हुम्ला, असार १० गते हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ–हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक सुर्खेतको बराहताल गाउँपालिका–७ निवासी २८ वर्षीय रमेश सिजापति, सिमकोट गाउँपालिका–७ ताङलाथुङका २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन्।
दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।














