नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका १० परिवारले वर्षौंपछि आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीका रूपमा रहेका उनीहरूलाई बुधबार एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।
जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा वडा कार्यालय बैजापुरमा आयोजित कार्यक्रममा लाभग्राही परिवारलाई प्रमाणपुर्जा हस्तान्तरण गरिएको हो । लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेका परिवारले पुर्जा पाएसँगै आफ्नो जग्गामाथिको कानुनी अधिकार सुनिश्चित गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरी र राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
राप्ती सोनारी गाउँपालिका–४ का वडाध्यक्ष मिनराज खड्काका अनुसार प्रमाणपुर्जा प्राप्त गर्नेमा भीमबहादुर विष्ट र दिपा विष्ट, चेतप्रकाश दमाई र निर्मला दमाई, जंगे कामी र कलि कामी, विस्णी दमाई र मंसराम दमाई, केशरी घर्ती मगर र देविराम घर्ती मगर रहेका छन् ।

त्यस्तै दुर्गाबहादुर पुन र मनुदेवी पुन, टंकबहादुर मल्ल र विष्णुदेवी मल्ल, जानकी विष्ट र छविलाल विष्ट, वीरबहादुर घर्ती मगर तथा सीताकुमारी कुम्हार र पुरन कुम्हारले पनि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।
कार्यक्रममा सांसद चौधरी, गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख जिल्ला अधिकारी तामाङ र वडाध्यक्ष खड्काले संयुक्त रूपमा लाभग्राहीलाई प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए ।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि भूमिहीन परिवारलाई सुरक्षित बसोबासको आधार तयार भएको छ । जग्गाको कानुनी स्वामित्व नहुँदा विभिन्न सरकारी सेवा तथा सुविधामा पहुँच बनाउन कठिनाइ भोग्दै आएका परिवारलाई अब आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्न सहज हुने अपेक्षा गरिएको छ ।

















