
बझाङ। बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा जिपमा सवार अन्य यात्रु घाइते भएको आशंका गरिएको छ ।
बिहान ९ः१० बजे भएको दुर्घटनामा जिपमा १२ देखि १५ जनासम्म सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरीले उद्धारका लागि टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट दुई, अस्थायी प्रहरी पोस्ट बागथलाबाट दुई र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तिमिल्सैनाको कमाण्डमा सात जना प्रहरी घटनास्थलतर्फ खटिएका छन् ।
दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्छ । मृतकको पहिचान, घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मुस्ताङ, कात्तिक १८ गते । तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा बिक्री बढेको छ । तिहारलाई लक्षित गरी सोमबारसम्म एक हजार तीन सयभन्दा बढी भेडाच्याङ्ग्रा स्वास्थ्य परीक्षणपछि बजार पठाइएको छ । यस वर्ष तिहारका लागि मुस्ताङबाट करिब तीन हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार दसैंमा १४ हजार हाराहारीमा भेडाच्याङ्ग्रा बिक्री भएका थिए । तिहारका लागि पनि व्यापारीहरूले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेर लैजान थालेका छन् ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार भेडाच्याङ्ग्रा खरिद गर्न म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका नियमित व्यापारी मुस्ताङ पुगेका छन् । यो साताभित्र अधिकांश भेडाच्याङ्ग्रा बजार पुग्ने उनले बताए । बिक्रीका लागि ल्याइएका सबै भेडाच्याङ्ग्रा चरन क्षेत्रबाट संकलन गरिएको उनको भनाइ छ ।
उनका अनुसार हालसम्म डोल्पाबाट पनि केही भेडाच्याङ्ग्रा मुस्ताङ ल्याइएको छ । तर बजारमा बिक्री भइरहेका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै किसानले पालेका हुन् । उत्पादन बढेकाले विगतको तुलनामा यस वर्ष दसैं र तिहारमा भेडाच्याङ्ग्राको कारोबारसमेत बढेको उनले बताए ।
किसानले तौलअनुसार एउटा च्याङ्ग्रा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । दसैंमा भने रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ५२ हजार रुपैयाँसम्म पुगेको थियो ।
दसैंमा मुस्ताङका पाँच स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्लाबाट ल्याइएका १३ हजार ९५० भेडाच्याङ्ग्रा बिक्री भएका थिए । ती भेडाच्याङ्ग्राको कारोबारबाट ३६ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको थियो ।
मुस्ताङका किसानले गोठबाटै तथा आफैं बजारसम्म पुर्याएर भेडाच्याङ्ग्रा बिक्री गर्दै आएका छन् । जिल्लाका लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भेडाच्याङ्ग्रा पालनका प्रमुख क्षेत्रका रूपमा चिनिन्छन् ।
एउटा भेडाच्याङ्ग्रा मासुका लागि तयार पार्न सामान्यतया तीन वर्षसम्म पाल्नुपर्ने हुन्छ । यस क्रममा चरन, खोप, गोठालो र हेरचाहमा किसानले ठूलो खर्च गर्नुपर्छ । रोज्जा च्याङ्ग्रा तयार पार्न भने करिब चार वर्ष लाग्ने गर्छ ।
प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट कम भेडाच्याङ्ग्रा आएको व्यापारी ज्ञानकुमार श्रेष्ठले बताए ।
मुस्ताङका पशुपालक किसानले च्याङ्ग्रा र रोमा बिक्री गरेपछि गोठालालाई गोठमै छाडेर जाडो छल्न अन्यत्र जाने गरेका छन् । समुद्री सतहदेखि ६ हजार मिटरसम्मको उच्च हिमाली क्षेत्रमा पाइने च्याङ्ग्रा कठोर चिसो र कम अक्सिजन भएको वातावरणमा हुर्किन्छन् । लेकाली जडीबुटी खाने भएकाले दसैं–तिहारजस्ता पर्वमा यसको मासुको माग उच्च रहने गरेको छ ।
नेपालगञ्ज । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
समितिका अनुसार यस वर्ष यमपञ्चक अन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ । समितिले भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ ।
महिलाले पनि आफू पीडित नभएको भन्दै अन्तर्वार्ता दिएको र घटनासम्बन्धी कुनै औपचारिक उजुरी नपरेको विषयलाई समितिले आफ्नो निष्कर्षको आधार बनाएको छ । यद्यपि, समितिले ती महिलालाई प्रत्यक्ष भेटेर उनको भनाइ सुनेको छैन । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने विषय भएकाले महिलासँग प्रत्यक्ष संवाद नगरिएको समितिका सदस्यले बताएका छन् । समितिका सदस्य सन्तोष आचार्यका अनुसार सुनारको बयान लिनुका साथै सम्पादन हुनुअघिको अडियो र महिलाको अन्तर्वार्तासमेत संकलन गरिएको छ ।
बाँके, कात्तिक १८। विवादित अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारलाई पार्टीले उन्मुक्ति दिने तयारी गरेको छ । सुनारको इन्कारी बयान, महिलाले आफू पीडित नभएको भन्दै दिएको अन्तर्वार्ता र पीडित पक्षबाट कुनै उजुरी नपरेको आधार देखाउँदै पार्टीको छानबिन समितिले उनलाई कारबाही गर्न नपर्ने निष्कर्ष निकाल्ने तयारी गरेको हो ।
सांसद सुनारले एक महिलासँग अश्लील शब्द प्रयोग गर्दै हिंसात्मक अभिव्यक्ति दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन आयोगमार्फत छानबिन अघि बढाएको थियो । आयोगले उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको नेतृत्वमा समिति गठन गरी घटनाको सत्यतथ्य अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।
छानबिनका क्रममा समितिले सांसद सुनारको बयान लिनुका साथै सार्वजनिक भएको अडियो र महिलाको अन्तर्वार्तासम्बन्धी सामग्री संकलन गरेको छ । तर विवादित अडियो सुनारकै आवाज हो वा होइन भन्ने यकिन गर्न अहिलेसम्म प्राविधिक परीक्षण गरिएको छैन । समितिले प्राप्त गरेको प्रारम्भिक विवरणका आधारमा सुनारलाई कारबाही गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको बताइएको छ । सुनारले अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको आरोपसमेत लगाएका थिए ।
महिलाले पनि आफू पीडित नभएको भन्दै अन्तर्वार्ता दिएको र घटनासम्बन्धी कुनै औपचारिक उजुरी नपरेको विषयलाई समितिले आफ्नो निष्कर्षको आधार बनाएको छ । यद्यपि, समितिले ती महिलालाई प्रत्यक्ष भेटेर उनको भनाइ सुनेको छैन । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने विषय भएकाले महिलासँग प्रत्यक्ष संवाद नगरिएको समितिका सदस्यले बताएका छन् । समितिका सदस्य सन्तोष आचार्यका अनुसार सुनारको बयान लिनुका साथै सम्पादन हुनुअघिको अडियो र महिलाको अन्तर्वार्तासमेत संकलन गरिएको छ । अडियोको प्राविधिक परीक्षण गर्ने वा नगर्ने भन्ने विषयमा भने समितिले अन्तिम निर्णय गरिसकेको छैन ।
अडियो परीक्षण नगरी सुनारलाई सफाइ दिने निष्कर्षमा पुग्न खोजिएको भन्दै रास्वपाको छानबिन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । विशेषगरी महिलाको अस्मिता र न्यायसँग जोडिएको संवेदनशील विषयमा सम्बन्धित पक्षको भनाइ प्रत्यक्ष नसुनी तथा अडियोको प्राविधिक सत्यता परीक्षण नगरी निष्कर्ष निकाल्न खोजिएको भन्दै आलोचना भइरहेको छ । छानबिन समितिले तिहारअघि सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिका एक सदस्यका अनुसार अडियोको प्राविधिक परीक्षण गर्ने निर्णय भए प्रतिवेदन बुझाउन थप समय लाग्नेछ । परीक्षण नगर्ने निर्णय भए सुनारलाई कारबाही गर्नुपर्ने आधार नभएको निष्कर्षसहित प्रतिवेदन छिट्टै बुझाइनेछ ।
यसअघि रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्तिमार्फत राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेका थिए । पार्टीले सरकारी निकायको ध्यानाकर्षण गराए पनि आफ्नै छानबिन समितिबाट सुनारलाई सफाइ दिने तयारी गरेपछि पार्टीको सुशासन र जवाफदेहितासम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठेको छ । राष्ट्रिय मानवअधिकार आयोगले घटनालाई चासोका साथ हेरिरहेको जनाएको छ । राष्ट्रिय महिला आयोगले भने पीडित पक्षबाट उजुरी नआएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिन भएको बताएको छ । महिला आयोगकी प्रवक्ता कृष्णकुमारी खतिवडाले पीडितले उजुरी दिए न्यायका लागि सहयोग गर्न आयोग तयार रहेको बताएकी छन् ।
सुनारले भने प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निशाना बनाइएको दाबी गर्दै आएका छन् । विवादित अडियो सार्वजनिक भएपछि उनले आफूविरुद्ध नियोजित प्रचार भइरहेको जिकिर गरेका थिए ।





