२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नेपालगन्ज, माघ १६ प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाल प्रेस युनियन बाँकेको आयोजनामा नेपाली कांग्रेसका उम्मेदवारसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आसन्न निर्वाचन, उम्मेदवारका प्रतिबद्धता तथा विकासका एजेन्डामाथि केन्द्रित रहेर छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले बाँकेको समग्र विकाससँगै धर्म, संस्कार र सामाजिक मूल्य–मान्यताको जगेर्नाका लागि कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । उनले विकास निर्माणका कामलाई आफ्नो उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

नेपालगन्जमा बिहीबार आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले बाँकेका ठूला सम्भावनायुक्त योजनाहरूलाई समयमै टुंगो लगाउनुपर्ने आवश्यकता औँल्याए । ‘यही क्षेत्रमा लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको छ, विश्वविद्यालयको जग्गा प्राप्तिसँगै भौतिक पूर्वाधार निर्माणको काम टुंग्याउनुपर्ने अवस्था छ,’ उनले भने, ‘कपास विकास समिति र नौवस्ता औद्योगिक क्षेत्रको विस्तार, साथै पर्यटकीय क्षेत्र विकासका लागि उपयुक्त रुट निर्माण गर्नुपर्नेछ ।’

आसन्न निर्वाचनले देशलाई नयाँ दिशातर्फ लैजाने विश्वास व्यक्त गर्दै सभापति पुनले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि जनतामाझ स्पष्ट रूपमा मत माग्नुपर्ने अवस्था आएको बताए । कांग्रेसले यसपटक १ सय ६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा उतारेको उल्लेख गर्दै उनले पार्टीभित्र क्रमिक सुधार र परिवर्तन भइरहेको दाबी गरे । ‘सबै परिवर्तन एकै पटक हुँदैन, क्रमिक रूपमा हुँदै जान्छ,’ उनले भने ।

सभापति पुनले कांग्रेस लुम्बिनी प्रदेशले उपसभापति राजु खनालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिसकेको जानकारी दिँदै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकीकृत भएर उम्मेदवारको जितका लागि लाग्न निर्देशन दिए । कांग्रेस उम्मेदवारविरुद्ध गतिविधि गर्नेहरूलाई निर्वाचन परिणाम आउनुअघि नै कारबाही गरिने चेतावनीसमेत उनले दिए ।

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति तथा बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले कांग्रेसप्रति जनताको विश्वास र भरोसा अझै मजबुत रहेको बताए । चुनावको मुखमा नयाँ दलहरू देखिए पनि जनताको भरोसा कांग्रेसमै रहेको उनको भनाइ थियो । सचेत मतदाताले यसपटक रुख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउने विश्वास उनले व्यक्त गरे ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, सह–सचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, महासमिति सदस्य उमा थापामगरलगायत कांग्रेसका नेता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

राप्तीसोनारी, माघ १६  नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका–२ को सम्पर्क कार्यालय बिहीबार औपचारिकरूपमा उद्घाटन गरिएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायणप्रसाद गौडेलले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौडेलले आफ्नो उम्मेदवारी शून्य भ्रष्टाचार र विधिको शासन स्थापनाका लागि रहेको बताए । उनले राजनीति सेवा र जिम्मेवारी भएको उल्लेख गर्दै जनताको विश्वास जित्न इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जनीतिलाई व्यक्तिगत स्वार्थको माध्यम होइन, जनताको जीवनस्तर सुधार गर्ने माध्यम बनाउनुपर्छ,’ उनले भने ।

गौडेलले राप्ती सोनारी क्षेत्रको समग्र विकासका लागि कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राख्ने बताए । यस क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँका बासिन्दा वर्षेनि वन्यजन्तुको आक्रमणबाट पीडित हुँदै आएको उल्लेख गर्दै उनले पीडित परिवारले पाउँदै आएको सरकारी राहत अपर्याप्त रहेको बताए । ‘अकालमै ज्यान गुमाउनुपर्ने पीडित परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम बढाउन आवश्यक छ । यो विषय म निर्वाचित भएर सदनमा पुगेपछि प्राथमिकताका साथ उठाउँछु,’ उनले भने ।

उनले वन्यजन्तु व्यवस्थापन, सुरक्षित बस्ती, रोजगारी सिर्जना, कृषि उत्पादनको बजार सुनिश्चितता र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने नीतिगत सुधार आवश्यक रहेको पनि बताए । धेरै समस्या समाधानका लागि कानून र नीतिमा सुधार गर्नुपर्ने भन्दै त्यसतर्फ आफूले आवाज उठाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उनले आफू निर्वाचित भए वा नभए पनि जनतासँग निरन्तर जोडिएर रहने स्पष्ट पारे । ‘म हिजो पनि जनताकै बीचमा थिएँ, आज पनि छु र भोलि पनि यहीँ रहनेछु,’ उनले भने । उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कोहलपुर, माघ १६ नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई निर्वाचित गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ । प्रदेशभर एकीकृत र प्रभावकारी चुनावी रणनीति लागू गर्ने लक्ष्यका साथ कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको नेतृत्वमा उक्त समिति निर्माण गरिएको हो ।

निर्वाचन परिचालन समितिले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका २६ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको पक्षमा सकारात्मक चुनावी माहोल सिर्जना गर्ने जिम्मेवारी पाएको छ । समितिले प्रत्येक निर्वाचन क्षेत्रमा पार्टीको संगठनात्मक अवस्था, जनमतको प्रवृत्ति, स्थानीय मुद्दा र प्रतिस्पर्धी दलको गतिविधिबारे जानकारी संकलन गर्ने तथा आवश्यक समन्वय गरेर जनसमर्थन विस्तार गर्ने कार्य गर्ने जनाइएको छ ।

खनाल नेतृत्वको समितिले जिल्लास्तरका पार्टी संरचना, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा स्थानीय नेताहरुसँग समन्वय गर्दै चुनावी अभियानलाई थप सशक्त बनाउने रणनीति बनाएको छ । घरदैलो, कोणसभा, आमसभा तथा मतदाता लक्षित कार्यक्रममार्फत कांग्रेसको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनमत निर्माण गर्ने समितिको लक्ष्य रहेको छ ।

निर्वाचन परिचालन समिति गठनसम्बन्धी निर्णय नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बाँकेको कोहलपुरमा सम्पन्न प्रदेश समिति बैठकबाट गरिएको हो । बैठकमा सभापति पुनले प्रदेशका १२ जिल्लाका सबै २६ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको जित सुनिश्चित हुने गरी संगठन र अभियानलाई परिचालन गर्न निर्देशन दिएका थिए ।

सभापति पुनले कांग्रेस लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र जनताको हितमा निरन्तर उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताले कांग्रेसलाई विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका सबै नेता–कार्यकर्ता अनुशासित र एकताबद्ध भएर मैदानमा उत्रिनुपर्ने बताए ।

बैठकमा सहभागी नेताहरुले निर्वाचन परिचालन समितिको भूमिकाले प्रदेशभर कांग्रेसको चुनावी अभियानलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन् । उनीहरुले स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म पार्टीको संगठन मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद बढाउने आवश्यकता औंल्याएका छन् ।कांग्रेस लुम्बिनी प्रदेशले निर्वाचनलाई लक्षित गर्दै आगामी दिनमा थप कार्यक्रम र अभियान सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी नेतृत्वले जनताको विश्वास जित्दै लोकतान्त्रिक शक्तिको रूपमा कांग्रेसलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेससँग जितका लागि पर्याप्त अवसर छन्, तर ती अवसर सदुपयोग गर्न आन्तरिक एकता र प्रभावकारी चुनावी रणनीति अनिवार्य देखिन्छ । विरासत फर्काउने चाहना जति बलियो छ, चुनौती पनि त्यत्तिकै गहिरा छन् ।

नेपालगन्ज, माघ १६  बाँके क्षेत्र नम्बर १ नेपाली कांग्रेसका लागि राजनीतिक रूपमा ऐतिहासिक क्षेत्र मानिन्छ । २०४८ सालमा मेराज अहमद शाह र २०५६ सालमा ज्ञानु केसीलाई विजयी गराउँदै कांग्रेसले यो क्षेत्रमा बलियो उपस्थितिको परिचय दिएको थियो । तर त्यसयता कांग्रेसले लगातार पराजय व्यहोर्दै आएको छ । २०६४ सालदेखिका चारवटा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले जित निकाल्न सकेन । २०७९ सालको निर्वाचनमा त कांग्रेस उम्मेदवारविहीन रहँदा यो क्षेत्र कांग्रेसका लागि झनै निराशाजनक बन्यो । तत्कालीन नेकपा माओवादी केन्द्रसँगको चुनावी तालमेलका कारण कांग्रेसले यहाँ प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसर नै पाएन । गठबन्धन हुँदाहुँदै पनि माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि कांग्रेसको रणनीति र निर्णयप्रति पार्टीभित्रै प्रश्न उठेका थिए ।

अब फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस २६ वर्षअघिको विरासत उल्ट्याउने दाउमा छ । २०५६ सालमा ज्ञानु केसीले जित दिलाएको राजनीतिक जग पुनः निर्माण गर्ने उद्देश्यसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ । यसपटक कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल उम्मेदवार बनेका छन् । उनीसँगै कांग्रेसले संगठन, परिचित अनुहार र प्रतिस्पर्धीको कमजोरीलाई जितको मुख्य आधारका रूपमा प्रस्तुत गरिरहेको छ ।

बाँके क्षेत्र नम्बर १ भौगोलिक र राजनीतिक दृष्टिले मिश्रित क्षेत्र हो । यस क्षेत्रमा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छन् । सहरी र ग्रामीण दुवै क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रले चुनावी परिणाममा विभिन्न कारकहरूलाई निर्णायक बनाउँदै आएको छ । विशेषगरी कोहलपुरको सहरी मत, राप्तीसोनारीको मिश्रित अवस्था र नरैनापुरको ग्रामीण राजनीतिक झुकावले परिणाममा प्रभाव पार्ने गरेको छ ।

कांग्रेसले सबैभन्दा बलियो आधार संगठनलाई मानेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिकामा कांग्रेसले उल्लेखनीय सफलता हासिल गरेको थियो । १५ वटा वडामध्ये ९ वडामा कांग्रेसले वडाध्यक्ष जितेको थियो । नगरप्रमुखमा पूर्णप्रसाद आचार्यले १४ हजार १३४ मत प्राप्त गर्दै विजयी भएका थिए । उपप्रमुख संगीता सुवेदीले पनि जितेकी थिइन् । वडा नम्बर २ मा १८०५, वडा नम्बर ४ मा ५३१, वडा नम्बर ६ मा ८२६, वडा नम्बर ८ मा ११६२, वडा नम्बर १० मा १४८५, वडा नम्बर १२ मा १६६२, वडा नम्बर १३ मा १०१०, वडा नम्बर १४ मा ६५५ र वडा नम्बर १५ मा ११९८ मतसहित कांग्रेसले वडाध्यक्ष जितेको थियो । यी तथ्यांकले कोहलपुरमा कांग्रेसको सांगठनिक पकड अझै बलियो रहेको संकेत गर्छ ।

राप्तीसोनारी गाउँपालिकामा कांग्रेस अध्यक्ष पद जित्न सफल भए पनि वडा तहमा भने सफलता हासिल गर्न सकेको छैन । अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ मत ल्याएर विजयी भए पनि ९ वटै वडामा कांग्रेस पराजित भएको थियो । यसले नेतृत्व तहमा कांग्रेसप्रति भरोसा देखिए पनि संगठनात्मक विस्तारमा चुनौती रहेको देखाउँछ । तर कांग्रेसले अध्यक्ष पदमा आएको मतलाई आफ्नो आधार मानेर गाउँपालिकाभर प्रभाव विस्तार गर्न सकिने दाबी गरेको छ ।

नरैनापुर गाउँपालिका भने कांग्रेसको अर्को बलियो आधार बनेको छ । यहाँका ६ वटै वडामा कांग्रेसले वडाध्यक्ष जित्दै बहुमत कायम गरेको छ । वडा नम्बर १ मा ७६४, वडा नम्बर ४ मा ५९७, वडा नम्बर ५ मा १३४५ र वडा नम्बर ६ मा ७७७ मत प्राप्त गर्दै कांग्रेसले जित निकालेको थियो । नरैनापुरको यो परिणामले ग्रामीण क्षेत्रमा कांग्रेसको सांगठनिक मत अझै जीवित रहेको देखाउँछ ।

कांग्रेसको दाबीअनुसार यी मतमध्ये धेरै मत लोकप्रियभन्दा पनि सांगठनिक हुन् । संगठन मजबुत भएकाले आधारभूत मत सुरक्षित रहेको कांग्रेसको बुझाइ छ । अहिले मतदाता संख्या बढेको र स्थानीय चुनावपछि संगठन अझै विस्तार भएको भन्दै कांग्रेसले यसपटक परिणाम आफ्नो पक्षमा आउने विश्वास लिएको छ ।दोस्रो आधारका रूपमा कांग्रेसले उम्मेदवारको परिचित छविलाई अघि सारेको छ । नारायणप्रसाद गौडेल कोहलपुरका स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखि सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका थिए । राजनीतिकरूपमा पनि उनको पृष्ठभूमि लामो छ । जिल्ला सभापति भएका कारण उनी पार्टी संगठनमा मात्रै सीमित छैनन्, जनस्तरसम्म पुग्ने क्षमता भएको व्यक्तिका रूपमा चित्रित गरिन्छ । कांग्रेसका अनुसार गौडेल कुनै नयाँ वा नचिनिएको अनुहार होइनन् । उनी प्रत्यक्षरूपमा जनतासँग जोडिएका नेता हुन्, जसले चुनावी अभियानमा फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

तेस्रो आधार प्रतिस्पर्धीको कमजोरी हो । कांग्रेसले नेकपा एमालेका उम्मेदवार सूर्य ढकाललाई कमजोर ठानेको छ । ढकाल अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भएका थिए । कांग्रेसका अनुसार उनले पार्टीभन्दा व्यक्तिगत मतका कारण जित निकालेका थिए । तर सांसद बनेपछि चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न नसकेको, जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरमा असन्तुष्टि बढेको कांग्रेसको मूल्यांकन छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारप्रति पनि कांग्रेस आशावादी छैन । चुनावपिच्छे पार्टी बदल्दै उम्मेदवार हुने प्रवृत्तिका कारण मतदाताले उनलाई विश्वास नगर्ने कांग्रेसको दाबी छ । अहिले रास्वपाप्रति केही आकर्षण देखिए पनि संगठन कमजोर भएकाले त्यसको फाइदा कांग्रेसलाई पुग्ने अपेक्षा गरिएको छ । रास्वपा परीक्षण गर्ने मतदाताको संख्या बढे पनि दीर्घकालीन भरोसा कांग्रेसमै आउने अनुमान पार्टीको छ ।

तर अवसरसँगै कांग्रेसका लागि चुनौती पनि कम छैनन् । सबैभन्दा ठूलो चुनौती आन्तरिक गुटबन्दी हो । पार्टीभित्रको मत विभाजनका कारण सबै सांगठनिक मत गौडेलतर्फ जान्छ भन्ने सुनिश्चितता छैन । यसले चुनावी नतिजामा असर पार्न सक्ने विश्लेषण गरिन्छ । साथै रास्वपालाई परीक्षण गर्ने मतदाताको हल्लाले केही प्रतिशत मत कांग्रेसबाट बाहिरिन सक्ने जोखिम पनि देखिन्छ ।शहरी क्षेत्रमा बजार क्षेत्रको मत काटिने आशंका कांग्रेसले स्वयं स्वीकार गरेको छ । गाउँ क्षेत्रमा भने अपेक्षाकृत कम मत कट्ने अनुमान छ । यसैले कांग्रेसले गाउँ–शहर सन्तुलन मिलाउँदै अभियान केन्द्रित गर्नुपर्ने अवस्था छ ।

यतिबेला बाँके क्षेत्र नम्बर १ मा कांग्रेस पुरानो विरासत जोगाउने कि निरन्तर हारको शृंखला लम्ब्याउने भन्ने दोधारमा उभिएको छ । २०४८ र २०५६ सालको ऐतिहासिक जितको स्मृति बोकेर कांग्रेस २६ वर्षपछि पुनः त्यही स्तरको विश्वास फर्काउने प्रयासमा छ । अवसर जति छन्, चुनौती पनि त्यत्तिकै छन् । फागुन २१ को निर्वाचनले बाँके क्षेत्र नम्बर १ मा कांग्रेसको राजनीतिक भविष्यको नयाँ अध्याय लेख्नेछ ।

मुख्य बुँदागत तथ्य
– बाँके क्षेत्र नम्बर १ नेपाली कांग्रेसका लागि ऐतिहासिक क्षेत्र भए पनि २०५६ सालपछि निरन्तर पराजयको सामना गर्दै आएको क्षेत्र हो ।
– २०४८ सालमा मेराज अहमद शाह र २०५६ सालमा ज्ञानु केसीको जितपछि कांग्रेसले यहाँ प्रतिनिधिसभा निर्वाचन जित्न सकेको छैन ।
– २०६४ सालयताका चारवटा चुनावमा कांग्रेस जितविहीन रह्यो भने २०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवारविहीन नै भयो ।
– २०७९ सालमा माओवादी केन्द्रसँगको चुनावी तालमेलका कारण कांग्रेसले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसर पाएन, गठबन्धन हुँदाहुँदै पनि पराजय व्यहोर्नुपर्‍यो ।
– फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस २६ वर्षअघिको विरासत फर्काउने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।
– यसपटक कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल उम्मेदवार बनेका छन् ।
– कांग्रेसले जितको पहिलो आधार संगठनलाई मानेको छ ।
– कोहलपुर नगरपालिकाका १५ वडामध्ये ९ वडासहित नगरप्रमुख र उपप्रमुखमा कांग्रेसले स्थानीय तह निर्वाचन जितेको छ ।
– कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यले १४ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए, जसलाई कांग्रेसले सांगठनिक मतको संकेत मानेको छ ।
– राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष कांग्रेसले जिते पनि वडा तहमा भने कमजोर देखिएको छ ।
– नरैनापुर गाउँपालिकाका ६ वटै वडामा कांग्रेसले जित निकाल्दै ग्रामीण क्षेत्रमा पकड देखाएको छ ।
– कांग्रेसको दाबी अनुसार यी मतमध्ये अधिकांश सांगठनिक मत हुन्, जसले प्रतिनिधिसभा निर्वाचनमा आधार तयार गरेको छ ।
– दोस्रो आधारका रूपमा उम्मेदवार गौडेलको परिचित छवि र लामो सामाजिक–राजनीतिक पृष्ठभूमिलाई अघि सारिएको छ ।
– तेस्रो आधार प्रतिस्पर्धी दलका उम्मेदवारप्रति जनअसन्तुष्टि रहेको कांग्रेसको ठहर छ ।
– एमाले उम्मेदवार सूर्य ढकालले सांसद बनेपछि अपेक्षित काम गर्न नसकेको आरोप कांग्रेसको दाबी छ ।
– रास्वपाका उम्मेदवारप्रति संगठन कमजोर र पटकपटक पार्टी बदल्ने प्रवृत्तिका कारण जनविश्वास कमजोर रहेको कांग्रेसको दाबी छ ।
– तर कांग्रेसभित्रको आन्तरिक गुटबन्दी ठूलो चुनौतीका रूपमा देखिएको छ ।
– सहरी बजार क्षेत्रमा मत काटिने सम्भावना र रास्वपालाई परीक्षण गर्ने मतदाताको मनोवृत्तिले पनि परिणाममा प्रभाव पार्न सक्छ ।
– समग्रमा बाँके क्षेत्र नम्बर १ मा कांग्रेससँग अवसर र चुनौती दुवै छन्, फागुन २१ को निर्वाचनले पार्टीको राजनीतिक भविष्यको दिशा तय गर्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।