
नेपालगन्ज, माघ १५ दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगन्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म संचालन हुनेछ । मेलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पानसमा बत्ती बालेर उद्घाटन गरे । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगञ्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी मेला महत्वपूर्ण सावित हुँदै गएको बताए । महिला उद्यमी संघ नेपालक अध्यक्ष दर्शना श्रेष्ठले बाँकेले उत्कृष्ट काम गर्दै आइरहेको बताइन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगद ग्रुप नेपालगन्जका सिइओ प्रदिप छाछेड लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको १०औं संस्करण नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा संचालन भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगद ग्रुपको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेको प्रदर्शनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताइन् ।
प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताइन् ।करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीले नव–आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् ।
महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् ।
प्रदर्शनी उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापा मगर, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लायन्स क्लबका पूर्व डिस्ट्रिक गर्भनर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उद्योगी, ब्यवसायी, नागरिक अगुवा, पत्रकार, समाजसेवी लगायत उपस्थित भएका थिए ।
कोहलपुर, माघ १५ बहुप्रतीक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । कठिन भू–भागको हर्रे खण्डमा तार तान्ने काम सम्पन्न भइसकेको छ भने वीरेन्द्रनगर–११ सुब्बाकुनामा रहेको सब–स्टेसनमा विद्युत चार्ज गर्ने तयारी थालिएको छ । हाल छिन्चु–भेरी नदी पुलतर्फ जम्पर जडानको काम भइरहेको छ ।
कोहलपुरदेखि सुब्बाकुनासम्मको ५२ किलोमिटर क्षेत्रमा पोल र तारको पेट्रोलिङ सुरु भइसकेको छ । आयोजनाले अबको एक साताभित्र सुब्बाकुना सबस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली क्षेत्रमा विद्युत आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ ।
आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार, कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेशनमा विद्युत लाइन छोड्ने काम एक साताभित्र हुने छ । उनले बताए अनुसार, लाइन उद्घाटनअघि पटक–पटक जाँच गरिनेछ । हर्रे क्षेत्रमा अप्ठ्यारो भूगोल र घना हुस्सुका कारण ड्रोन प्रयोग गरेर तार तानिएको हो । राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले थप रुख काट्दा आयोजनाले नै त्यसको व्यवस्थापन गर्नुपर्ने नियम रहेकोले यो निर्णय गरिएको थियो ।
कोहलपुर–वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । सुब्बाकुनाको टावर ५० मिटर अग्लो छ भने अन्य सबै टावर लगभग ३० मिटर उचाइका छन् । चार दशक पुरानो ३३ केभी लाइन विस्थापित गरी उच्च गुणस्तरको विद्युत वितरण गर्ने उद्देश्यले यो १३२ केभी प्रसारण आयोजना अघि बढाइएको हो ।यो लाइन सुर्खेत हुँदै दैलेख, जुम्ला र कालीकोटसम्म पुग्नेछ ।
पछिल्लो चरणमा सुर्खेतदेखि दैलेखको चुप्रासम्मको प्रसारण लाइनको काम भइरहेको छ । ३७ वर्षअघिको पुरानो लाइन साना सिटी पोलमार्फत जंगलबीच भएकाले अवरुद्ध हुने समस्या बारम्बार देखिन्थ्यो । नयाँ १३२ केभी एंगल टावर प्रणालीले यस समस्याबाट राहत दिने अपेक्षा गरिएको छ ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले टावर निर्माण र तार तान्ने जिम्मा पाएको थियो । लाइन विस्तारका लागि १३ हजार रुख काटिएका थिए । २०७६ असार २२ मा ६५ करोड रुपैयाँमा सम्झौता भएको आयोजनाको काम २०७८ असार २३ भित्र सकिनुपर्ने भए पनि स्थानीय अवरोध, रुख कटान प्रक्रियामा ढिलाइ र निकुञ्ज नियमका कारण चार वर्ष ढिला भएको थियो ।
स्थानीय अवरोध समाधान र मुआब्जा व्यवस्था पछि आयोजना अघि बढ्न सकेको हो । सर्वोच्च अदालतले पनि लाइन विस्तार रोक्न नहुने आदेश दिएपछि अन्ततः स्थानीयलाई झण्डै १६ करोड रुपैयाँ मुआब्जा दिइएको थियो । प्रसारण लाइन सुचारु भएपछि सुर्खेत र आसपासका क्षेत्रमा विद्युत आपूर्ति थप विश्वसनीय बन्नेछ ।
पार्टीका एजेण्डा र उम्मेदवारहरूको क्षमता हेरेर सबैभन्दा सक्षम र योग्य व्यक्तिलाई मतदाताले विजयी बनाउनुपर्ने नागरिक अगुवा चन्द्रबहादुर ओलीको तर्क ।
सुर्खेत, माघ १५२०४८ सालदेखि सुर्खेत क्षेत्र नं १ बाट चुनाव लड्दै आएका कांग्रेस पूर्व कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्का गत प्रतिनिधिसभा निर्वाचनमा ४२ हजार ६ सय ७ मतसहति छैटौंपल्ट सांसद बने । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७४ सालको चुनावमा हार व्यहोरेका उनी २०६४ सालको संविधानसभामा भने समानुपातिक सांसद थिए।
उनले लामो समयदेखि जित्दै आएको उक्त क्षेत्रमा कांग्रेसले उनका भाइ विष्णुबहादुरलाई उम्मेदवार बनाएको छ भने पूर्णबहादुरसँग एकपल्ट जित र एकपल्ट हार व्यहोरेको ध्रुवकुमार शाही एमालेका तर्फबाट चुनावी मैदानमा छन् । जसका कारण सुर्खेत–१ को निर्वाचन रोचक बनेको छ ।२०७४ सालमा शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर जित्दा पूर्णबहादुरले ३३ हजार २ सय ७७ मतमा चित्त बुझाए भने गत प्रतिनिधिसभा निर्वाचनमा पूर्णबहादुर विजेता हुँदा शाही ३० हजार ९ सय ८८ मतमै सीमित भए । शाही एमालेका एमाले प्रदेश कमिटी सचिव हुन् । ५५ वर्षीय ध्रुवकुमार शाहीले २०४५ सालमा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा अनेरास्ववियूबाट राजनीति थालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी २७ वर्षको उमेरमा २०५४ सालमा साविक मासहारे गाविसको अध्यक्षमामा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् ।
कांग्रेस उम्मेदवार एवं पूर्णबहादुरका भाइ विष्णुले पहिलोपल्ट निर्वाचनमा भाग लिएका हुन् । उनी पार्टीका जिल्ला उपसभापति हुन् भने सुर्खेतका स्थापित व्यववसायी पनि । खड्काले माया नर्सिङ होम र न्यू माया आयल स्टोर सञ्चालन गरिरहेका छन् भने मध्यपश्चिमाञ्चल यातायात व्यवसायी प्रालिको अध्यक्ष छन् । उनले जनपक्षीय कानुन निर्माण, जिल्लाका समस्याबारे सरकारलाई खबरदारी गर्न तथा सुर्खेतको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए ।
‘म उहाँ (पूर्णबहादुर) को भाइ त हुँ नै, राजनीति, व्यवसाय र समाजसेवामा मेरो पनि छुट्टै पहिचान छ, दाइले पूरा गर्न नसकेका चुनावी बाचा पूरा गर्ने गरी निर्वाचनमा होमिएको छु,’ उनले भने, ‘पार्टीको बलियो संगठन र क्रियाशिलताका कारण पनि म सजिलै विजयी हुन्छु ।’ खड्काको समाजसेवी भावना, नेतृत्वदायी भूमिका र गहिरो जनसम्बन्ध जितको आधार भएको कांग्रेस सुर्खेतका सभापति खडकबहादुर पोखरेलले बताए ।
क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट जीतबहादुर रानाले प्रतिस्पर्धा गर्दैछन् । २०४७ देखि राजनीतिमा लागेका उनी पूर्वलडाकु कमाण्डर हुन् । उनी यसअघि माओवादीको सुर्खेत जिल्ला इन्चार्ज थिए । लामो समयदेखिको राजनीतिक त्याग, इमान्दारी र जनताप्रतिको आत्मीय सम्बन्ध आफ्नो जितको आधार रहेको उनले बताए ।
‘अहिलेसम्म जनताकै काममा जनतासँगै सक्रिय छु, मतदाताका समस्यामार्फत सरकारलाई जवाफदेही बनाउने र सुर्खेतको विकास मेरो एजेन्डा हुन्,’ उनले भने, ‘युवालाई रोजगारीमा जोड्ने र जेनजी आन्दोलनको मर्मलाई संस्थागत गर्ने मेरो प्रतिबद्धता छ ।’
जेन–जी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुर्खेत–१ को उम्मेदवार छन् । उनी राप्रपा केन्द्रीय सदस्य हुन् । व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध आफ्नो उम्मेदवारी रहेको उनले बताए । ‘जेनजी आन्दोलनका मुद्दालाई संस्थागत गर्न पनि संसदमा युवा प्रतिनिधित्व आवश्यक छ, युवापुस्ताले चाहेको समृद्धि, विकास र जनअपेक्षा पूरा गर्ने नै मेरो एजेन्डा हो,’ उनले भने, ‘हामी युवाले नै विकृत राजनीतिलाई जनअपेक्षाअनुरूपको बनाउने हो ।’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टेकबहादुर सिंह चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका पूर्वजिल्ला उपसभापति सिंह गत मंसिरमा रास्वपा प्रवेश गरेका थिए । प्रचारप्रसार, घरदैलो, मतदाता भेटघाटलगायतलाई तीव्रता दिएको उनले बताए ।
‘पुराना राजनीतिक दलप्रति जनतामा वितृष्णा छ, जनताप्रति उत्तरदायी हुँदै कानुन निर्माण र विकासलाई सँगसँगै लैजाने मेरो एजेण्डा हो,’ उनले भने, ‘सुशासन, जनअपेक्षाअनुसारको विकास, भ्रष्टाचारको अन्त्य र मौलिक हकको पूर्णरूपमा कार्यान्वयन गरी जनतालाई व्यवहारतः सार्वभौम बनाउने मेरो प्रयास रहनेछ ।’
सुर्खेत–१ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दलहरूको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहौललाई हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले र नेकपाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको नागरिक अगुवा चन्द्रबहादुर ओली बताउँछन् । पार्टीहरूका एजेण्डा र उम्मेदवारहरूको क्षमता हेरेर सबैभन्दा सक्षम र योग्य व्यक्तिलाई मतदाताले विजयी बनाउनुपर्ने उनको तर्क छ ।
‘अब पार्टीभन्दा पनि उम्मेदवारको क्षमता महत्वपूर्ण छ, उम्मेदवारको झूटा आश्वासनकै कारण जेनजी विद्रोह भयो,’ उनले भने, ‘यही निर्वाचनबाट जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत गर्नुपर्ने आवश्यक्ता छ, त्यसैले मतदाताहरू थप सचेत भएर मतदान गर्न जरुरी छ, अहिलेको भोटले पछि पछुताउनु नपरोस् ।’गत प्रदेशसभा निर्वाचनमा १ (१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल १८ हजार २ सय ६४ मतसहित र १ (२) मा नेकपाका कृष्णबहादुर जीसी २१ हजार ७ सय ३४ मतसहित विजयी भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेत–१ मा १३ जना उम्मेदवार छन् ।
यो क्षेत्रमा वीरेन्द्रनगर–१५ र १६ सहित भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिका तथा सिम्ता र चिन्गाड गाउँपालिका छन् । एमालेले वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता तथा चिन्गाड गाउँपालिका जितेको छ भने गुर्भाकोटमा कांग्रेस विजयी भएको छ ।
यो खबर कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ ।
गाउँ, घर, छरछिमेक र प्रविधिको प्रयोग गरी सूचना संकलन गर्दा मृतक वसन्ती गोडियाको छिमेककै एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको थियो । सोही आधारमा प्रहरीले शंकास्पद व्यक्तिको निगरानी बढाउँदै नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा शंकित युवकले प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध ढंगबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज, माघ १५ प्रेम सम्बन्धमा उत्पन्न खटपटले एक २१ वर्षीया युवतीको ज्यान गएको दर्दनाक घटना बाँकेको डुडुवा गाउँपालिकामा सार्वजनिक भएको छ । करिब एक महिनाअघि हत्या गरी इनारमा फालिएको अवस्थामा फेला परेको बेवारिसे शवको पहिचानपछि प्रहरीले हत्यामा संलग्न युवकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार माघ १ गते बिहान करिब १०ः२४ बजे डुडुवा गाउँपालिका–३ बनकट्टी गाउँमा रहेको एक इनारमा शव देखिएको भन्ने सूचना प्राप्त भएको थियो । सूचनापछि स्थानीय प्रहरी टोली घटनास्थलमा खटिएर आसपासका इनारहरू जाँच गर्ने क्रममा राम फेरन कुर्मीको घर पछाडि वर्षौंदेखि प्रयोगमा नरहेको इनारभित्र पहिचान नखुलेको शव फेला परेको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । सशस्त्र प्रहरी बलको सहयोगमा इनारबाट बाहिर निकालिएको शव अत्यधिक सडिगली सकेको अवस्थामा रहेको थियो । शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको थियो ।
शव सडिसकेको कारण सुरुमा मृतकको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले विभिन्न प्रविधि र विधिको प्रयोग गर्दै अनुसन्धान अघि बढाएको थियो । मृतकले लगाएको कपडा र गरगहनाको आधारमा स्थानीय बासिन्दासँग बुझ्दा उक्त शव डुडुवा गाउँपालिका–३ कै पाँचगोडिया टोल निवासी २१ वर्षीया बसन्ती गोडियाको भएको खुलेको हो । त्यसपछि मृतकका परिवारजनलाई बोलाएर कपडा र गहना देखाइ सनाखत गराइएको थियो ।
प्रहरी अनुसन्धानअनुसार शवको अवस्था हेर्दा घटना करिब एक महिनाअघि घटेको अनुमान गरिएको छ । भेरी अस्पतालबाट प्राप्त पोष्टमार्टम प्रतिवेदनमा मृतकको टाउको र घाँटीका विभिन्न भागमा धारिलो हतियारबाट गम्भीर चोट लागेको उल्लेख छ । ‘ऋजयउ ष्लवगचथ तय ल्भअप बलम ज्भबम’ उल्लेख गरिएको प्रतिवेदनले बसन्ती गोडियाको हत्या कर्तव्य गरी गरिएको पुष्टि गरेको प्रहरीको निष्कर्ष छ ।
घटनाबारे अनुसन्धान गर्दा मृतक केही समयदेखि गाउँमा नदेखिए पनि उनको हराएको विषयमा प्रहरीमा कुनै औपचारिक उजुरी परेको थिएन । गाउँघरमा बुझ्दा बसन्ती भारतको नानापारा स्थित मामा घर गएको भनिएको थियो । तर प्रहरीले मृतकका मामा रामजेश गोडियासँग सम्पर्क गर्दा उनी त्यहाँ नगएको खुलेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो । त्यसपछि परिवारका सदस्यहरूलाई बोलाई कपडा र गहनाका आधारमा शवको सनाखत गरिएको हो ।
प्रहरीका अनुसार मृतकले मोबाइल प्रयोग गर्ने गरेको भए पनि सिम कार्ड प्रयोग नगरेको परिवारले बताएको थियो । तर प्रविधिको प्रयोगबाट अनुसन्धान गर्दा बसन्तीले सिम कार्ड प्रयोग गर्ने गरेको खुलेको छ । मोबाइल तथा अन्य प्रविधिको विश्लेषणबाट उनी पुस १ गते, मंगलबार रातिदेखि सम्पर्कविहीन भएको र सोही दिनदेखि घरमा पनि नदेखिएको तथ्य प्रमाणित भएको छ ।
गाउँ, घर, छरछिमेक र प्रविधिको प्रयोग गरी सूचना संकलन गर्दा मृतक वसन्ती गोडियाको छिमेककै एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको थियो । सोही आधारमा प्रहरीले शंकास्पद व्यक्तिको निगरानी बढाउँदै नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा शंकित युवकले प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध ढंगबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलको अवस्था, शवको स्थिति, पोष्टमार्टम रिपोर्ट, शंकित व्यक्तिको साबिती बयान तथा क्राइम सिन रिक्रिएसनको अध्ययन गर्दा समेत सोही व्यक्तिले हत्या गरेको पुष्टि हुने देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा डुडुवा गाउँपालिका–३ बनकट्टी निवासी २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरेको हो । उनी अविवाहित हुन् र पेशाले कृषक रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शंकित व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा मिति २०८२ माघ ११ गते पक्राउ गरिएको हो । त्यसपछि माघ १२ गते सम्मानित बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दिपक पातलीले प्रेम सम्बन्धका कारण जघन्य अपराध भएको यो घटनाले समाजलाई गम्भीर सन्देश दिएको बताए । उनले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको उल्लेख गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने जानकारी दिए ।
बाँके, माघ १५ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षामा प्रयोग हुने नमुना मतपत्र सबै जिल्लामा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जानकारी दिँदै यसबारे विवरण दिएका हुन् ।
उनका अनुसार, कुल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरिएको छ । यी मतपत्र सबै जिल्लामा वितरण भइसकेको र मतदाता शिक्षामा प्रयोगका लागि तयारी पूरा भइसकेको उनले बताए । ‘पहिलो चरणमा हुने निर्वाचन प्रणालीअनुसार हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका लागि नमुना मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ,’उनले बताए ।
मतपत्र वितरण र निर्वाचन तयारीको प्रक्रिया पनि आयोगले व्यवस्थित रूपमा अघि बढाएको छ । प्रवक्ता भट्टराईका अनुसार, माघ २५ देखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना छ । यसरी वितरणपछि मतदाता शिक्षामा नागरिकहरूले वास्तविक मतपत्र जस्तो अनुभव गरेर मतदान प्रक्रियाप्रति सचेत बन्न सक्ने आयोगको विश्वास छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पनि अधिकांश सम्पन्न भइसकेको छ । यसमा करिब दुई करोडभन्दा बढी मतपत्र छापिएका छन् । प्रवक्ता भट्टराईले भने, ‘समानुपातिक प्रणालीतर्फको मतपत्र वितरण र तयारी पनि अन्तिम चरणमा पुगेको छ । बाँकी काम छिट्टै सम्पन्न गरी निर्वाचन तयारी पूरा हुनेछ ।’निर्वाचन आयोगले मतदाता शिक्षालाई प्राथमिकता दिएको छ । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रकार, मतदानको तरिका र मतदानको बेला अपनाउनुपर्ने नियमबारे जानकारी दिइन्छ । यसले मतदातामा सही जानकारी र आत्मविश्वास बढाउने काम गर्छ ।
प्रवक्ता भट्टराईले मतदाता शिक्षालाई सफल बनाउन स्थानीय तह, शिक्षक, सामाजिक संस्थाहरू र सञ्चारमाध्यमसँग सहकार्य भइरहेको बताए । उनले मतदातालाई समयमै मतदानस्थलमा पुगेर मतदान गर्न र मतपत्र ठीक प्रकारले प्रयोग गर्न आग्रह गरे ।निर्वाचन तयारीका क्रममा मतपत्र छपाइ, वितरण, सुरक्षा र मतदाता शिक्षामा ध्यान दिइएकोले निर्वाचन सहज, पारदर्शी र निष्पक्ष हुने आयोगको भनाइ छ । निर्वाचन आयोगले मतदाता शिक्षामा नागरिकलाई सक्रिय बनाउँदै लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्ने उद्देश्य राखेको छ ।




