२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

काठमाण्डौ,साउन–२९ गते ।  सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।

सर्वोच्चले श्रेष्ठलाई मात्र नभई प्रहरीले उनको घरबाट नियन्त्रणमा लिएका दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सीपीयू पनि अदालतमा उपस्थित गराउन आदेश दिएको छ। अदालतको आदेशसँगै श्रेष्ठको पक्राउ, हिरासत र प्रहरीले गरेको खानतलासी तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको विषयसमेत न्यायिक परीक्षणको दायरामा आएको छ।

श्रेष्ठकी श्रीमती सरस्वतीले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

यसअघि जिल्ला अदालत काठमाण्डौले श्रेष्ठमाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको हिरासत म्याद दिएको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले बुधबार राति श्रेष्ठलाई पक्राउ गरेको थियो।

श्रेष्ठ पक्राउसँगै प्रहरीले उनको घर र जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरबाट दुईवटा ल्यापटप तथा कार्यालयबाट ६ वटा सीपीयू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

श्रेष्ठमाथि लागेको आरोप र उनको पक्राउको वैधानिकताबारे अनुसन्धान अघि बढिरहेका बेला सर्वोच्चले उनलाई अदालतमा उपस्थित गराउन तथा प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय उपकरणसमेत झिकाउन आदेश दिएको हो। सोमबार हुने सुनुवाइपछि श्रेष्ठको हिरासत निरन्तर रहने वा नरहने तथा रिटमाथि थप प्रक्रिया कसरी अघि बढ्ने भन्ने विषयमा अदालतबाट निर्णय हुनेछ।

हुम्ला, साउन २९ गते ।  नेपाल–चीन सीमा क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ लाप्चा नाकाबाट अवैध रूपमा भित्र्याइएको ५१ लाख ९३ हजार ६ सय रुपियाँ मूल्य बराबरको चिनियाँ मदिरा तथा बियर सुरक्षाकर्मीले बरामद गरेका छन्। व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको मदिरा सल्ली क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको भेटिएपछि संयुक्त सुरक्षाकर्मीको टोलीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार बरामद मदिरामा ५९४ कार्टुन चिनियाँ मदिरा रहेका छन्। एउटा कार्टुनमा १२ बोतलका दरले कुल सात हजार १२८ बोतल मदिरा बरामद भएको हो।

त्यसैगरी, सुरक्षाकर्मीले १९४ कार्टुन चिनियाँ बियरसमेत बरामद गरेको छ। एउटा कार्टुनमा २४ बोतलका दरले चार हजार ६५६ बोतल बियर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बरामद गरिएको मदिरा तथा बियरको कुल मूल्य ५१ लाख ९३ हजार ६ सय रुपियाँ रहेको छ। ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर फेला परेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट चिनियाँ मदिरा भित्र्याइएको सूचना पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा संयुक्त सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। परिचालित टोलीले सल्ली क्षेत्रमा खोजी गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको मदिरा तथा बियर फेला पारेको हो।

बरामद गरिएको मदिरा र बियर शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याइएको छ। प्रहरीले उक्त मदिरा कसले र कुन प्रयोजनका लागि भित्र्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

जाजरकोट , साउन–२९ गते ।  जाजरकोटको नलगाड नगरपालिका–१० रोलीमा तासुघाट खोलामा आएको बाढीले चार घर तथा एक टहरा बगाउनुका साथै झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डसमेत अवरुद्ध भएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।

बाढीले सडक र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि खटिएको प्रहरी टोलीसमेत तत्काल पुग्न सकेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।

इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटका अनुसार अविरल वर्षाका कारण तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ।

बाढीले नलगाड नगरपालिका–१० रोलीका पृथ्वीबहादुर विकको दुईतले ढुङ्गा–माटोले बनेको ढुङ्गाले छाएको घर बगाएको छ। घर बगेपछि उनको नौ सदस्यीय परिवार सुरक्षित स्थानमा बसेको प्रहरीले जनाएको छ।

त्यस्तै, खैते विकको दुईतले ढुङ्गा–माटोले बनेको ढुङ्गाले छाएको घरमा समेत क्षति पुगेको छ। उनको १० सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नरबहादुर विकको तीनतले ढुङ्गा–माटोले बनेको ढुङ्गाले छाएको घरमा पनि बाढीले क्षति पुर्‍याएको छ। उनको १० सदस्यीय परिवार सुरक्षित स्थानमा बसेको प्रहरीले जनाएको छ।

हस्त विकको दुईतले ढुङ्गा–माटोले बनेको टिनले छाएको घरमा समेत क्षति पुगेको छ। उनको आठ सदस्यीय परिवारलाई पनि सुरक्षित स्थानमा राखिएको छ। यस्तै, वीरबहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गर्दै आएको टिनको नास्ता पसलसहितको टहरा बाढीले बगाएको छ।

घटनाबारे शुक्रबार बिहान साढे ६ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ पठाइएको थियो। तर, झोलुङ्गे पुल बगिसकेका कारण प्रहरी टोली घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ।

घटनास्थलमा थप क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली परिचालन गरिएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बाढीका कारण भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएपछि सडकमार्गबाट हुने आवतजावतसमेत प्रभावित भएको छ। झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दालाई आवतजावतमा थप समस्या भएको छ।

रोल्पा ,साउन–२९ गते ।   थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएकाको उद्धार गरेर सदरमुकाम फर्किंदै गरेको करिब एक सय जनाको टोली आफैँ पहिरोमा फसेपछि रातभर सडक र गाडीमै अलपत्र परेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वयंसेवकको टोली बिहीबार रातभर सुनछहरी गाउँपालिका–१ जैमाजा सिरक्याङ भिरनजिक सोनारे बस्तीमा रोकिएको हो।

बुधबार राति कोटलबारामा पहिरो गएको खबर पाएलगत्तै बिहीबार बिहान करिब ४ बजे प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। पहिरोमा परी १० जनाको मृत्यु, तीन जना बेपत्ता र दुई जना घाइते भएको घटनामा उद्धार तथा राहतको काम सकेर सदरमुकाम फर्किने क्रममा टोली नै अर्को पहिरोमा परेपछि सडक अवरुद्ध भएको हो।

टोलीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्री, नेपाली सेनाका कर्णेल दिपेश खड्का, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, सशस्त्र प्रहरीका डीएसपी कालीप्रसाद चौधरीलगायत सुरक्षाकर्मी सहभागी थिए। उनीहरूसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, थबाङ गाउँपालिका अध्यक्ष सबिन बुढामगर, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी तथा नेपाल रेडक्रस सोसाइटीको टोलीसहित करिब एक सय जना उद्धारकर्मी थिए।

दिनभर उद्धारमा खटिएको टोली साँझ फर्कने क्रममा सडकमा पहिरो खसेपछि गन्तव्यतर्फ अघि बढ्न सकेन। खानेकुरा समेत नहुँदा टोलीले स्थानीय एक घरबाट गहुँ किनेर भुटेर खाएको थियो।

सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनका अनुसार दिनभरको भोक र थकानबीच टोलीले स्थानीय घरमा रहेको गहुँ किनेर करिब एक सय जनाले बाँडेर खाएको थियो। “दिनभरको भोक। सबै थाकेका थिए। यहाँ आउँदा पहिरो गएको स्थाननजिक एउटा मात्रै घर थियो,” उनले भने, “त्यहाँ चार पाथी गहुँ रहेछ। त्यही किनेर भुट्यौँ र करिब एक सय जनाले एक–एक मुठी बाँडेर खायौँ। पहिरोको त्रासमा रातभर गाडीमै बसेर उज्यालो बनायौँ।”

उद्धार टोली थबाङको पहिरो पीडितको उद्धार गरेर फर्किंदै गर्दा सुनछहरी गाउँपालिकाकै गाममा पनि पहिरोले चार जना पुरिएको खबर आएपछि अध्यक्ष पुन थप चिन्तित बनेका छन्। लगातारको वर्षाका कारण पूर्वी रोल्पाका विभिन्न गाउँ पहिरोको उच्च जोखिममा परेका छन्।

अध्यक्ष पुनका अनुसार गाममा पहिरोले चार जना पुरिएको खबर आए पनि तत्काल उद्धार टोली पुग्न सक्ने अवस्था छैन। “गाममा पहिरोले चार जना पुरेको खबर आएको छ। तर १२ नबज्दै यो पहिरो खुल्दैन। त्यहाँ पुग्न गाडीमा चार–पाँच घण्टा र त्यसपछि करिब तीन घण्टा पैदल हिँड्नुपर्छ,” उनले भने।

प्रमुख जिल्ला अधिकारी क्षेत्री भने अवरुद्ध सडकका कारण गाडी छाडेर पैदलै अघि बढेका छन्। “गाडी उतै छोडेर पैदल हिँडेका छौँ। पाँच घण्टा भयो हिँडेको,” उनले भने, “गाममा फेरि पहिरोले चार जना पुरिएको खबर आएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाको अर्को टोली मुभ भएको छ।”

लगातारको वर्षाका कारण रोल्पाको पूर्वी क्षेत्रमा सडक तथा ग्रामीण बस्तीहरू जोखिममा परेका छन्। ठाउँ–ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा उद्धार तथा राहतका लागि परिचालन भएका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसमेत घटनास्थलसम्म पुग्न तथा फर्किन कठिनाइ भइरहेको छ।

प्रशासनका अनुसार पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको भए पनि सडक अवरुद्ध हुँदा तत्काल उद्धार टोली परिचालन गर्न चुनौती देखिएको छ। वर्षा नरोकिए थप पहिरोको जोखिम बढ्ने भएकाले पूर्वी रोल्पाका विभिन्न बस्तीमा सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।