२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रंगशालामा प्रतियोगिता हुन लागेको हो ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुने क्लबले जनाएको छ । प्रतियोगितामा भारतबाट करिब ५० जना र नेपालगञ्जसहित देशका विभिन्न स्थानबाट करिब १५० जना गरी झन्डै २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि तेस्रो संस्करणका रूपमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा ८ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी तथा १७ वर्ष भन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका ८० वटा इभेन्ट सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवम् इभेन्ट म्यानेजर सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपालगञ्जका खेलाडीलाई प्रतियोगिताका लागि तयार पार्न स्वीमिङ प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको स्वीमिङ पुलमा नियमित प्रशिक्षण दिँदै आएका छन् । प्रतियोगिता सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. ६, १२ र १८ तथा जानकी गाउँपालिका वडा नं ३ लगायतका निकायबाट पनि सहयोग हुने क्लबले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले नेपालगञ्जका स्वीमिङ्ग पुल भएका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था गर्ने जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताले नेपालगञ्जमा पौडी खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेल पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । क्लबका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी, खेलाडीको सहभागिता, व्यवस्थापन तथा सहयोगी संस्थाहरूबारे जानकारी गराइएको थियो ।


काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। लुम्बिनी लायन्सविरुद्ध सुरुवातदेखि नै विकेट गुमाएको सुदूरपश्चिमले ८.४ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ५३ रन मात्रै जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ९, आरिफ शेखले शून्य, ब्रेन्डन म्याकमुलनले २ र सैफ जैबले १३ रन बनाएर आउट भए।

नवौँ ओभरको दोस्रो बलमा तिलक भण्डारीले ईशान पाण्डेलाई आउट गरेपछि सुदूरपश्चिमले पाँचौँ विकेट गुमाएको हो। लुम्बिनीका कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भएका ईशानले ९ बलमा ७ रन बनाए।

हाल क्रिजमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १४ रन र विदेशी खेलाडी शेरफेन रदरफोर्ड शून्य रनमा खेलिरहेका छन्।

लुम्बिनी लायन्सका लागि किशोर महतोले दुई विकेट लिएका छन्। तिलक भण्डारी, शेर मल्ल र साड्ली भान साल्कविकले एक–एक विकेट हात पारेका छन्।


सल्यान ।  सल्यानको त्रिवेणी गाउँपालिका–३ पिमखोलास्थित रिठाबोट टोलनजिकै सकेट बम फेला परेको छ। स्थानीयले घाँस काट्ने क्रममा बाँसको झ्याङनजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बम फेला परेको सूचना प्राप्त भएपछि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले सकेट बम फेला परेको स्थानमा प्रहरी र सेनाको टोली पुगिसकेको जानकारी दिए। उनका अनुसार बम निष्क्रिय पार्ने तयारी भइरहेको छ।

बम कुन समयमा र कसले त्यहाँ राखेको हो भन्नेबारे भने खुल्न सकेको छैन।


विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक महिला कर्मचारीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। मृतकका भाइले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी कर्मचारीसँग खत्रीको व्यक्तिगत सम्बन्ध र रेस्टुरेन्टको आर्थिक कारोबारलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–६ की २७ वर्षीया इन्दु भनिने खिलिना दाहाल छन्। उनी विगत चार–पाँच वर्षदेखि रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् र त्यहाँको आर्थिक हिसाबकिताबसमेत हेर्दै आएकी थिइन्।

मृतकका भाइले दाहालविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खत्री र दाहालबीच व्यक्तिगत तथा प्रेम सम्बन्ध रहेको खुलेको छ। दाहालले पनि प्रहरीसमक्ष आफू केही समयदेखि खत्रीसँग व्यक्तिगत सम्बन्धमा रहेको स्वीकार गरेकी छन्। उनीहरूबीच व्यक्तिगत सम्बन्धसँगै आर्थिक कारोबारका विषयमा पनि खटपट भएको हुन सक्ने प्रारम्भिक तथ्यले देखाएको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूबीचको सम्बन्धमा आएको उतारचढाव, रेस्टुरेन्टको आर्थिक हिसाबकिताब तथा सम्भावित अनियमितताका विषयमा अनुसन्धान गरिरहेको छ। दाहालले रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि आर्थिक अनियमितता नभएको दाबी गरेकी छन्। खत्रीलाई तनाव नदिएको र ब्ल्याकमेलिङसमेत नगरेको उनको भनाइ छ।

दाहालका अनुसार पछिल्लो समय उनीहरूबीच सामान्य खटपट भइरहेको थियो। उनले करिब १० दिनदेखि खत्रीले दैनिक अत्यधिक मदिरा सेवन गर्ने गरेको र सम्झाउँदासमेत सेवन गर्न नछाडेको प्रहरीलाई बताएकी छन्। खत्रीको मृत्युमा आफ्नो कुनै दोष नरहेको उनको दाबी छ।

यद्यपि, व्यक्तिगत सम्बन्ध वा आर्थिक कारोबारका कारण खत्रीको मृत्यु भएको हो वा होइन भन्ने विषय पुष्टि भइसकेको छैन। प्रहरीले घटनासँग सम्बन्धित डिजिटल उपकरण परीक्षणलगायत प्राविधिक अनुसन्धानसमेत गरिरहेको छ। डिएसपी मिश्रले पोस्टमार्टम रिपोर्ट र अन्य अनुसन्धान पूरा भएपछि मात्रै घटनाको यथार्थ खुल्ने बताए।

विराटनगर–३ निवासी ५१ वर्षीय खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिबार अपराह्न करिब ३ बजे मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ करिब ७ बजे उनको सनाखत भएको थियो। खत्रीले प्रयोग गरेको स्कुटर भने अझै फेला परेको छैन। प्रहरीले स्कुटरको खोजी गर्नुका साथै घटनासँग सम्बन्धित अन्य पक्षको पनि अनुसन्धान गरिरहेको जनाएको छ।

विवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा रहेकी थिइन्। उनी फर्किएपछि परिवारका सदस्यको उपस्थितिमा पोस्टमार्टम प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। खत्रीको पोस्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

प्रतियोगितामा अघिल्ला संस्करणमा सहभागी आठ वटै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

आजको उद्घाटन खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ । पहिलो खेलमै गत संस्करणका विजेता र उपविजेता भिड्ने भएपछि प्रतियोगिताको सुरुवात प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

एनपीएलका सम्पूर्ण खेल हिमालय स्पोर्ट्स (हिमालय टिभी) बाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । त्यसपछि इलिमिनेटर तथा क्वालिफायर चरणका खेल हुनेछन् । प्रतियोगिताको फाइनल अर्थात् उपाधि भिडन्त मंसिर ५ गतेका लागि तय गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।