२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौँ, फागुन २९ गते । वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ ।

दस वर्षदेखि तयारी गर्दै आएको उक्त रणनीति फागुन १५ गते देखि स्वीकृत भई लागू गरिएको हो । आज मन्त्रालयले कार्यक्रम आयोजना गरी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले रणनीति दस्तावेज सार्वजनिक गर्नुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रमा लैङ्गिक सहभागिताले महिलाको नेतृत्व विकासमा ठूलो टेवा पुर्याएको छ ।”

मन्त्री चौलागाईंले हालै पारित भएको रणनीतिलाई सबै क्षेत्रमा व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । साथै, नीतिसँगै नियती बदलेर लैङ्गिकमैत्री कार्यस्थल बनाउन समेत उहाँले जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रणनीति आउनु आफैँमा पहिलो सफलता रहेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न सम्बन्धित क्षेत्रको प्रमुख दायित्व हुने बताउनुभयो ।

लैङ्गिक मैत्री समाजिक न्याय स्थापना गर्न आवश्यक बजेटको समेत महत्व हुने हुँदा यसतर्फ संवेदनशील हुन जरुरी रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यरत विभिन्न विभागका लैङ्गिक सम्पर्क व्यक्तिलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

सो अवसरमा वन मन्त्रालयका उपसचिव दीपा ओलीले हालै लागू गरिएको वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना (२०८२–२०९१) मा समावेश गरिएका महत्वपूर्ण बुँदा प्रस्तुत गर्नुभयो।

विभिन्न ७४ रणनीतिअन्तर्गत कार्ययोजना समेटिएको छ । जसमा हरेक पाँच वर्षमा रणनीति तथा कार्ययोजनाको पुनरावलोकन गर्ने तथा हरेक तीन वर्षमा वन क्षेत्रमा लैङ्गिक मूलप्रवाहीकरण राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने उल्लेख छ ।

त्यस्तै, रणनीतिमा महिला कर्मचारीलाई वन परिसरमा सुविधायुक्त शिशु स्याहार केन्द्रको स्थापना र सञ्चालन गर्ने, महिला कर्मचारी सरुवा गर्दा बच्चा भएको दुई वर्षसम्म साथै माग भई आएमा श्रीमान्–श्रीमती दुवैलाई एकै जिल्लामा हुनेगरी सरुवा मापदण्ड बनाई कार्यान्वयन गर्ने, अपाङ्गमैत्री सवारीसाधनको व्यवस्था मिलाउने, कार्यालयमा रहेका स्रोत र साधन महिला एवं अपाङ्ग मैत्री बनाउनेलगायतका बुँदा समावेश गरिएको छ ।

कार्यक्रममा सामुदायिक वनका महासचिव पार्वता गौतम, वन प्राधिकरण सङ्घका अध्यक्ष राकेश कर्ण, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, लैङ्गिक समानता विज्ञ कञ्चन लामालगायतले रणनीतिको महत्वबारे धारणा राख्नुभएको थियो ।

काठमाडौँ, फागुन २९ गते  प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता कायम गर्न आयोगले तोकेको आचारसंहिता र कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले धमाधम विवरण पेस गर्न थालेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत विवरण सार्वजनिक गरिरहेका छन् ।

उम्मेदवारको खर्च विवरण

बालेन्द्र साह (बालेन): राष्ट्रिय स्वतन्त्र पार्टीका नेता साहले झापा निर्वाचन क्षेत्र नं. ५ को खर्च विवरणअनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । जसमा सवारी साधन भाडा र इन्धनमा २ लाख ९३ हजार ८ सय, वडास्तरीय प्रचारमा ५ लाख ८० हजार र प्रचार सामग्रीमा १ लाख ५७ हजार ४१ रुपैयाँ खर्च भएको छ ।

स्वर्णिम वाग्ले: तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद वाग्लेले २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ । उहाँको सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपैयाँ भएको देखिएको छ ।

रवि लामिछाने: रास्वपा सभापति लामिछानेले चितवन–२ को निर्वाचन खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ भएको विवरण पेस गर्नुभएको छ । उहाँको खर्चमा यातायात तथा इन्धनमा २ लाख ९५ हजार र खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ समावेश छ।

सोविता गौतम: चितवन क्षेत्र नं. ३ की उम्मेदवार गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ।

महावीर पुन: म्याग्दी क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । उहाँको खर्चमध्ये होटलमा खाना र बस्नका लागि मात्र १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ ।

सूर्य थापा: प्युठान–१ का एमाले नेता थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ ।

शंकर पोखरेल: एमाले महासचिव पोखरेलले दाङ–२ को खर्च विवरणमा सवारी साधन, इन्धन, र गोष्ठी/अन्तरक्रिया लगायतका शीर्षकमा १६ लाख ५० हजार खर्च भएको उल्लेख गर्नुभएको छ ।

कमल थापा: राप्रपा नेता कमल थापाले काठमाडौँ–५ बाट चुनाव लड्दा २३ लाख १० हजार रुपैयाँ खर्च भएको विवरण पेस गर्नुभएको छ । उहाँको एक भोटका लागि औसत एक हजार रुपैयाँभन्दा बढी खर्च भएको देखिएको छ ।

निर्वाचन आयोगले खर्च विवरण प्राप्त भएपछि त्यसको अध्ययन र प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । अन्य उम्मेदवारले पनि सम्बन्धित निर्वाचन कार्यालयमा विवरण बुझाउने क्रम जारी रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याउने अवस्था सिर्जना गरेको निष्कर्ष निकालेको छ।

पार्टीले मातहतका कमिटीहरूलाई ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै विभिन्न आशङ्का, अनिश्चितता र षड्यन्त्रपूर्ण पृष्ठभूमिमा असामान्य परिस्थितिमा सम्पन्न भएको निर्वाचनले लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सकारात्मक भूमिका खेलेको जनाएको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल द्वारा हस्ताक्षरित निर्देशनपत्रमा मतदाताले दिएको अभिमतलाई सम्मान गर्दै पार्टीले संसदमा जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारिएको छ।

नेकपाले निर्वाचनमा आफूहरूले अपेक्षा गरेअनुसारको परिणाम आउन नसक्नुका पछाडि विभिन्न कारणहरू रहेको पनि स्वीकार गरेको छ। भर्खरै एकता प्रक्रियाबाट अघि बढेको पार्टीको संगठन समायोजनको काम पूरा नहुँदै निर्वाचनमा होमिनुपरेको अवस्थालाई मुख्य कारण मानिएको छ।

छोटो समयका कारण पार्टीको विचार, नीति, कार्यक्रम तथा नयाँ चुनाव चिह्न जनतामाझ स्थापित गर्न नसकिएको नेतृत्वको बुझाइ छ। साथै भदौ २३ र २४ गतेका घटनापछिको राजनीतिक अन्योल तथा सञ्चारमाध्यममा फैलाइएका भ्रामक र नकारात्मक प्रचारलाई चिर्न पर्याप्त समय नपाउँदा परिस्थिति पार्टीको अनुकूल बन्न नसकेको नेकपाको दाबी छ।

काठमाडौँ, फागुन २९ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताल पुग्नुभएको छ ।

शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको पार्थिव शरीर अस्पतालमै राखिएको छ । आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्न अस्पतालमा भिड लागेको छ ।

मोहनप्रसाद ओली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको एमाले सचिवालयले जनाएको छ । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ  ।

भैरहवा, फागुन २९  बिहानको चिसो र धुंधमा धर्मेन्द्र लोध नदी किनारमा उभिएर हेरिरहेका छन् । उनको नजरले दानव नदी पार गर्ने बाँसको अस्थायी पुलतिर लाग्छ । ‘अहिले त अलिअलि सुविधा छ, तर वर्षा सुरु भएपछि यहाँ पानीमा हेलिएर जानुपर्छ,’ धर्मेन्द्रले ढुक्कसँग भने । यही पुल उनको दैनिक यात्रा र जीवनसँग जोडिएको छ । घर, खेत, र बजार यही बाटोले जोडिएको छ ।

भभइ–भटौलिया आसपासका बासिन्दा पक्की पुल नहुँदा अझै जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । नदीमा अहिले केवल काठको डुंगा र बाँसको अस्थायी पुलको सहारा छ । स्थानीय कोइल लोधका अनुसार नदीको वारि भटौलिया र पारि भभइ पर्छ । अहिले दुबे थुम्हवाका एक मल्लाहले अस्थायी पुल बनाएर मानिसलाई पार गराइरहेका छन् । ‘धेरै दुःख गरेर पुल बनाउनुहुन्छ । यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउजाउ गर्न सजिलो भएको छ,’ कोइलले भने ।

स्थानीय कुमार लोधले बताए अनुसार दुवैतर्फका किसानको खेतीपाती नदीपारि रहेकोले आवतजावत झन् कठिन बनेको छ । ‘बाढी आउँदा त कोही आउजाउ गर्न सक्दैनन्,’ उनले भने । वर्षा सुरु भएपछि बाँसको अस्थायी पुल प्रयोग गर्न नसकिने भएकाले स्थानीयलाई पक्की पुलको आवश्यकता अझै महसुस हुन्छ । स्थानीय मल्लाह परिवारले पुल बनाउन दिनरात काम गर्दै आएका छन् । बासमती मल्लाह दिनभरि घाटमै बस्छिन् र परिवारका तीन जनाले मिलेर पुल बनाउँछन् । उनी बताउँछिन्, ‘पुल बनाउँदा दिनमा १००–२०० रुपैयाँसम्म आम्दानी हुन्छ । यात्रुहरूले कहिले नगद, कहिले धान, चामल, गहुँ पनि दिन्छन् । हाम्रो मुख्य आम्दानी यही घाटबाट नै चलेको छ ।’

वरपरका १०–१२ गाउँका करिब १ हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले वर्षौंदेखि स्थानीयहरूले सरकारसँग पक्की पुल निर्माणको माग गर्दै आएका छन् । बाँसको अस्थायी पुलले अहिलेको आवतजावत सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि पक्की पुल अपरिहार्य बनेको स्थानीयहरूको भनाइ छ । सडकको हरियाली, नदीको बगान र घाटमा काम गर्दै गरेको मल्लाह परिवारको दृश्यले यहाँको संघर्ष र आत्मनिर्भरतालाई देखाउँछ । स्थानीयहरूका लागि यो पुल केवल आवतजावतको माध्यम होइन, जीवनको पहुँच र जीविकोपार्जनको आधार पनि हो ।

कोहलपुर, फागुन २९  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण, भयरहित र मर्यादित वातावरणमा सम्पन्न भएकोमा नेपाली कांग्रेस, बाँके क्षेत्र नम्बर १ ले जनताको व्यापक सहभागिता र सहयोगको प्रशंसा गरेको छ । क्षेत्रीय सभापति पोषण केसीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन सफल बनाउन योगदान दिने सम्पूर्ण नागरिक, सुरक्षा निकाय, निर्वाचन आयोग, सञ्चारकर्मी तथा पर्यवेक्षकप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

विज्ञप्तिमा उल्लेख छ कि निर्वाचनले मुलुकमा राजनीतिक अस्थिरता र अन्योलको बीच लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ । सभापतिले भने, ‘निर्वाचन लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो । हार–जीत स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्छ र जनताबाट प्राप्त जनादेशलाई सम्पूर्ण राजनीतिक दल र सरोकारवाला पक्षले सम्मानपूर्वक मान्नुपर्छ ।’ नेपाली कांग्रेसले यस निर्वाचनमा अपेक्षित सफलता प्राप्त नगरेको स्वीकार गर्दै, विगतका कमजोरीहरूको गम्भीर समीक्षा, संगठन सुदृढीकरण, आत्मसुधार र जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरेको छ । यसै क्रममा पार्टीले आगामी दिनमा पनि जनताको सेवा र लोकतन्त्र सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ ।

विज्ञप्तिमा यस निर्वाचनमार्फत परम्परागत राजनीतिक शक्तिसँगै नयाँ राजनीतिक शक्तिको उदय भएको पनि औंल्याइएको छ । सभापतिले जनताले व्यक्त गरेका भावना, अपेक्षा र आकांक्षालाई सम्बोधन गर्दै नयाँ नेतृत्वले सुशासन, विकास र स्थायित्व प्रदान गर्नु प्रमुख जिम्मेवारी भएको बताए । साथै, अन्य राजनीतिक दलहरूले सरकारका सकारात्मक तथा जनहितकारी काममा सहयोग गर्नु र जनविरोधी गतिविधि वा गलत प्रवृत्तिप्रति सशक्त रचनात्मक खबरदारी गर्नु लोकतान्त्रिक अभ्यासको महŒवपूर्ण दायित्व भएको उल्लेख गरिएको छ । अन्ततः, नेपाली कांग्रेसले निर्वाचन परिणामलाई सकारात्मकरूपमा ग्रहण गर्दै आम नेपाली जनताको सेवा, लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा, राष्ट्रिय एकता तथा राष्ट्रिय हितको संरक्षणमा दृढतापूर्वक प्रतिबद्ध रहने विश्वास व्यक्त गरेको छ ।

नेपालगन्ज, फागुन २९  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न युवासंघ, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूले न्यायको माग गर्दै पम्प्लेटसहित र्‍याली निकाल्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

इनिसा गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । उनी उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । शनिबार बिहान ६ बजे प्रयोगात्मक कक्षामा शिक्षकले बोलाएको भन्दै उनी घरबाट विद्यालयतर्फ हिँडेकी थिइन् । तर केही समयपछि उनको मोबाइल बन्द भएपछि परिवार चिन्तित बनेको थियो ।

इनिसाकी आमा तिला विकले बिहान ८ बजेतिर फोन गर्दा मोबाइल स्वीच अफ थियो । विद्यालयमा बुझ्दा उनी त्यहाँ नपुगेको जानकारी पाएपछि परिवार थप चिन्तित भएको थियो । त्यसैबीच एक अपरिचित व्यक्तिले फोन गरेर सहिदपार्क नजिकको जंगलमा इनिसा अचेत अवस्थामा रहेको जानकारी दिएपछि आमा घटनास्थल पुगेकी थिइन् ।

परिवारका अनुसार घटनास्थलमा इनिसा रक्ताम्मे अवस्थामा अचेत थिइन् । उनको कपाल लुछिएको, जुत्ता र मोजा अलग–अलग परेको तथा शरीरमा कपडा नभएको अवस्थामा फेला परेको थियो । तत्काल खबर पाएर पुगेको प्रहरीले उनलाई उद्दार गरी वीरेन्द्रनगर–४ स्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रहरीले घटनास्थलबाट वीरेन्द्रनगर–९ का १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ भने अनुसन्धानका क्रममा थप तीन जना बालकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख छ । तर पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । मानवअधिकारसम्बद्ध संघसंस्थाले पनि घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

कोहलपुर, फागुन २९  बाँकेको कोहलपुरमा जारी कोहलपुर ‘कोहलपुर प्राइड लिग–१’ अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा कोहलपुर स्पोट्र्स एकेडेमी र युनाइटेड भिजन क्रिकेट क्लब विजयी भएका छन् । दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित हात पारेका हुन् ।

पहिलो खेलमा खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटल्यान्ड स्कुललाई ५४ रनले पराजित गर्‍यो । टस जिेतर पहिला ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । १५६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको ब्राइटल्यान्ड स्कुलको टोली १६.१ ओभरमा १०१ रनमै अलआउट भयो । विपक्षी बलरहरूको अनुशासित बलिङका कारण ब्राइटल्यान्डका ब्याटरहरूले ठूलो साझेदारी गर्न सकेनन् ।

दोस्रो खेलमा कोहलपुर स्पोर्टस् एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई १२२ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको कोहलपुर स्पोट्र्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रनको बलियो योगफल तयार गरेको थियो ।

१९८ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमी भने दबाबमा पर्‍यो । टोलीका ब्याटरहरू क्रिजमा टिक्न नसक्दा १६.३ ओभरमै सबै विकेट गुमाएर ७५ रनमा समेटियो । उत्कृष्ट बलिङ प्रदर्शनका कारण कोहलपुर स्पोट्र्स एकेडेमीले सहज जित दर्ता गर्‍यो ।

लिगका दुवै खेल प्रतिस्पर्धात्मक भए पनि विजयी टोलीहरूले ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गरे । प्रतियोगितामा सहभागी टोलीहरूबीच आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । स्थानीय स्तरमा क्रिकेट प्रतिभा विकास गर्ने उद्देश्यले आयोजना गरिएको कोहलपुर प्राइड लिगमा विभिन्न क्लब तथा विद्यालयका टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने राम्रो अवसर प्रदान गरेको खेलप्रेमीहरूले बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।