले जनाएको छ ।
बाँके, मंसिर २२ गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ । यसै घटनाको सत्यतथ्य बुझ्न प्रधानमन्त्री सुशील कोइरालाले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएका थिए ।
यस घटनामा प्रधानमन्त्री शुसीला कार्कीले समेत माफी मागिसकेकी छिन् ।
राप्तीसोनारी, मंसिर २२ नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले राप्तीसोनारी गाउँपालिकाभित्र नयाँ सक्रिय सदस्यता वितरणका विषयमा वडा सभापति र टोल सभापतिसँग व्यापक छलफल तथा अन्तरक्रिया गरेको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित गरिएको उक्त कार्यक्रम क्षेत्रीय तहमा सक्रिय सदस्य विस्तारका कामलाई व्यवस्थितरूपमा अघि बढाउने तयारीका रूपमा हेरिएको छ ।
राप्तीसोनारी गाउँपालिकामा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्रीसहित स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति थियो । सभापतिहरूबीच अहिले चलिरहेको सदस्यता नवीकरणको अवस्थाबारे समीक्षा गरियो भने नयाँ कियाशील सदस्यता वितरणको प्रक्रिया कसरी पारदर्शी, व्यवस्थित र सबै समावेशी बनाउने भन्नेमा विस्तृत छलफल भयो ।
कार्यक्रममा क्षेत्रीय सभापति केसीले पार्टी संगठनलाई बलियो बनाउने आधार नै समयमै, निष्पक्ष र योजनाबद्ध रूपमा सदस्यता व्यवस्थापन गर्नु रहेको बताए । उनले क्षेत्र नम्बर १ ले यसअघि नै सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुर्याइसकेको उल्लेख गर्दै अब नयाँ सदस्यता वितरणलाई पनि समान रूपले संयोजनका साथ अघि बढाइने बताए । उनका अनुसार, जिल्लाभर सदस्यता नवीकरणमा देखिएका केही प्राविधिक समस्या समाधान हुँदै गएपछि नयाँ सदस्यता वितरण सहज तरिकाले सम्पन्न हुनेछ ।
निवर्तमान सभापति माधवराम खत्रीले संगठनमा अनुशासन, पारदर्शिता र आन्तरिक एकताका लागि सदस्यता प्रक्रिया अत्यन्त संवेदनशील विषय हो भन्दै यसलाई जिम्मेवारीपूर्वक, विवादरहित र संस्थागत विधिअनुसार अघि बढाउन नेतृत्वलाई सुझाव दिए । उनले स्थानीय तहका टोल तथा वडा समितिहरूले आफ्नो क्षेत्रका कार्यकर्ता तथा सक्रिय व्यक्तिहरूको तथ्यांक व्यवस्थित रूपमा संकलन गर्नुपर्ने आवश्यकता औंल्याए ।
अन्तरक्रियाका क्रममा टोल तथा वडा सभापतिहरूले आफ्नो–आफ्नो क्षेत्रका अवस्था, समस्या र अपेक्षाबारे नेतृत्वलाई जानकारी गराएका थिए । छलफलमा सहभागी नेताहरूले नयाँ सदस्यता वितरण केवल संख्यामा वृद्धि गर्ने अभियान नभई, संगठनको भविष्य सुनिश्चित गर्ने आधार हो भन्दै यसलाई तथ्य, अनुशासन र कार्यक्षमता केन्द्रित ढंगले अघि बढाउन जोड दिए ।
खजुरा, मंसिर २२ नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेपालगन्ज–गुलरिया सडकखण्डको खजुरा बजारस्थित पेडारी नालामा निर्माणाधीन चार लेनको पक्की पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । निर्माण कार्यको प्रगति, संरचनाको गुणस्तर र समयसीमासम्बन्धी अवस्थाबारे उनले स्थलमै जानकारी लिँदै निर्माण कम्पनीका इन्जिनियरसँग छलफल गरेका हुन् ।
निरीक्षणपछि सहमहामन्त्री राठौरले पुल निर्माणको गुणस्तरमा कुनै प्रकारको कमी–कमजोरी हुन नदिन निर्माण पक्षलाई निर्देशन दिए । उनले सरकारी रकम र जनताको विश्वास दुवैलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘यस क्षेत्रका नागरिकले दशकौँदेखि भोगिरहेको अव्यवस्था अब छिट्टै अन्त्य हुनुपर्छ,’ उनले भने, ‘यो पुल समयमै बनेमा बाँके–बर्दिया क्षेत्रमा यातायात सहजता वृद्धि हुनेछ ।’
साना र जीर्ण अवस्थामा रहेको पुरानो पुलकै कारण दुई जिल्लाका हजारौँ सर्वसाधारण दैनिक आवतजावतमा कठिनाइ झेल्दै आएका छन् । वर्षायाममा त जोखिमपूर्ण रुपमा सडक कटान र सवारी आवागमन अवरुद्ध हुने समस्याले स्थानीयलाई झन् मारमा पार्दै आएको छ । नयाँ चार लेनको पुल निर्माण पूरा भएपछि नेपालगन्ज–गुलरिया सडकखण्डमा यातायात भाडा, यात्रा समय र जोखिम दुवै घट्ने अपेक्षा गरिएको छ ।
राठौरले विकास योजनाहरू जनताको जीवनस्तर सुधारका लागि हुने भएकाले सबै निकाय जिम्मेवार बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराए । निर्माण कम्पनीले पुलको अवशिष्ट काम तीव्रगतिमा अघि बढाएको जनाएको छ । स्थानीय बासिन्दाले समेत पुल निर्माणको गति देखेर सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै छिट्टै सुगम आवतजावतको अपेक्षा व्यक्त गरेका छन् ।




