२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

सांसद सुनारलाई ‘क्लिन चिट’ दिने तयारीमा रास्वपा

महिलाले पनि आफू पीडित नभएको भन्दै अन्तर्वार्ता दिएको र घटनासम्बन्धी कुनै औपचारिक उजुरी नपरेको विषयलाई समितिले आफ्नो निष्कर्षको आधार बनाएको छ । यद्यपि, समितिले ती महिलालाई प्रत्यक्ष भेटेर उनको भनाइ सुनेको छैन । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने विषय भएकाले महिलासँग प्रत्यक्ष संवाद नगरिएको समितिका सदस्यले बताएका छन् । समितिका सदस्य सन्तोष आचार्यका अनुसार सुनारको बयान लिनुका साथै सम्पादन हुनुअघिको अडियो र महिलाको अन्तर्वार्तासमेत संकलन गरिएको छ ।


बाँके, कात्तिक १८।   विवादित अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारलाई पार्टीले उन्मुक्ति दिने तयारी गरेको छ । सुनारको इन्कारी बयान, महिलाले आफू पीडित नभएको भन्दै दिएको अन्तर्वार्ता र पीडित पक्षबाट कुनै उजुरी नपरेको आधार देखाउँदै पार्टीको छानबिन समितिले उनलाई कारबाही गर्न नपर्ने निष्कर्ष निकाल्ने तयारी गरेको हो ।

सांसद सुनारले एक महिलासँग अश्लील शब्द प्रयोग गर्दै हिंसात्मक अभिव्यक्ति दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन आयोगमार्फत छानबिन अघि बढाएको थियो । आयोगले उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको नेतृत्वमा समिति गठन गरी घटनाको सत्यतथ्य अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।
छानबिनका क्रममा समितिले सांसद सुनारको बयान लिनुका साथै सार्वजनिक भएको अडियो र महिलाको अन्तर्वार्तासम्बन्धी सामग्री संकलन गरेको छ । तर विवादित अडियो सुनारकै आवाज हो वा होइन भन्ने यकिन गर्न अहिलेसम्म प्राविधिक परीक्षण गरिएको छैन । समितिले प्राप्त गरेको प्रारम्भिक विवरणका आधारमा सुनारलाई कारबाही गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको बताइएको छ । सुनारले अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको आरोपसमेत लगाएका थिए ।

महिलाले पनि आफू पीडित नभएको भन्दै अन्तर्वार्ता दिएको र घटनासम्बन्धी कुनै औपचारिक उजुरी नपरेको विषयलाई समितिले आफ्नो निष्कर्षको आधार बनाएको छ । यद्यपि, समितिले ती महिलालाई प्रत्यक्ष भेटेर उनको भनाइ सुनेको छैन । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने विषय भएकाले महिलासँग प्रत्यक्ष संवाद नगरिएको समितिका सदस्यले बताएका छन् । समितिका सदस्य सन्तोष आचार्यका अनुसार सुनारको बयान लिनुका साथै सम्पादन हुनुअघिको अडियो र महिलाको अन्तर्वार्तासमेत संकलन गरिएको छ । अडियोको प्राविधिक परीक्षण गर्ने वा नगर्ने भन्ने विषयमा भने समितिले अन्तिम निर्णय गरिसकेको छैन ।

अडियो परीक्षण नगरी सुनारलाई सफाइ दिने निष्कर्षमा पुग्न खोजिएको भन्दै रास्वपाको छानबिन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । विशेषगरी महिलाको अस्मिता र न्यायसँग जोडिएको संवेदनशील विषयमा सम्बन्धित पक्षको भनाइ प्रत्यक्ष नसुनी तथा अडियोको प्राविधिक सत्यता परीक्षण नगरी निष्कर्ष निकाल्न खोजिएको भन्दै आलोचना भइरहेको छ । छानबिन समितिले तिहारअघि सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिका एक सदस्यका अनुसार अडियोको प्राविधिक परीक्षण गर्ने निर्णय भए प्रतिवेदन बुझाउन थप समय लाग्नेछ । परीक्षण नगर्ने निर्णय भए सुनारलाई कारबाही गर्नुपर्ने आधार नभएको निष्कर्षसहित प्रतिवेदन छिट्टै बुझाइनेछ ।

यसअघि रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्तिमार्फत राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेका थिए । पार्टीले सरकारी निकायको ध्यानाकर्षण गराए पनि आफ्नै छानबिन समितिबाट सुनारलाई सफाइ दिने तयारी गरेपछि पार्टीको सुशासन र जवाफदेहितासम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठेको छ । राष्ट्रिय मानवअधिकार आयोगले घटनालाई चासोका साथ हेरिरहेको जनाएको छ । राष्ट्रिय महिला आयोगले भने पीडित पक्षबाट उजुरी नआएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिन भएको बताएको छ । महिला आयोगकी प्रवक्ता कृष्णकुमारी खतिवडाले पीडितले उजुरी दिए न्यायका लागि सहयोग गर्न आयोग तयार रहेको बताएकी छन् ।

सुनारले भने प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निशाना बनाइएको दाबी गर्दै आएका छन् । विवादित अडियो सार्वजनिक भएपछि उनले आफूविरुद्ध नियोजित प्रचार भइरहेको जिकिर गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।