२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर

राप्तीसोनारी, वैशाख ९  राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा रणबम गण ओभरी ब्यारेक र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय नागरिकलाई विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा सयौँ सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।

शिविरमा दाँत, आँखा, कान, मुटु, प्रयोगशाला तथा इसिजी (इसीजी) लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो । साथै, आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमार्फत कुल एक हजार ९७ जनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा जेनरल ओपिडी सेवा सबैभन्दा बढी तीन सय ४० जनाले लिएका छन् । त्यसैगरी आँखा परीक्षण सेवा दुई सय २८ जनाले, ल्याब परीक्षण सेवा दुई सय १२ जनाले, अर्थो (हाडजोर्नी) सेवा ८७ जनाले र मेडिसिन ओपिडी सेवा ६८ जनाले लिएका छन् ।

डेन्टल सेवा ५८ जनाले लिएका छन् भने इसिजीमार्फत मुटु परीक्षण ३९ जनाको गरिएको छ । त्यस्तै, पाठेघरसम्बन्धी परीक्षण सेवा ६५ जनाले लिएका छन् ।
शिविरका क्रममा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या पनि पहिचान भएका छन् । स्वास्थ्यकर्मीका अनुसार एक जनामा क्यान्सरको शंका गरिएको छ भने दुईजनामा पाठेघरसम्बन्धी शंकास्पद समस्या देखिएको छ । त्यस्तै, एकजनामा पाठेघर खस्ने समस्या देखिएको उनले जनाए । पहिचान भएका जटिल अवस्थाका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको जनाइएको छ ।
शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो ।

डा. मुक्तिनाथ साँची, डा. सागरराज कर्णीकार, डा. आस्मा राना, डा. केदार बाबु डागर, डा. भुवन चपाईं, डा. अरुणा न्यौपाने र डा. बबि शाह, अर्जुन पोख्रेललगायतका चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल, उपरथी दिपेश जंग शाह, सहायक उपरथि प्रशान्त विक्रम राना, महासेनानी डा. सागर राज साज कर्णीकार, प्रमुख सेनानी खिमबहादुर डाँगी र प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराज डाँगीलगायतको उपस्थिति रहेको थियो ।

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य प्रमुख देवेन्द्रकुमार केसीका अनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । उनले स्थानीयवासीले एकै स्थानमा विशेषज्ञ सेवा पाउँदा ठूलो राहत महसुस गरेको बताए । आयोजकका अनुसार यस्ता शिविरले ग्रामीण क्षेत्रमा प्रारम्भिक रोग पहिचान, समयमै उपचार र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । आगामी दिनमा पनि यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको जनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।