नेपालगञ्ज, जेठ ०४ गते जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज र मातहतका युनिटहरूले बैशाख महिनामा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी विभिन्न गतिविधिमा उल्लेखनीय प्रगति गरेका छन्।
प्रहरीद्वारा सार्वजनिक गरिएको विवरणअनुसार महिनाभर कुल २०५ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १० वटा जघन्य तथा गम्भीर प्रकृतिका, १३४ वटा सामान्य अपराध तथा ३४ वटा आर्थिक अपराधका घटना रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९ वटा मुद्दा दर्ता भई ११ जना पक्राउ परेका छन्।
चालु मुद्दाका क्रममा १८७ जना प्रतिवादी पक्राउ परेका छन् भने १९ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयनतर्फ ७६ जना पक्राउ गरी १० वर्ष २ महिना २० दिन कैद तथा रु ४७ लाख २७ हजार ४३० बिगो/क्षतिपूर्ति असुल गरिएको छ।
महिला तथा बालबालिका सम्बन्धी १०४ उजुरीमध्ये ८३ वटा फछ्र्यौट गरिएको छ। घरेलु हिंसाका ७४ उजुरीमध्ये ५४ वटा मिलापत्र वा अदालतमा पठाइएको छ। ठाडो उजुरीतर्फ ४५८ मध्ये ३४८ वटा फछ्र्यौट भएका छन्।

हराएका व्यक्तिहरूको खोजीमा पनि प्रगति भएको छ। महिनाभर ३६ जना महिला, २५ बालिका, ७ बालक, १ जेष्ठ नागरिक पुरुष र ११ पुरुष हराएकोमा, २३ महिला, १९ बालिका, ५ बालक र अन्य केही फेला परेका छन् भने केही अझै बेपत्ता रहेका छन्।
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले ३५ वटा मुद्दा दर्ता गरी ४८ जना पक्राउ गरेको छ। सो क्रममा ७३९ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर, ३२० नाइट्राजेपाम ट्याब्लेट, १७४ ट्रामाडोल क्याप्सुल, ५० ग्राम गाँजा, ४ ग्राम ६४० मिलिग्राम चरेश तथा अन्य लागूऔषध बरामद गरिएको छ।
आत्महत्याका ७ वटा घटना दर्ता भएका छन्, जसमा सबै झुण्डिएर आत्महत्या गरिएको र ४ पुरुष तथा ३ महिला रहेको उल्लेख छ।
घटनागत रूपमा महिनाभर एक कलेज घटनामा झगडापछि भएको कुटपिट र धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको तथा एक जना घाइते भएको घटना पनि सार्वजनिक गरिएको छ। घटनामा संलग्न ४ जना पक्राउ परेका छन्।
शान्ति सुरक्षातर्फ ९९२ पटक पिकेट, ५१२७ ग्रामीण गस्ती र ९६९ पटक चेकिङ गरिएको छ। विशेष परिस्थितिमा ६९ जना प्रहरी परिचालन गरिएको छ।
सवारी दुर्घटनातर्फ २० दुर्घटना भएका छन्, जसमा ४ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। १९ दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरीले जनाएको छ। चेकिङका क्रममा २०७८ सवारी कारबाही गरी रु १८ लाख ६२ हजार राजस्व संकलन गरिएको छ।
सीमा तथा अवैध कारोबार नियन्त्रणतर्फ ४८ लाख ५७ हजारभन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको छ भने अवैध हातहतियार, वन पैदावार, पशुपक्षी तथा काठ तस्करी नियन्त्रणमा पनि उल्लेखनीय सफलता हासिल गरिएको छ।
विपद् व्यवस्थापनतर्फ १७ वटा घटनामा ५७ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको र १२५ जना प्रहरी परिचालन गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १०७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २४९५ जना (पुरुष १७१९ र महिला ७७६) लाभान्वित भएका छन्। साथै २ वटा नागरिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार प्रहरीले अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, सीमा निगरानी र समुदाय–सुरक्षा साझेदारीलाई थप प्रभावकारी बनाउँदै अघि बढिरहेको छ।















