२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

जाजरकोट।  जाजरकोटको भेरी नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो एक व्यक्ति बेपत्ता भएका छन्। पिकनिक खान गएका भेरी नगरपालिका–३ पिपलडाँडाका ४३ वर्षीय बबी शाह भेरी नगरपालिका–१ छोटेबगरस्थित नदीमा पौडी खेल्ने क्रममा बगेका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार शाह पिकनिक खान छोटेबगर पुगेका बेला नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी नदीमा बगेपछि बेपत्ता भएका हुन्।

शाहसँगै पिकनिक खान गएका डिल्ली रावलले दिउँसो १ बजे इलाका प्रहरी कार्यालय रिम्नामा टेलिफोन गरी घटनाबारे जानकारी गराएका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्रबहादुर रानाको कमाण्डमा ६ जनाको टोली खोजीमा खटिएको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक विवेक रसाइलीको कमाण्डमा ८ जना र अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट २ जना प्रहरी पनि खोजीकार्यमा परिचालित भएका छन्।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक बमबहादुर बुढाको कमाण्डमा ७ जनाको टोलीसमेत घटनास्थलमा पुगेर खोजी गरिरहेको छ।

बेपत्ता शाहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।


काठमाडौं, कात्तिक ३० ।  नेपाली कांग्रेसको देउवा समूहले सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समूहले लुम्बिनी प्रदेशको अधिवेशन ७ मंसिरमा गर्ने निर्णय गरेको छ ।

दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माका अनुसार पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश अधिवेशन हुनेछ ।

निर्धारित कार्यतालिकाअनुसार ५ मंसिरमा गण्डकी, ७ मंसिरमा लुम्बिनी, १३ मंसिरमा कर्णाली, १४ मंसिरमा मधेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोसी र १९ मंसिरमा बागमती प्रदेशको अधिवेशन हुनेछ । सबै प्रदेश अधिवेशनमा देउवा सहभागी हुने बताइएको छ ।

देउवा समूहले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ स्थानीय तहबाट प्रतिनिधि, ३०० जना मनोनीत, भ्रातृ संस्थाबाट २०० र जनसम्पर्क समितिबाट २०० प्रतिनिधिसहित पालिका प्रमुख तथा अन्य प्रतिनिधिको सहभागिता रहने वर्माले बताए ।

देउवा समूहले गत असोज १५ गतेदेखि महाधिवेशनका कार्यक्रम सुरु गरेको थियो । समूहका अनुसार हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेका छन् ।


कञ्चनपुर । वर्षेनी बाढी र डुबानको समस्या झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका किसानले खेतीपातीको विकल्प परिवर्तन गर्न थालेका छन् । बाढीले खेतमा बालुवा थुपारेपछि धान र गहुँ खेती गर्न नसक्ने अवस्थामा पुगेका किसान अहिले त्यही जमिनमा बेसार खेती गरेर आम्दानी लिन थालेका छन् ।

कुतियाकवरका टेकबहादुर सुनार केही वर्षअघिसम्म आफ्नो खेतमा धान खेती गर्थे । उत्पादन पनि राम्रै हुन्थ्यो । तर, २०७८ सालको बाढीले खेतमा बालुवा थुपारेपछि उनको परम्परागत खेती प्रभावित भयो । त्यसपछि उनले आधा बिघा जमिनमा बेसार खेती गर्न थालेका हुन् । तीन वर्षदेखि बेसार खेती गर्दै आएका सुनारले बालुवायुक्त जमिनमा पनि राम्रो उत्पादन लिन सफल भएका छन् ।

‘बालुवामा धान, गहुँ राम्रो हुँदैन । बाढी आए डुबानमा परेर सबै नोक्सान हुन्छ,’ उनले भने, ‘बेसार खेतीमा अलिअलि डुबान भए पनि बिग्रिँदैन र बालुवामा पनि राम्रो उत्पादन हुन्छ ।’ उनका अनुसार आधा बिघा जमिनमा करिब एक सय क्विन्टल बेसार उत्पादन हुने गरेको छ ।

महाकाली नदी र जोगबुडा नदीको बीचमा तथा दुईतर्फ भारतीय भूभागले घेरिएको कुतियाकवरमा ३८ परिवारको बसोबास छ । महाकाली र जोगबुडा नदीमा आउने बाढीका कारण यो बस्तीका किसानले हरेक वर्ष डुबानको जोखिम सामना गर्दै आएका छन् । बाढीले खेतमा बालुवा थुपार्ने र लगाएको बाली नष्ट गर्ने समस्या बढेपछि यहाँका किसान वैकल्पिक खेतीतर्फ लागेका हुन् ।

स्थानीय किसान खडके बुढाले पनि धान खेती छाडेर बेसार खेती सुरु गरेका छन् । उनले डेढ बिघा जमिनमा बेसार लगाएका छन् । गत वर्ष उत्पादित बेसार बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गरेको उनले बताए ।

‘बालुवामा पनि बेसार फल्छ र डुबान हुँदा पनि खासै समस्या हुँदैन,’ उनले भने ।

बाढीका कारण परम्परागत खेती गर्न कठिन बनेपछि कुतियाकवरका किसानका लागि बेसार खेती विकल्पका रूपमा देखिन थालेको छ । यसले बाढी प्रभावित जमिनको उपयोगसँगै किसानलाई आम्दानीको नयाँ आधारसमेत दिएको छ ।

विकास निर्माणसँगै वडाले मौलिक कला, संस्कृति संरक्षण र सामाजिक न्यायलाई पनि उत्तिकै महत्त्व दिएको छ । थारू समुदायको परम्परागत नेतृत्व प्रणाली ‘बरघर’ प्रथाको जगेर्ना गर्न ‘वडासँग बरघर कार्यक्रम’ सञ्चालन गरिएको छ । यस्तै, सन्तपुर टोल र चिलहरियामा शिव मन्दिर निर्माण तथा चाचरफर्का र जुरपानी शिव मन्दिर मर्मतले धार्मिक पर्यटन र सांस्कृतिक एकतालाई बलियो बनाउनेछ ।


राप्तीसोनारी, कात्तिक २९  गाउँका कच्ची बाटो पिपिसी र ग्राबेल हुने भएपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का बासिन्दामा उत्साह छाएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षमा करिब ९४ लाख ९८ हजार रुपैयाँका ४२ वटा योजना कार्यान्वयनमा ल्याएसँगै गाउँको भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष सकारात्मक परिवर्तन देखिन थालेको हो । वर्षायाममा हिलाम्मे हुने बाटो र खोलामा कलभर्ट नहुँदा सास्ती खेपिरहेका स्थानीयलाई अब आवतजावत र कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने भएको छ ।

विशेषगरी यातायात पूर्वाधारतर्फ ३१ लाख ५० हजार रुपैयाँको लगानीले वडाका भित्री बस्तीहरूलाई मुख्य सडकसँग जोड्ने काम गरेको छ । बनौरे खोलामा १० लाखको लागतमा कलभर्ट निर्माण र सर्बे बुढाको घरदेखि मोहन परियारको घरसम्म ९ लाख रुपैयाँमा बाटो पिपिसी हुने भएपछि वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुँदैछ । यसका साथै नकछेदु थारूको घरदेखि राप्ती बन्दासम्म बाटो पिपिसी तथा ह्युम पाइप व्यवस्थापन, कृष्ण के.सी.को घरदेखि दरवारी थारूको घरसम्म बाटो ग्राबेल र श्याम थारूको घरदेखि अगीराम थारूको घरसम्म बाटो पिपिसी निर्माणले गाउँको मुहार फेर्ने देखिएको छ । गीता थारूको घरदेखि गेलु थारूको घरसम्म ३ लाखको लागतमा नाली निर्माण तथा अपिस खोलामा ३ लाखको तारजाली लगाउने योजनाले बस्ती डुबान र कटानको जोखिमसमेत कम गर्नेछ ।
पूर्वाधारसँगै वडाले स्थानीयलाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरण र महिला उद्यमशीलतामा १४ लाख रुपैयाँ परिचालन गरेको छ । सोनारी ग्रामीण महिला बेसार उद्योग प्रवद्र्धनका लागि ५ लाख रुपैयाँको सहयोगले स्थानीय महिलाहरूलाई सामूहिक व्यवसायमार्फत आयआर्जनमा जोड्न मद्दत पुर्‍याउनेछ । कृषकको लागत घटाउन ५० प्रतिशत अनुदानमा १० एच.पि.को मिनी टिलर खरिद, सिँचाइ सहजताका लागि कृषि मोटरमा ९ इन्चको पोल जडान तथा पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन र पशु औषधि उपलब्ध गराउने कार्यक्रमले व्यावसायिक कृषि र पशुपालनमा युवाहरूको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री सिकाइका लागि ९ लाख ६० हजार रुपैयाँ बराबरका योजनाले सामुदायिक विद्यालयको स्तरोन्नतिमा टेवा पुर्‍याएका छन् । श्री ने.रा.मा.वि. चिलहरिया र श्री समय आधारभूत विद्यालयमा कम्प्युटर तथा प्रिन्टर खरिद, भुवर भवानी मा.वि.मा आइसिटी तथा शौचालय मर्मत र युवाहरूका लागि कम्प्युटर तालिमले ग्रामीण विद्यार्थीलाई डिजिटल युगसँग जोड्नेछ । बालक शान्ति प्रा.वि.मा ३ लाखको लागतमा बगैंचा निर्माणले विद्यालयको वातावरण हरियाली र बालमैत्री बन्नेछ । स्वास्थ्यतर्फ स्वास्थ्य चौकीमै ल्याब स्थापना गर्ने १ लाखको योजनाले सामान्य रगत तथा दिशा–पिसाब जाँचका लागि कोहलपुर वा नेपालगन्ज धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्नेछ भने आयुर्वेदिक औषधि खरिदले परम्परागत उपचारमा सहजता ल्याउनेछ ।

विकास निर्माणसँगै वडाले मौलिक कला, संस्कृति संरक्षण र सामाजिक न्यायलाई पनि उत्तिकै महत्त्व दिएको छ । थारू समुदायको परम्परागत नेतृत्व प्रणाली ‘बरघर’ प्रथाको जगेर्ना गर्न ‘वडासँग बरघर कार्यक्रम’ सञ्चालन गरिएको छ । यस्तै, सन्तपुर टोल र चिलहरियामा शिव मन्दिर निर्माण तथा चाचरफर्का र जुरपानी शिव मन्दिर मर्मतले धार्मिक पर्यटन र सांस्कृतिक एकतालाई बलियो बनाउनेछ । अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम, द्वन्द्व पीडित सम्मान, सामुदायिक मेलमिलापकर्तालाई प्रोत्साहन र युवा प्रतिभा उजागर गर्न ‘वडा अध्यक्ष कप’ जस्ता कार्यक्रमले वडामा सामाजिक सद्भाव र अपनत्व बढाएको छ ।

योजनाहरूको प्रभावकारी कार्यान्वयन र त्यसबाट वडावासीले पाउने प्रतिफलबारे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारू भन्छन्, ‘हामीले अंकमा बजेट बाँड्नेभन्दा पनि नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने र दीर्घकालीन प्रतिफल दिने योजना छनोट गरेका छौं । बाटो पिपिसी, कलभर्ट र नाली निर्माणले गाउँको आवतजावत सहज बनाउँछ भने अनुदानको मिनी टिलर, च्यापकटर र महिला बेसार उद्योगले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्छ ।’ स्वास्थ्य चौकीमा ल्याब स्थापना र विद्यालयमा आइसिटी विस्तारले आधारभूत सेवामा नागरिकको पहुँच स्थापित गर्ने बताउँदै अध्यक्ष थारूले सबै योजनाहरू गुणस्तरीय रूपमा सम्पन्न गरी वडालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चालन हुने योजना तथा कार्यक्रम
– अपाङ्ग लक्षित कार्यक्रम (लुम्बिनी प्रदेश समानीकरण अनुदान)
– अपाङ्ग लक्षित कार्यक्रम (नेपाल सरकार समानीकरण अनुदान)
– आयुर्वेदिक औषधि खरिद
– कम्प्युटर तालिम
– द्वन्द्व पीडित सम्मान कार्यक्रम
– बालक शान्ति प्रा.वि. मा गार्डेन बगैंचा निर्माण
– भूमि व्यवस्थापन सम्बन्धी खर्च
– वडा अध्यक्ष कप
– वडासँग बरघर कार्यक्रम
– श्री समय आधारभूत विद्यालयलाई कार्यालय सामाग्री खरिद
– सोनारी ग्रामीण महिला बेसार उद्योग
– विपद् व्यवस्थापन कार्यक्रम
– पशु शाखाको लागि औषधी खरिद
– च्यापकटर मेसिन खरिद ५० प्रतिशत अनुदान
– मिनी टेलर खरिद १० एच.पि. ५० प्रतिशत अनुदान
– श्री ने.रा.मा.वि. चिलहरियालाई कम्प्युटर, प्रिन्टर र कार्यालय सामान खरिद
– भुवर भवानी मा.वि. लाई आइ.सि.टी. र शौचालय मर्मत
– स्वास्थ्य चौकीमा ल्याब स्थापना
– कृष्ण के.सी. को घरदेखि दरवारी थारूको घरसम्म बाटो ग्राबेल
– नकछेदु थारूको घरदेखि राप्ती बन्दासम्म बाटो पि.सि.सि., हीम पाइप र बाटो ग्राबेल
– बनौरे खोलामा कलभर्ट निर्माण
– श्याम थारूको घरदेखि अगीराम थारूको घरसम्म बाटो पि.सि.सि.
– सर्बे बुढाको घरदेखि मोहन परियारको घरसम्म बाटो पि.सि.सि.
– कृषि मोटरको लागि विभिन्न ठाउँमा ९ इन्चको पोल खरिद
– गीता थारूको घरदेखि गेलु थारूको घरसम्म नाली निर्माण
– अपिस खोलामा तारजाली
– चाचरफर्का शिव मन्दिरमा रंगरोगन तथा मर्मत
– चिलहरिया अधुरो शिव मन्दिरको निर्माण
– जुरपानी शिव मन्दिरमा रंगरोगन र शौचालय मर्मत
– सन्तपुर टोलमा शिव मन्दिर निर्माण

वडालाई पालिकाको साथ
राप्तीसोनारी गाउँपालिकाबाट प्राप्त विशेष पूर्वाधार योजनाहरूले वडा नं. ५ का मुख्य टोल र बस्तीहरूको मुहार फेरिने भएको छ । वडास्तरीय बजेटबाहेक गाउँपालिकाले प्रत्यक्ष रूपमा पठाएका सडक स्तरोन्नति, कल्भर्ट निर्माण तथा खेलकुद पूर्वाधारका सातवटा महत्त्वपूर्ण योजना कार्यान्वयनमा आएसँगै स्थानीय बासिन्दामा खुसी छाएको छ । वर्षौंदेखि कच्ची र अधुरा बाटोका कारण सास्ती खेपिरहेका नागरिकलाई अब सहज आवतजावतसँगै खेलकुद र स्वास्थ्य सेवामा पहुँच पुग्न सजिलो हुने भएको छ ।
गाउँपालिकाको योजनाअन्तर्गत वडाका विभिन्न बस्तीमा बाटो पिपिसी (ढलान) कार्यलाई मुख्य प्राथमिकता दिइएको छ । जसअनुसार गोरभुरु सल्यानी टोलस्थित भीमबहादुर खत्रीको घरदेखि बनौरे खोलासम्म बाटो पिपिसी निर्माण सुरु भएको छ । यस्तै, चाचरफर्कामा जागेश्वर थारूको घरदेखि कैशल थारूको घरसम्म बाटो पिपिसी गरिनुका साथै सोही टोलको विगतमा अधुरो रहेको पिपिसी सडकलाई समेत पूर्णता दिइने भएको छ ।
यसैगरी, ललहीगाउँमा अधुरो रहेको पिपिसी बाटो निर्माणले पनि निरन्तरता पाएको छ । विशेषगरी आम नागरिकको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको बिनौना स्वास्थ्य चौकी जाने बाटोमा साझेदारीमा पिपिसी निर्माण हुने भएपछि बिरामी र स्वास्थ्यकर्मीलाई आवागमनमा ठूलो राहत मिल्नेछ । वडाका विभिन्न स्थानमा पानीको निकास र आवतजावत सहज बनाउन कल्भर्ट निर्माण कार्यसमेत अघि बढाइएको छ ।
सडक पूर्वाधारसँगै युवाहरूको खेलकुद प्रतिभा प्रवद्र्धनका लागि वडामा रंगशाला कभर्ड हल निर्माणको योजनासमेत आएको छ । कभर्ड हल निर्माण भएपछि वर्षायाम र चर्को घाममा पनि स्थानीय युवा तथा खेलाडीलाई इन्डोर खेलकुद अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ ।
गाउँपालिकाबाट प्राप्त यी योजनाहरूको प्रभावकारी कार्यान्वयनबारे राप्तीसोनारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष झगरु थारू भन्छन्, ‘वडाको सीमित बजेटले मात्र ठूला पूर्वाधार निर्माण गर्न सम्भव थिएन । गाउँपालिकाबाट प्राप्त यी योजनाले बिनौना स्वास्थ्य चौकी जाने बाटोदेखि चाचरफर्का, गोरभुरु र ललहीगाउँका अधुरा सडक पूरा गर्न ठूलो मद्दत पुगेको छ ।’ कभर्ड हल र कल्भर्ट निर्माणले वडाको दीर्घकालीन विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने बताउँदै अध्यक्ष थारूले सबै योजना गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्न वडा कार्यालयले निरन्तर निगरानी गरिरहेको जानकारी दिए ।


दाङ।  तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ५ लाख ३० हजार २३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–५ स्थित मासु मार्केटमा तेजबहादुर डाँगीको घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा आइतबार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका ५५ वर्षीय मोहमद अनिस कुरेसी, वडा नं. ७ नयाँबस्तीका ५२ वर्षीय भिमसेन विक, वडा नं. ८ दुधेनाका ३२ वर्षीय सिमोन सुनार, वडा नं. ९ बेलुवाका ४५ वर्षीय मानबहादुर विक, मासु मार्केटका ५० वर्षीय रहिस कुरेसी, बेलुवाका ४० वर्षीय कमल विक र ४९ वर्षीय केशव विक रहेका छन्।

त्यस्तै, वडा नं. १५ हरिपौराका २६ वर्षीय बिशाल केसी, वडा नं. १२ जसपुरका ३१ वर्षीय किशोर विक, वडा नं. ७ हात्तीखौवाका ४५ वर्षीय धनेश्वर विक, बेलुवाका ६३ वर्षीय कुलबहादुर डाँगी र ३३ वर्षीय साहिद राईनी पनि पक्राउ परेका छन्।

यसैगरी, घोराही उपमहानगरपालिका–८ ढिकपुरका ४५ वर्षीय कान्तप्रसाद गिरी तथा सल्यानको शारदा नगरपालिका–८ रानिकोटका ३१ वर्षीय सुमन बुढाथोकी र कुपिण्डे नगरपालिका–९ जहितेपानीका ४२ वर्षीय वीरबहादुर बिष्ट पक्राउ परेका छन्।


मुगु । मुगुमा भएको पिकअप जिप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि सोमबार काठमाडौं लगिएको छ। गम्भीर घाइते अन्जु थापा र कञ्चन थापालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याएर सेनाकै स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो।

दुर्घटनामा मृत्यु भएका तीन जनाको शव सुर्खेत ल्याउने तयारी पनि गरिएको छ। शव ल्याउन नेपाली सेनाको हेलिकप्टर पुनः मुगु जाने तयारी भइरहेको छ। हेलिकप्टरबाट शव सुर्खेत ल्याएर व्यवस्थापन गर्ने विषयमा सम्बन्धित निकायबीच छलफल भइरहेको जनाइएको छ।

आइतबार दिउँसो करिब ४ बजे मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।

नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन बिहानैदेखि ठूलो संख्यामा व्रतालु तथा श्रद्धालुहरू तलाउ परिसरमा भेला भएर सूर्यदेवको पूजा आराधना गरेका थिए ।

आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पर्वको समापन गरेका हुन् । सूर्यको उपासना, आराधना र प्रकृतिप्रतिको सम्मानका रूपमा मनाइने छठ पर्वमा नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा भक्तजनको उल्लेख्य सहभागिता देखिएको थियो ।

छठ पर्वलाई लक्षित गरी यस वर्ष पनि बागेश्वरी मन्दिर परिसरस्थित तलाउलाई आकर्षक रूपमा सजाएर छठी घाट निर्माण गरिएको थियो । घाट क्षेत्रमा टेन्ट, विद्युत् बत्ती, सरसफाइ तथा बाजागाजाको व्यवस्था मिलाइएको थियो । त्यस्तै, सांस्कृतिक भजन प्रस्तुतिका लागि मञ्चसमेत निर्माण गरिएको थियो ।

पछिल्ला वर्षहरूमा नेपालगञ्जमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएको छ । पहिले विशेषगरी पूर्वी तराई र मधेस क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय पश्चिम नेपालमा पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउन थालिएको छ । नेपालगञ्जमा बागेश्वरी मन्दिर परिसरको तलाउ छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा स्थापित हुँदै गएको छ ।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भई सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन खरना विधिअन्तर्गत खिरलगायतका प्रसाद ग्रहण गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।