
कोहलपुर, पुस ३० थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिँदै जाँदा पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू बस्तीहरूमा चहलपहल बढेको छ । नयाँ वर्षको आरम्भका रूपमा उल्लासपूर्वक मनाइने यो पर्वको तयारीले बाँकेलगायतका जिल्लाका थारू गाउँबस्तीहरू यतिबेला रौनकपूर्ण बनेका छन् ।
माघी पर्वलाई भव्य रूपमा मनाउन थारू समुदायका घरघरमा सदस्यहरू आ–आफ्नो जिम्मेवारी लिएर जुटेका छन् । पुरुषहरू मासु, माछा र अन्य परिकारका लागि जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलाहरूलाई दुना–टपरी गाँस्ने, ढिक्री र रोटीका लागि पिठो तयार गर्ने कामले भ्याइनभ्याइ छ । जंगल गई दाउरा संकलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइ गर्ने काम पनि धमाधम भइरहेको छ ।
बरघर कुरकुटुवा थारूका अनुसार माघीको तयारीका लागि अन्डी धानको चामल, पिठो, सिद्रालगायत खाद्यान्नको जोहो एक महिनाअघिदेखि नै सुरु भइसकेको छ । ‘माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी र गङ्गटालगायत स्थानीय परिकार खाने चलन भएकाले त्यसको तयारीमा सबै व्यस्त छन्,’ उनले भने ।
माघी पर्व नयाँ वर्षको सुरुआत पनि भएकाले नयाँ लुगा किन्न गाउँबाट सहरबजार जानेको संख्या बढेको छ । रोजगारीका लागि देशविदेश गएका धेरैजसो थारू युवाहरू पर्व मनाउन घर फर्किन थालेका छन् । पाहुनाको चहलपहल बढ्ने भएकाले ढिक्री, रोटी, बरिया जस्ता परिकार तयार गर्न महिलाहरू व्यस्त छन् ।
कोहलपुर–१३, भरैयाका ठग्गु थारूका अनुसार गाउँमा बङ्गुर पाउन कठिन भएपछि भलमन्साको बैठक बसेर कस–कसको जिता (बङ्गुर) मार्ने र आवश्यक परे बाहिरबाट ल्याउने निर्णय गरिएको छ । साथै माघीमा थारू संस्कृति झल्कने मघौटा नाचको अभ्यास पनि सुरु भइसकेको छ ।
माघे सङ्क्रान्तिका दिन बिहानै उठेर नदी वा तलाउमा नुहाइधुवाइ गर्ने, ज्येष्ठबाट आशीर्वाद लिने र छुट्याएर राखिएका चामल, नुन, तेल, बेसार लगायत खाद्यान्नमा थप परिकार जोडेर छोरीबेटीलाई दिने परम्परा थारू समुदायमा रहिआएको छ । माघीमा अन्डी चामलको भात–रोटी, ढिक्री, मासु, माछा, घोंगी लगायतका स्थानीय पकवान खाने तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।
यसैबीच माघी पर्वलाई लक्षित गर्दै गाउँगाउँमा मेला तथा महोत्सव आयोजना भइरहेका छन् । मंगलबार कोहलपुरमा प्रथम माघ मिलन कार्यक्रम सम्पन्न भएको छ, जहाँ सयौँ थारू समुदायका मानिसहरू आफ्नो मौलिक पोसाकमा सहभागी भई माघीको उत्सव मनाएका छन् ।
नेपालगन्ज, पुस ३० मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।नेपाल मौरीपालक महासंघ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिए । उनले भने, ‘अहिले मौरीका लागि संकटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।’
मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गरे । एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी रहेका हुन्छन् । मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै उनले बाँकेमा उन्नत जातको मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको बताए । यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो ।
अध्यक्ष बस्नेतका अनुसार चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ । यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ । रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै उहाँले यिनीहरूको वासस्थान सुरक्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले आफूले पालेका ५० घार मौरीलाई चरिचरनका लागि बर्दियाको गुलरिया उत्तरपूर्व लक्षुमणामा लगेको जानकारी दिँदै त्यहाँ पनि फुलेको तोरी सकिएकाले अन्यत्र सार्ने तयारी भइरहेको बताए ।कात्तिकमा बर्दियाको तारातालमा मौरी चरिचरनका लागि लगेको उल्लेख गर्दै मौरीपालक बस्नेतले अब केही दिनमा नै चरिचरनका लागि बर्दियाको बासगढी नगरपालिकामा लैजाने तयारी भइरहेको बताए ।
कोहलपुर नगरपालिका–५ निवासी कृष्ण आर्चायले मौरी चिसोले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएको बताए । ‘एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ’, उनले भने । चिसोको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको उल्लेख गर्दै उहाँले मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने बताउनुभयो । रानीमौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ मौरीपालक किसान आचार्यको भनाइ छ ।
उनले भने, ‘अत्यधिक चिसोका कारण आधा जति मौरी मरिसका छन् ।’ आर्चायले करिब ७० घार मौरी पालेका छन् । यहाँ १२ जना मौरीपालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आएका छन् । गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासङ्घका अध्यक्ष बस्नेतको भनाइ छ । कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले गत वर्ष सङ्घीय सरकारको कार्यक्रमअनुसार मौरीपालक किसानलाई अनुदान सहयोग गरे पनि यस वर्ष कुनै कार्यक्रम नभएको जानकारी दिए । जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गरेका छन् ।
मौरीपालक किसान बस्नेतले गत वर्ष कोहलपुर नगरपालिकाबाट पाँच लाखको अनुदान प्राप्त गरेकोे र सो रकम पाँच जना किसानले दामासाहीले बाँडेर लिएको बताए । जिल्लाबाट अधिकांश मौरीपालक किसान मौरीको चरिचरनका लागि दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा जाने गर्छन् ।
बाँके, पुस ३० भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की क्षेत्रमा आगलागी र ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२, टाकुराका दुई परिवारका नौ जनाको ज्यान गएको छ । राति सुतेकै बेला पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा घटना भएको हो ।
विस्फोटको कारण आगो तीव्र बनेपछि पसलमाथिको कोठामा सुतिरहेका सबै जनाको घटनास्थलमै मृत्यु भएको आफन्त प्रेम विकले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, साथै ४७ वर्षीय काशिराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन् ।
प्रेम विकका अनुसार धनबहादुर विक र काशिराम विकको परिवार पसलमाथिको कोठामा बस्दै आएका थिए । कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको हो । ‘सिलिन्डर विस्फोट हुँदा सबैको शव छियाछिया परेकाले पहिचान गर्नसमेत कठिन भएको छ,’ उनले बताए ।
आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका प्रेम विकसहित राजेन्द्र विक, गंगाराम विक र अर्का एक जना गरी चार जना भागेर ज्यान जोगाउन सफल भएका छन् । हाल हिमाचल प्रदेशको सोलान जिल्लास्थित सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर शव संकलनको काम गरिरहेको छ । विस्फोटको असर अत्यन्तै भयावह भएकाले शव संकलनमा कठिनाइ भइरहेको बताइएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएपछि मृतक परिवारसहित टाकुरा बस्तीका केही परिवार करिब अढाई वर्षअघि भारत गएर मजदुरी गर्दै आएका थिए । दुई छाकको जोहो गर्नै कठिन भएपछि भारत जान बाध्य भएको प्रेम विकको भनाइ छ । सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले घटनाबारे फोनमार्फत जानकारी पाएको बताए । ‘दुई परिवारका नौ जनाको मृत्यु भएपछि वडा नै शोकमा डुबेको छ । मंगलबार शोक बिदा दिने निर्णय गरेका छौँ,’ उनले भने ।
उनले सरकारले गाउँघरमै रोजगारीको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरू अझै पनि भारत जान बाध्य रहेको बताए । ‘कहिले बाढीपहिरो, कहिले दुर्घटना त कहिले आगलागीमा परेर नेपाली मजदुरले ज्यान गुमाइरहेका छन्,’ बुढाथोकीले दुःख व्यक्त गरे । शव संकलनको काम जारी रहेकाले दाहसंस्कार उतै गर्ने कि नेपाल ल्याउने भन्ने विषयमा अर्कीमा रहेका स्थानीय नेपालीहरूसँग छलफल भइरहेको वडाध्यक्षले जानकारी दिए ।
कोहलपुर, पुस ३० कोहलपुरको हवल्दारपुरबाट पश्चिमतर्फ खुला मैदानमा फैलिएको यो बस्ती टाढाबाट हेर्दा अस्थायी शिविरजस्तै देखिन्छ । नीलो, पहेंलो, हरियो र कालो रंगका त्रिपालले बनाइएका टेन्टहरू लहरै उभिएका छन् । कतै टेन्टको छेउमा भाँडाकुँडा थन्क्याइएका छन्, कतै च्यातिएको त्रिपाल टालटुल गरेर हावाबाट जोगिन प्रयास गरिएको छ । खेतको बीचमै बनेको यो बस्ती कुनै योजनाबद्ध बसोबास होइन, बाध्यताको परिणाम हो ।
टेन्टअगाडि माटोमै बसेका बालबालिकाको अनुहारले यहाँको जीवन झल्काउँछ । एउटी बालिका घुँडा टेकेर बसेकी छिन्, हात खुट्टा माटोले लतपतिएका छन् । उनको पछाडि त्रिपालमुनि आमा र साना दाजुभाइ देखिन्छन् । टेन्टभित्र कुनै खाट छैन, कुनै ओछ्यान छैन । जमिनमै पराल ओछ्याएर रात बिताइन्छ । चिसो बढ्दै गएको पुस महिनामा पनि यही जमिन उनीहरूको ओछ्यान हो ।
बस्तीका अधिकांश टेन्ट प्वाँल परेका छन् । नजिकबाट हेर्दा पहेंलो त्रिपाल च्यातिएको देखिन्छ, कतै सानो कपडाले टालिएको छ । ती प्वाँलबाट हावा मात्र होइन, राति शीत पनि सिधै भित्र पस्छ । एउटा टेन्टमा पाँचदेखि सात जनासम्म खुम्चिएर बस्नुपर्ने बाध्यता छ । यही बस्तीमा जफरुद्दीन मुस्लिम सातजनाको परिवार लिएर बस्छन् । उनको टेन्ट अरूभन्दा फरक छैन । च्यातिएको नीलो त्रिपाल, बाँसका खम्बा र माथिबाट थुपारिएका पुराना कपडाले बनेको छ । ‘सिरक त छैन,’ उनी भन्छन्, ‘एउटावटा कम्बल छ, त्यो पनि सबैले ओढ्न मिल्दैन ।’ राति कम्बल तानातानमै बित्छ । कोही चिसोले काँप्दै उठ्छ, कोही न्यानो खोज्दै करवट फेर्छ ।
बिहान यहाँ घाम छिट्टै लाग्दैन । वरिपरि फैलिएको खुला खेत र टेन्टको कमजोर संरचनाले जाडो झनै बढाउँछ । बिहान हुनासाथ अर्को चिन्ता सुरु हुन्छ, ‘आज के खाने ?’ चुल्हो बाल्ने दाउरा छैन, खरिद गर्ने पैसा छैन । टेन्ट अगाडि माटोबाट बनाइएको सानो चुल्हो छ, तर धेरै दिनसम्म त्यसमा आगो बल्दैन ।दिउँसो करिब दुई बजेतिर सैमुल मुस्लिम बस्तीमा प्रवेश गर्छिन् । उनको हातमा सानो झोला छ । नजिकैको झन्डहवाको बजार क्षेत्रमा बिहानैदेखि माग्दै हिँडेर ल्याएका सामग्री हुन् ती । झोलाभित्र आधा कुहिन थालेका आलु र खुर्सानी छन्, मुस्किलले आधा केजी चामल । यही आजको भोजन हो । उनी टेन्टमा पुग्नेबित्तिकै परिवार वरिपरि जम्मा हुन्छ । मागेर ल्याएका पकौडी साना टुक्रामा बाँडिन्छन् । पेट त भरिँदैन, तर आज खाली पेट सुत्न नपर्ने आशा जाग्छ ।
मोहम्मद अहिमको परिवार पनि यही बस्तीमा छ । उनको टेन्ट भित्रबाट हेर्दा झनै साँघुरो लाग्छ । वर्षा पर्दा पानी चुहिने, हावा चल्दा चिसो सिधै छिर्ने । ‘हामीलाई रोगले भन्दा भोकले धेरै सताउँछ,’ उनी भन्छन् । काम खोज्न बजार धाउँछन्, तर कसैले काम दिँदैन । सीप छैन, परिचय छैन । माग्न जाँदा पनि पहिले जस्तो दयालु हात भेटिँदैन ।समानी अहिमदको कथा पनि उस्तै छ । पुस्तौंदेखि मागेरै जीवन गुजारेका उनीहरूका नाममा कुनै जग्गा छैन, स्थायी ठेगाना छैन । त्यसैले जहाँ अलिकति खाली जमिन देखियो, त्यहीँ टेन्ट गाडेर बस्नुपर्छ । करिब दुई हप्ता यही ठाउँमा बस्छन्, त्यसपछि फेरि अर्को ठाउँतिर सर्छन् । जीवन एउटा निरन्तर यात्राजस्तै बनेको छ । तस्विरमा देखिने यी टेन्टहरू केवल आवास होइनन्, राज्यबाट टाढा परेको समुदायको पहिचान हुन् । टेन्टको वरिपरि विद्यालय छैन, स्वास्थ्य चौकी छैन । बालबालिका पढाइबाट टाढा छन् । किताब, कापी र पोसाक त परको कुरा, उनीहरूले विद्यालयको ढोका देख्नसमेत पाएका छैनन् । वृद्धहरू चिन्तित छन्, ‘हामी त जसो तसो बाँच्यौँ, तर छोराछोरीको भविष्य के?’
बस्तीका मानिसहरू राज्यसँग धेरै ठूलो माग गर्दैनन् । ‘मागेर खाने जीवनबाट बाहिर निस्कन चाहन्छौँ,’ सैमुल भन्छिन् । यदि राज्यले सीपमूलक तालिम दियो, सानो रोजगारीको अवसर सिर्जना गरिदियो भने आफ्ना सन्तानलाई यो पीडादायी जीवनबाट मुक्त गराउन सकिने उनीहरूको विश्वास छ । कसैलाई सिलाइ–कटाइ, कसैलाई मिस्त्री, कसैलाई साना व्यवसाय चलाउने तालिम भए पनि उनीहरू माग्ने हात फैलाउन बाध्य हुने थिएनन् ।
तर अहिलेसम्म यी टेन्टभित्र राज्यको उपस्थितिको अनुभूति छैन । स्थानीय तहदेखि केन्द्रसम्म उनीहरूको अवस्था नीतिगत बहसको विषय बनेको छैन । त्रिपालमुनि बसेका यी परिवारहरू नागरिक हुन्, तर नागरिकजस्तै अधिकारबाट वञ्चित छन् । च्यातिएको त्रिपाल, खाली चुल्हो र आधा पेट भोजनले उनीहरूको दैनिकी चलिरहेको छ ।
हवल्दारपुरको पश्चिमतर्फ फैलिएको यो दृश्य केवल तस्विरको कथा होइन । यो समाजको ऐनामा देखिएको कटु यथार्थ हो । जबसम्म यी टेन्टभित्रको जीवन सुन्ने र बुझ्ने कोही हुँदैन, तबसम्म यी बालबालिकाको भविष्य पनि यही खुला मैदानजस्तै अनिश्चित रहनेछ । प्रश्न यत्ति हो, ‘यो बस्ती कहिलेसम्म त्रिपालमुनि सीमित रहने ? र राज्यले कहिले यी आवाजहरूलाई आफ्नै नागरिकको आवाज ठान्ने ?’
राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार बाँकेमा गरिबी दर २६ दशमलब ९२ प्रतिशत पुगेको छ । जिल्लाको कुल जनसंख्या पाँच लाख ९७ हजार २ सय ८३ रहेको छ । एक लाख २९ हजार २ सय २९ घरधुरी रहेको बाँकेमा गरिब जनसंख्या एक लाख ६० हजार ८ सय १७ रहेको तथ्यांकले देखाएको छ ।





