२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

 

कोहलपुर, साउन ३१  अखिल नेपाल महिला संघ (अनेमसंघ) कोहलपुर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । बैठकले संगठन विस्तार, सदस्यता वितरण तथा महिला सहभागिता बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले अनेमसंघ कोहलपुर नगर कमिटीको आयोजनामा आगामी भदौ २० गते एकल नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । महिलाको प्रतिभा प्रस्फुटन तथा सांस्कृतिक गतिविधिमार्फत संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।

त्यस्तै, पार्टीको जागरण अभियानअन्तर्गत भदौ १५ गतेसम्म कोहलपुर नगरपालिकाका सबै वडामा अखिल नेपाल महिला संघका वडा कमिटी गठन तथा पुनर्गठन गरिसक्ने निर्णय बैठकले गरेको छ । वडा तहसम्म संगठनलाई व्यवस्थित र सक्रिय बनाउँदै महिला सहभागिता विस्तार गर्ने योजनाअनुसार कमिटी गठन तथा पुनर्गठनलाई तीव्रता दिने निर्णय गरिएको हो ।

बैठकले अनेमसंघको सदस्यता वितरण अभियानलाई समेत तीव्र रूपमा अगाडि बढाउने निर्णय गरेको छ । बढीभन्दा बढी महिलालाई संगठनमा आबद्ध गराउँदै अनेमसंघको संगठनात्मक आधारलाई थप बलियो बनाउने लक्ष्य राखिएको बैठकले जनाएको छ । बैठकमा अनेमसंघको संगठन विस्तार, पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउने तथा महिला सहभागिता बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकले तय गरेका कार्यक्रमलाई समयमै कार्यान्वयन गर्दै वडा तहदेखि नगर तहसम्म संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ ।

रुकुमपश्चिम, साउन ३१ गते । लगातारको वर्षापछि खसेको पहिरोले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा सञ्चालित एक वर्कसप पुरिँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । पहिरोका कारण नयाँबस्तीका तीन घरसमेत उच्च जोखिममा परेका छन् ।

आइतबार दिउँसो सेरीगाउँमा माथिबाट खसेको पहिरोले स्थानीय धनबहादुर विकले सञ्चालन गर्दै आएको युग इन्जिनियरिङ वर्कसप पुरिएको हो । वर्कसपमा मर्मतका लागि ल्याएर पार्किङ गरिएका सवारीसाधन तथा अन्य उपकरणसमेत पहिरोमा पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार मध्यपहाडी राजमार्गको सडक छेउमा रहेको वर्कसपमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । वर्कसपमाथिबाट खसेको पहिरोले धनबहादुरको एकतले जस्तापाता र फलामबाट बनेको ट्रस्ट भवनमा क्षति पुर्‍याउनुका साथै ग्यारेजभित्र रहेका सामग्रीसमेत पुरिएका छन् ।

पहिरोमा स्थानीय पदम केसीका रा १ त ३७३६ र रा १ त ३६१७ नम्बरका दुईवटा ट्याक्टर च्यापिएका छन् । त्यसैगरी स्थानीय प्रविण डाँगीको बा १ क २५०६ नम्बरको रोलर, मिक्सर तथा स्काभेटरका दुईवटा बकेटसमेत पहिरोमा पुरिएका छन् ।

पहिरोले वर्कसपमा क्षति पुर्‍याएसँगै नयाँबस्तीसमेत जोखिममा परेको छ । बस्तीमा रहेका तीन घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । स्थानीय बनिता मल्लको दुईतले आठकोठे पक्की घर, हरिबहादुर सुनारको एकतले दुईकोठे टिनले छाएको घर र हेमबहादुर पाण्डेको दुईतले छकोठे टिनले छाएको घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

नयाँबस्तीमा करिब १५ घर रहेका छन् । पहिरो थप खस्न सक्ने जोखिम रहेकाले जोखिममा रहेका घरबाट मानिस तथा घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढिरहेका बेला सेरीगाउँमा वर्कसपसहित सवारीसाधन र उपकरणमा ठूलो क्षति पुगेको हो । पहिरोबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीसँगै सरकारले कपासदेखि धागो हुँदै कपडासम्मको स्वदेशी उत्पादन शृंखला विकास गर्ने योजना अघि बढाएको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी, निजी क्षेत्र र कृषकलाई कपास खेतीमा लगानी गर्न आह्वान गर्दै दाङ, बाँके र बर्दियालगायतका जिल्लामा व्यावसायिक कपास उत्पादन विस्तार गरी आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य रहेको बताएकी छिन् ।

 

काठमाण्डौं, साउन ३०  लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीसँगै सरकारले कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने योजना अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्र, व्यवसायी र कृषकलाई कपास खेतीमा लगानी गर्न आह्वान गर्दै नेपालमै कपास उत्पादन बढाएर आयातमा निर्भरता घटाउने समय आएको बताएकी छिन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनमा आएपछि त्यसका लागि आवश्यक पर्ने कपास विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित सरकारले कपास खेती विस्तारको पहल थालेको हो । उद्योग मन्त्रालयका अनुसार कपडा उद्योगलाई कच्चा पदार्थमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रसँग समन्वय गरेर उत्पादन शृंखला विकास गर्ने योजना अघि बढाइएको छ ।
मन्त्री यादवले उद्योग सञ्चालन मात्र पर्याप्त नभई त्यसका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति पनि स्वदेशबाटै सुनिश्चित गर्नुपर्ने बताइन् । नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने अधिकांश कपास आयात हुने भएकाले उद्योगको लागत बढ्नुका साथै विदेशी मुद्रामा पनि दबाब परेको उनको भनाइ छ । त्यसैले कपास खेती विस्तारमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरिन् ।
यही उद्देश्यले मन्त्री यादवले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग भेट गरी कपास खेती विस्तारका सम्भावना र सरकारी सहयोगका विषयमा छलफल गरेकी थिइन् । छलफलमा कृषि मन्त्री चौधरीले दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको जानकारी दिएकी छिन् । ती क्षेत्रमा पर्याप्त तापक्रम, खेतीयोग्य जमिन र श्रमशक्ति उपलब्ध भएकाले व्यावसायिक रूपमा कपास उत्पादन विस्तार गर्न सकिने उनको भनाइ थियो ।
नेपालमा विगतमा सीमित क्षेत्रमा कपास खेती हुने गरे पनि पछिल्ला वर्षहरूमा व्यावसायिक उत्पादन घट्दै गएको छ । यसका कारण कपडा उद्योगहरूले आवश्यक पर्ने कपास र धागोका लागि विदेशमा निर्भर रहनुपरेको छ । उद्योग मन्त्रालयका अधिकारीहरूका अनुसार स्वदेशमै कपास उत्पादन बढाउन सके कपडा उद्योगको लागत घट्ने, आयात प्रतिस्थापन हुने तथा ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
यता लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार कारखानाको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य अन्तिम चरणमा पुगेको छ र त्यसपछि सञ्चालनको मोडालिटी टुंग्याइनेछ । हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना दुवै सञ्चालनमा आए नेपालमा कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला विकास गर्ने आधार तयार हुने विश्वास सरकारको छ ।
सरकारले औद्योगिक पुनरुत्थानलाई कृषि उत्पादनसँग जोड्ने नीति अवलम्बन गरेको देखिन्छ । उद्योग र कृषिबीचको समन्वयबाट उत्पादन शृंखला निर्माण गर्न सके किसान, उद्योग र उपभोक्ता सबैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । कृषि विज्ञहरूले कपास खेती विस्तारका लागि उच्च गुणस्तरको बीउ, सिंचाइ सुविधा, कृषि बीमा, न्यूनतम समर्थन मूल्य र उद्योगसँगको सुनिश्चित खरिद सम्झौता आवश्यक रहेको बताएका छन् ।
मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै कपास खेती विस्तारलाई राष्ट्रिय औद्योगिक रणनीतिसँग जोडेर अघि बढाइने बताइन् । उनका अनुसार कपास उत्पादन बढाउन सकिए विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र हजारौँ किसान तथा श्रमिकका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न सकिनेछ । हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन, बुटवल धागो कारखानाको पुनरुत्थान र कपास खेती विस्तारको सरकारी पहलले नेपालमा कपास–धागो–कपडा उत्पादनको समग्र शृंखला निर्माण गर्ने सम्भावना बलियो बनाएको छ ।

काठमाडौँ,साउन ३१ गते ।    नियमित विक्रेताबाट खाना पकाउने ग्यास पाउन समस्या भएपछि काठमाडौँ उपत्यकाका विभिन्न बिक्री केन्द्रमा आइतबार बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ। ग्यासको अभावले दैनिक खाना पकाउनसमेत समस्या भोगिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले सात स्थानबाट विशेष बिक्रीको व्यवस्था गरेपछि ती केन्द्रमा ठूलो भीड लागेको हो।

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा ग्यास उद्योगीमार्फत उपत्यकाका विभिन्न सात स्थानबाट आइतबार ग्यास बिक्रीवितरण भइरहेको छ। नियमित बजारमा सहज रूपमा ग्यास उपलब्ध हुन नसकेपछि अति आवश्यक परेका उपभोक्तालाई लक्षित गरी विशेष बिक्रीको व्यवस्था गरिएको निगमले जनाएको छ।

ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रमा पुग्न सक्नेछन्। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

निगमको टेकुस्थित परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री भइरहेको छ। त्यहाँ बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन लागेको छ।

त्यस्तै, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री भइरहेको छ। कीर्तिपुर परिसरस्थित राधास्वामीमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्ड उपलब्ध गराइएको छ।

नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री भइरहेको छ भने तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्ड बिक्रीको व्यवस्था मिलाइएको छ।

यसैगरी चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध छन्। ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री भइरहेको निगमले जनाएको छ।

नियमित आपूर्ति प्रणालीबाट ग्यास नपाएका उपभोक्तालाई तत्काल राहत दिने उद्देश्यले विशेष बिक्रीको व्यवस्था गरिएको निगमको भनाइ छ। ग्यास लिन आउने उपभोक्ताको संख्या धेरै रहेकाले बिक्री केन्द्रहरूमा भीड व्यवस्थापन र वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले समन्वय गरिरहेका छन्।

पछिल्लो समय उपत्यकामा ग्यासको नियमित आपूर्तिमा समस्या देखिएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गर्दै आएका छन्। विशेष बिक्रीले तत्कालका लागि केही राहत दिने अपेक्षा गरिए पनि नियमित बजारमै पर्याप्त ग्यास उपलब्ध गराउनुपर्ने माग उपभोक्ताले गरेका छन्।

निगमले तोकिएका बिक्री केन्द्रमा उपलब्ध ग्यासको मौज्दातअनुसार वितरण गरिने जनाएको छ। विशेष बिक्रीबाट उपभोक्ताको तत्कालीन समस्या समाधान गर्ने प्रयास भए पनि दीर्घकालीन रूपमा बजारमा नियमित र सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने चुनौती भने कायमै छ।

कञ्चनपुर  साउन ३१ गते ।    महाकाली नदीमा पानीको बहाव घटेपछि भारतसँग जोडिएको शारदा ब्यारेजअन्तर्गत बनबासा पुलमा शनिबार साँझदेखि चारपांग्रे तथा ठूला सवारी साधनको आवागमन सुचारु भएको छ। नदीमा पानीको बहाव १ लाख क्युसेकभन्दा तल झरेपछि जोखिमका कारण रोकिएको सवारी आवागमन पुनः सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार शनिबार साँझ ६ बजेदेखि शारदा ब्यारेजको गेट खुला गरी ठूला सवारी साधनलाई आवागमन गर्न दिइएको हो।

शुक्रबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलबाट ठूला सवारी साधनको आवागमनमा रोक लगाइएको थियो। नदीमा पानीको सतह बढ्दा करिब एक सय वर्ष पुरानो पुलमा जोखिम हुने भएकाले जलस्तर १ लाख क्युसेक पुगेपछि ठूला सवारी साधनलाई आवागमन गर्न नदिने गरिएको प्रहरीले जनाएको छ।

शनिबार साँझ ५ बजे गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव ९९ हजार ३३३ क्युसेक रहेको थियो। शनिबार दिउँसो भने पानीको बहाव १ लाख ५५ हजार क्युसेकभन्दा माथि पुगेको थियो। केही घण्टामै नदीको बहाव उल्लेख्य रूपमा घटेपछि पुलमा सवारी आवागमन खुलाइएको हो।

बनबासा पुलमा ठूला सवारी साधनका लागि निश्चित समय तोकेर आवागमन सञ्चालन हुँदै आएको छ। हाल बिहान ६ देखि ८ बजेसम्म, बिहान १० देखि १२ बजेसम्म, दिउँसो २ देखि ४ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म गरी दिनमा चार चरणमा जम्मा सात घण्टा ठूला सवारी साधनका लागि पुल खुला गरिँदै आएको छ।

महाकालीमा पानीको बहाव बढ्दा पुलको सुरक्षालाई ध्यानमा राख्दै भारतीय पक्षले पनि सवारी आवागमनमा कडाइ गर्ने गरेको छ। नदीको जलस्तर फेरि बढेर १ लाख क्युसेक पुगेमा ठूला सवारी साधनको आवागमनमा पुनः रोक लगाउन सकिने प्रहरीले जनाएको छ।

 

जाजरकोट, साउन ३१ गते ।  अविरल वर्षापछि पहिरोको जोखिम बढ्दै गएपछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका दुई सय स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोको उच्च जोखिममा रहेका झ्यालीखेत डाँडा, चिसापानी, राउटेरे डाँडा र रिसाङ फारुलालगायतका बस्तीबाट स्थानीयवासीलाई उद्धार गरी रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको भवनमा अस्थायी रूपमा राखिएको हो। लगातार वर्षा भइरहेकाले बस्तीमा थप जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन तथा प्रहरीले उद्धार र स्थानान्तरणलाई प्राथमिकता दिएको छ।

जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ। प्रहरी टोलीले जोखिमयुक्त बस्तीको निगरानीसँगै स्थानीयवासीको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक सुरक्षा व्यवस्थाको काम गरिरहेको छ।

प्रहरीका अनुसार झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विभिन्न जोखिमयुक्त स्थानबाट गरी करिब दुई सय जनालाई विद्यालय भवनमा स्थानान्तरण गरिएको हो।

अविरल वर्षा नरोकिएकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ। पहिरोको जोखिमको अवस्था हेरेर थप नागरिकलाई समेत सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।

वर्षाका कारण पहिरोको जोखिम बढेपछि स्थानीयवासीमा त्राससमेत बढेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारेर मानवीय क्षति हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बर्दिया साउन–३१।  वर्षौंसम्म अरुको जग्गामा आश्रित भएर बस्दै आएका बढैयाताल गाउँपालिका–४ खैरेनीका २९ भूमिहीन परिवारले अन्ततः आफ्नो नाममा जग्गाधनी प्रमाणपुर्जा पाएका छन्। पुस्तौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरूलाई भूमि समस्या समाधान आयोग, बर्दियाले गत असार १८ गते जग्गाधनी लालपुर्जा वितरण गरेको हो।

लालपुर्जा पाउनेमा २७ जना भूमिहीन र दुई जना भूमिहीन दलित रहेका छन्। आयोगले बढैयाताल गाउँपालिका–४ खैरेनीको मानझुण्डी क्षेत्रमा २९ परिवारलाई ६ बिघाभन्दा बढी ऐलानी जग्गा वितरण गरेको जनाएको छ। एक वर्षदेखि उक्त क्षेत्रमा भूमिहीन तथा सुकुमवासीलाई जग्गा वितरणको प्रक्रिया अघि बढाइएको थियो।

आयोगका केन्द्रीय अध्यक्ष बलराम बास्तोला, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, वडाध्यक्ष नरे थापालगायत आयोग तथा स्थानीय समितिका सदस्यले संयुक्त रूपमा २९ जनालाई लालपुर्जा हस्तान्तरण गरेका थिए।

लालपुर्जा पाएपछि स्थानीय सरिता थारुले वर्षौंदेखि मनमा रहेको असुरक्षा अन्त्य भएको बताइन्। अरुको जग्गा बटैया गरेर जीविका चलाउँदै आएकी थारुले आफ्नो नाममा जग्गा भएपछि अब ढुक्क भएर घरमा बस्न पाउने अवस्था आएको बताइन्।

‘अब ढुक्कका साथ आफ्नै घरमा बस्न पायौँ,’ उनले भनिन्, ‘कुनै बेला अतिक्रमण हटाउने हो कि भन्ने त्रासबाट अब मुक्त भएका छौँ।’

लामो समयदेखि भूमिहीनको जीवन बिताउँदै आएका स्थानीयका लागि लालपुर्जा प्राप्त हुनु आर्थिकभन्दा पनि सामाजिक र मानसिक सुरक्षाको विषय बनेको छ। वर्षौंसम्म ऐलानी जग्गामा बस्दै आए पनि आफ्नो नाममा जग्गा नभएकाले उनीहरूलाई घरजग्गाको स्थायित्व र भविष्यप्रति निरन्तर चिन्ता रहने गरेको थियो।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका स्थानीय बडघर फुलराम थारुका अनुसार आफूहरू लामो संघर्षपछि अहिलेको ठाउँमा बसोबास गर्दै आएका हुन्। उनले २०५० सालदेखि बर्दियाको कन्द्रा वन क्षेत्रबाट सरकारले हटाएपछि यहाँ आएर बसोबास गर्न थालेको बताए।

‘निकै संघर्षमय जीवन गुजार्दै बल्ल पुर्जा पाउँदा खुसी नहुने कुरै भएन,’ उनले भने, ‘यहाँ बसोबास गर्ने करिब ९० प्रतिशत किसान अरुको खेतमा अँधिया र बटैया गरेर जीविका चलाइरहेका छन्।’

लालपुर्जा प्राप्त भएपछि उनीहरूलाई अब आफ्नो नाममा रहेको जग्गामा घर निर्माण, कृषि उत्पादन तथा अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। स्थानीयका अनुसार जग्गाको कानुनी स्वामित्व नहुँदा उनीहरूले वर्षौंदेखि राज्यबाट प्राप्त हुने कतिपय सेवा तथा सुविधाको उपयोगमा समेत असहजता भोग्दै आएका थिए।

भूमि समस्या समाधान आयोगले लामो समयदेखि ऐलानी, सुकुमवासी तथा भूमिहीन दलितका रूपमा बसोबास गर्दै आएका परिवारको पहिचान, जग्गा नापजाँच र प्रमाणपुर्जा वितरणको काम अघि बढाउँदै आएको छ। खैरेनीमा भएको जग्गा वितरणलाई पनि सोही प्रक्रियाअन्तर्गतको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

वर्षौंदेखि अस्थायी बसोबास र भूमिहीनताको पीडा भोग्दै आएका २९ परिवारका लागि भने असार १८ गतेको दिन जीवनकै महत्वपूर्ण दिन बनेको छ। उनीहरूको हातमा पुगेको लालपुर्जाले बसोबासको कानुनी सुरक्षा मात्र दिएको छैन, आफ्नै नाममा जमिन भएको अनुभूति पनि दिएको स्थानीय बताउँछन्।

 

जाजरकाेट, साउन ३१ गते।   जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको लेदोसहितको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् । शुक्रबार साँझ आएको पहिरोमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये दुई जनाको शव फेला परेको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साउन ३० गते साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ साल्धारा निवासी ५२ वर्षीया केदार कार्कीको नेपालगन्जस्थित मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका थिए ।

यसअघि पहिरोमा परी बेपत्ता भएका सोही ठाउँका ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजी तथा उद्धारका क्रममा फेला परेको प्रहरीले जनाएको छ । उनीहरू पहिरोपछि सम्पर्कविहीन भएका थिए ।

पहिरोमा परी भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भिमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस बिक अझै बेपत्ता छन् । हरिस पहिरोपछि घरबाट बाहिर निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहितको टोलीले घटनास्थलमा खोजीकार्य गरिरहेको छ ।

पहिरोमा परी सोही ठाउँका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ ।

पहिरोले स्थानीयका आठ वटा घरमा समेत ठूलो क्षति पुर्‍याएको छ । लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले उद्धार तथा खोजीकार्यमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

 

कोहलपुर, साउन ३१  ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरले केही समयदेखि रोकिएको मासिक सरसफाइ अभियानलाई पुनः नियमित रूपमा सञ्चालन गर्ने घोषणा गर्दै शनिबार कोहलपुर चौराहदेखि कृषि चोकसम्म व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुँदै आएको उक्त अभियान पुनः सुरु भएसँगै कोहलपुर बजार क्षेत्रको सार्वजनिक सरसफाइ र वातावरण संरक्षणप्रति स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको छ । बिहानैदेखि सञ्चालन गरिएको कार्यक्रममा कोहलपुर नगर प्रहरी, रोटरी क्लब अफ सेन्ट्रल बाँके, बेटर बाँके, कोहलपुर–११ का विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, पुस्तकालयका पदाधिकारी, युवाहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका संयोजक तथा ज्ञानोदय सामुदायिक पुस्तकालयका उपाध्यक्ष निर्मल आचार्यले केही समय विभिन्न कारणले अभियान स्थगित भए पनि अबदेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार सार्वजनिक स्थलहरूलाई स्वच्छ र व्यवस्थित बनाउने, वातावरण संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउने तथा सरसफाइप्रति नागरिक जिम्मेवारी र सचेतना बढाउने उद्देश्यले अभियानलाई पुनः निरन्तरता दिइएको हो । सफा वातावरण स्वस्थ समाजको आधार हो,’ आचार्यले भने, ॅहामीले केवल फोहोर उठाउने काम मात्र गरेका होइनौं, नागरिकमा सरसफाइ र वातावरणीय जिम्मेवारीबारे सचेतना फैलाउने प्रयास पनि गरेका छौं । आगामी दिनमा विद्यालय, संघसंस्था र समुदायलाई थप जोडेर अभियानलाई अझ प्रभावकारी बनाइनेछ ।’

सरसफाइ अभियानका क्रममा सडक किनार, नाली, सार्वजनिक स्थल तथा फुटपाथ क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । सहभागीहरूले सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न र सरसफाइलाई दैनिक व्यवहारको हिस्सा बनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विगत दुई वर्षदेखि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हरेक महिनाको अन्तिम शनिबार नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको थियो । केही समय अभियान रोकिएपछि स्थानीयवासी र सरोकारवालाको आग्रहमा यसलाई पुनः सक्रिय बनाइएको पुस्तकालयले जनाएको छ ।

पुस्तकालयका अनुसार आगामी महिनादेखि सरसफाइ अभियानलाई केवल बजार क्षेत्रमा सीमित नराखी विद्यालय, सार्वजनिक पार्क, धार्मिक स्थल तथा अन्य सामुदायिक क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको छ । अभियानमा स्थानीय संघसंस्था, युवाक्लब तथा नागरिकको निरन्तर सहभागिता रहने अपेक्षा गरिएको छ । स्थानीयवासीहरूले यस्तो अभियानले कोहलपुरलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री नगर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । नियमित रूपमा सञ्चालन हुने यस्ता सामुदायिक कार्यक्रमले नागरिक सहभागिता, सामाजिक एकता र वातावरणीय उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।