
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं.३ स्थित गेग्ली गाउँमा आज बिहान आगलागी हुँदा १५ वटा फुसको छानो भएका कच्ची घर तथा गोठ जलेका छन् । आज बिहान ४ :५० बजेतिर आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक गणेशराज उप्रेतीको कमाण्डमा ३० जना र सशस्त्र प्रहरी बलको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा करिब ५ घण्टापछि बिहान साढे ९ बजे आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगञ्जस्थित राँझा विमानस्थलबाट निःशुल्क ‘सटल बस सेवा’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न आज बिहानदेखि सटल बस सेवा सुरु गरिएको हो । उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाएको छ । सटल बस सेवा भनेको छोटो दूरीमा निश्चित स्थानबीच बारम्बार आवतजावत गर्ने बस सेवा हो ।
सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट आएका बुद्ध एयरका यात्रुलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको विमानस्थल कार्यालयले जनाएको छ । यसैबीच आजदेखि अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको छ । आजबाट काठमाडौंबाट आउने यात्रुलाई नयाँ टर्मिनल भवनबाट बाहिर ल्याइएको छ ।
काठमाडौँ, वैशाख १५ गते खर्च क्षमता कमजोर रहँदा आगामी आर्थिक वर्षको बजेट आकार विस्तारभन्दा प्रभावकारी कार्यान्वयनतर्फ केन्द्रित हुने संकेत गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बजेटको सिलिङ बढे पनि खर्च हुन नसक्ने अवस्था देखिएकाले अब ठूलो आकारको बजेट ल्याउनेभन्दा यथार्थमा आधारित योजना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्थ कार्यक्रमको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विगतका वर्षहरूमा बजेट विनियोजन बढ्दै गए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्नुभयो । “सिलिङ बढाउनुपर्छ भन्ने अपेक्षा रहन्छ, तर खर्च हुन नसक्ने अवस्था पनि यथार्थ हो,” उहाँले भन्नुभयो, “पछिल्ला नौ महिनामा पुँजीगत खर्च २०–२२ प्रतिशत मात्र हुनु चिन्ताको विषय हो।”
उहाँका अनुसार अबको प्राथमिकता बजेटको आकार वृद्धि होइन, विनियोजित स्रोतको पूर्ण उपयोग र परिणाममुखी खर्च सुनिश्चित गर्नु हुनेछ । बजेट निर्माण गर्दा यथार्थपरक योजना छनोट, कार्यान्वयन क्षमता अभिवृद्धि र खर्च प्रक्रियामा देखिएका अवरोध हटाउन ध्यान केन्द्रित गरिने उहाँले बताउनुभयो ।
पाण्डेयले आर्थिक क्षेत्रका संरचनात्मक समस्या र कानुनी जटिलताले पनि खर्च प्रभावकारितामा असर पारेको उल्लेख गर्दै ती विषयमा सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । अर्थमन्त्रीले पदभार सम्हालेकै दिन यस्ता अवरोधबारे छलफल भई १५ वटा आर्थिकसम्बन्धी कानुन खारेज गर्ने तथा राजस्व अनुसन्धान विभाग खारेजीको प्रक्रिया सुरु गरिएको उहाँको भनाइ छ ।
उहाँले विभिन्न क्षेत्रगत कमजोरीहरूको समीक्षा भइरहेको र सुधारका लागि आवश्यक नीति तथा संरचनागत परिवर्तन गरिने बताउनुभयो । स्पष्ट जनादेशसहित सरकार गठन भएको वर्तमान अवस्थामा आर्थिक सुधारका कार्यक्रम अघि बढाउन अनुकूल वातावरण बनेको उहाँको दाबी छ ।
अर्थ मन्त्रालयले अब बजेट निर्माणलाई व्यावहारिक र कार्यान्वयनमुखी बनाउने दिशामा अघि बढाउने संकेत दिँदै खर्च प्रणाली सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ ।
कञ्चनपुर ,बैशाखा १५ गते बढ्दो गर्मी र संरक्षण अभावका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रका अधिकांश तालतलैया सुक्न थालेपछि वन्यजन्तुका लागि पानी संकट गहिरिँदै गएको छ। निकुञ्ज प्रशासनका अनुसार गर्मीयामसँगै प्राकृतिक तथा कृत्रिम दुवै प्रकारका तालमा पानीको सतह तीव्र रूपमा घटिरहेको छ। सूचना अधिकारी पुरुषोत्तम वाग्लेले अधिकांश ताल सुक्ने अवस्थामा पुगेको जनाउँदै शिकारी तालबाहेक अन्य तालमा पानीको मात्रा उल्लेख्य रूपमा घटेको बताए।
राँझा (बाँके), वैशाख १५ जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर कतिपयको ज्यान जाने गरेको हो । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ ।
गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टंक गुरुङले बताए । उनका अनुसार पछिल्लोपटक शनिबार मात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चारवटा चित्तल फसेका थिए । स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ । यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागवण्डा गरेर घरतिर जाँदै गर्दा स्थानीय तीन जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए ।
डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जान्छन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।’ सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्छ,’ वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, ’नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँपटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।’
वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् । सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका–२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।
राप्तीसोनारी, वैशाख १५ राप्तीसोनारी गाउँपालिका र साकार कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा मकै पकेट कार्यक्रमअन्तर्गत सार्वजनिक सुनुवाइ तथा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका वडा नम्बर ५ चिलरियास्थित गोदाम घरमा आयोजित उक्त कार्यक्रममा कृषकलाई उत्पादन वृद्धि तथा आधुनिक कृषि यान्त्रिकीकरणतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कृषि उपकरणहरू वितरण गरिएको हो ।
कार्यक्रममा मकै खेतीलाई व्यावसायिक बनाउन र लागत घटाउँदै उत्पादन वृद्धि गर्न आवश्यक पर्ने आधुनिक उपकरणहरू वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सो अवसरमा ९ हर्ष पावरका १० वटा मिनी टेलर, २ हर्ष पावरका १५ वटा मोटर, ४ हर्ष पावरको १ वटा मोटर वितरण गरिएको छ । यस्तै ठूलो आकारको मकै छोडाउने मेसिन १ वटा, मकै रोप्ने मेसिन ५ वटा, स्प्रे टंकी १० वटा, केही थान त्रिपाल तथा १०० केपी डेलिभरी पाइप पनि कृषक समूहलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमलाई संयुक्त लागत साझेदारी मोडेलमा सञ्चालन गरिएको हो । गाउँपालिकाको तर्फबाट १० लाख रुपैयाँ र कृषक समूहको तर्फबाट ५० लाख रुपैयाँ लगानी गरिएको जानकारी दिइएको छ । स्थानीयस्तरमा कृषि यान्त्रीकरण विस्तार गरी उत्पादन लागत घटाउने र कृषकको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइएको छ । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले भने, ‘गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मकै पकेट कार्यक्रममार्फत कृषकलाई आवश्यक उपकरण उपलब्ध गराएर उत्पादन वृद्धि र श्रम लागत घटाउने हाम्रो उद्देश्य हो । अब कृषकले परम्परागत शैलीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित खेती गर्नुपर्छ ।’
अध्यक्ष पौडेलले कृषि उत्पादन बढेमा स्थानीय अर्थतन्त्र मजबुत हुने उल्लेख गर्दै सहकारी तथा कृषक समूहलाई पारदर्शिता र प्रभावकारी उपयोगमा ध्यान दिन आग्रह गरे । उनले वितरण गरिएका उपकरणको सही प्रयोग भएमा उत्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे । त्यसैगरी कृषि शाखा प्रमुख महेन्द्र खड्काले कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया र आगामी योजनाबारे जानकारी दिएका थिए । उनले मकै पकेट कार्यक्रमले स्थानीय कृषकलाई प्रविधिमैत्री बनाउँदै उत्पादन लागत घटाउन सहयोग पुर्याउने बताए ।
खड्काले भने, ‘हामीले कृषकलाई केवल उपकरण मात्र वितरण गरेका छैनौँ, यसको प्रयोग, मर्मत र दीर्घकालीन उपयोगबारे पनि तालिम दिने योजना छ । यसले उत्पादनमा गुणात्मक सुधार ल्याउनेछ र कृषकलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ ।’ सार्वजनिक सुनुवाइका क्रममा कृषकहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अझ धेरै प्राविधिक सहयोग र तालिमको आवश्यकता रहेको बताएका थिए । कार्यक्रमले स्थानीयस्तरमा कृषि आधुनिकीकरणतर्फ महत्वपूर्ण कदम भएको सहभागीहरूको धारणा थियो । राप्तीसोनारी गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।




