२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नेपालगञ्ज, ११ फागुन   नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा पर्सि फागुन १४ गते नेपालगञ्ज आउदै हुनुहुन्छ । सोही दिन सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित होटल पौवा नजिकैको पूर्वतर्पmको खाली जग्गामा आमसभा आयोजना गरिएको छ । वृहत आमसभाको संयोजन नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ ।

वृहत आमसभामा जनसमुदायलाई सहभागि हुन नेपाली काँग्रेस, बाँकेले आव्हान समेत गरेको छ । आमसभामा सभापति थापासहित केन्द्रीय तहका नेताहरु, बाँके जिल्लाको तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारलगायत पार्टीका अन्य जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।

उदयपुर, फागुन ११ गते   मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख. ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको हो ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर र कटारी नगरपालिका–२ की ६० वर्षीया सोममाया परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन भण्डारीको कमान्डमा १३ जना र अस्थायी प्रहरी पोस्ट सङ्गमचोकबाट प्रहरी सहायक निरीक्षक तिलक पौडेलको नेतृत्वमा ६ जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो ।

दुर्घटनाग्रस्त बस घटनास्थलमै छ भने चालक कटारी नगरपालिका–४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको नामावली:

१. मणिका मगर (२२), त्रियुगा नपा–११ (सामान्य)

२. अनिता चौधरी (३५), कटारी नपा–४ (शरीरका विभिन्न भागमा चोट)

३. सोममाया मगर (७३), उदयपुरगढी गापा–७ (गम्भीर)

४. प्रकाश भुजेल (४०), ताप्ली गापा–५ (शरीरका विभिन्न भागमा चोट)

५. रेशिका बस्नेत (२१), त्रियुगा नपा–७ (सामान्य)

६. तिलक बस्नेत (१७), रौतामाई गापा–७ (सामान्य)

७. दिपेश तामाङ (१०), उदयपुरगढी (सामान्य)

८. पवित्रा श्रेष्ठ (१९), कटारी नपा–४ (सामान्य)

९. रेश्मा बस्नेत (२०), त्रियुगा नपा–५ (सामान्य)

१०. सोममाया परियार (६०), कटारी नपा–२ (गम्भीर)

११. नितेश बुढाथोकी (२७), कटारी नपा–३, सहचालक (सामान्य)

१२. दल बहादुर तामाङ (७८), कटारी नपा–५ (शरीरमा चोट)

१३. प्रेम तामाङ (१५), कटारी नपा–४ (सामान्य)

१४. सुवास नेपाली (२८), ताप्ली गापा–५ (सामान्य)

१५. सुजन तामाङ (१५), कटारी नपा–४ (सामान्य)

गुल्मी, फागुन ११  यहाँ गुल्मी क्षेत्र नम्बर १ को निर्वाचनमा परम्परागत “आलोपालो” समीकरण चुनौतीपूर्ण मोडमा पुगेको छ । विगतका निर्वाचनमा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीले लगातार आलोपालो निर्वाचित हुँदै आएका थिए भने यसपटक नयाँ प्रतिस्पर्धी दल र उम्मेदवारले समीकरण परिवर्तन गर्ने सम्भावना देखिएको छ ।गुल्मी–१ मा एमालेका ज्ञवाली २०५६ सालमा कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गर्दै संघीय संसदमा प्रवेश गरेका थिए । त्यसयता २०६४ देखि २०७९ सम्म कांग्रेसबाट भण्डारी र एमालेबाट ज्ञवालीले पालैपालो निर्वाचन जित्दै आलोपालोको परम्परा कायम राखेका थिए । २०७४ मा बाम गठबन्धन र २०७९ मा पाँचदलीय गठबन्धन हुँदा पनि क्रमशः ज्ञवाली र भण्डारीले गठबन्धनको साथ पाएको थियो ।

यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल पनि गुल्मी–१ बाट प्रतिस्पर्धा गरिरहेका छन् । नेकपाका नेतृ गीता थापाका अनुसार, बरालको मन्त्री हुँदै गरेको अनुभव, कामको छवि र पार्टी संरचना बलियो भएकाले यसपटक नेकपाले समीकरणमा ब्रेक ल्याउने सम्भावना छ । बरालले १२ वर्षपछि आफ्नै चुनाव चिन्ह ‘आफ्‌नै’मा मतदान पाउनु उत्साहजनक भएको उनले उल्लेख गरिन् ।

रास्वपाका नेता भोजराज पाण्डेले ढकालले पुराना दलहरूको विरासत तोडेर विजयी हुने दाबी गरे । पाण्डेले भने, ‘निरन्तर घरदैलो, भेटघाट र टोलभेलामा ध्यान दिँदै आएका छौं । पुराना दलहरूप्रतिको वितृष्णा र भ्रष्टाचारमुक्त समाज निर्माणमा हाम्रो पहल ढकालको पक्षमा जानेछ ।’ ढकाल गत निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरिसकेको थिए ।

तर परम्परागत दलहरू पनि मौन छैनन् । एमालेका केन्द्रीय सदस्य जंग नेपालीले भने, ‘आलोपालोको अवधारणा कायम रहनेछ । ज्ञवालीले यसपटक सहज जीत पाउनेछन् ।’ कांग्रेसका जिल्ला सह–सचिव छवि पाण्डेले भने, ‘चन्द्र भण्डारीको राष्ट्रिय राजनीतिमा प्रभाव र जेनजी आन्दोलनपछिको नेतृत्व परिवर्तनले कार्यकर्तामा उत्साह जगाएको छ, जसले उनको जीत सुनिश्चित गर्नेछ ।’

यसरी गुल्मी–१ को निर्वाचनमा आलोपालोको परम्परा चुनौतीपूर्ण मोडमा पुगेको छ । पुराना दलका अनुभवी उम्मेदवार, गठबन्धन प्रभाव, नयाँ दलका सक्रिय उम्मेदवार र मतदाताको नयाँ मानसिकताबीच प्रतिस्पर्धा कसको पक्षमा झुक्छ भन्ने प्रत्याशा उत्तेजक बनेको छ । यसपटकको निर्वाचनले गुल्मी–१ को आलोपालो अवधारणामा नयाँ मोड ल्याउने सम्भावना प्रबल देखिन्छ ।

डडेल्धुरा, फागुन ११ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेससँगको सम्भावित एकता र आफ्नो निर्णायक भूमिका सुनिश्चित गर्न बीपी कांग्रेस डडेल्धुरामा सक्रिय भएको छ । जिल्लाभर मतदातासँग अन्तरसंवादमा जुटेको बीपी कांग्रेसले यसपटक उम्मेदवार नउठाइ जनमत संकलनमार्फत आगामी निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने तयारी गरेको हो ।

बीपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लसहितका नेताहरू शनिबार कांग्रेसका निवर्तमान सभापति शेबरहादुर देउवाको गृहपालिका गन्यापधुरामा पुगेका थिए । मल्लको नेतृत्वमा गएको टोली गन्यापधुराका विभिन्न गाउँ पुगेर मतदाताको राय संकलन गरिरहेको छ । टोली गन्यापधुरा गाउँपालिका–१ स्थित मटेला पुगेको थियो, जुन देउवाको जन्मघर हो । टोलीले देउवाको जन्मघर अगाडि फोटोसुटसमेत गरेको थियो ।

देउवाको जन्मघर हाल भग्नावशेष अवस्थामा रहेको छ । सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले उक्त घरमा बम विस्फोट गरेको थियो । बीपी कांग्रेसले डडेल्धुरामा आफूलाई निर्णायक शक्ति भएको दाबी गर्दै मतदातासँग प्रत्यक्ष अन्तरसंवाद गर्न थालेको मल्लले बताए ।उक्त क्रममा मल्लले भने, ‘डडेल्धुरा कांग्रेसका सभापति र नेताहरूलाई भेला राख्न अनुरोध गरेका छौँ । त्यो भेलामा बीपी कांग्रेसका साथीहरूलाई पनि बोलाउन अनुरोध छ । हिजोका कुराको समीक्षा गरेर सहमति गरेर अगाडि बढ्न आह्वान गरेका छौँ ।’

मल्ल डडेल्धुराको कांग्रेसको दुई कार्यकाल सभापति भइसकेका नेता हुन् र लामो समय देउवाको सहकार्यमा काम गरेका थिए । तर, पार्टीको १४औँ महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण र वितरण विवादपछि मल्ललाई बाहिर राखेर जिल्ला अधिवेशन गरिएको थियो, जसले उनलाई देउवाविरोधी छवि दिएको थियो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने मल्लले देउवासँगै चुनाव लडेका थिए । देउवा २५ हजार ५३४ मतसहित विजयी भएका थिए भने बीपी कांग्रेसका मल्लले ७ हजार ५३५ मत पाएर तेस्रो स्थान हासिल गरेका थिए । यसपटक उम्मेदवार नहुँदा बीपी कांग्रेस र मल्लले कसलाई समर्थन गर्ने भन्ने कुरा डडेल्धुरामा सबैको ध्यान केन्द्रित भएको छ ।बीपी कांग्रेसको यो सक्रियता आगामी निर्वाचनमा पार्टीको रणनीति र स्थानीय तहमा आफ्नो प्रभाव सुनिश्चित गर्ने महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

महिला उम्मेदवारको रूपमा नमुनाले महिला मत आकर्षित गर्ने क्षमता राख्छिन् । स्थानीय तह र प्रदेशस्तरमा उनी महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशी विकासका विषयमा सक्रिय रहँदै आएकी छिन् । महिला मतदातामाझ उनको छवि बलियो भएकाले केही मत सन्तुलनमा फर्काउने सम्भावना छ । यस्तै, थारु समुदायमा उनको प्रभावले पनि चुनावमा निर्णायक भूमिका खेल्न सक्छ ।

 

नेपालगन्ज, फागुन ११ बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन यसपालि अप्रत्याशित मोडमा पुगेको छ, किनभने पूर्व लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) औसत उम्मेदवारबाट मुख्य प्रतिस्पर्धीमा परिणत भएकी छिन् । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) र नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा–नेपाल) बीच चुनावी तालमेल भएपछि उनी प्रतिस्पर्धाको मुख्य भागमा उभिएकी छिन् ।

अब यहाँ चार पक्षीय चुनावी भिडन्त हुनेछ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र प्रलोपाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नमुना २०७९ सालमा नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । प्रदेशसभामा निर्वाचित भएपछि उनले आफ्नो सक्रियता र विकास परियोजनामा देखाएको चासोले मतदातामा स्थायी छवि बनाएको थियो । तर राजनीतिक एकीकरण र पार्टी संरचनामा आएको परिवर्तनले उनको यात्रा चुनौतीपूर्ण बनाएको थियो । माओवादी केन्द्रसहितका कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि पार्टीभित्रको असन्तुष्टि र नेतृत्वको विवादले केही समूह अलगिनु परेको थियो । जनार्दन शर्माको नेतृत्वमा अलगिएको सानो समूहमा नमुना सामेल भइन् । प्रारम्भमा उनी मौन रहिन, तर पछि प्रगतिशिल लोकतान्त्रिक पार्टी रोजिन् । विश्लेषकहरू भन्छन्, ‘कि यो निर्णय उनलाई चुनावी दृष्टिले ढिलो परेको थियो ।’

पार्टी विभाजनले पुरानो सांगठनिक बल कमजोर बनायो । जसको परिणामस्वरूप प्रलोपाबाट उम्मेदवार बनेकी नमुनालाई विजेता हुन फलामको चिउरा चपाउनु सहर थियो । सोही कारण पनि सुरुवातमा प्रमुख दलहरूले उनलाई प्रतिस्पर्धाको मुख्य उम्मेदवारको सूचीमा राखेकै थिएनन् । बरु उनले केही मत काट्न सक्ने हलुका आँकलन गरिएको थियो । अधिकांश मतदाता र राजनीतिक विश्लेषकले उनी औसत उम्मेदवारका रूपमा हेरेका थिए । तर, नागरिक उन्मुक्ति पार्टी नेपालसँगको तालमेलले उनको स्थिति अहिले केही बलियो बनाएको छ । यसले थारु बाहुल्य क्षेत्रहरूमा चुनावी समीकरणमा नयाँ ऊर्जा थपेको छ ।

बाँके निर्वाचन क्षेत्रको भौगोलिक र सामाजिक संरचना जटिल छ । यो निर्वाचन क्षेत्र थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो, जहाँ नमुनाको व्यक्तिगत प्रभाव बलियो मानिन्छ । उनका सक्रिय राजनीतिक उपस्थिति, स्थानीय विकासमा देखाएको चासो र सामाजिक सञ्जालले उनलाई यस क्षेत्रमा बलियो उम्मेदवार बनाएको छ । नरैनापुर उनको प्रभाव पर्ने पालिकाका रुपमा परिचित छ । यहाँ मधेसी बाहुल्य भए पनि उनले यहाँ सकारात्मक प्रभाव पारेकी छिन् । राप्तीसोनारी उनको गृहपालिका भएकाले व्यक्तिगत सञ्जाल र परिचितहरूको बल लिन सजिलो छ । यहाँ रुकुम, सल्यानलगायतका जिल्लाबाट बसाइँसराइ गरी आएको बस्ती पनि छ । जसले उनलाई फाइदा पुग्न सक्छ । यो क्षेत्र चुनावी अभियानको लागि रणनीतिक केन्द्र जस्तो रहेको छ ।

तर, कोहलपुर क्षेत्र भने फरक चुनौती बोकेको छ । यहाँ मतदाता मिश्रित छन् र स्थापित दलहरूको पकड बलियो छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवै उम्मेदवारको गृहपालिका कोहलपुर भएकाले त्यहाँ पुरानो राजनीतिक आधार अझै सुदृढ छ । नयाँ दल वा अनुहारमा मत जान सक्ने सम्भावना पनि उत्तिकै छ । यसले नमुनाको अभियानलाई चुनौतीपूर्ण बनाएको छ । स्थापित दलहरूको प्रभाव, स्रोत र संगठनात्मक बलको कमी उनलाई कोहलपुरमा अपेक्षित मत ल्याउन बाधक बन्न सक्छ ।
महिला उम्मेदवारको रूपमा नमुनाले महिला मत आकर्षित गर्ने क्षमता राख्छिन् । स्थानीय तह र प्रदेशस्तरमा उनी महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशी विकासका विषयमा सक्रिय रहँदै आएकी छिन् । महिला मतदातामाझ उनको छवि बलियो भएकाले केही मत सन्तुलनमा फर्काउने सम्भावना छ । यस्तै, थारु समुदायमा उनको प्रभावले पनि चुनावमा निर्णायक भूमिका खेल्न सक्छ । २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ११४६५ मत पाएका थिए । त्यो सामान्य मत होइन । तर, यतिबेला सोही मत ल्याएको उम्मेदवार फरक अर्को पार्टीबाट उम्मेदवार छन् । नाउपा नेपालको प्रभाव थारु मतदातामाझ जबरजस्त देखिन्छ । अब यसको सिधै लाभ नमुनालाई भाग लाग्छ ।

राजनीतिक विश्लेषकहरूले भन्छन्, ‘कि यस निर्वाचनमा नमुनाको सबैभन्दा ठूलो पुँजी उनको व्यक्तिगत प्रभाव हो ।’ प्रदेशसभा सदस्यको रूपमा उनले बनाएको प्रत्यक्ष सम्पर्क, स्थानीय विकासमा देखाएको चासो र समुदायसँगको सञ्जालले उनलाई पार्टीभन्दा माथि उठाएको छ । तर प्रतिनिधिसभा निर्वाचन प्रदेशसभा भन्दा फरक प्रकृतिको हुन्छ । यसमा संगठन, स्रोत, गठबन्धन र राष्ट्रिय मुद्दाको प्रभाव पनि उत्तिकै महŒवपूर्ण हुन्छ । विभाजित कम्युनिस्ट मत र सीमित संगठनात्मक संरचना उनका चुनौती हुन् । नयाँ दलमा उम्मेदवार भएर मतदान केन्द्रसम्म प्रभाव पुर्‍याउन उनलाई समय सीमित छ । तर नागरिक उन्मुक्ति पार्टीसँगको तालमेलले केही अतिरिक्त बल थपेको छ । गठबन्धन रणनीति, स्थानीय नेता र सञ्जालको प्रभाव, र प्रचार अभियानको दायरा उनको सफलता वा असफलता निर्धारण गर्ने कारक बन्न सक्छ ।

अर्कोतर्फ, प्रमुख प्रतिस्पर्धीहरूको पुर्खौली घर पूर्वतिर रहेको र नमुना पश्चिम रुकुमकी भएकाले विगतका चुनावमा देखिएको ‘भेगीय राजनीति’को प्रभाव अहिले कति सक्रिय हुन्छ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्ने विषय हो । यसले कोहलपुर र आसपासका क्षेत्रहरूमा मत व्यवहारमा केही अस्थिरता ल्याउन सक्छ । नमुना चुनावी रणमा प्रवेश गर्दा उनी औसत उम्मेदवारको रूपमा मानिएकी थिइन्, तर अहिले उनी रिङभित्र बलियो उपस्थितिका साथ देखिएकी छन् । नागरिक उन्मुक्ति पार्टी नेपालसँगको तालमेल, थारु समुदायमा प्रभाव, महिला उम्मेदवारको छवि र व्यक्तिगत सञ्जाल उनका बलिया पक्ष हुन् ।

चुनाव अन्ततः अंकगणित र जनमतको खेल हो । नयाँ गठबन्धन, व्यक्तिगत प्रभाव र सामाजिक सञ्जालले बाँकेको चुनावी प्रतिस्पर्धा त्रिकोणात्मक र रोचक बनेको छ । पुराना दलहरू, नयाँ दल र महिला उम्मेदवारको संघर्षले निर्वाचनलाई अझै बढी अनिश्चित र निर्णायक बनाएको छ । राजनीतिक विश्लेषकहरू भन्छन् ‘कि यो चुनावमा मतदाताको प्राथमिकता, सामाजिक सञ्जाल र स्थानीय सञ्जालको प्रयोग निर्णायक साबित हुन सक्छ ।’ पार्टीगत बलभन्दा व्यक्तिगत पहिचान र सामाजिक प्रभावको भूमिका अझ बढी देखिन सक्छ । यही कारणले बाँकेको निर्वाचन न प्रतिस्पर्धात्मक, तर विश्लेषणात्मक दृष्टिले पनि अत्यन्त रोचक बनेको छ ।

क्षेत्रगत समीकरण : कहाँ बलियो, कहाँ चुनौती ?

यो निर्वाचन क्षेत्र भौगोलिक र सामाजिक हिसाबले विविध छ ।
नरैनापुर : मधेसी बाहुल्य क्षेत्र । यहाँ नमुनाको प्रभाव बलियो मानिन्छ ।
राप्तीसोनारी : उनको गृहपालिका । थारु बाहुल्य क्षेत्र । व्यक्तिगत सञ्जाल र संगठन र नाउपा नेपालको फाइदा लिन सक्ने क्षेत्र ।
कोहलपुर : सहरी र मिश्रित मतदाता रहेको क्षेत्र । यहाँ मत परिवर्तनको जोखिम उच्च हुन्छ । परम्परागत दलहरूको आधार बलियो भए पनि नयाँ दल र अनुहारप्रति अझ आकर्षण देखिएको छ ।

नेपालगन्ज, फागुन ११  भेरी अस्पतालमा रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ अभावका कारण निःशुल्क खोप सेवा पूर्ण रूपमा ठप्प भएको छ । अस्पतालमा उपलब्ध खोप सकिएपछि दैनिक रूपमा कुकुर तथा अन्य जनावरको टोकाइपछि उपचारका लागि आउने सेवाग्राहीहरू प्रभावित भएका छन् ।प्रदेश सरकारमार्फत खोप आपूर्ति हुने व्यवस्था भए पनि आवश्यकता अनुसार पर्याप्त डोज समयमै नआउँदा समस्या उत्पन्न भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अस्पतालका अधिकारीका अनुसार दैनिक १५ देखि २० जनालाई खोप आवश्यक पर्छ, तर हालको खोप अभावले सामान्य जनतालाई ठूलो चुनौती बनेको छ ।

रेबिज एक भाइरल संक्रमण हो, जुन संक्रमित जनावरको टोकाइपछि मानिसमा सर्छ । स्वास्थ्यकर्मीहरूका अनुसार समयमै खोप नलगाएमा रोग लागेपछि उपचारको सम्भावना न्यून हुन्छ, त्यसैले रोकथाम नै मुख्य उपाय हो । जनावरको टोकाइपछि तुरुन्तै घाउ सफा गरी निर्धारित समयमा पूर्ण मात्रा खोप लगाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

अस्पताल प्रशासनले स्पष्ट पारेको छ कि केन्द्र र प्रदेश सरकारबाट खोप प्राप्त नभएसम्म निःशुल्क सेवा सञ्चालन गर्न असम्भव छ । खोप अभाव लम्बिएमा बाँके जिल्लामा स्वास्थ्य संकट गहिरिन सक्ने स्थानीयहरूको चिन्ता बढेको छ । विशेषगरी गर्मीयाम नजिकिँदै गर्दा आवारा कुकुरको सक्रियता बढ्ने भएकाले जोखिम अझ बढी हुने अनुमान गरिएको छ ।

सेवाग्राहीहरूले निःशुल्क खोप नपाएपछि निजी मेडिकलमा महँगो मूल्यमा खोप किनेर उपचार गर्न बाध्य भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो थप पीडादायी बनेको छ । यसले स्वास्थ्य सेवा पहुँच र जनताको जीवन सुरक्षामा प्रत्यक्ष असर पारेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् ।
स्थानीय सरोकारवालाहरूले रेबिज जस्तो ज्यान जोखिम हुने रोगको रोकथामका लागि आवश्यक खोप पर्याप्त मात्रामा उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् । उनीहरूले चेतावनी दिएका छन् कि समयमै आपूर्ति सुनिश्चित नगरे सर्वसाधारणले अनावश्यक आर्थिक भार मात्र नभई ज्यानको जोखिम पनि बेहोर्नुपर्ने अवस्था आउनेछ ।

भेरी अस्पतालका कार्यालय प्रमुख डा. निराजन सुवेदीले भने, ‘खोप प्राप्त नभएसम्म निःशुल्क सेवा सञ्चालन गर्न असम्भव छ । सम्बन्धित निकायको तदारुकताबाट मात्रै सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।’ सार्वजनिक स्वास्थ्य सुरक्षा र समयमै रोकथामका लागि खोप आपूर्ति सुनिश्चित हुनु अत्यावश्यक रहेको विशेषज्ञहरूले जोड दिएका छन् । बाँकेमा रेबिजको जोखिम विशेष गरी गर्मीयाममा बढी हुने भएकाले तत्काल खोप उपलब्ध गराउन सम्बन्धित निकायलाई जोडदार आग्रह गरिएको छ ।

यसैबीच, स्वास्थ्यकर्मी र स्थानीय सरोकारवालाहरूले जनतालाई रेबिजको जोखिमबारे सचेत रहन र कुनै जनावरको टोकाइपछि तुरुन्त स्वास्थ्य संस्थामा पुग्न सल्लाह दिएका छन् । खोप अभाव लम्बिएको खण्डमा निःशुल्क सेवा पुनः सुचारु नहुँदा स्वास्थ्य संकट गहिरिन सक्ने भएकाले सरकारले तत्काल कदम चाल्नुपर्ने स्थानीयहरूको माग छ ।

बुटवल, फागुन ११  रूपन्देही–२ निर्वाचन क्षेत्र आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी माहौल अत्यधिक तातिरहेको छ । बुटवल बजार, तिलोत्तमा र सैनामैना नगरपालिकाका २३ वटै वडा समेटिएको यस क्षेत्रमा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै प्रचारप्रसार तीव्र पारेका छन् । मतदाता घरदैलो, चौपारी, चिया पसल र खेतबारीसम्म पुगेर आफ्नो अपेक्षा, नाराजगी र नयाँ उम्मेदवारप्रति आकर्षण व्यक्त गरिरहेका छन् ।

बुटवल–११ बुद्धनगर चौपारीमा भेटिएका ८२ वर्षीय थम्मनबहादुर विश्वकर्माले आफू लामो समयदेखि नेकपा एमालेमा विश्वास राख्दै मतदान गर्दै आएको बताए । तर, उनले यसपटक भोटको निर्णय अझै गर्न नसकेको उल्लेख गरे । उनका घरका अन्य सदस्यले नयाँ उम्मेदवारलाई भोट दिन सुझाइरहेका छन् । ‘पछिल्लो समय विकास निर्माणका केही काम भए पनि सर्वसाधारणको जीवनस्तरमा ठोस परिवर्तन देखिएको छैन’, विश्वकर्माले भने ।

त्यस्तै, ६७ वर्षीय लालबहादुर नेपालीले विगतमा नेताहरूबाट आश्वासन मात्र पाइए पनि सुकुम्बासी समस्या, लालपुर्जा नपाउनु र उद्योग बन्द जस्ता समस्याको समाधान नभएको बताए । ‘अब जनताको समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई भोट दिनुपर्छ’, उनले भने । होमनाथ डोटेल र कृष्णचन्द्र पौडेलले भने आफू पहिलेदेखि नै एमालेलाई भोट दिने बताउँदै यसपटक पनि पुरानै उम्मेदवार विष्णु पौडेललाई नै समर्थन गर्ने स्पष्ट पार्नुभयो । डोटेलले पूर्वअर्थमन्त्री पौडेलले क्षेत्रका विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उदाहरण दिएका छन् ।

तर, सिर्जना नगर, तिलोत्तमा–३, र मजुवा क्षेत्रका मतदाताहरू भने नयाँ दल र नयाँ उम्मेदवारप्रति आकर्षित देखिन्छन् । गणेश थापा, शंकर गैरे र प्रकाश रानाले भोट परिवर्तन गर्ने योजना बनाएका छन् । उनीहरूले पुराना दलले पटकपटक चुनाव जिते पनि जनताको वास्तविक समस्या समाधान गर्न नसकेको कारण नयाँ दलमा भोट दिनुपर्ने धारणा राखेका छन् । मतदाता रामबहादुर–मतिसरा कुमालले तिनाउ नदी कटान र बस्ती जोगाउन तटबन्ध निर्माण जस्ता माग पुरा नभएको भन्दै नयाँ उम्मेदवारको उम्मेदवारीलाई समर्थन गर्न सक्ने बताएका छन् ।

उक्त निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसबाट महासमिति सदस्य चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट सुवास पाण्डे (विश्वदीप) लगायत ३९ जना उम्मेदवार मैदानमा छन् । यस क्षेत्रका मतदातामा ‘यसपटक नयाँलाई’ भन्ने धारणा बढेको देखिन्छ । तर, पुराना दलहरूको स्थायित्व र स्थानीय मतदाताको पारंपरिक सम्बन्धले नयाँ दलको चुनाव जित सहज बनाएको छैन ।

पूर्वमन्त्री विष्णु पौडेलले यही क्षेत्रबाट पटकपटक चुनाव जित्दै शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण कामहरू सम्पन्न गरिसकेका छन् । बुटवल अन्तर्राष्ट्रिय सभा हल (बीआईसीसी), अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, लुम्बिनी सभा हल, बुटवल–भैरहवा छ लेन सडक, सिद्धबाबा सुरुङमार्ग, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक, तिनाउ नदीमा सिग्नेचर ब्रिज, मोतिपुर औद्योगिक क्षेत्र र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत परियोजना उनका योगदानका उदाहरण हुन् ।

२०७९ सालको निर्वाचनमा विष्णु पौडेलले २७ हजार १४७ मत प्राप्त गर्दै चौथोपटक विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २५ हजार ७८१ मतसहित दोस्रो भएका थिए । तत्कालीन सत्ता गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार ८ मत पाएका थिए । यसपटक मतदाता संख्या १ लाख ३५ हजार ५० रहेको रूपन्देही–२ मा मतदाताको प्राथमिकता र मतदान शैली निर्णायक हुनसक्नेछ ।

मतदाताले पार्टी भन्दा पनि उम्मेदवारको क्षमता, पूर्व योगदान र विकास निर्माणमा साकारात्मक प्रभाव हेर्ने प्रबल संकेत देखिएका छन् । नयाँ दल र उम्मेदवारप्रति आकर्षण बढेको भए पनि पुराना दलका अनुभवी नेताहरूको प्रभाव र स्थानीय विश्वास अझै निर्णायक छ । मतदाता आफ्नै विवेक प्रयोग गर्दै निर्वाचन दिनसम्म आफ्नो निर्णय सुरक्षित राख्ने प्रवृत्ति देखिन्छ ।

यसरी रूपन्देही–२ मा चुनावी माहौल सक्रिय बनेको छ । मतदाताले पुराना दल र नयाँ उम्मेदवारको तुलना गरी आगामी निर्वाचनमा आफ्नो मत दिने तयारी गरिरहेका छन् । यस क्षेत्रको परिणाम देशका अन्य निर्वाचन क्षेत्रका लागि पनि सूचक बन्न सक्ने देखिन्छ ।

कोहलपुर, फागुन ११  नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विपन्न समुदायको समस्या दीर्घकालीन रुपमा समाधानका गरिने प्रतिवद्धता जनाएका छन् । सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.१ का खोकरी, चुना, लौकी, चप्परगौरी लगायत विभिन्न वस्तीमा घरदैलो गर्ने क्रममा विपन्न समुदायको समस्या भाषण गरेर र प्रतिबद्धता गरेरमात्रै समाधान नहुने भएकाले नीतिगत सुधार गरेर मात्रै सम्वोधन गरिने बताए । खासगरी राप्तीपारीका चुना, खोकरी, भवानियापुर, भम्कालगायतका क्षेत्रका नागरिकहरु शिक्षा, स्वास्थ्य तथा आर्थिक विपन्नतासँग जुधिरहेको उल्लेख गर्दैै उनले ती समस्या समाधानका निमित्त आफुले नीतिगत सुधारमा पहल गरिने बताए ।

काँग्रेसको प्रतिज्ञापत्रमा पनि थुप्रै नीतिगत सुधारका विषयहरु उल्लेख गरेको स्मरण गराउँदै उनले अवको काँग्रेसले आर्थिक विपन्नतालाई हटाउनेदेखि शिक्षा र स्वास्थ्यमा सहजता प्रदान गर्ने विश्वास दिलाए । त्यसैले पनि यो पटक काँग्रेसको पक्षमा उभिन उनले सबैलाई आग्रह गरे । भावनामा बगेर देश सम्मुनत नहुँने भन्दै गौडेलले सुझबुझ गरेर मतदान गर्न आग्रह गरे । भावना र उत्तेजनाले देशको विकास नहुने भन्दै गौडेलले देशको विकासका लागि नीति सुधार गर्न आवश्यक रहेको बताए । आफु सधैं जनताकै बीचमा बसेर काम गरेको सम्झाउँदै गौडेलले चुनाव जिताएर पठाए पनि आफु गाउँमै बसेर नागरिकको सुखदुःखमासँगै रहने बताए ।

नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाइमा भएको घरदैलोमा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, जंगली जनावरको आतंक, रोजगारी लगायतका समस्याहरु राखेको वडा सभापति मोहन डाँगीले जानकारी दिए । गौडेल पुगेको उक्त क्षेत्र बाँकेको विकट मानिन्छ । स्थानीयहरुले विकास निर्माणका विभिन्न विषयहरु उठान गरेको र त्यसक्रममा गौडेलले सहयोगको प्रतिवद्धता जनाएको स्थानीय नेता रुद्र बहादुर ओलीले जानकारी दिए । गौडेल सादगी र इमान्दार नेता भएकाले पनि स्थानीय मतदाताहरु उत्साहित देखिएको र मत गौडेललाई दिने तयारी गरेको ओलीको भनाइ छ ।

‘परिवर्तनको हावा चलेको देखिन्छ, ओलीले भने -‘तर गगन कुमार थापाको स्पष्ट भिजन र योजनासहित काँग्रेस बदलिएर आएकाले यो पटक रखमा मतदान गर्नेहरु धेरै छन् ।’ घरदैलो अभियानमा क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस राप्तिसोनारी गाउँपालिकाका सभापति भिम रानासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।