बझाङ। बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा जिपमा सवार अन्य यात्रु घाइते भएको आशंका गरिएको छ ।
बिहान ९ः१० बजे भएको दुर्घटनामा जिपमा १२ देखि १५ जनासम्म सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरीले उद्धारका लागि टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट दुई, अस्थायी प्रहरी पोस्ट बागथलाबाट दुई र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तिमिल्सैनाको कमाण्डमा सात जना प्रहरी घटनास्थलतर्फ खटिएका छन् ।
दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्छ । मृतकको पहिचान, घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


















