२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

प्राथमिकता सानासाना समस्याबाट मुक्त गराउँदै जनजीवनमा तत्काल देखिने परिवर्तन ल्याउन र भौतिक निर्माणदेखि सामाजिक कार्यक्रमसम्म सबैतर्फ सन्तुलित ढंगले बजेट विनियोजन गरेर अघि बढिरहेको वडा कार्यालयले जनाएको छ ।

राप्तीसोनारी, पुष १६  राप्तीसोनारी गाउँपालिका–२ ले चालु आर्थिक वर्षका लागि विनियोजित ९५ लाख रुपैयाँलाई लक्षित गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक सेवा सुधारका विस्तृत कार्यक्रम कार्यान्वयनमा अघि बढेको छ । साविक कचनापुर गाउँ विकास समितिका १ देखि ९ नम्बर सबै वडालाई समेटेर बनेको यो वडामा २०७५ को घरधुरी सर्वेक्षण अनुसार ९८१० जनसंख्या बसोबास गर्छ । प्राथमिकता सानासाना समस्याबाट मुक्त गराउँदै जनजीवनमा तत्काल देखिने परिवर्तन ल्याउन र भौतिक निर्माणदेखि सामाजिक कार्यक्रमसम्म सबैतर्फ सन्तुलित ढंगले बजेट विनियोजन गरेर अघि बढिरहेको वडा कार्यालयले जनाएको छ ।

यस वर्ष वडाले सडक, नाली तथा कल्भर्ट निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । खोरियामा महंगु थारुको घरदेखि दक्षीतर्फ पक्की बाटो निर्माण, राजपुरमा बाटो निर्माण, वडा कार्यालयको दक्षिणतर्फ पक्की बाटो, पाँचकुलेदेखि भग्गु टोलसम्म कालोपत्रे, गुरुवाखोलामा दुई स्थानमा सडक स्तरोन्नति, र महेन्द्रपुरमा तीनवटा स्थानमा कल्भर्ट निर्माणजस्ता कामहरू सुरु हुने छन् । गोबारपुर क्षेत्रमा नाली निर्माण तथा ह्युमपाइप जडान गरेर आवतजावत सहज बनाइनेछ । यस्तै, नेरा आवि महेन्द्रपुरमा पर्खाल निर्माण र नेरा आवि टिकुलिपुरमा तारबार जडान गरेर विद्यालय सुरक्षित र व्यवस्थित बनाइने योजना वडाले अघि सारेको छ ।
सामाजिक तथा सेवा क्षेत्रका कार्यक्रम पनि यसै वर्ष महत्वपूर्ण रूपमा अघि बढाइनेछन् । लक्ष्मी सामुदायिक क्याम्पसमा पुस्तकालय व्यवस्थापनका लागि छुट्याइएको बजेटले विद्यार्थीलाई अध्ययन सामग्री प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार तथा फर्निचर खरिद गरी आधारभूत स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाइनेछ । कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रममार्फत स्थानीय किसानलाई उत्पादन वृद्धि र प्रविधि अपनाउन प्रेरित गरिनेछ । शैक्षिक संस्थालाई सहयोग तथा वडा अध्यक्ष कपजस्ता कार्यक्रमले शिक्षा, खेलकुद र सामुदायिक सक्रियता बढाउने उद्देश्य राखिएको छ ।

कार्यबहाक वडाअध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार, ‘शिक्षा, स्वास्थ्य, कृषि र खेलकुद सबै वडाको सामाजिक मेरुदण्ड हुन् । यी क्षेत्रमा गरिएको लगानीले वर्षौँसम्म जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले हामीले बजेट छुट्याउँदा दीर्घकालीन प्रभावलाई आधार मानेका छौँ ।’ प्रशासनिक तथा सुशासनका काम सहज बनाउन पदाधिकारी बैठक भत्ता, सञ्चार महसुल, इन्धन, सवारीसाधन मर्मत, तथा कार्यालय सामग्री खरिदका लागि पनि रकम छुट्याइएको छ । बुढाथोकी भन्छन्, ‘नागरिकलाई सेवा दिन कार्यालय बलियो हुनु आवश्यक छ । पारदर्शी प्रशासन नै राम्रो विकासको आधार हो ।’

सूचना प्रकाशन तथा पत्रपत्रिका छपाइ खर्चमार्फत वडाले निर्णय, कार्यक्रम तथा खर्च विवरण सार्वजनिक गर्नेछ । बुढाथोकीका शब्दमा, ‘हामीले गर्ने र खर्च गर्ने सबै कुरा जनतासामु खुला हुनुपर्छ । पारदर्शिता र जवाफदेहिता नै सुशासनको मेरुदण्ड हो ।’ वडामा विपद तथा आकस्मिक परिस्थितिमा तत्काल सहयोग पुर्‍याउन अलग्गै शीर्षकमार्फत रकम राखिएको छ । आगलागी, डुबान, दुर्घटना वा अन्य आकस्मिक समस्यामा तत्काल राहत र उद्धारका लागि यो रकम परिचालन गरिने कार्यवहाक वडाध्यक्ष बुढाथोकीले बताए । त्यस्तै, वडा सौन्दर्यकरण, मेसिनरी तथा औजार खरिद, र लागत साझेदारी कार्यक्रममार्फत वडाले स्थानीय समुदायसँग मिलेर सहकार्यमा विकास अघि बढाउने योजनासमेत बनाएको छ ।

कार्यबहाक अध्यक्ष बुढाथोकी भन्छन्, ‘विकासका योजना कागजमै सीमित भइरहून् भन्ने हामी चाहँदैनौँ । जनताले दैनिक रुपमा महसुस गर्ने परिवर्तन ल्याउनु नै हाम्रो उद्देश्य हो । प्रत्येक रुपैयाँ पारदर्शी र प्रभावकारी रूपमा खर्च गर्ने प्रण लिएका छौँ ।’ उनका अनुसार, चालु आर्थिक वर्षका सबै कार्यक्रम समयमै र गुणस्तरीय रूपमा अघि बढाइनेछ । वडावासीले पनि यस वर्ष वडाले अघि सारेका योजनालाई सकारात्मक दृष्टिले हेरेका छन् । सडक, शिक्षा, स्वास्थ्य र कृषि यी सबै क्षेत्रमा देखिने सुधारले वडाको विकास यात्रा नयाँ गति लिने अपेक्षा गरिएको छ । बुढाथोकी भन्छन्, ‘विकासको गति निरन्तर रहनु पर्दछ । हामीले बनाएका योजना पूरा भए वडाको मुहार फेरिन्छ । नागरिकको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो जिम्मेवारी हो ।’

यसरी वडाले सार्वजनिक गरेका कार्यक्रम केवल बजेटको सूची मात्र होइनन्, जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने प्रतिबद्धता हुन् । आगामी महिनाहरूमा ती कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन भए राप्ती सोनारी गाउँपालिका–२ को विकास यात्रा थप सबल र दिगो बन्ने निश्चित छ ।

सडक, नाली र पूर्वाधारका काम अगाडि

वडामा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणमा छुट्याइएको छ । खोरिया क्षेत्रमा महंगु थारुको घरदेखि दक्षीतर्फ पक्की बाटो निर्माण, राजपुर क्षेत्रमा बाटो निर्माण, वडा कार्यालयको दक्षिणतर्फ पक्की बाटो, पाँचकुलेदेखि भग्गु टोलसम्म कालोपत्रे सडक, गुरुवाखोलामा दुई स्थानमा सडक स्तरोन्नति, महेन्द्रपुरका तीन ठाउँमा कल्भर्ट निर्माण, गोबरपुरमा नाली निर्माण तथा ह्युमपाइप जडान जस्ता आयोजनाहरू यस वर्षका प्रमुख काम हुन् ।

कावा वडा अध्यक्ष बुढाथोकी भन्छन्, ‘यातायात सहज नहुँदासम्म विकास गति चल्दैन। हाम्रो वडाका धेरै बस्तीतर्फ जाने बाटो सँकुचिन वा हिलोमय थिए । यी सडक सुधार भएपछि विद्यालय, बजार, स्वास्थ्यचौकी र कार्यालयमा आवतजावत सहज हुनेछ ।’
नेरा आवि महेन्द्रपुरमा पर्खाल निर्माण तथा नेरा आवि टिकुलिपुरमा तारबार निर्माण कार्य पनि यसै वर्ष अघि बढाइनेछ । यसले विद्यालय सुरक्षित, व्यवस्थित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने कावा अध्यक्ष बुढाथोकीको विश्वास छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका कार्यक्रम

सामुदायिक पुस्तकालय स्थापनालाई शिक्षा प्रवद्र्धनका महत्वपूर्ण कदमको रूपमा वडाले अगाडि सारेको छ । लक्ष्मी सामुदायिक क्याम्पसमामा पुस्तकालय व्यवस्थापनका लागि छुट्याइएको रकमले विद्यार्थी तथा शोधार्थीलाई अध्ययनमा सहजता दिलाउने अपेक्षा गरिन्छ ।

वडाभित्र रहेको स्वास्थ्यचौकीमा ल्याब सेवा विस्तार र नयाँ फर्निचर खरिद गर्न बजेट विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्यले ल्याब सुविधा विस्तार गरिएको कावा अध्यक्ष बुढाथोकी बताउँछन् । वडाले पशु सम्बन्धी कार्यक्रम, कृषिसम्बन्धी कार्यक्रम, शैक्षिक संस्थामा सहयोग, वडा अध्यक्ष कप जस्ता सामाजिक तथा क्षमता विकासमूलक कार्यक्रम पनि अघि सारेको छ । यी कार्यक्रमले स्थानीयस्तरमा उत्पादन, खेलकुद तथा सामुदायिक सशक्तिकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
कावा अध्यक्ष बुढाथोकीका अनुसार, ‘शिक्षा, स्वास्थ्य र कृषि वडाको सामाजिक आधार हुन् । यी क्षेत्रमा गरिएको लगानीले जनजीवनमा दिगो प्रभाव पार्नेछ ।’

दाङ्ग–१६ पुष  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन ।
गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भूगोलको हिसाबले मात्र नभई भाषा, संस्कृति, कला र सभ्यताका दृष्टिले पनि विविधतायुक्त प्रदेश भएको उल्लेख गरे । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा मनाइने तमु ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भाषा, संस्कृति, सभ्यता र लिपिहरूको संरक्षण तथा प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए । प्रदेशभित्र रहेका सबै भाषा र सांस्कृतिक पहिचानको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न भाषा ऐन निर्माणका विषयमा छलफल अगाडि बढाइएको पनि उनले स्पष्ट पारे । सबै धर्म, संस्कृति, परम्परा र सांस्कृतिक अभ्यासलाई समान दृष्टिकोणका साथ सम्मान गर्ने नीति प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।

मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक तथा सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न तमु ल्होसार पर्वले सबैमा नयाँ उत्साह, ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले तमु समुदायसहित सम्पूर्ण प्रदेशवासीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

राप्तीसोनारी–१६ पुष  अत्याधिक चिसो र शीतलहरका कारण राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा चिसो बिदा दिएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट जारी सूचनाअनुसार हाल बढ्दै गएको चिसोका कारण विद्यालयमा नियमित पठन–पाठन सञ्चालन गर्न असहज अवस्था उत्पन्न भएपछि यस्तो निर्णय गरिएको हो ।

सूचनाअनुसार मिति २०८२ पुस १६ गतेदेखि १८ गतेसम्म (अर्को सूचना जारी नहुँदासम्म) पालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयको सम्पूर्ण पठन–पाठन कार्य बन्द रहनेछ । चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ ।

पालिकाले चिसो बिदाको अवधिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिन अभिभावकलाई आग्रह गरेको छ । सूचनामा आफ्ना नानीबाबुहरुलाई चिसोबाट जोगाई घरमै सुरक्षित, न्यानो तथा अध्ययनमैत्री वातावरण तयार गरी अध्ययन कार्यमा संलग्न गराउन अनुरोध गरिएको छ ।

शिक्षा शाखाले मौसमको अवस्था सुधार नभएसम्म र आवश्यक परेमा बिदा अवधि थप हुन सक्ने संकेत पनि गरेको छ । अर्को सूचना जारी भएमा त्यसबारे यथाशीघ्र जानकारी गराइने गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय बाँकेसहित तराईका विभिन्न जिल्लामा अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । चिसोका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी बढी प्रभावित भइरहेका छन् । यसै सन्दर्भमा राप्तीसोनारी गाउँपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै चिसो बिदा दिएको हो ।

जुम्ला–१६ पुष  जुम्लाको हिमा गाउँपालिकामा अब मोबाइल फोनले काम नगर्ने, इन्टरनेटका लागि डाँडा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको नेपाल टेलिकमको टेलिफोन टावर सोमबारदेखि सञ्चालनमा आएपछि गाउँपालिकामा पहिलोपटक फोरजी इन्टरनेटसहित भरपर्दो सञ्चार सेवा सुरु भएको हो ।

हिमा गाउँपालिका–५ कस्तुरीभिडमा स्थापना गरिएको उक्त टावर स्थानीय सरकारको समन्वय र नेपाल टेलिकमको लगानीमा सञ्चालनमा आएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार टावर सञ्चालनसँगै टेलिफोन र फोरजी इन्टरनेट सेवा नियमित भएको छ ।

“अब हिमा क्षेत्रमा फोन नलाग्ने, नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था रहने छैन,” उनले भने ।नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख पारस पुजाराका अनुसार आवश्यक उपकरण जडान गरी सेवा सुरु गरिएको हो । बबरमहल, काठमाडौँस्थित वायरलेस सेवा निर्देशनालयका सहायक प्राविधिक राजेश गिरीको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले स्थलगत रूपमा प्रविधि जडान गरी टावर सञ्चालनमा ल्याएको उनले बताए ।

टावर सञ्चालनपछि हिमा गाउँपालिकाका १ देखि ७ वडासम्मका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यसअघि कमजोर नेटवर्कका कारण स्थानीयवासी सामान्य फोन सम्पर्कका लागि समेत घण्टौँ हिँड्न बाध्य थिए । सेवा सुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । “अब छोराछोरीसँग सजिलै कुरा गर्न पाइने भयो, अनलाइन काम पनि सम्भव भयो,” हिमा–१ देवार गाउँका स्थानीय नेत्रबहादुर शाहीले भने ।

प्राविधिक टोलीका अनुसार टावर निर्माण प्रक्रिया विभिन्न निर्माण कम्पनीका कारण लामो समयसम्म अल्झिएको थियो । “ढिलै भए पनि अब संरचना पूर्ण भएको छ र सेवा दिन थालेका छौँ,” टोलीका एक सदस्यले बताए । यद्यपि, टावरमा जडान गरिएको सोलार प्रणालीले बिहान र बेलुकी पूर्ण रूपमा काम नगर्ने समस्या देखिएको छ । उक्त समस्या सम्बन्धित निकायमा प्रतिवेदन पेस गरी पुनः सोलार जडानको प्रक्रिया अघि बढाइने प्राविधिक टोलीले जनाएको छ ।

यसैबीच, नेपाल टेलिकमले जुम्ला र कालिकोटको सीमामा पर्ने नाग्म बजारमा समेत १८ सय ब्यान्डको फोरजी इन्टरनेट सेवा विस्तार गरेको छ । व्यस्त व्यापारिक केन्द्र नाग्ममा इन्टरनेट सेवा सुदृढ भएसँगै सेवाग्राहीलाई सहज हुने टेलिकमको अपेक्षा छ । हिमा–५ मा जडान गरिएको टावर नाग्ममाथि रहेको मुख्य टावरसँग जोडेर सेवा प्रवाह गरिएको नेपाल टेलिकमले जनाएको छ । हिमाली भेगमा सञ्चार पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, व्यापार र सरकारी सेवामा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय सरकारको विश्वास छ ।

बाँके–१६ पुष  लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय बाँकेले जिल्लाभित्र सञ्चालित निजी स्वास्थ्य संस्थाहरूका सबै फाइल पेस गर्न निर्देशन दिएको छ । स्वास्थ्य कार्यालयले पत्राचार गर्दै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा खजुरा, राप्तीसोनारी, डुडुवा, जानकी, बैजनाथ र नरैनापुर गाउँपालिकाभित्र सञ्चालनमा रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक तथा फिजियोथेरापी सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई आवश्यक कागजातसहित फाइल उपलब्ध गराउन आग्रह गरेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरवृद्धि ऐन, २०७६ र सोसम्बन्धी नियमावली (पाँचौँ संशोधन) २०८० अनुसार निजी स्वास्थ्य संस्थाको दर्ता, सञ्चालन, नवीकरण तथा नियमन गर्ने अधिकार स्वास्थ्य कार्यालयसँग रहेको छ । सोही कानुनी व्यवस्थाको कार्यान्वयनका लागि पालिकामा दर्ता भई सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरूको विवरण संकलन र अभिलेखीकरण आवश्यक भएकाले सबै फाइल उपलब्ध गराउन पत्राचार गरिएको जनाइएको छ ।

पत्रमा उल्लेख भएअनुसार पालिकामा दर्ता भई सञ्चालनमा रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक तथा फिजियोथेरापी सेवा दिने स्वास्थ्य संस्थाहरूले स्वास्थ्य कार्यालयमा दर्ता गर्दा बुझाएका कागजात, स्वीकृति पत्र, नवीकरण विवरण, जनशक्ति विवरण, भौतिक पूर्वाधारसम्बन्धी कागजातलगायत सम्पूर्ण फाइल स्वास्थ्य कार्यालय बाँकेमा पेस गर्नुपर्नेछ । यसले निजी स्वास्थ्य संस्थाको अवस्था, सेवा गुणस्तर तथा कानुनी मापदण्डको पालना भए–नभएको विषयमा अनुगमन गर्न सहज हुने कार्यालयको भनाइ छ ।

स्वास्थ्य कार्यालय बाँकेकी जनस्वास्थ्य प्रशासक तथा कार्यालय प्रमुख सुनीता पौडेलले निजी स्वास्थ्य संस्थाको व्यवस्थित अभिलेख राख्न र सेवाको गुणस्तर सुनिश्चित गर्न फाइल संकलन आवश्यक भएको बताइन् । “कानुनअनुसार स्वास्थ्य संस्थाको स्थापना र सञ्चालन भए–नभएको यकिन गर्न तथा भविष्यमा अनुगमन र नियमनलाई प्रभावकारी बनाउन यो प्रक्रिया अघि बढाइएको हो,” उनले भनिन् ।

स्वास्थ्य कार्यालयको यो निर्देशनपछि सम्बन्धित पालिका र निजी स्वास्थ्य संस्था सञ्चालकहरूले आवश्यक कागजात संकलनमा चासो देखाएका छन् । स्वास्थ्य क्षेत्रमा बढ्दो निजी लगानीसँगै सेवाको गुणस्तर, मापदण्ड र पारदर्शिता कायम गर्न यस्तो पहल महत्त्वपूर्ण हुने सरोकारवालाको भनाइ छ । कार्यालयले तोकिएको समयभित्र फाइल नबुझाए आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सकिने संकेत पनि दिएको छ ।

कोहलपुर–१६ पुष  पछिल्ला दिनहरूमा शीतलहर, बाक्लो हुस्सु र अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले सर्वसाधारणलाई राहत दिन मुख्य चोक–चोकमा दाउरा वितरण गर्दै आगो ताप्ने व्यवस्था मिलाएको छ । नगरभित्र मानिसको बढी आवतजावत हुने स्थानलाई प्राथमिकतामा राख्दै यो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चौराहा चोक, साँझा चोक, हवल्दारपुर मदन चोकसहित मुख्य राजमार्गसँग जोडिएका व्यस्त चोकहरूमा दाउरा राखेर आगो ताप्ने स्थान तयार गरेको हो । बिहान सबेरैदेखि साँझसम्म ती चोकहरूमा मजदुर, विद्यार्थी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, गरिब तथा विपन्न वर्गका नागरिक आगो ताप्दै चिसोबाट राहत पाइरहेका देखिन्छन् ।

पछिल्ला दिनहरूमा कोहलपुर क्षेत्रको तापक्रम अत्यधिक घट्दा जनजीवन प्रभावित बनेको छ । चिसोका कारण बिहान र बेलुकी सडकमा काम गर्ने मजदुर, स्कुल–कलेज जाने विद्यार्थी तथा अस्थायी बसोबास गर्ने व्यक्तिहरू बढी समस्यामा परेपछि नगरपालिकाले तत्काल राहतस्वरूप दाउरा वितरणको निर्णय गरेको हो । नगरपालिकाका अनुसार करिब २ लाख रुपैयाँ बराबरका दाउरा विभिन्न चोकहरूमा वितरण गरिनेछ ।

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले शीतलहरबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सक्रिय भूमिका खेलेको बताए । “पछिल्ला दिनमा अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई राहत दिन दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका हौं,” उनले भने, “विशेषगरी बिहान सबेरै र साँझको समयमा सडकमा काम गर्ने मजदुर, विद्यार्थी र विपन्न वर्गलाई लक्षित गरेर यो काम गरिएको हो ।”

उनका अनुसार नगर प्रहरी टोलीले दाउरा वितरणसँगै आगो ताप्ने स्थानको व्यवस्थापन, सुरक्षा र अनुगमनको काम पनि गरिरहेको छ । “आगो ताप्ने क्रममा कुनै दुर्घटना नहोस् भन्ने कुरामा हामी सचेत छौं,” थापाले भने, “दाउरा व्यवस्थित रूपमा राखिएको छ, साथै आवश्यक परे थप दाउरा पनि उपलब्ध गराइनेछ ।”

चोक–चोकमा आगो ताप्ने व्यवस्था भएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने एक मजदुरले चिसोका कारण बिहान काममा निस्कनै गाह्रो हुने गरेको बताए । “अहिले चोकमै आगो ताप्न पाइएकाले शरीर तातो हुन्छ, काममा जान पनि सजिलो भएको छ,” उनले भने। विद्यार्थीहरूले पनि बिहान विद्यालय जाँदा चिसो कम महसुस भएको प्रतिक्रिया दिएका छन् ।

नगरपालिकाले शीतलहरको प्रभाव अझै केही दिन रहने अनुमान गर्दै आवश्यक परे थप राहतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । नगर प्रहरी प्रमुख थापाले नागरिकलाई अत्यधिक चिसोमा विशेष सावधानी अपनाउन आग्रह गर्दै भने, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी जोखिममा पर्न सक्छन् । न्यानो कपडा लगाउने, अनावश्यक रूपमा बिहान सबेरै र राति बाहिर ननिस्कने जस्ता सावधानी अपनाउन जरुरी छ ।”

कोहलपुर नगरपालिकाको यो पहलले शीतलहरको समयमा स्थानीय नागरिकलाई केही हदसम्म राहत दिएको छ । चिसोको मार खेपिरहेका श्रमिक, विद्यार्थी र विपन्न वर्गका लागि चोक–चोकमा गरिएको आगो ताप्ने व्यवस्था अहिले कोहलपुरको जनजीवनसँग जोडिएको राहतको माध्यम बनेको छ ।

नेपालगन्जमा पनि दाउरा वितरण

नेपालगन्ज — पछिल्ला दिनहरूमा शीतलहर र बाक्लो हुस्सुसँगै चिसो अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई राहत दिन दाउरा वितरण गर्दै आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारण जनजीवन प्रभावित बनेपछि उपमहानगरपालिकाले नगरका विभिन्न व्यस्त स्थान र मानिसको बढी आवतजावत हुने चोकहरूलाई प्राथमिकतामा राखेर यो व्यवस्था गरेको हो ।

उपमहानगरपालिकाले मुख्य चोक, बजार क्षेत्र तथा राजमार्ग आसपासका स्थानहरूमा दाउरा राखेर आगो ताप्ने स्थान तयार गरेको जनाएको छ । यसबाट दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, बिहान–बेलुकी यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी तथा गरिब र विपन्न वर्गका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ । विशेषगरी बिहान सबेरै र साँझपख चिसो बढी हुने समयमा आगो ताप्ने व्यवस्था सर्वसाधारणका लागि राहत बनेको छ ।

उपमहानगरपालिकाले शीतलहरको असर अझै केही दिन रहने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक परे थप दाउरा वितरण गर्ने तयारी गरेको छ । आगो ताप्ने स्थानमा सुरक्षा र व्यवस्थापनलाई पनि ध्यान दिइएको जनाइएको छ । उपमहानगरपालिकाको यो पहलले चिसोबाट प्रभावित नागरिकलाई केही हदसम्म राहत मिलेको स्थानीयवासीले बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।