२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

नेपाली कांग्रेसले ‘सुशासन, सहकार्य र समुन्नति’ को मूल नारासहित राष्ट्रियता, लोकतन्त्र र समाजवाद उन्मुख नीतिमा आफूलाई अघि बढाएको दाबी गरेको छ । उम्मेदवारहरूले मुलुकमा व्याप्त असन्तुष्टि र अराजकता अन्त्य गर्दै आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्न कांग्रेस नेतृत्व आवश्यक रहेको बताएका छन् ।

नेपालगन्ज, फागुन १३  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसबाट बाँकेका तीनवटै उम्मेदवारले विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन् । उनीहरूले बाँकेलाई सुशासनयुक्त, समृद्ध र अवसरयुक्त जिल्ला बनाउने दीर्घकालीन प्रतिबद्धता व्यक्त गरेका छन् । संविधान कार्यान्वयनदेखि पूर्वाधार विकास, उद्योगव्यवसाय, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र धर्मसंस्कृति संरक्षणसम्मका विषयलाई समेटेर सार्वजनिक गरिएको संकल्पपत्रलाई उनीहरूले समाज समृद्ध हुने र जनतालाई सहज सेवा प्रदान हुने रुपमा व्याख्या गरेका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट जिल्ला सभापतिसमेत रहेका नारायणप्रसाद गौडेल, बाँके–२ बाट जिल्ला सचिवसमेत रहेका सुधान्शु कोइराला र बाँके–३ बाट लुम्बिनी प्रदेशसमेत रहेका अमरसिंह पुन उम्मेदवार छन् ।

उनीहरुले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, भ्रष्टाचार नियन्त्रण र आर्थिक उन्नतिलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । उनीहरूका अनुसार संविधान २०७२ को पूर्ण कार्यान्वयन गर्दै आवश्यक संशोधनका लागि पहल गरिनेछ भने न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र सहज न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक कानुनी सुधारमा योगदान दिइनेछ ।

संकल्पपत्रमा सुशासनलाई केन्द्रबिन्दु बनाइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्ने, सार्वजनिक निर्णय र बजेट प्रक्रिया पारदर्शी बनाउने तथा हरेक तहका पदाधिकारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । महिला, मधेसी, मुस्लिम, दलित, आदिवासी जनजाति, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गरिने उल्लेख गरिएको छ । सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई छिटोछरितो र पारदर्शी बनाउने तथा नागरिकसँग नियमित संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सञ्चार क्षेत्रको विकास, स्थानीय मिडियाको दिगोपना र सूचनाको हकको पूर्ण कार्यान्वयनमा समेत विशेष जोड दिइएको छ ।

भौतिक पूर्वाधार विकासतर्फ नेपालगन्जमा वृहत् चक्रपथ निर्माण, ग्रामीण सडक स्तरोन्नति, वडा कार्यालयसम्म सहज पहुँच र कम्दी मिलनचोकदेखि राँझा विमानस्थलसम्मको सडक सुधारलाई प्राथमिकतामा राखिएको छ । राप्ती नदीमा स्थायी तटबन्ध निर्माण गरी डुबान र कटानको दीर्घकालीन समाधान खोज्ने, अपांगतामैत्री सार्वजनिक संरचना निर्माण गर्ने तथा छाडा चौपाया व्यवस्थापनका लागि बृहत् गौशाला परियोजना सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

उद्योग र व्यापार प्रवद्र्धनतर्फ भारतसँगको आयात–निर्यात सहज बनाउन एकीकृत जाँच चौकी प्रभावकारी सञ्चालन गर्ने, करमैत्री नीति ल्याउने र स्थानीय उत्पादनको बजारीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता छ । युवालाई लक्षित गरी सीपमूलक तालिम, स्टार्टअप कार्यक्रम र आर्थिक सहजीकरणमार्फत रोजगारी सिर्जना गर्ने योजना समेटिएको छ । जडीबुटी खेती, भण्डारण र प्रशोधनका लागि हर्बल प्रोसेसिङ जोन स्थापना गर्ने तथा कृषि उपज बजार केन्द्र विस्तार गर्ने लक्ष्य राखिएको छ ।
पर्यटन विकासलाई बाँके समृद्धिको अर्को आधारका रूपमा प्रस्तुत गरिएको छ । राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने, भारतका प्रमुख सहरसँग हवाई सम्पर्क विस्तार गर्ने र धार्मिकसांस्कृतिक स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । बागेश्वरी मन्दिर, जुंगे खडेश्वर महादेव, राप्ती गंगा आरतीस्थललगायत क्षेत्रको संरक्षण र प्रवद्र्धन गरिने उल्लेख छ । साथै अवध अन्तर्राष्ट्रिय संग्रहालय स्थापनाको सम्भाव्यता अध्ययन र पर्यटन अध्ययन प्रतिष्ठान पुनःस्थापनाको पहल गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सिँचाइ सुविधा विस्तार, मल–बीउको समयमै उपलब्धता, जैविक मल उत्पादन प्रवद्र्धन र तरकारी तथा मकै जोन विकास गर्ने लक्ष्य राखिएको छ । राप्ती बगर खेतीलाई प्रोत्साहन, पशुपालनमा नश्ल सुधार कार्यक्रम र युवा लक्षित कृषि उद्यमशीलता विस्तार गरिने जनाइएको छ । भूमिहीन, सुकुम्बासी र लोपोन्मुख समुदायको पहिचान र उत्थानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

शिक्षा क्षेत्रमा विद्यालय र क्याम्पसलाई डिजिटलाइजेशन, प्रयोगशाला स्तरोन्नति र प्राविधिक शिक्षाको विस्तारमार्फत गुणस्तर सुधार गर्ने योजना अघि सारिएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको पूर्वाधार विकास, कृषि विश्वविद्यालय स्थापनाको पहल र महेन्द्र बहुमुखी क्याम्पसको डिजिटल शिक्षण प्रणाली विस्तार गर्ने लक्ष्य राखिएको छ । अस्थायी शिक्षकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने तथा विद्यालय संरचनालाई पूर्ण रूपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा भेरी अस्पतालको स्तरोन्नति, नयाँ ओपिडी ब्लक निर्माण र सिटी स्क्यान तथा ल्याप्रोस्कोपिक उपकरण थप गर्ने योजना सार्वजनिक गरिएको छ । मातृ–शिशु मृत्युदर न्यूनीकरण, नसर्ने रोग नियन्त्रण, शहरी क्लिनिक सुदृढीकरण र स्वास्थ्य बीमा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । प्रत्येक घरपरिवारलाई शुद्ध पिउने पानी उपलब्ध गराउने र लागुऔषध नियन्त्रणका लागि सामुदायिक पुनर्स्थापना केन्द्र सुदृढीकरण गरिने उल्लेख छ ।

युवा तथा खेलकुद विकासतर्फ नेपालगन्ज रंगशाला स्तरोन्नति, क्रिकेट र फुटबल मैदान निर्माण, विद्यालयस्तरबाट खेलकुद प्रोत्साहन र अपाङ्गता भएका व्यक्तिका लागि खेल आयोजना गर्ने योजना समेटिएको छ । कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा निर्माणाधीन फुटबल रंगशालालाई पूर्णता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । धर्म, संस्कृति र सामाजिक सद्भाव संरक्षणलाई समेत संकल्पपत्रमा विशेष स्थान दिइएको छ । ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको जगेर्ना तथा सामाजिक सद्भाव कायम राख्न पूर्ण प्रतिबद्धता जनाइएको छ ।

नेपाली कांग्रेसले ‘सुशासन, सहकार्य र समुन्नति’ को मूल नारासहित राष्ट्रियता, लोकतन्त्र र समाजवाद उन्मुख नीतिमा आफूलाई अघि बढाएको दाबी गरेको छ । उम्मेदवारहरूले मुलुकमा व्याप्त असन्तुष्टि र अराजकता अन्त्य गर्दै आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्न कांग्रेस नेतृत्व आवश्यक रहेको बताएका छन् । आगामी पाँच वर्षभित्र बाँके क्षेत्र नं. १ लाई विकास, पारदर्शिता र अवसरको नमूना क्षेत्र बनाउने लक्ष्यसहित प्रस्तुत गरिएको यो संकल्पपत्रलाई उनीहरूले कागजी घोषणा नभई जनतासँगको औपचारिक प्रतिबद्धता भएको बताएका छन् ।

बाँके–१
विकास र सुशासन प्रतिबद्धता

संकल्पपत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति
नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेलले आगामी पाँच वर्षका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पार्टीले ‘सुशासन, सहकार्य र समुन्नति’लाई मूलमन्त्र बनाउँदै क्षेत्रीय र राष्ट्रिय स्तरका योजनासहित मतदातासामु प्रस्तुत भएको जनाएको छ ।
संकल्पपत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था स्थापित गर्ने उल्लेख गरिएको छ । स्थानीय तहलाई थप अधिकारसहित सशक्त बनाउने तथा आवश्यक ऐन–कानुन संशोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । बाँके क्षेत्र नम्बर १ अन्तर्गत मालपोत कार्यालय र छोटी भन्सार कार्यालय स्थापना गर्न पहल गरिने योजना पनि समेटिएको छ ।
शिक्षातर्फ संघीय विद्यालय शिक्षा ऐन जारी गर्न पहल गर्ने, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, योग्य प्रधानाध्यापकको व्यवस्थापन गर्ने र शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने योजना अघि सारिएको छ । तीनवटै स्थानीय तहमा प्राविधिक धारका नमूना विद्यालय स्थापना गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा कोहलपुर, राप्ती सोनारी र नरैनापुरका गाउँ तथा नगर अस्पतालको स्तरउन्नति गरिने जनाइएको छ ।
पूर्वाधार विकासतर्फ कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिने, बीपी राजमार्गअन्तर्गत कोहलपुर–चप्परगौडीदेखि सल्यानको पुइयाबारी जोड्ने सडक निर्माणलाई तीव्रता दिने तथा हुलाकी राजमार्ग र सिक्टा सिँचाइ आयोजनाका अधुरा काम सम्पन्न गर्न पहल गरिने उल्लेख छ । राप्ती नदी र डुडुवा खोलामा तटबन्ध निर्माण, डुबान क्षेत्रको दीर्घकालीन समाधान र विभिन्न स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
कृषि, उद्योग र रोजगारीतर्फ कृषकलाई मल, बिउ र औजार सहज उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्र स्थापना गर्ने तथा साना उद्योगलाई सहुलियत ऋण र अनुदान उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ । युवा तथा खेलकुदतर्फ अन्तर्राष्ट्रिय क्रिकेट मैदान र निर्माणाधीन फुटबल रंगशाला सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने योजना अघि सारिएको छ ।
संकल्पपत्रमा महिला, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको अधिकार संरक्षण र सशक्तिकरणलाई प्राथमिकतामा राखिएको उल्लेख छ । गौडेलले क्षेत्रको आवाज राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउँदै रुख चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।

बाँके–२ शुधान्सु कोइराला
नेपालगन्ज–दल्ली उडानसँगै ११ बुँदे संकल्पपत्र

नेपालगन्जमा वृहत् चक्रपथ (रिङरोड) निर्माणलाई मूर्त रूप दिन पहल गर्ने
प्रतिनिधिसभा सदस्य, बाँके क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले आगामी निर्वाचनलाई लक्षित गर्दै ११ शीर्षकमा आधारित विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन् । संविधान कार्यान्वयनदेखि सुशासन, पूर्वाधार विकास, उद्योग–व्यवसाय, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, युवा–खेलकुद र धर्म–संस्कृति जगेर्नासम्मका मुद्दालाई समेट्दै उनले समृद्ध बाँके निर्माणको प्रतिबद्धता जनाएका हुन् ।
संविधान र न्यायप्रतिको प्रतिबद्धता
कोइरालाले नेपालको संविधान (२०७२) को पूर्ण कार्यान्वयनमा दृढ रहने जनाउँदै जनचाहनाअनुसार आवश्यक संशोधनका लागि पहल गर्ने बताएका छन् । न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न आवश्यक कानुन तथा नीतिगत सुधारमा भूमिका खेल्ने उनको भनाइ छ । ‘सहज र सुलभ न्याय नागरिकको अधिकार हो,’ उनले संकल्पपत्रमा उल्लेख गरेका छन् ।
सुशासन र पारदर्शितामा जोड
भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता नीति अवलम्बन गर्ने प्रतिवद्धता जनाउँदै उनले सरकारी निर्णय, बजेट र योजनाबारे नागरिकलाई जानकारी दिने संस्कृतिको विकासमा जोड दिने बताएका छन् । महिला, युवा, मधेसी, मुस्लिम, दलित, आदिवासी, सीमान्तकृत र अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गरिने उनको भनाइ छ ।
सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिसँग आबद्ध गरी छिटोछरितो र पारदर्शी बनाउने, नागरिकसँग नियमित संवाद कार्यक्रम सञ्चालन गर्ने तथा सूचनाको हकको पूर्ण कार्यान्वयनमा भूमिका खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
पूर्वाधार विकासका प्राथमिकता
नेपालगन्जमा वृहत् चक्रपथ (रिङरोड) निर्माणलाई मूर्त रूप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका सडक, ढल, नाला निर्माणलाई विशेष प्राथमिकता दिने तथा ग्रामीण सडक विस्तार र स्तरोन्नतिमा जोड दिने योजना सार्वजनिक गरिएको छ ।
कम्दी–नानापुर–राँझा विमानस्थल सडक स्तरोन्नति, राप्ती नदीमा स्थायी तटबन्ध निर्माण, डुबान–कटान पीडितको स्थायी समाधान तथा सार्वजनिक सम्पत्तिको अभिलेखीकरण र संरक्षणमा पनि पहल गर्ने उल्लेख छ । नगर क्षेत्रमा छाडा चौपायाको समस्या समाधानका लागि बृहत् गौशाला परियोजना सञ्चालन गर्ने योजना पनि संकल्पपत्रमा समेटिएको छ ।
उद्योग, व्यवसाय र रोजगारी
भारतसँगको आयात–निर्यातलाई सहज बनाउन आइसीपीको प्रभावकारी सञ्चालन र खुला सिमानाका कारण हुने अवैध व्यापार नियन्त्रणका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाइएको छ । नयाँ उद्योग स्थापनाका लागि करमैत्री नीति, स्थानीय उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थापन, युवा तथा महिलालक्षित स्टार्टअप कार्यक्रम, सीपमूलक तालिम र आर्थिक सहजीकरणमा जोड दिने योजना छ ।
जडीबुटी खेती, भण्डारण, प्रशोधन र निकासी सहज बनाउन ‘हर्बल प्रोसेसिङ जोन’ स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ ।
पर्यटन प्रवद्र्धनमा आक्रामक योजना
राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्दै नेपालगन्ज–दिल्लीलगायत भारतीय सहरमा सीधा उडानका लागि कूटनीतिक पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । बागेश्वरी मन्दिर, जुंगे खडेश्वर महादेव, राप्ती (सिंधनीयाघाट) लगायत धार्मिक–सांस्कृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, वाटरपार्क, कान्तिताल, रानीतलाउ, महेन्द्र पार्क जस्ता स्थानको गुरुयोजना तयार गर्ने उल्लेख छ । अवध अन्तर्राष्ट्रिय संग्रहालय स्थापनाको सम्भाव्यता अध्ययन तथा पर्यटन तथा होटल व्यवस्थापन अध्ययन प्रतिष्ठान पुनः स्थापना गर्ने योजना पनि समेटिएको छ ।
कृषि र उद्यमशीलता
सिक्टा सिँचाइ आयोजना विस्तार, मल–बीउको सहज उपलब्धता, जैविक मल उत्पादन प्रवद्र्धन, तरकारी र मकै जोन विकास, पुष्प, माछा तथा पशुपालन प्रवद्र्धनमार्फत युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । राप्ती बगरमा अर्ग्यानिक खेती, कृषि विद्युतीकरण, कृषि उपज संकलन केन्द्र स्थापना तथा लोपोन्मुख समुदायको उत्थानका लागि विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

नेपालगन्ज फागुन १३  नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुरको शैक्षिक सुधार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । नरैनापुर गाउँपालिका वडा नं.२ रोशनपुरुवामा आज घरदैलोमा पुगेका गौडेलले नरैनापुर शिक्षाको दृष्टिकोणबाट पछाडि परेको आफुले पाएको भन्दै नरैनापुरको शैक्षिक गुणस्तर सुधार आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने–‘हाम्रो प्रतिवद्धतापत्रमै नरैनापुरमा प्राविधिक धारको नमूना विद्यालयमा रुपान्तरण गरी कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरिसकेका छौं ।

म निर्वाचित भए त्यसलाई कार्यान्वयनमा ल्याउनेछु ।’ उनले नरैनापुर गाउँपालिकामा पालिका अस्पतालको स्तरोन्नतिको प्रतिवद्धता पनि जनाएका छन् । मतदाताहरुले आफ्नो क्षेत्र शिक्षा र स्वास्थ्यबाट अत्यन्तै पछाडि परेको गुनासो सुनाउने गरेका छन् । त्यसको जवाफमा गौडेलले आफ्नो प्रतिवद्धतापत्रमै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाले सुधारका लागि पहल गर्ने बताएका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले काँग्रेस बदलिएर आएको र बदलिएको काँग्रेसले देश समेत बदल्ने बताए । सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र शहरी विकास, कृषि, उद्योग, व्यापार र रोजगारी आफ्नो प्राथमिकतामा रहेको पनि उनले बताए ।

नरैनापुर गाउँपालिका वडा नं.२ का काँग्रेस वडा कार्यसमितिका सभापति अकवाल अलि शेषको नेतृत्वमा रोशनपुरुवा, लक्षमणपुर लगायतका स्थानमा घरदैलो गरिएको छ । घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रिय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतका नेताहरु सहभागी छन् ।

नेपालगन्ज, फागुन १३  फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गर्दै बाँके र बर्दियामा महिलामुखी मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । महिला, कानुन र विकास मञ्च, काठमाडौंको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले यस अभियान संचालन गरेको हो । कार्यक्रम विशेषगरी थारू, मधेसी, मुस्लिम, सीमान्तकृत, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरूमाथि केन्द्रित छ । साथै, १८ वर्ष पूरा गरेका युवायवतीहरूलाई पनि मतदाता शिक्षा दिने व्यवस्था गरिएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–२ मा मधेसी समुदायका महिलालाई पहिलो चरणमा जानकारी दिइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा अधिवक्ता विश्वजित तिवारी ले निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र दायित्व, मतपत्र भर्ने तरिका तथा मतदानको समयमा ध्यान दिनुपर्ने बुँदाहरू स्पष्ट रूपमा बुझाएका थिए । सहभागी महिलाले अभ्यासका लागि नमूना मतदानमा पनि भाग लिएका थिए, जसले मतदान प्रक्रियामा आत्मविश्वास बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता ले मताधिकारको महŒवलाई जोड दिँदै, ‘मतदाताले सचेत भएर मतदान गर्दा मात्र निर्वाचन सफल र पारदर्शी हुन्छ,’ भन्दै महिलाहरूलाई मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । उनले मतदाता शिक्षाले मत बदरको अनुपात कम गर्न सहयोग पुर्‍याउने र जनताको सहभागिता बढाउने उल्लेख गरे ।

संस्था अध्यक्ष विश्वजित तिवारी का अनुसार, प्रभावकारी मतदाता शिक्षाले महिलालाई मतदान प्रक्रियाबारे जानकारीमूलक बनाउँछ र निर्वाचनको महत्व बुझ्न मद्दत पुर्‍याउँछ । नमूना मतपत्र मार्फत मतदान अभ्यास गर्दा महिलामा लोकतन्त्रमा सक्रिय सहभागी बन्ने चेतना बढ्ने बताइएको छ । मतदाता शिक्षाले महिलालाई मात्रै होइन, सम्पूर्ण समुदायलाई निर्वाचनप्रति जागरुक बनाउने उद्देश्य राखेको छ । यस कार्यक्रममार्फत थरू, मधेसी, मुस्लिम र सीमान्तकृत समुदायका महिलाहरूले आफ्नो मताधिकार प्रयोग गर्ने बारेमा आत्मविश्वास प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

नेपालगन्जस्थित अनुसन्धान केन्द्रका प्रतिनिधिहरूले यस अभियान निरन्तरता दिने योजना बनाएका छन् र आगामी दिनहरूमा बाँके र बर्दियाका अन्य गाउँपालिकाहरूमा पनि समान कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन् । यो पहलले निर्वाचनको पारदर्शिता बढाउने, मतदान प्रक्रियामा सहभागीता सुनिश्चित गर्ने र बदर मत न्यूनीकरणमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महिलाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

सुर्खेत, फागुन १३   सुर्खेत–२ प्रतिनिधिसभा निर्वाचन यसपटक परम्परागत दुई ठूला दलमात्रको प्रतिस्पर्धाबाट बाहिर निस्कँदै नयाँ राजनीतिक दाबेदारको उपस्थितिले रोचक मोड लिएको छ । विगत दशकदेखि कांग्रेस र एमालेको आलोपालो जितले परिचित यो क्षेत्रमा अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौती पेश गरेको छ । स्थानीय मतदाताबीच पुराना दलले अपेक्षा अनुरूप काम नगरेको असन्तोष बढ्दै गएपछि रास्वपाले विकल्पको रूपमा आफ्नो अस्तित्व प्रस्तुत गरेको देखिन्छ । २०७९ को निर्वाचनमा रास्वपाले प्रत्यक्ष तथा समानुपातिक मतमा देखाएको उपस्थितिले यसलाई निर्णायक शक्ति बन्न सक्ने संकेत दिएको छ ।

सुर्खेत–२ अन्तर्गत वीरेन्द्रनगर प्रमुख मतदान क्षेत्र हो । क्षेत्रका १७ उम्मेदवारमध्ये १६ जना वीरेन्द्रनगरकै रहेका छन्, जसले स्थानीय मुद्दा र जनसरोकारलाई चुनावी बहसको केन्द्रमा ल्याएको छ । रास्वपाका रमेश सापकोटा पूर्व कांग्रेस नगर सचिव र वर्तमान रास्वपा जिल्ला सभापति हुन् । उनी यातायात व्यवसायसँग आबद्ध छन् र काँक्रेविहार यातायात प्रालिका अध्यक्षसमेत हुन् । उनको स्थानीय परिचय र कांग्रेस पृष्ठभूमिले मत विभाजनमा निर्णायक भूमिका खेल्ने आँकलन गरिएको छ ।

कांग्रेसका उम्मेदवार नारायण कोइराला रेडियो भेरीका अध्यक्ष र सुर्खेत उपत्यका विकास समितिका पूर्व अध्यक्ष हुन् । लामो समय क्षेत्रीय पार्टी नेतृत्वको अनुभव भएको कोइराला स्थानीय मतदातामा विश्वास जित्न अग्रसर छन् । एमालेका कुलमणि देवकोटा पार्टीको जिल्ला अध्यक्ष तथा उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समय नेतृत्वमा रहेकाले संगठन बलियो रहेको मानिन्छ । नेकपाका झकबहादुर मल्ल ‘सुदीप’ माओवादी आन्दोलनकालदेखि पार्टीमा सक्रिय छन् र केन्द्रीय सदस्यको रूपमा रणनीतिक भूमिका खेलिरहेका छन् । राप्रपाका कविराम पुरी पार्टीका जिल्ला अध्यक्ष हुन् ।

गत निर्वाचनको तथ्यांकले यस क्षेत्रको राजनीतिक रूपरेखा देखाउँछ । २०७९ मा कांग्रेस–माओवादी गठबन्धनका हृदयराम थानी ३४ हजार ६२५ मतसहित विजयी भएका थिए भने एमालेका अमृतबहादुर बुढाक्षेत्री २९ हजार ५५८ मतसहित पराजित भएका थिए । त्यतिबेला रास्वपाका टेकबहादुर चुनाराले ४ हजार ६०१ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमाले २५ हजार ८६, कांग्रेस २३ हजार १०, माओवादी केन्द्र १० हजार ५९, रास्वपा ६ हजार १४६ र राप्रपा ३ हजार ९७५ मतसहित थिए । यी तथ्यांकले देखाउँछ कि नयाँ दलले पुराना दलको मत बाँडफाँडमा प्रभाव पार्न सक्ने स्थिति बनिरहेको छ ।

विशेषज्ञहरू भन्छन्, यदि सापकोटाले कांग्रेसका मत सफलतापूर्वक आकर्षित गर्न सके, यसले एमालेलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ । तर उनले कांग्रेस मत लिन नसकेमा परिणाम फेरि परम्परागत दलको पक्षमा जान सक्ने छ । यसरी मतको केन्द्रबिन्दु वीरेन्द्रनगर र रास्वपाको रणनीतिले नतिजा अनुमान गर्न अझ जटिल बनाएको छ ।
यसपटक सुर्खेत–२ को चुनावी प्रतिस्पर्धा केवल दुई वा तीन दलबीच सीमित छैन । १७ जना उम्मेदवारमध्ये सबै नयाँ अनुहार भएकाले मतदाताको रोजाइ अनिश्चित देखिन्छ । पुराना दलका मतदाता असन्तुष्ट र नयाँ विकल्प खोजिरहेका छन् भने नयाँ दलको सक्रियता र स्थानीय परिचयले चुनावी परिदृश्यमा अप्रत्याशित मोड ल्याउने संभावना उच्च देखिन्छ । यस्तो बहुपक्षीय प्रतिस्पर्धाले यस निर्वाचनलाई सुर्खेत–२ मा अत्यन्तै रोचक र निर्णायक बनाएको छ, जहाँ मतको वितरणले अन्तिम विजेताको रूपरेखा निर्णायक रूपमा निर्धारण गर्ने छ ।

यसैगरी, सुर्खेत–२ का मतदाता र स्थानीय राजनीतिका अनुभवले यस निर्वाचनलाई परम्परागत मत परिणाम भन्दा फरक बनाउन सक्ने संकेत दिएका छन् । रास्वपाको उदय, कांग्रेस र एमालेको संगठनात्मक चुनौती, र नयाँ उम्मेदवारहरूको सक्रियता यस निर्वाचनलाई साँच्चिकै अप्रत्याशित र निर्णायक बनाएको छ ।

कोहलपुर, फागुन १३  जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन अहिले अपरिहार्य भएको बताएका छन् । बाँकेस्थित डुडुवा–५, मिलनचोकमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै यादवले मधेसी, दलित, मुस्लिम, थारु, जनजातिलगायतका वर्ग समुदायमाथि भइरहेको भेद्भाव र असमानताको अन्त्यका लागि संविधान संशोधन अपरिहार्य भएको बताएका हुन् ।

सभामा उनले सात प्रदेशको संरचना गलत भएको र यसलाई सुधारेर स्वायत्त अधिकारसहितको प्रदेश स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । यादवले भने, ‘जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ । मधेसमा जनसंख्या उल्लेख्य भए पनि प्रतिनिधित्व कम छ । यो असमानता अन्त्य गर्न संविधान संशोधन आवश्यक छ ।’

उपेन्द्र यादवले भेद्भाव र असमानताको अन्त्यका लागि संविधान संशोधन अपरिहार्य रहेको स्पष्ट पारे । उनले भने, ‘संविधानमा सबै नागरिक बराबर छन् भनिएको छ, तर अधिकार भने बराबर छैन । संविधान संशोधनमार्फत सबै नागरिकलाई बराबरी अधिकार सुनिश्चित गर्नुपर्छ ।’ उनले समाजका हरेक वर्गलाई समान अवसर र न्याय सुनिश्चित गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

यादवले मधेसीको पहिचान र सम्मानको विषयमा पनि प्रकाश पारे । उनले भने, “पहिला मधेसी देखे पाकिस्तानी भनेर अवहेलना गरिन्थ्यो । मधेस आन्दोलनपछि मधेसीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ ।” उनले मधेसी समुदायले आफ्नो सांस्कृतिक, भाषिक र सामाजिक पहिचान कायम राख्न र सम्मान पाउनुपर्नेमा जोड दिएका थिए ।उनले दलित, जनजाति र मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने पक्षमा पनि बल दिएका छन् । यादवले भनिरहेका छन् कि संविधान संशोधनले मात्र सामाजिक समानता र न्याय स्थापित गर्न सकिन्छ, जसले दीर्घकालीन शान्ति र समृद्धि सुनिश्चित गर्नेछ ।

सभा अन्त्यमा उनले स्थानीय निर्वाचनमा सबै मतदातालाई समान अधिकारको प्रत्याभूति गर्ने र समुदायविशेषको पक्षपाती नहुने वाचा गर्दै संविधान सुधारमा आफ्नो पार्टीले सक्दो योगदान गर्ने बताए । उपेन्द्र यादवको यो सम्बोधन मधेसी, थारु, दलित र अन्य पिछडिएका समुदायका लागि राजनीतिक र सामाजिक सन्देशको रुपमा लिइएको छ । उनी संविधान संशोधनमार्फत सामाजिक समानता र अधिकार सुनिश्चित गर्ने उद्देश्यमा कटिबद्ध रहेको स्पष्ट देखिन्छ ।

यसै क्रममा यादवले प्रदेश पुनर्संरचना, अधिकारसहितको स्वायत्तता र जनसंख्याअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने कुरा जोड दिएका छन्, जसले आगामी निर्वाचन र संविधान सुधारको बहसमा महŒवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।