२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

राप्तीसोनारीको गाउँमा आयो अस्पताल बिरामी पर्दा अब गाउँमै अस्पाताल

स्थानीयका लागि अस्पतालको महत्त्व उपचारमा मात्रै सीमित छैन । आपत्‌कालीन अवस्थामा समयमै स्वास्थ्य संस्था पुग्नु जीवन र मृत्युबीचको फरक बन्न सक्छ । सर्पदंश, दुर्घटना, उच्च ज्वरो, अचानक बिरामी पर्ने वा प्रसूतिको समयमा देखिने जटिलतामा केही मिनेट वा घण्टाको ढिलाइले ठूलो असर पार्न सक्छ । गाउँमै चौबीसै घण्टा सेवा उपलब्ध हुनु यस्ता जोखिम न्यूनीकरणका लागि महŒवपूर्ण मानिएको छ । अर्का स्थानीय बासिन्दा भन्छन्, ‘बिरामीलाई अस्पताल लैजानुपर्ने बेला सबैभन्दा ठूलो समस्या दूरी र यातायातको हुन्थ्यो ।

राप्तीसोनारी, भदौ ५  राप्तीसोनारी गाउँपालिका–४ का स्थानीय बासिन्दाका लागि सामान्य बिरामी पर्दा पनि उपचार पाउन सहज थिएन । गाउँमै स्वास्थ्य संस्था भए पनि जटिल समस्या देखिएपछि कोहलपुर, नेपालगन्ज वा अन्यत्रका अस्पताल धाउनुपर्ने बाध्यता थियो । विशेषगरी रातको समयमा बिरामी पर्दा उपचारका लागि टाढाको अस्पताल पुग्नु आफैंमा अर्को चुनौती बन्ने गरेको थियो । प्रसूति सेवाका लागि त झन् महिलाले घण्टौंको यात्रा गर्नुपर्ने अवस्था थियो ।
अब भने यही अवस्थालाई बदल्ने प्रयास सुरु भएको छ । भदौ १ गतेदेखि राप्तीसोनारी अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै गाउँमा अस्पतालको सेवा पाउन थालेका छन् । गाउँपालिकाको वडा नम्बर ४ बैजापुरमा सञ्चालनमा आएको अस्पतालले अहिले चौबीसै घण्टा उपचार सेवा दिइरहेको छ । चिकित्सकसहित पाँचजनाको टोलीले नियमित सेवा दिइरहेको अस्पतालले स्थानीयका लागि उपचारको पहिलो भरोसा बन्ने प्रयास थालेको छ ।
अस्पतालमा हाल एक जना एमबीबीएस चिकित्सकसहित पाँचजनाको जनशक्ति कार्यरत छ । जनशक्ति सीमित भए पनि अस्पतालले आकस्मिकसहित चौबीसै घण्टा उपचार सेवा दिने व्यवस्था मिलाएको छ । अहिले मुख्य रूपमा सामान्य उपचार, प्रसूति तथा बालबालिकासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीलाई प्राथमिकता दिइएको छ । अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दामा उत्साह थपिएको छ । वर्षौंदेखि सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा उनीहरूको छ । ‘पहिले रातको समयमा बिरामी पर्दा कहाँ लैजाने भन्ने चिन्ता हुन्थ्यो । सवारीसाधनको व्यवस्था गर्नुपर्ने, बाटोको समस्या हुने र अस्पताल पुग्न समय लाग्ने अवस्था थियो,’ स्थानीय एक बासिन्दा भन्छन्, ‘अब गाउँमै चौबीसै घण्टा उपचार हुने भएपछि ठूलो राहत भएको छ ।’
राप्तीसोनारी भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको गाउँपालिका हो । बस्तीहरू छरिएर रहेका छन् । सबै ठाउँबाट सहजरूपमा स्वास्थ्य संस्थासम्म पुग्न सकिने अवस्था छैन । ग्रामीण क्षेत्रमा यातायातको पहुँच, आर्थिक अवस्था र स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीका कारण धेरै मानिसले समयमै उपचार पाउन नसक्ने समस्या छ । यस्तो अवस्थामा गाउँमै अस्पताल सञ्चालनमा आउनुलाई स्थानीयले सामान्य स्वास्थ्य संस्थाको विस्तारभन्दा ठूलो उपलब्धिका रूपमा लिएका छन् । विशेषगरी महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गर्भवती महिलाले नियमित परीक्षणदेखि प्रसूति सेवासम्मका लागि टाढा जानुपर्ने अवस्था अब क्रमशः कम हुने विश्वास गरिएको छ । अहिले प्रसूति सेवा सञ्चालनमा ल्याउने कामलाई प्राथमिकतामा राखिएको छ भने आगामी असोजदेखि प्रसूतिको अप्रेसनसहित केही अन्य शल्यक्रिया सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।
यसका लागि भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको छ । भेरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूलाई मासिक रूपमा राप्तीसोनारी अस्पतालमा ल्याएर विशेषज्ञ सेवा उपलब्ध गराउने योजना बनाइएको छ । स्थानीय तहमा विशेषज्ञ चिकित्सकको नियमित उपस्थितिले दुर्गम क्षेत्रका नागरिकलाई ठूलो अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल अस्पताललाई गाउँपालिकाको स्वास्थ्य सेवाको महŒवपूर्ण आधारका रूपमा विकास गर्ने बताउँछन् । उनका अनुसार अस्पताल सञ्चालनसँगै तत्काल सबै सेवा उपलब्ध गराउन नसकिए पनि आवश्यकता र जनशक्तिको अवस्था हेरेर सेवा क्रमशः विस्तार गरिनेछ ।
‘अस्पताल सञ्चालनमा ल्याउनु मात्रै ठूलो कुरा होइन, यहाँबाट गुणस्तरीय र भरपर्दो सेवा दिन सक्नु महŒवपूर्ण हो,’ अध्यक्ष पौडेल भन्छन्, ‘अहिले केही जनशक्तिको अभाव छ । त्यसलाई विस्तारै परिपूर्ति गर्दै लैजाने र स्थानीयले आफ्नै ठाउँमा सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउने हाम्रो लक्ष्य हो ।’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा राप्तीसोनारी–४ का वडाध्यक्ष मिनराज खड्का पनि अस्पताल सञ्चालनलाई स्थानीयको लामो समयदेखिको आवश्यकतासँग जोडेर हेर्छन् । उनका अनुसार गाउँमै अस्पताल भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने मात्रै होइन, स्वास्थ्य सेवामा पहुँच नपुगेका नागरिकलाई पनि उपचारको दायरामा ल्याउन सहज हुनेछ । ‘स्थानीयले अस्पताल माग गर्दै आएका थिए । अहिले अस्पताल सञ्चालनमा आएपछि उनीहरूको अपेक्षा अझ बढेको छ,’ खड्का भन्छन्, ‘जनशक्ति र उपकरणको केही समस्या भए पनि विस्तारै समाधान गर्दै जानेछौं । अस्पताललाई नाम मात्रैको नभई सेवा दिने संस्थाका रूपमा विकास गर्नु आवश्यक छ ।’
स्थानीयका लागि अस्पतालको महŒव उपचारमा मात्रै सीमित छैन । आपत्‌कालीन अवस्थामा समयमै स्वास्थ्य संस्था पुग्नु जीवन र मृत्युबीचको फरक बन्न सक्छ । सर्पदंश, दुर्घटना, उच्च ज्वरो, अचानक बिरामी पर्ने वा प्रसूतिको समयमा देखिने जटिलतामा केही मिनेट वा घण्टाको ढिलाइले ठूलो असर पार्न सक्छ । गाउँमै चौबीसै घण्टा सेवा उपलब्ध हुनु यस्ता जोखिम न्यूनीकरणका लागि महŒवपूर्ण मानिएको छ । अर्का स्थानीय बासिन्दा भन्छन्, ‘बिरामीलाई अस्पताल लैजानुपर्ने बेला सबैभन्दा ठूलो समस्या दूरी र यातायातको हुन्थ्यो । अस्पताल नजिकै भएपछि कम्तीमा पहिलो उपचार त गाउँमै पाइन्छ । गम्भीर अवस्था भए मात्रै बाहिर लैजानुपर्ने हुन्छ ।’ अस्पताल सञ्चालनसँगै स्थानीयको अपेक्षा पनि बढेको छ । अस्पतालमा चिकित्सकको संख्या बढाउनुपर्ने, विशेषज्ञ सेवा नियमित बनाउनुपर्ने, आवश्यक औषधि तथा उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्ने र प्रयोगशाला तथा अन्य सेवा विस्तार गर्नुपर्ने उनीहरूको माग छ । अस्पताल बनेर मात्रै स्वास्थ्य सेवा सहज नहुने भन्दै स्थानीयले नियमित चिकित्सक, पर्याप्त स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारको व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
गाउँपालिकाका लागि पनि अबको चुनौती अस्पताल सञ्चालनलाई दिगो बनाउनु हो । भवन र संरचना तयार पारेर सेवा सुरु गर्नु पहिलो चरण हो । त्यसपछि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद, औषधिको नियमित आपूर्ति, विशेषज्ञ सेवा, शल्यक्रिया सेवा तथा आकस्मिक उपचारलाई प्रभावकारी बनाउनु अर्को महŒवपूर्ण जिम्मेवारी हो । भेरी अस्पतालसँगको सहकार्यमा विशेषज्ञ चिकित्सक ल्याउने तयारीले भने स्थानीय स्वास्थ्य सेवामा नयाँ सम्भावना देखाएको छ । मासिक रूपमा विशेषज्ञ चिकित्सक गाउँमै आएर सेवा दिन थालेमा ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार हुनेछ । प्रसूति अप्रेसनलगायत केही शल्यक्रिया सेवा सुरु भएपछि सामान्य अवस्थाका बिरामीलाई मात्रै होइन, जटिल अवस्थाका केही बिरामीलाई समेत स्थानीय तहमै उपचार दिन सकिनेछ ।
राप्तीसोनारी अस्पताल अहिले सुरुवाती चरणमा छ । जनशक्ति सीमित छ, सेवा विस्तारको काम बाँकी छ र स्थानीयको अपेक्षा ठूलो छ । तर दुर्गम क्षेत्रका नागरिकका लागि अस्पतालको ढोका खुल्नु आफैंमा महŒवपूर्ण सुरुवात हो । वर्षौंदेखि उपचारका लागि बाहिर जानुपर्ने बाध्यतामा रहेका राप्तीसोनारीका बासिन्दाले अब आफ्नै गाउँमा उपचारको भरोसा पाएका छन् । त्यो भरोसालाई दिगो बनाउने जिम्मेवारी भने गाउँपालिका, अस्पताल व्यवस्थापन, स्वास्थ्यकर्मी र सरोकारवाला सबैको हो । भदौ १ गते खुलेको अस्पतालले अहिले सानो टिमबाट सेवा सुरु गरेको छ । आगामी असोजदेखि विशेषज्ञ र अप्रेसन सेवासहित यसको दायरा विस्तार गर्ने तयारी छ । यदि योजनाअनुसार जनशक्ति, उपकरण र विशेषज्ञ सेवा थपिँदै गए भने राप्तीसोनारी अस्पताल दुर्गमका नागरिकका लागि उपचारको केन्द्र मात्रै नभई स्वास्थ्य सेवामा पहुँच र स्थानीय सरकारप्रतिको भरोसा बढाउने महŒवपूर्ण आधार बन्न सक्छ ।
दुर्गममा अस्पताल पुग्नु एउटा भवन बन्नु मात्र होइन, बिरामी पर्दा ‘अब कहाँ जाने?’ भन्ने प्रश्नको जवाफ गाउँमै भेटिनु हो । राप्तीसोनारीका लागि भदौ १ गतेदेखि सुरु भएको यो सेवा त्यही जवाफ खोज्ने यात्राको सुरुवात बनेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।