प्रदेश सभापतिका लागि वर्तमान उपसभापतिद्वय दाङका राजु खनाल र गुल्मीका भुवनप्रसाद श्रेष्ठसँगै महामन्त्री कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा पाल्पाका वीरबहादुर राना आकांक्षी देखिएका छन् । उनीहरूले आन्तरिक रूपमा आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै नेता तथा कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिएका छन् । वर्तमान प्रदेश सभापति पुन यसअघि पार्टीको केन्द्रीय महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थिए ।
बाँके, मंसिर २ नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि नेताहरूबीच प्रतिस्पर्धा चर्किन थालेको छ । प्रदेश अधिवेशनको मिति औपचारिकरूपमा घोषणा भइनसके पनि सभापतिदेखि महामन्त्रीसम्मका पदमा आकांक्षी नेताहरूले आफ्नो पक्षमा समर्थन जुटाउन जिल्ला दौडाहा, भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएका छन् । वर्तमान प्रदेश सभापति अमरसिंह पुनले पुनः नेतृत्वमा नदोहोरिने घोषणा गरेपछि उनको उत्तराधिकारी बन्न चारजना नेता सक्रिय भएका छन् । प्रदेश अधिवेशन आगामी मंसिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म हुने सम्भावना रहेको वर्तमान सभापति पुनले बताएका छन् । केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रदेश तथा जिल्ला अधिवेशनको मिति र निर्वाचन प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ । अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश नेतृत्वका आकांक्षीहरूले केन्द्रीय नेताहरूसँग परामर्श गर्ने र प्रदेश प्रतिनिधिको समर्थन जुटाउने रणनीति अघि सारेका छन् ।
प्रदेश सभापतिका लागि वर्तमान उपसभापतिद्वय दाङका राजु खनाल र गुल्मीका भुवनप्रसाद श्रेष्ठसँगै महामन्त्री कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा पाल्पाका वीरबहादुर राना आकांक्षी देखिएका छन् । उनीहरूले आन्तरिक रूपमा आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै नेता तथा कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिएका छन् । वर्तमान प्रदेश सभापति पुन यसअघि पार्टीको केन्द्रीय महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थिए । उनले आगामी नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रयास हुने बताएका छन् । उनका अनुसार प्रदेशमा विगतको तुलनामा गुटगत प्रतिस्पर्धा कमजोर रहेकाले सहमतिमै नेतृत्व चयन गर्न सकिने सम्भावना छ । सभापतिका आकांक्षी खनालले आफूले उम्मेदवारी दिने विषयमा केन्द्रीय नेताहरूलाई जानकारी गराइसकेको बताए । प्रदेश सांसदसमेत रहेका खनालले प्रदेशमै रहेर पार्टीको नेतृत्व गर्ने उद्देश्यले सभापतिको तयारी थालेको बताए । उनले विभिन्न जिल्लाका कार्यकर्ता तथा प्रदेश प्रतिनिधिसँग क्षेत्रगत रूपमा भेटघाट गरिरहेको जानकारी दिए । ‘उपसभापति भइसकेको व्यक्ति केन्द्रमा पनि भइनँ, म प्रदेश सांसद पनि भएकाले प्रदेशमै रहेर नेतृत्व गर्न उपयुक्त हुन्छ भन्ने लागेर सभापतिको तयारीमा लागेको हुँ,’ उनले भने ।
अर्का आकांक्षी श्रेष्ठले पनि सभापति पदमा उम्मेदवारी दिने विषयमा केन्द्रीय नेताहरूलाई जानकारी गराइसकेको बताए । उपसभापति भइसकेपछि सभापतिमा दाबी गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले नेता तथा कार्यकर्तासँगको छलफललाई अघि बढाएको जानकारी दिए । प्रदेश महामन्त्री आचार्यले पनि शीर्ष नेताहरूसँगको परामर्शअनुसार सभापति पदको तयारी गरिरहेको बताएका छन् । प्रदेशसभा सदस्यसमेत रहेका पाल्पाका रानाले पनि सभापति बन्ने विषयमा साथीभाइसँग सल्लाह र छलफल गरिरहेको बताए । ‘सभापतिका लागि अरू साथीहरू पनि हुनुहुन्छ । मैले पनि सभापति बन्ने विषयमा साथीभाइसँग सरसल्लाह गरिरहेको छु,’ उनले भने । सभापतिसँगै प्रदेश महामन्त्री पदमा पनि आकांक्षीहरूको सक्रियता बढेको छ । वर्तमान प्रदेश कोषाध्यक्ष प्रकाश राना, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल र प्युठानका विष्णु गिरी महामन्त्रीका आकांक्षी देखिएका छन् । यसैगरी अर्घाखाँचीका केशव श्रेष्ठ र बाँकेकी अञ्जना पाण्डेयले पनि महामन्त्री पदका लागि आन्तरिक तयारी गरिरहेको कांग्रेस नेताहरू बताउँछन् । महामन्त्रीका आकांक्षी प्रकाश रानाले उम्मेदवारीको तयारीसहित जिल्ला दौडाहालाई तीव्र बनाएका छन् ।

गुल्मी र अर्घाखाँचीमा कार्यकर्तासँग भेटघाट सकेर रुकुम जाने तयारीमा रहेको उनले बताए । महामन्त्री पदमा सर्वसम्मति हुन नसके निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । त्यस्तै, अर्का आकांक्षी पोखरेलले पनि प्रदेश प्रतिनिधिसँग फोन तथा प्रत्यक्ष भेटघाटमार्फत समर्थन मागिरहेका छन् । पार्टीका केन्द्रीय नेतादेखि प्रदेश प्रतिनिधिसम्मसँग छलफल गरेर उम्मेदवारीको तयारी गरिरहेको उनले बताए । महामन्त्री बन्ने वातावरण आफूअनुकूल बन्दै गएको उनको दाबी छ । अन्य आकांक्षी गिरी, श्रेष्ठ र पाण्डेय पनि आन्तरिक छलफल र भेटघाटमार्फत समर्थन जुटाउने प्रयासमा छन् । प्रदेश नेतृत्वका आकांक्षीहरू सक्रिय भए पनि तत्काल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने अवस्था भने देखिएको छैन । सभापति र महामन्त्रीका उम्मेदवारहरू सहमतिका आधारमा नेतृत्व चयन हुन सक्ने सम्भावनालाई पनि खुला राखेर अघि बढेका छन् ।
वर्तमान सभापति पुनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिने बताए । सभापति पदमा सहमति जुट्न सके अन्य पदमा पनि सहमति कायम गर्न सहज हुने उनको भनाइ छ । महामन्त्रीका आकांक्षी प्रकाश रानाले पनि लुम्बिनी प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन सक्ने सम्भावना रहेको बताए । अहिले प्यानल निर्माण गर्ने तयारी नरहेको उनले स्पष्ट पारे । उपसभापति श्रेष्ठले पनि केन्द्रीय नेतृत्वले सहमतिका आधारमा नेतृत्व चयनका लागि पहल गर्न सक्ने बताए । सहमति कायम गर्दा भौगोलिक सन्तुलन र पार्टीमा गरेको योगदानलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ । अधिवेशनको मिति र निर्वाचन कार्यतालिका सार्वजनिक नभइसकेकाले उम्मेदवारीको अन्तिम समीकरण बन्न बाँकी छ । यद्यपि सभापतिका चार र महामन्त्रीका पाँच आकांक्षीको सक्रियताले लुम्बिनी कांग्रेसमा नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा सुरु भइसकेको छ । अब केन्द्रीय नेतृत्वको भूमिका, प्रदेश प्रतिनिधिको समर्थन र सहमतिको प्रयासले नेतृत्व चयनको दिशा निर्धारण गर्ने देखिन्छ ।

















