
नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ।
बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र सोही ठाउँकी २५ वर्षीया पूजा लोनिया रहेका छन्। पक्राउ परेका दुवै जना श्रीमान्–श्रीमती रहेको बाँके प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा लिएर लागूऔषध कसुर मुद्दामा थप अनुसन्धान अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ।
राप्तीसोनारी, असोज ५ राप्तीसोनारी गाउँपालिकामा विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले शैक्षिक उत्प्रेरणा कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसँगै शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमअन्तर्गत पहिलो दिन सांगीतिक पीटी, प्रार्थना व्यवस्थापन तथा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाका अनुसार कार्यक्रम पहिलो चरणमा वडा नम्बर ६, २ र ३ मा सञ्चालन हुँदैछ । असोज ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रम एउटा वडामा दुई दिनका दरले सञ्चालन गरिनेछ । पहिलो दिन विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीलाई सहभागी गराइएको छ भने दोस्रो दिन सम्पूर्ण अभिभावकलाई समेत सहभागी गराएर थप बृहत् कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रमले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै शिक्षकलाई शिक्षणप्रति थप जिम्मेवार र उत्प्रेरित बनाउने तथा अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षामा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्य राखिएको छ । गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत (आठौँ) मोहन विसीका अनुसार विद्यार्थीको सिकाइ सुधारका लागि विद्यालयभित्रको प्रयास मात्र पर्याप्त नहुने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध बलियो बनाउन कार्यक्रम आयोजना गरिएको हो ।
‘शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक तीनवटै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । यी तीन पक्षले आ–आफ्नो भूमिका सशक्तरूपमा निर्वाह गर्न सके मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ,’ विसीले भने, ‘कार्यक्रमले एकअर्काको भूमिका बुझ्ने, जिम्मेवारी महसुस गर्ने र सिक्दै–सिकाउँदै अघि बढ्ने वातावरण निर्माण गर्ने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार कार्यक्रम केवल विद्यार्थीलाई लक्षित गरेर नभई शिक्षक र अभिभावकलाई समेत शैक्षिक प्रक्रियाको अभिन्न पक्षका रूपमा सहभागी गराउने गरी सञ्चालन गरिएको हो । विद्यार्थीको सिकाइमा घर र विद्यालय दुवैको वातावरणले प्रभाव पार्ने भएकाले अभिभावकको सक्रिय सहभागितालाई पनि कार्यक्रमले प्राथमिकता दिएको उनले बताए ।
कार्यक्रममा ‘सिक्दै सिकाउँदै राष्ट्रिय अभियान’का अभियन्ताहरूले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण दिनेछन् । सिकाइलाई व्यवहारसँग जोड्ने, सकारात्मक सोचको विकास गर्ने तथा विद्यार्थीमा आत्मविश्वास बढाउने विषयमा कार्यक्रम केन्द्रित रहने गाउँपालिकाले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाका तीन वडाबाट सुरु गरिएको कार्यक्रम क्रमशः अन्य वडामा समेत विस्तार गरिने तयारी छ । गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत करिब पाँच हजार विद्यार्थी, अभिभावक तथा शिक्षकसहितको सहभागिता हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केवल परीक्षा र नतिजामा सीमित नगरी विद्यार्थीको समग्र व्यक्तित्व विकाससँग जोड्न खोजेको जनाएको छ । त्यसका लागि विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकाससँगै शिक्षकको शिक्षण क्षमता तथा अभिभावकको शैक्षिक जिम्मेवारीलाई पनि समानरूपमा अघि बढाउने उद्देश्य कार्यक्रमले लिएको छ । विसीका अनुसार विद्यार्थीलाई विद्यालय पठाउने मात्र नभई उनीहरूको सिकाइ, व्यवहार र भविष्य निर्माणमा अभिभावकको निरन्तर साथ आवश्यक हुन्छ । ‘विद्यालयले सिकाउने र घरले त्यसलाई निरन्तरता दिने वातावरण बन्नुपर्छ । विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षक र अभिभावकबीच सहकार्य बलियो बनाउन सके शैक्षिक सुधार दिगो बन्न सक्छ,’ उनले बताए । कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकले साङ्गीतिक पीटी र प्रार्थनाबाट दिनको सुरुवात गरेका थिए । त्यसपछि उत्प्रेरणात्मक सत्र सञ्चालन गरिएको थियो । आगामी दिनमा अभिभावकको सहभागितामा हुने कार्यक्रमले विद्यालय र घरबीचको सम्बन्धलाई थप नजिक ल्याउने गाउँपालिकाको अपेक्षा छ ।
नेपालगन्ज, असोज ५ खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण करिब पाँच महिनादेखि रोकिएको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ । लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन मर्मतपछि सञ्चालनमा आएसँगै क्यान्सरका बिरामीले अस्पतालबाटै नियमित उपचार सेवा पाउने भएका छन् ।
अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार गत वैशाख १५–१६ गतेदेखि दुवै मेसिनमा प्राविधिक समस्या देखिएपछि रेडियोथेरापी सेवा प्रभावित भएको थियो । सेवा बन्द हुँदा उपचाररत बिरामीलाई अन्य अस्पतालमा जानुपर्ने अवस्था आएको थियो । अब असोज ५ गतेदेखि नियमित रूपमा सेवा सञ्चालन हुने उनले जनाए । क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण विधि मानिन्छ । लिन्याकबाट क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरण केन्द्रित गरेर उपचार गरिन्छ । ब्रेकीथेरापीमा भने उपचार गर्नुपर्ने स्थानको नजिकै विकिरणको स्रोत राखेर उपचार गरिने डा. गुप्ताले बताए ।
दुवै उपकरण सञ्चालनमा आएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै आसपासका क्षेत्रबाट उपचारका लागि आउने बिरामीलाई राहत पुग्ने अस्पतालको अपेक्षा छ । पश्चिम नेपालमा सरकारी क्षेत्रबाट सञ्चालित प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास भइरहेको अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ उपचार उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । अस्पतालमा रेडियोथेरापीसँगै किमोथेरापी, क्यान्सर शल्यक्रिया, सिटी स्क्यान, म्यामोग्राफी र भिडियो एक्स–रेलगायत सेवा सञ्चालनमा छन् । गम्भीर अवस्थाका बिरामीका लागि आईसीयू, भेन्टिलेटर तथा निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ । आकस्मिक उपचारका लागि २४ सै घण्टा इमर्जेन्सी, शल्यक्रिया, डे केयर, रक्तसञ्चार, इसिजी र इको सेवा पनि उपलब्ध छन् ।
त्यसैगरी अस्पतालमा २४ सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे तथा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको जनाइएको छ । क्यान्सर उपचारका लागि आवश्यक विभिन्न सेवा एउटै संस्थाबाट उपलब्ध गराउने प्रयासले बिरामीलाई उपचार प्रक्रियामा सहजता पुग्ने अस्पतालको भनाइ छ । २०६२ मङ्सिर २७ गते प्रखर परोपकार मिशन नेपालको स्थापना भएपछि अस्पताल निर्माणको प्रक्रिया अघि बढेको थियो । २०६४ वैशाख १७ गते अस्पताल भवनको शिलान्यास गरिएको थियो । सुरुमा नेपाल क्यान्सर अस्पतालका रूपमा अघि बढाइएको संस्थाको नाम २०७३ फागुन १५ गते गठन आदेशमार्फत परिवर्तन गरी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल राखिएको हो ।
२०७४ असार ११ गते ओपीडी सेवा उद्घाटन भएपछि अस्पतालले औपचारिक स्वास्थ्य सेवा सुरु गरेको थियो । २०७७ मङ्सिर ५ गतेदेखि आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा पनि सञ्चालनमा आएको थियो । रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै पश्चिम नेपालका क्यान्सर बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
भारतीय तरकारीको दबदबा घटेपछि बाँकेका किसान उत्साहित, खेतमै पुग्न थाले व्यापारी
नेपालगन्ज, असोज ५ खेतमा तरकारी लटरम्म फले पनि उचित मूल्य नपाउँदा किसान निराश हुने दिन विस्तारै फेरिन थालेका छन् । उत्पादनको लागतसमेत नउठ्ने गरी तरकारी बेच्नुपर्ने बाध्यताबाट गुज्रिएका बाँकेका किसानले अहिले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारीको राम्रो मूल्य पाउन थालेका छन् । बजारमा स्थानीय उत्पादनको माग बढेपछि किसानको खेतसम्मै व्यापारी पुग्न थालेका छन् ।
बाँकेको तरकारी बजारमा आएको यही परिवर्तनले किसानको खेती गर्ने शैलीसमेत बदल्न थालेको छ । विगतमा घरायसी आवश्यकता पूरा गर्न वा सीमित क्षेत्रफलमा मात्र तरकारी लगाउने किसान अहिले बजारको माग हेरेर खेती गर्न थालेका छन् । तरकारीबाट नियमित नगद आम्दानी हुन थालेपछि धान, गहुँजस्ता परम्परागत बालीसँगै किसानले तरकारीलाई पनि आम्दानीको प्रमुख आधार बनाउन थालेका छन् । यसको सबैभन्दा ठूलो प्रभाव नेपालगन्ज आसपासका गाउँमा देखिएको छ । डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुर, वडा नं. १७ परसपुर, वडा नं. १९ वसुदेवपुर, वडा नं. २१ पुरैनी र वडा नं. २२ पुरैनालगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका छन् ।
कुनै समय भारतीय तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर स्थानीय किसानले उत्पादन घटाउनुपर्ने अवस्था थियो । अहिले भने भारतीय तरकारीको आयातमा आएको कमी र भन्सार प्रक्रियामा भएको कडाइले स्थानीय उत्पादनलाई बजारमा थप ठाउँ दिएको किसान र व्यवसायी बताउँछन् । भारतबाट आउने तरकारीमा भन्सार तिर्नुपर्ने भएपछि आयातीत तरकारीको लागत बढेको छ । त्यसको प्रभाव स्थानीय उत्पादनको माग र मूल्यमा परेको छ । नेपालगन्ज–१५ जयसपुरका किसान असलम राईका अनुसार तरकारी खेतीमा आएको परिवर्तन किसानले प्रत्यक्ष अनुभव गरिरहेका छन् । पहिले उत्पादन गरेको तरकारी बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने भए पनि अहिले व्यापारी गाउँमै पुग्न थालेका छन् ।
‘पहिले तरकारी बिक्री गर्न टाढा–टाढा पुग्नुपर्थ्यो,’ उनले भने, ‘अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेपछि गाउँमा तरकारी खेती गर्ने किसान बढ्दै गएका छन् ।’ राईका अनुसार तरकारी खेतीमा मेहनत धेरै भए पनि उत्पादन बिक्री भएपछि आम्दानी तत्काल हात पर्ने भएकाले किसानको आकर्षण बढेको हो । बजारमा माग भएको समयमा उत्पादन बिक्री गर्न सकिए किसानले अन्य बालीको तुलनामा छिटो नगद आम्दानी लिन सक्ने उनको अनुभव छ ।
स्थानीय किसानले अहिले फूलगोपी, बन्दागोपी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेँडा, खुर्सानीलगायत तरकारी उत्पादन गरिरहेका छन् । मौसमअनुसार फरक–फरक तरकारी लगाएर किसानले आम्दानीको चक्र निरन्तर राख्ने प्रयास गरेका छन् । नेपालगन्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतीसरा थापा क्षेत्रीका अनुसार बजारमा अहिले बाँकेमै उत्पादन भएको तरकारीको उपस्थिति बढेको छ । भारतीय तरकारीको आयातमा कडाइ भएपछि स्थानीय उत्पादनले बजार पाउन थालेको उनले बताइन् । ‘भारतबाट बिक्रीका लागि ल्याइने तरकारीमा भन्सार तिर्नुपर्ने भएकाले लागत बढेको छ,’ उनले भनिन्, ‘त्यसको तुलनामा बाँकेका किसानले उत्पादन गरेको तरकारी बजारमा सहज रूपमा आउँछ । अहिले रानीतलाउ बजारमा स्थानीय उत्पादनको हिस्सा बढेको छ ।’
स्थानीय उत्पादनले बजार पाउनु किसानका लागि मूल्यमा मात्रै सुधार आउनु होइन, उत्पादनप्रतिको विश्वास बढ्नु पनि हो । विगतमा बजारको अनिश्चितताका कारण किसानले ठूलो क्षेत्रफलमा तरकारी खेती गर्न हिचकिचाउने गरेका थिए । उत्पादन गरेर पनि बिक्री नहुने वा मूल्य नपाइने जोखिमका कारण किसानले तरकारी खेतीलाई मुख्य व्यवसाय बनाउन सकेका थिएनन् । अहिले भने खेतमै व्यापारी पुग्न थालेपछि किसानले बजारको जोखिम केही कम भएको महसुस गरेका छन् । उत्पादनको माग देखिएपछि अर्को मौसममा अझ बढी क्षेत्रफलमा खेती गर्ने योजना बनाउने किसानसमेत बढेका छन् ।
रानीतलाउ थोक तरकारी मन्डीका थोक व्यवसायी मोहियुद्दिन राईका अनुसार भारतीय तरकारीसँगको प्रतिस्पर्धा स्थानीय किसानका लागि लामो समयदेखि चुनौती थियो । भारतबाट ठूलो परिमाणमा सस्तो तरकारी आउँदा स्थानीय उत्पादनले मूल्य पाउन कठिन हुने गरेको उनले बताए । ‘भारतीय तरकारी सस्तो हुँदा स्थानीय किसानले उत्पादनको लागतसमेत उठाउन कठिन हुने अवस्था थियो,’ उनले भने, ‘अहिले आयात घटेपछि स्थानीय उत्पादनले बजारमा ठाउँ पाएको छ । किसानले पनि उत्पादनको राम्रो मूल्य पाउन थालेका छन् ।’ बाँकेको कृषि बजारमा आएको यो परिवर्तनको अर्को पाटो स्थानीय उत्पादनको आपूर्ति हो । बजारमा मागअनुसार नियमित उत्पादन हुन सके किसानले आफ्नो उत्पादन बिक्री गर्न थप सहज हुने व्यवसायी बताउँछन् । स्थानीय उत्पादन बढ्दै गएमा बाहिरबाट तरकारी ल्याउनुपर्ने निर्भरता पनि घट्ने उनीहरूको भनाइ छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा अहिले ६ हजार ३५२ हेक्टर जमिनमा सागसब्जी खेती हुँदै आएको छ । जिल्लामा वार्षिक करिब १३ मेट्रिक टन सागसब्जी उत्पादन हुने गरेको उनले जानकारी दिइन् ।
उनका अनुसार तरकारी खेतीप्रतिको किसानको आकर्षण पछिल्ला वर्षमा बढ्दै गएको छ । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानले पनि बजारमा उत्पादन बिक्री गरेर आम्दानी गर्न सकिने देखेपछि व्यावसायिक उत्पादनतर्फ ध्यान दिन थालेका छन् । ‘तरकारीलाई नगदे बालीका रूपमा हेर्ने किसान बढ्दै गएका छन्,’ उनले भनिन्, ‘बजारमा माग र मूल्य राम्रो हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ ।’ किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत केन्द्रले एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे तरकारीका बिउ वितरण गरेको छ । बिउ तथा प्राविधिक सहयोगले किसानलाई उत्पादन विस्तारमा सहयोग पुगेको केन्द्रको भनाइ छ ।





