झापा,साउन १३ । जिल्ला झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका-९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्याएका थिए । शव सोही अस्पतालमा रहेको छ । कार र चालक झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४६ वर्षीय मदन प्रसाईलाई नियन्त्रणमा लिईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बाँके,साउन १३। जिल्ला बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए।
प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।





