२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

सापकोटा प्रकरणमा जोडिँदै राजनीतिक र न्यायिक वृत्तका नाम, अनुसन्धानको दायरा फराकिलो


काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्मका राजनीतिक तथा आर्थिक सम्बन्ध जोडिन थालेपछि इनम सापकोटा प्रकरण थप पेचिलो बनेको छ। एक हजार चार सय अमेरिकी डलरसहित पक्राउ परेका सापकोटामाथि भइरहेको अनुसन्धानमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठसमेत पक्राउ परेपछि घटनाको दायरा फराकिलो बनेको हो।

गत असोज १० गते पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर एक रात प्रहरी कार्यालयमा राखी छाडेको थियो। जबराविरुद्ध प्रहरीले अहिलेसम्म कुनै मुद्दाको प्रक्रिया अघि बढाएको छैन। तर, उनै जबराले नाम लिएका सापकोटा भने डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।

सापकोटालाई एक हजार चार सय अमेरिकी डलरसहित पक्राउ गरिएको थियो। बरामद डलर बैंकबाट साटिएको प्रमाण राहदानीमा नदेखिएपछि प्रहरीले राष्ट्र बैंक ऐनअन्तर्गत अनुसन्धानका लागि म्याद लिएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको हो।

सापकोटासँगको सम्बन्ध र आर्थिक कारोबारको आशंकामा प्रहरीले असोज ३१ गते सुशील भट्टलाई पक्राउ गरेको थियो। अनुसन्धान अधिकृतहरूका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारागारमा रहेका उनका भाइ दीपक भट्टको मुद्दा मिलाउन सापकोटासँग आर्थिक कारोबार भएको देखिएपछि सुशीललाई नियन्त्रणमा लिइएको हो।

दीपकको मुद्दामा चलखेल भएको आशंकामा प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरामाथि पनि अनुसन्धान अघि बढाउन खोजेको थियो। तर, प्रहरीले जबरालाई नियन्त्रणमा लिनुको कारण सुरक्षा चुनौती रहेको सार्वजनिक स्पष्टीकरण दिएको थियो।

यसैबीच सापकोटासँग आर्थिक कारोबारमा जोडिएको आरोपमा महेश श्रेष्ठलाई शनिबार पक्राउ गरिएको छ। सापकोटा र महेशबीच भएको भनिएको कारोबारको रकम र प्रयोजन प्रहरीले सार्वजनिक गरेको छैन। उच्च स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने र प्रधानमन्त्री बालेन्द्र शाहनिकट रहेको दाबी गर्दै सापकोटा महेशसँग सम्पर्कमा पुगेका थिए। कांग्रेस नेता उमेश श्रेष्ठको समेत लगानी रहेको बालाजुस्थित जनमैत्री अस्पतालका लागि उपकरण खरिद गर्ने विषयमा उनीहरूबीच आर्थिक कारोबार भएको हुन सक्ने आशंका गरिएको छ।

तर, प्रहरीले अनुसन्धानको मुख्य आधार बनाएको सापकोटा र महेशबीचको आर्थिक सम्बन्ध अस्पतालका उपकरण खरिदसँग जोडिएको हो वा कांग्रेसको विशेष महाधिवेशनमा भएको भनिएको आर्थिक चलखेलसँग सम्बन्धित हो भन्ने खुल्न सकेको छैन।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगलगायत निकायलाई आर्थिक प्रभावमा पारी आफ्नो पक्षमा निर्णय गराएको आरोप सार्वजनिक भएको थियो। यसका लागि सापकोटालाई प्रयोग गरी थापाले १८ करोड रुपैयाँ खर्च गरेको दाबीसमेत गरिएको छ। दुई साताअघि सापकोटाकै आवाज भएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भए पनि त्यसको आधिकारिकता पुष्टि भएको छैन।

प्रहरी स्रोतका अनुसार थापासँग जोडिएको भनिएको आर्थिक चलखेलमा उमेश श्रेष्ठको लगानी रहेको र सापकोटामार्फत निर्वाचन आयोगदेखि अदालतसम्म रकम पुगेको आरोपबारे प्रमाण खोज्न महेशलाई पक्राउ गरिएको हो। यद्यपि यी आरोप पुष्टि भइसकेका छैनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले सापकोटासँगको सम्बन्ध र कारोबार देखिएकै आधारमा थप दुई जनालाई पक्राउ गरिएको बताए। तीनै जनालाई थप अनुसन्धानका लागि बिहीबार हिरासत म्याद थप गर्ने तयारी रहेको उनले जानकारी दिए।

‘यो अलि जटिल मुद्दा हो। अहिले हामी सबै कुरा खुलाउन सक्ने अवस्थामा पुगेका छैनौं,’ घिमिरेले भने। उनले सुशील र महेशले सापकोटासँग कति रकमको कारोबार गरेका थिए भन्ने खुलाउन चाहेनन्।

अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न

सापकोटा प्रकरण प्रहरीका लागि प्रतिष्ठाको विषयसमेत बनेको छ। सुरुवातमा एक हजार चार सय अमेरिकी डलरको स्रोत नखुलेको विषयबाट अनुसन्धान सुरु भए पनि अहिले बैंकिङ कारोबार, विदेशमा सम्भावित लगानी र राजनीतिक तथा न्यायिक क्षेत्रसँगको सम्बन्धसम्म अनुसन्धान विस्तार भएको छ।

प्रहरीले सापकोटाको बैंक विवरण संकलन गरिसकेको छ। स्रोतका अनुसार उनका बैंक खातामा करिब एक करोड रुपैयाँ देखिएको छ। त्यसबाहेक दुबईमा समेत लगानी हुन सक्ने आशंका गरिएको छ। तर, दुबईसँग सम्बन्धित कारोबारको प्रमाण प्राप्त नभए अनुसन्धान कमजोर हुन सक्ने चिन्ता अनुसन्धानमा संलग्न अधिकारीहरूले व्यक्त गरेका छन्।

यता सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको घरमा पुगेको विवरण सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि थप प्रश्न उठेको छ। प्रहरी हिरासतमा रहेका सापकोटाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको मोबाइल सुरक्षित राख्न नसकेको आरोपसमेत प्रहरीमाथि लागेको छ।

प्रधानमन्त्री शाहका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी जिल्ला प्रहरी परिसर काठमाडौंको बयान कक्षमै पुगेर सापकोटासँग भइरहेको अनुसन्धानबारे जानकारी लिएको भनिएको भिडियो सार्वजनिक भएको छ। अनुसन्धान अधिकृतहरूकै उपस्थितिमा राजनीतिक नेतृत्वसँग जोडिएका व्यक्तिले बयान कक्षमा पुगेर जानकारी लिएको घटनाले अनुसन्धानको निष्पक्षता र गोपनीयतामाथि प्रश्न उठाएको छ।

यस प्रकरणको असर प्रहरी संगठनको नेतृत्व परिवर्तनसम्म पुगेको दाबीसमेत गरिएको छ। सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। सापकोटाको मोबाइल कुमार बेनको घरमा पुगेको सूचना चुहाएको आरोपमा कार्कीलाई हटाइएको स्रोतको दाबी छ। यद्यपि नेतृत्व परिवर्तनको कारणबारे आधिकारिक पुष्टि भएको छैन।

नयाँ प्रहरी महानिरीक्षक केसीले सापकोटामार्फत अनुसन्धान जहाँसम्म पुग्छ, त्यहाँसम्म अघि बढाउन काठमाडौं प्रहरी परिसरलाई निर्देशन दिएको बताइएको छ। नेतृत्व परिवर्तनसँगै नयाँ परिस्थितिमा काम गर्नुपर्दा प्रहरी संगठनभित्र अन्योल बढेको एक डीआईजीले बताएका छन्।

अहिले प्रहरी अनुसन्धानको मुख्य चुनौती सापकोटाको आर्थिक कारोबारको वास्तविक स्रोत र प्रयोजन पहिचान गर्नु हो। जबरासँगको सम्बन्ध, दीपक भट्टको मुद्दा मिलाउने भनिएको आर्थिक चलखेल, जनमैत्री अस्पतालका उपकरण खरिद तथा कांग्रेसको विशेष महाधिवेशनसँग जोडिएको भनिएको रकमको सम्बन्ध प्रहरीले स्थापित गर्न सकेको छैन।

यसरी सुरुमा सीमित रकमको स्रोत खोज्न थालिएको अनुसन्धान अहिले राजनीतिक, न्यायिक र प्रशासनिक वृत्तका व्यक्तिहरूसम्म जोडिएको छ। तर, पक्राउ परेका व्यक्तिहरूमाथिका आरोप पुष्टि गर्ने प्रमाण प्रहरीले सार्वजनिक गर्न सकेको छैन। अनुसन्धानले वास्तविक आर्थिक कारोबार र त्यसमा संलग्न व्यक्तिहरूको भूमिका कति उजागर गर्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।