
डा.देवीप्रसाद आचार्य
नेपाली समाजले राजनीतिक स्वतन्त्रताका लागि लामो समय संघर्ष गरेको इतिहास छ । जनसंघर्षबाट राज्य व्यवस्था परिवर्तन भयो । तर, स्वतन्त्रतासहितको राज्य व्यवस्थामा पनि जनता शोषण र उत्पीडनबाट मुक्त हुन सकेको अवस्था छैन । जर्मन चिन्तक एरिक फ्रामका शब्दमा ‘स्वतन्त्रता केवल सत्ता परिवर्तनले हुन सक्दैन । सचेत नागरिकको निरन्तरको हस्तक्षेपले मात्र जीवित रहन्छ ।’ नेपालको सन्दर्भमा समाज अझै पनि सचेत भइसकेको अवस्था देखि“दैन । खुला समाज सचेत बनाउने कार्य हामी नागरिककै हो । नागरिक सक्रिय तथा प्रभावकारी हुन नसक्दा समाज जननिर्वाचित शासकबाटै पीडित हुनुपरेको अवस्था छ ।
नागरिक समाज गैरराजनीतिक, गैरसरकारी तथा स्वयं सेवकीय संगठन हुन्, जसले सत्ताका कमीकमजोरीप्रति खबरदारी गर्नुका साथै सामाजिक सचेतना विकास गर्न प्रभावकारी भूमिका खेल्दछन् । सक्रिय नागरिक समाज भनेको संस्थागत उपस्थितिमात्र होइन, सत्तालाई खबरदारी गर्ने, प्रश्न गर्ने, नैतिक साहास भएको, सत्तालाई उत्तरदायी बनाउने सामूहिक विवेक हो । नागरिक समाज’दयगत फ्रान्सेली दार्शनिक मिसेल फुको भन्छन्, ‘जहाँ प्रश्न सोध्ने मौन हुन्छन्, त्यहाँ सत्ता जनताको मालिक बन्छ ।’ आजको नेपाल फुकोले भनेजस्तै अवस्थाबाट गुज्रिइरहेको छ । सत्ता जनताको सेवक बन्न सकेको छैन । देशमा सत्तालाई प्रश्न गर्ने संगठित समूहकोे कमी छ ।
महात्मा गान्धीका शब्दमा ‘साँचो लोकतन्त्र सरकारबाट होइन, सचेत र संगठित नागरिक समाजबाट चल्छ ।’ हाम्रो देशको सन्दर्भमा गान्धीले भनेजस्तो नागरिक समाजले सचेत र संगठित रूपमा काम गरेको देखि“दैन । बरु, नागरिक समाज राजनीतिक दलको आस्थामा विभाजित भएको अवस्था छ । लोकतान्त्रिक व्यवस्थामा समाजलाई सुसूचित बनाउनका लागि नागरिक समाजको ठुलो भूमिका रहन्छ । विश्वजगतका ऐतिहासिक अध्ययनले विकासको चरमविन्दुमा पुगेका देश पनि एकैपटक विकसित भएका होइनन् । लोकतन्त्रलाई राजनीतिक आधार बनाएर विकास तथा सुशासनमा अब्बल भएका हुन् । राजनीतिक दल र राज्यको कार्यशैली अब्बल बनाउने कार्यमा त्यहाँका नागरिक समाजले सक्रिय भूमिका खेलेको पाइन्छ ।
नेपालमा गणतन्त्रका नायक र नेतृत्वकर्ताले देशकाल, परिस्थिति र समाजको आवश्यकताअनुरुप जनमुखी कार्य गर्न नसक्दा देशको अवस्था नाजुक हुन पुग्यो । अहिले देशका हरेक क्षेत्रमा समस्या व्याप्त छन् । देश विधिको शासनमा चल्न सकेको छैन । भ्रष्टाचार, दलाली, बिचौलिया, कमिसन, सेटिङ, नातावाद, कृपावाद, ढिलासुस्तीलगायत विसंगति यत्रतत्र–सर्वत्र छन् । देश यस्तो अवस्थाबाट गुज्रिइरहेकाले जेनजी सडकमा आए । देशले अकल्पनीय क्षति व्यहोर्नुपर्यो । निर्वाचित सरकार अपदस्त भयो । गैरराजनीतिक व्यक्तिका हातमा सत्ता पुग्यो । जेनजीले गरेको विद्रोहका बलमा तत्कालीन सरकार अपदस्त भए पनि आजको अवस्थामा जेनजीको एकल प्रयासले मात्र राजनीतिक तथा सामाजिक समस्या समाधान हुनसक्ने अवस्था छैन । दलभित्रका अनुभवी नेतागण होस् वा युवापुस्ताको जोस, एकजुट भएरै देशलाई निकास दिनुपर्ने बेला छ । त्यसैले देशको यस्तो अवस्थामा नागरिक समाज समन्वयकारी भूमिका आवश्यक छ ।
नोम चोम्स्कीका अनुसार नागरिक समाज कमजोर हुँदा सत्ता स्वेच्छाचारी बन्छ र लोकतन्त्र नाममै सीमित रहन्छ । चोम्स्कीले भनेजस्तो हाम्रो देशको सन्दर्भमा लोकतन्त्र आवरणमा भए पनि जनताले व्यवहारमा अनुभव गर्न सकेको अवस्था छैन । राजनीतिक दलको अदूरदर्शिताका कारण अहिले दूरदराजका गाउँबस्ती युवाविहीन भएका छन् । गाउँ पाका नागरिक र केटाकेटीका बस्ती बनेका छन् । देश विकासको संवाहक युवापुस्ता रोजगारीका लागि विदेसिनुपरेको छ । यस सन्दर्भमा सत्ताका गलत कार्यलाई खबरदारी गरी सरकारलाई जनहितमा काम गराउन नागरिक समाजको सशक्त भूमिका अनिवार्य ठानिन्छ ।
नागरिक समाज सक्रिय तथा सशक्त हुन नसक्दा सरकारले प्रभावकारी काम गर्न सकेको छैन । बर्टोल्ट ब्रेख्ट भन्छन्, ‘सबैभन्दा खतरनाक नागरिक त्यो हो, जो अन्याय देखेर पनि मौन बस्छ ।’ लोकतन्त्रमा सरकारलाई नागरिक समाजले खबरदारी गर्दै सही दिशानिर्देश गर्न किन सकेन ? लोकतन्त्रमा समाजलाई सुसूचित बनाउनका लागि नागरिक समाजको अपेक्षा गरिन्छ । मार्टिन लुथरको शब्दमा ‘सबैभन्दा पीडादायी कुरा सत्रुको कठोर शब्द होइन, मित्रहरूको भयभित मौनता हो ।’ मुलुकमा नागरिक समाज मौन अवस्थामा देखिन्छ । नागरिक समाजका बुलन्द आवाज खोइ ? नागरिक समाज सत्ताको खबरदारीकर्ता, सर्वसाधारणका सचेतक तथा समाज रूपान्तरणको माध्यम हुन किन चुक्यो ? लोकतन्त्रमा सुशासन अभ्यास र लोकतान्त्रिक आचरण कार्यान्वयनमा नागरिक समाजले अहम् भूमिका खेल्न नसक्दा देशमा सुशासन स्थापित हुन सकेको छैन । राजनीतिक दलका नेतागणमा लोकतान्त्रिक आचरण तथा व्यवहार अभाव छ । यस सन्दर्भमा सरकारलाई रचनात्मक तथा लोकमैत्री बनाउन नागरिक समाजको भूमिका देख्न र अनुभव गर्न सकिने तहमा हुनुपर्दछ ।
जुर्गेन हाबरमास भन्छन्, ‘सार्वजनिक बहस र नागरिक समाज लोकतान्त्रिक जीवनका प्राणवायु हुन् ।’ हाबरमासले भनेजस्तो हाम्रो देशको सन्दर्भमा नागरिक समाज लोकतान्त्रिक समाजलाई सशक्त बनाउने कार्यमा संवाहक बन्न नसक्दा देशमा कैयौं जनआन्दोलन र संघर्षका बाबजुद लोकतान्त्रिक संस्कृति र अभ्यास विकास हुन सकेको छैन । दार्शनशास्त्री ग्राबिएल आमण्डका शब्दमा ‘नागरिक समाजले जनचेतना तथा जनजागरूकतामा सहजीकरण गरी जनतालाई मतदान तथा राजनीतिक सहभागिताका विषयमा उपयुक्त निर्णय लिनसक्ने बनाउँछ । विगतमा निर्वाचनमा राजनीतिक दल तथा नेतृत्व चयन अभ्यास हेर्दा मतदाताले विवेकपूर्ण निर्णय गर्न सकेको देखि“दैन । पट पटक असफल नेतृत्वलाई मतदान गरी सत्तामा पुग्ने अवसर दिएको पाइन्छ । मतदाताले राजनीतिक दललाई बाँडीचुँडी भोट दिने गरेकाले कुनै पनि दलले एकल सरकार बनाउन सकेको अवस्था छैन । परिणामत : राजनीतिक अस्थिरता अन्त्य हुन सकेन ।
नागरिक समाज सत्ताविरुद्ध नै काम गर्ने ‘एजेन्ट’ होइन, सत्तालाई सही दिशामा राख्ने विवेकशील शक्ति हो । यो विवेकशील शक्ति कमजोर हुँदा लोकतन्त्र विकास तथा सामाजिक रपान्तरणको गति अवरुद्ध हुन्छ । यस्तै भइरहेको छ । जनताले सहज रूपमा सरकारी सेवा प्राप्त गर्न सकेको अवस्था छैन । ‘स्थायी सरकार’ भनिने प्रशासनतन्त्र पुरानै चिन्तन र कार्यशैलीमा अभ्यस्त छ । माक्स वेबरका शब्दमा ‘कर्मचारीतन्त्र दक्षताका लागि बनेको प्रणाली हो, तर जब यसले मानब संवेदनशीलता गुमाउँछ, तब यो लोकतन्त्रका लागि खतरा बन्दछ ।’ लोकतन्त्रमा प्रशासनतन्त्र सत्ताकेन्द्रीत होइन, जनताकेन्द्रीत हुनुपर्दछ । एन्टोनियो ग्राम्सीका अनुसार नागरिक समाज राज्य र जनताबीचको सेतु हो, यो सेतु कमजोर भयो भने कर्मचारीतन्त्र लोकतान्त्रिक बन्न सक्दैन । ग्राम्सीको भनाई आधार मानेर हेर्दा कर्मचारीतन्त्रले जनचाहना र सार्वजनिक हित आधार बनाएर ‘सर्भिस डेलिभरी’ गरेको छ त ? भन्ने कोणबाट हेर्दा सन्तोष गर्नसक्ने अवस्था छैन ।
कर्मचारीतन्त्र र समाजको अन्तरसम्बन्ध’दयगत म्याक्स वेबरका शब्दमा ‘कर्मचारीतन्त्र नियमअनुसार चल्छ, तर यसलाई मानवमुखी बनाउने काम समाजको चेतनाले गर्दछ ।’ नेपाली समाजको चेतनास्तर बढाउनका लागि नागरिक समाजको भूमिका प्रखर देखि“दैन । नागरिक समाज’दयगत एलेक्सिस दे टोक्भिलले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यास गर्ने विद्यालय हो ।’ एलेक्सिस भनेझैं नागरिक समाजरूपी विद्यालयका ढोका खुला छन् तर लोकतान्त्रिक पाठ्यक्रम र पुस्तकका विषयबस्तु जनताले अध्ययन तथा अभ्यास गर्न पाएको अवस्था छैन । यस अर्थमा समाजलाई सचेत बनाउनका लागि नागरिक समाजले विद्यालयका रूपमा भूमिका खेल्नुपर्दछ, जहाँ लोकतान्त्रिक मूल्य, मान्यताको ज्ञान प्राप्तिस“गै राज्यका कमीकमजोरीप्रति खबरदारी गर्नसक्ने आलोचनात्मक जनचेतना विकास हुन सकोस् ।
लोकतन्त्रको भविष्य राजनीतिक दल र संसद् भवनमा मात्र होइन, सचेत नागरिकको चेतनाको आधारमा निर्भर हुन्छ । जब नागरिक समाज मौन बस्छ, राजनीति उत्तरदायिŒवविहीन हुन्छ । सक्रिय नागरिक समाज भनेको राज्यको सत्रु होइन, राज्यलाई सही दिशामा डोर्याउने निर्देशक शक्ति हो । यस कोणबाट हेर्दा आज हाम्रो देशलाई नारामै सीमित दलीय आस्थाले घेरिएको नागरिक समाज होइन, सत्य बोल्ने, अन्यायविरुद्ध आवाज बुलन्द गर्ने, स्वतन्त्र चिन्तन बोकेको, सत्तालाइ प्रश्न गर्ने, खबरदारी गर्ने सक्रिय नागरिक समाज खाँचो छ । सुकरातले ‘प्रश्न नगर्ने जीवन बाँच्न लायक हु“दैन’ भनेझंै प्रश्न गर्न नसक्ने समाज पनि लोकतान्त्रिक हुन सक्दैन । यसर्थ, समाजलाई लोकतान्त्रिक मूल्य र मान्यताको बोध गराउँदै जागरुक बनाउन सक्रिय नागरिक समाजको भूमिका अनिवार्य ठानिन्छ ।
नेपालगन्ज, पुस २९ मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरूका लागि लक्षित निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सोमबारदेखि सुरु भएको छ । दुईदिने कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ । निर्वाचन आयोगद्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका निर्वाचनसम्बन्धी अधिकारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले गरेकी हुन् । उद्घाटन समारोहमा बोल्दै आयुक्त डा. तुलाधरले लोकतन्त्रको मूल आधार नै निर्वाचन भएको उल्लेख गर्दै यसलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन निर्वाचन आयोग पूर्णरूपमा प्रतिबद्ध रहेको बताइन् । उनले निर्वाचन प्रक्रियामा देखिने चुनौतीहरूलाई सबै पक्षको सहकार्यबाट समाधान गर्न सकिने भन्दै निर्वाचन अधिकारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राखिन् ।
आयुक्त डा. तुलाधरले निर्वाचनका क्रममा फैलिन सक्ने मिथ्या सूचना र भ्रम लोकतन्त्रका लागि ठूलो चुनौती भएको उल्लेख गरिन् । यस्ता गलत सूचना र अफवाहबाट जोगिँदै निर्वाचनलाई सभ्य, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो । उनले निर्वाचन अधिकारीहरूले कानुन, आचारसंहिता र निर्वाचन व्यवस्थापनका मापदण्डहरूलाई कडाइका साथ पालना गर्दै निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन् ।
उद्घाटन कार्यक्रममा नेपाल सरकारका सचिव पाराश्वर ढुंगानाले विशेष तथा विशिष्ट परिस्थितिमा भइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न यस्ता अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी हुने बताए । निर्वाचन व्यवस्थापनमा देखिने जटिलता, सुरक्षा चुनौती, मतदाता विश्वास र प्रशासनिक समन्वयका विषयमा स्पष्ट बुझाइ आवश्यक रहेको भन्दै उनले तालिममार्फत अधिकारीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको स्पष्ट पारे ।
सचिव ढुंगानाले निर्वाचनको विश्वसनीयता कायम राख्न प्रशासन, सुरक्षा निकाय र निर्वाचन आयोगबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गरे । उनले निर्वाचन प्रक्रियामा कुनै पनि कमजोरीले जनताको विश्वासमा असर पार्न सक्ने भएकाले सबै अधिकारीहरू उच्च सतर्कताका साथ काम गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन आयोगका शाखा अधिकृत तुलसीराम भगतका अनुसार उक्त अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरूको सहभागिता रहेको छ । कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने अधिकारीहरूलाई लक्षित गरी निर्वाचन सञ्चालन,
व्यवस्थापन, कानुनी प्रावधान, मतगणना, उजुरी व्यवस्थापन, आचारसंहिता कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिइँदैछ ।
दुईदिने अभिमुखीकरण कार्यक्रममा सैद्धान्तिक प्रस्तुतीकरणसँगै अनुभव आदान–प्रदान, छलफल र व्यवहारिक पक्षमा केन्द्रित सत्रहरू समावेश गरिएको छ । यसले निर्वाचन अधिकृतहरूलाई आफ्नो जिम्मेवारीबारे स्पष्टता दिलाउँदै निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाँके, पुस २९ ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो,’ यो भनाइ हो, बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा झन्डै २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिए ॥ यसरी सुरु भएको उनको यात्रा आज परेवा बिक्री गरेकै कारण आत्मनिर्भर बनेको छ ।
परेवाप्रतिको संवेदनाबाट जन्मिएको यो सम्बन्ध आज पृथ्वीबहादुरको जीवनको आधारशिला बनेको छ । यसले उनलाई गाउँमै एउटा आत्मनिर्भर किसान उद्यमीका रूपमा स्थापित गरेको छ । सुरुमा परेवा पाल्ने उनको कुनै योजना थिएन । घर वरिपरि बस्न ठाउँ नपाएका परेवा देख्दा मानवीय संवेदनाले छोयो र आफ्नै घरछेउमा सानो बासस्थान बनाइदिएको पृथ्वीबहादुरको भनाइ छ । त्यसपछि ती परेवा आफैँ उहाँकै घरमा बस्न थाले र समयसँगै तिनको संख्या बढ्दै गयो । परेवाको संख्यासँगै पृथ्वीबहादुरको जिम्मेवारी, अनुभव र आत्मविश्वास पनि विस्तार हुँदै गयो । आज उनको घरमा परेवाको ठूलो बथान छ । जसले केवल घरआँगन भरेको छैन, परिवारको भविष्य पनि सुरक्षित बनाएको छ ।
हिन्दू धर्मशास्त्रअनुसार जहाँ परेवाले बास गर्छन्, त्यस्तो घरमा शुभलक्षण रहने, सुख, शान्ति बस्ने र परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिन्छ । विश्वभर परेवा शान्तिको दूतका रूपमा पनि चिनिन्छन् । यही सांस्कृतिक र धार्मिक मान्यताले पृथ्वी चौधरीको परेवाप्रतिको सम्मान र समर्पणलाई अझ गहिरो बनाएको उनको भनाइ छ । परेवाले केवल रोजगारीमात्र होइन, घरभित्र शान्ति र सन्तुलन पनि ल्याइदिएको छ । परेवाले उनको जीवनमा ल्याएको परिवर्तन भावनात्मकमात्र नभई आर्थिक रूपमा अत्यन्त महŒवपूर्ण पनि छ ।
पृथ्वीबहादुरले जोडी परेवा पाँच सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री गर्नुहुन्छ । विशेषगरी संकटकालमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारहरू परेवा किन्न आएको उनले बताए । त्यो समयमा एउटा याममै ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी भएको पनि बताए । यही आम्दानीले पृथ्वीबहादुरको घरखर्च, छोराछोरीको पढाइ, स्वास्थ्योचार र दैनिकी सहज बनेको छ ।साउन र भदौमा चारोको अभाव हुँदा पृथ्वीबहादुर परेवाका लागि विशेष आहार आफैँ तयार गर्नुहुन्छ । ‘मसुरोको दानाजस्तै देखिने अकडाको चारो छतभरि छरेर त्यो दुई महिना परेवालाई खुवाउने गरेको छुँ,’ उनले भने । त्यो दानाले परेवाको स्वास्थ्य राम्रो राख्नुका साथै उत्पादन पनि बढाएको पृथ्वीबहादुरको अनुभव छ । जाडो महिनामा परेवाको मासुले शरीर तताउने विश्वासका कारण पृथ्वीबहादुर धेरैजसो परेवा किन्न आउने गरेका बताउँछन् ।
‘मन्दिरमा पूजा वा भाकल गर्न, चाडपर्व मनाउन र विशेषगरी सुत्केरीका लागि परेवा किन्न आउनेको संख्या उल्लेख्य छ,’ पृथ्वीबहादुरले भने । यसै कारणले पनि आम्दानीलाई स्थायित्व दिएको उनको भनाइ छ । उनले परेवा पालेदेखि नै त्यसको मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको बताए । परेवाको मलले बाली उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । यसरी परेवा उनका लागि आम्दानीको स्रोतमात्र नभई खेतीपातीमा सहायक माध्यम पनि बनेको छ । सुरुमा बिक्री गर्ने कुनै सोच नराखेका पृथ्वीबहादुरले दुईपटक परेवा बेचेर हातमा पैसा आएपछि मात्र परेवापालनलाई व्यवस्थित रूपमा अगाडि बढाएको बताए ।
आज परेवाबाट भएको आम्दानीले पृथ्वी चौधरीको परिवार आर्थिक रूपमा सशक्त बनेको छ । उनका अनुसार छोराछोरीको पढाइ, घरको खर्च र भविष्यको योजना सबै यही परेवाले धानेको छ । ‘वर्षमा झन्डै दुई महिनामात्र घरको दाना खुवाउनुपर्छ, बाँकी समय परेवा बिहान उडेर नेपालगञ्जका ठूला उद्योग क्षेत्रमा दाना खान जान्छन् र बेलुका बथानका साथ आफ्नै घर फर्किन्छन्,’ उनले भने ।
पृथ्वीबहादुरको जीवन परेवासँग गहिरोसँग गाँसिएको छ । ‘बाँचुन्जेल परेवाकै सेवा गर्छु, मेरो परिवार नै यिनीहरू हुन् । मैले जानेकै यही भयो, जीवन नै परेवाको समर्पणमा बित्यो,’ उनी भन्छन्, ‘बिहान उडेर गएका परेवा बेलुका सबै फर्केर आउँछन् कि आउँदैनन् भनेर दिनभरि कुरी बस्नुपर्छ ।’ मन्दिरमा भाकल गरेका व्यक्तिले बाँके बाहेक अन्यत्र जिल्लामा लगेर उडाएका परेवासमेत आफ्नै घर सम्झेर फर्केर आउने गरेको पृथ्वीबहादुरले बताए । कहिलेकाहिँ आफूले बेचिसकेको परेवा पनि घर फर्केर आइदिँदा मन कताकता भावुक हुने, अनौठो खुसी लाग्ने उनको भनाइ छ ।
परेवाले बच्चा निकालेको १५ देखि २१ दिनभित्र त्यसलाई खान मिल्छ । बिहान चर्न गएका परेवालाई बाज र चिलले झम्टेर खाइदिन्छ कि भन्ने पिर सधैँ रहने उनले बताए । परेवा र पृथ्वी चौधरीबीच गहिरो भावनात्मक सम्बन्ध छ । उहाँका छोराछोरी परेवासँगै हुर्किएका छन् । पृथ्वीले भने, ‘परेवाबिना यो घर सुनसान लाग्छ ।’ परेवाले उनलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । विपन्न अवस्थाबाट सुरु भएको जीवन आज सम्मानजनक, स्थिर र आत्मनिर्भर बनेको छ ।
पृथ्वीबहादुर चौधरी आज परेवा पालनबाट मासिक २५ देखि ३० हजार रुपैयाँसम्म नियमित आम्दानी गरिरहेको बताउँछन् । चाडपर्व, जाडो मौसम र धार्मिक सिजनमा भने आम्दानी अझ बढ्ने उनको अनुभव छ । ‘सिजनमा परेवा बेचेर ५० हजारदेखि ५५ हजार रुपैयाँसम्म पनि कमाएको छुँ,’ उनले भने, ‘यही स्थिर आम्दानीले मेरो परिवारलाई सुरक्षित बनाएको छ र परेवाले नै मेरो जीवनको आधारस्तम्भका रूपमा मलाई स्थापित गरेको छ ।’



