
संघीय संसद्ले तोकेको बिहान ११ बजेदेखि २ बजेसम्मको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको हो। यसबाट सभामुखमा उनी निर्विरोध भएका छन्। प्रतिनिधि सभामा रास्वपाको मात्रै १८२ सिट रहेकाले अन्य उम्मेदवार विजयी हुने सम्भावना नरहेपछि कुनै दलले सभामुखमा आकांक्षा नदेखाएका हुन्।
संसद् सचिवालयले अहिले २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। अर्यालको एकल उम्मेदवारी परेपनि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा उनलाई विजयी गराइयोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।
काठमाडौं, चैत २० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले रेडियो नेपाल ले मुलुकमा लोकतन्त्र स्थापना र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ।
रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले विगत र वर्तमानको तुलना गर्दै रेडियोको दायरा फराकिलो र प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले रेडियो नेपालको संरक्षण, सुदृढीकरण र विश्वसनीयता कायम राख्ने जिम्मेवारी त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीकै काँधमा रहेको स्पष्ट पार्नुभयो।
मन्त्री तिमिल्सिनाले लोकतन्त्रलाई संस्थागत गर्न सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताउँदै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गर्नुभयो। “देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको हो,” उहाँले भन्नुभयो, “त्यसैले जिम्मेवार र इमान्दार पत्रकारिता आजको आवश्यकता हो।”
उहाँले आफूले पनि विगतमा रेडियो नेपालमार्फत रचनाहरू पठाउने गरेको स्मरण गर्दै रेडियोले धेरै स्रष्टा जन्माएको बताउनुभयो। देश अहिले नयाँ ऊर्जा र गतिसहित अघि बढिरहेको उल्लेख गर्दै उहाँले नकारात्मक सोचलाई चिर्दै रूपान्तरणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
मन्त्री तिमिल्सिनाले संस्था सुदृढ हुन कर्मचारी र पत्रकारको इमान्दारिता अनिवार्य हुने धारणा राख्नुभयो। “संस्था राम्रो भए देश राम्रो हुन्छ,” उहाँले भन्नुभयो, “अरूबाट जवाफदेहिता खोज्नुभन्दा पहिले आफू जिम्मेवार बन्नुपर्छ।”
उहाँले कुनै पनि प्रकारको ‘सेटिङ’ वा अनियमितता सह्य नहुने स्पष्ट पार्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो। जनताले दिएको म्यान्डेटअनुसार इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उहाँले कर्मचारी र पत्रकारलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत ले बदलिँदो समयअनुसार रेडियो नेपाललाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार रेडियो नेपालको पहुँच हाल देशका करिब ९४ प्रतिशत नागरिकसम्म पुगेको छ।
सरकारी सञ्चार माध्यमको रूपमा रेडियो नेपालको आफ्नै पहिचान र जिम्मेवारी रहेको उल्लेख गर्दै सचिव बस्नेतले सत्य, तथ्य र विश्वसनीय समाचारमार्फत श्रोताको विश्वास कायम राख्नुपर्ने बताउनुभयो।
यसैगरी सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट ले विभिन्न उतारचढाव पार गर्दै रेडियो नेपाल हालको अवस्थामा आइपुगेको बताउनुभयो। उहाँले सार्वजनिक सेवा प्रसारण प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयसँगको समन्वयमा काम गरिने उल्लेख गर्नुभयो।
उहाँका अनुसार सार्वजनिक सेवा प्रसारणको अभ्यास अन्य देशमा पनि भए तापनि यसको प्रभावकारी व्यवस्थापन चुनौतीपूर्ण रहने गरेको छ। आगामी दिनमा संक्रमणकालीन जटिलतालाई न्यूनीकरण गर्दै संस्थालाई सुदृढ बनाइने उहाँले बताउनुभयो।
कार्यक्रमको उद्घाटन सत्रमा कार्यकारी अध्यक्ष विष्टले मन्त्री तिमिल्सिना र सचिव बस्नेतलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। सो अवसरमा वरिष्ठ स्रष्टा यादव खरेल र मुकुल भट्टचार्य लाई सम्मान गरिएको थियो।
नेपालगन्ज, चैत २० भेरी अस्पतालमा भइरहेको वैज्ञानिक अनुसन्धानले सिफलिस (भिरिंगी) संक्रमणको वास्तविक स्थिति तीन महिनामै स्पष्ट पारेको छ । डा. बद्री चापागाइँ नेतृत्वको ’भेनस अध्ययन २०२६’ अन्तर्गत ३२५ बिरामीको विवरण संकलन गरिएको छ, जसले समाजमा अझै पनि फैलिएको संक्रमणको गम्भीर तस्विर देखाएको छ ।
तथ्यांक अनुसार १८७ जना नयाँ सिफलिस संक्रमित पहिचान भएका छन् । यसमा २०–४० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी प्रभावित देखिएका छन् । जन्मजात संक्रमणका कारण शिशुहरूदेखि ६५ वर्षका वृद्धसम्ममा संक्रमण भेटिएको छ । केही केसमा आमाबाट शिशुमा सिफलिस सरेको (कन्जेनिटल ट्रान्समिसन) पनि पुष्टि भएको छ । वैदेशिक रोजगारीका लागि गरिने स्वास्थ्य परीक्षणमा ‘अनफिट’ ठहरिने संक्रमितको संख्या पनि उल्लेखनीय छ । यौनांगमा घाउ भएका बिरामी र पुरानो संक्रमण निको भए/नभएको जाँच गर्न आएका करिब ३० प्रतिशत बिरामीको विवरण रेकर्डमा समावेश भएको छ ।
भेरी अस्पतालले सेवा प्रभावकारी बनाउन छाला तथा यौन रोग विभाग अन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको छ । कोठा नं २२ मा निःशुल्क, गोप्य र व्यवस्थित रूपमा परामर्श, परीक्षण र उपचार सेवा उपलब्ध छ । डा. चापागाइँले भने, ‘सिफलिस केवल व्यक्तिगत स्वास्थ्य समस्या नभई सामाजिक व्यवहार, औषधिको अनियन्त्रित प्रयोग र नीति कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य चुनौती हो । यस अध्ययनले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीको भ्रम र बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्नेछ ।’
अध्ययनबाट प्राप्त निष्कर्षले राष्ट्रिय यौनजन्य रोग (एसटिआई) मार्गनिर्देशन र वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ । अध्ययन जनवरी १, २०२६ देखि सुरु भई डिसेम्बरसम्म निरन्तर चल्नेछ । यस पहलले सिफलिस नियन्त्रणमा मात्र होइन, सुरक्षित परीक्षण र उपचारका लागि जनचेतना बढाउने अवसर पनि प्रदान गर्ने विशेषज्ञहरूको विश्वास छ ।
राप्तीसोनारी, चैत २० स्थानीय महिला र युवालाई स्वरोजगारमा जोड्ने उद्देश्यले आयोजित ७ दिने दुना टपरी बनाउने तालिम विहिबार राप्तीसोनारी गाउँपालिकामा सुरु भएको छ । तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले गरेकी थिइन् ।
यस तालिम घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज ८० प्रतिशत र अशोक सामुदायिक वन उपभोक्ता समूह, राप्ती सोनारी–२, बाँके २० प्रतिशत आर्थिक सहयोगमा सञ्चालन भएको हो । तालिम सञ्चालनको समन्वय र व्यवस्थापन राप्तीसोनारी गाउँपालिका कार्यालयले गरेको छ । अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुको अध्यक्षतामा कार्यक्रम व्यवस्थापनसमेत गरिएको थियो ।
तालिममा स्थानीय २५ जना महिला र युवाहरू सहभागी छन् । तालिममा कच्चा पदार्थको छनोट, उत्पादन प्रविधि, डिजाइन, गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनसमेतको व्यावहारिक प्रशिक्षण दिइएको छ । सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत उत्पादन क्षमतामा वृद्धि गर्ने अवसर पाएका छन् ।
तालिम आयोजकहरूले उत्पादनलाई व्यवस्थित बजारमा पुर्याउने, सहकारीमार्फत बिक्री व्यवस्थापन गर्ने र गुणस्तरीय उत्पादनमा जोड दिने योजना अघि सारेका छन् । गाउँपालिका अधिकारीहरूले यस्तो तालिमलाई नियमित गर्दै महिला, युवा र स्वरोजगारमा जोडिने समूहलाई लक्षित गर्ने योजना रहेको जानकारी दिएका छन् ।




