२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट फाइल पुनः प्रदेशमा फिर्ता जग्गा अभावमै अल्झियो लुम्बिनी प्राविधिक विश्वविद्यालय

संघीय सरकारको ‘कार्यनीति–२०७९’ अनुसार सरकारी जग्गा भोगाधिकार वा उपयोगका लागि लिज प्रक्रियाबाट मात्रै उपलब्ध गराउनुपर्ने व्यवस्था तथा अधिकतम ५० बिघासम्मको सीमाका कारण प्रक्रिया थप जटिल बनेको बताइएको छ । प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री दिनेश पन्थीले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्न विभिन्न मन्त्रालयमा फाइल पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको बताएका छन् ।

जन्मजय तिम्सिना
मन्त्री, सामाजिक विकास                                                                                                                                                                                                                                                                                    रेगबहादुर भण्डारी, रजिष्ट्रार


कोहलपुर, जेठ ८  लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको करिब चार वर्ष पुग्न लाग्दा पनि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा विश्वविद्यालयको स्थायी पूर्वाधार निर्माण अन्योलमा परेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको विश्वविद्यालय हाल नेपालगन्जस्थित पुरानो कृषि विकास बैंकको भवन भाडामा सञ्चालन भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७९ असार १८ गते बाँकेमा प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, विश्वविद्यालयका लागि प्रस्ताव गरिएको बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरस्थित करिब ९० बिघा ऐलानी जग्गा अझै उपलब्ध हुन सकेको छैन । जग्गा प्राप्तिसम्बन्धी फाइल प्रदेश र संघीय सरकारका विभिन्न मन्त्रालयमा वर्षौंदेखि घुमिरहेको छ । विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीका अनुसार संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट फाइल पुनः प्रदेशमा फिर्ता आएपछि अहिले कानुनी तथा प्राविधिक अध्ययन प्रक्रिया चलिरहेको छ । फाइल हाल भूमि व्यवस्था मन्त्रालय, वन मन्त्रालय हुँदै कानुन मन्त्रालयसम्म पुगेको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिम्सिनाले संघीय भूमि ऐन संशोधनपछि केही कानुनी जटिलता देखिएकाले प्रक्रिया लम्बिएको बताए । उनका अनुसार विश्वविद्यालय प्रदेश सरकारको प्राथमिकतामा रहेको आयोजना भएकाले मन्त्रिपरिषद्बाट छिट्टै निर्णय गरेर प्रक्रिया टुंग्याइनेछ । हाल विश्वविद्यालयले नेपालगन्जको धम्बोजीस्थित पुरानो कृषि विकास बैंकको भवन भाडामा लिएर पठनपाठन सञ्चालन गरिरहेको छ । विश्वविद्यालयका लागि २४ वटा कक्षाकोठा प्रयोग भइरहेका छन् । उक्त भवनको मासिक भाडा ४ लाख रुपैयाँ रहेको र वार्षिक करिब आधा करोड रुपैयाँ भाडामै खर्च भइरहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आर्थिक वर्ष २०८०/०८१ देखि इन्जिनियरिङ तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन सुरु गरेको हो । हाल स्नातक तहका चार र स्नातकोत्तर तहका दुई गरी ६ वटा कार्यक्रम सञ्चालनमा छन् । विश्वविद्यालयमा हाल ३८७ विद्यार्थी अध्ययनरत छन् । प्रारम्भिक चरणमा ‘बिटेक इन सीएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसपछि ‘बिटेक इन सिभिल इन्जिनियरिङ’ र ‘बिटेक इन आइटी इन्जिनियरिङ’ थप गरिएको विश्वविद्यालयले जनाएको छ । चालु शैक्षिक सत्रदेखि ‘एमटेक इन्जिनियरिङ’ र ‘एमटेक कम्प्युटर’ कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।

रजिष्ट्रार भण्डारीका अनुसार आवश्यक पूर्वाधार निर्माणपछि अन्य प्राविधिक कार्यक्रमसमेत विस्तार गर्ने योजना रहेको छ । विश्वविद्यालयले काठमाडौं विश्वविद्यालय तथा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी सँग समझदारीपत्र (एमओयू) गरिसकेको जनाएको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग फ्याकल्टी तथा विद्यार्थी आदानप्रदान कार्यक्रम विस्तार गर्ने तयारीसमेत भइरहेको विश्वविद्यालयले जनाएको छ । संघीय सरकारको ‘कार्यनीति–२०७९’ अनुसार सरकारी जग्गा भोगाधिकार वा उपयोगका लागि लिज प्रक्रियाबाट मात्रै उपलब्ध गराउनुपर्ने व्यवस्था तथा अधिकतम ५० बिघासम्मको सीमाका कारण प्रक्रिया थप जटिल बनेको बताइएको छ । प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री दिनेश पन्थीले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्न विभिन्न मन्त्रालयमा फाइल पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको बताएका छन् ।
भाडामा मात्रै आधा करोड खर्च स्थायी जग्गा र आफ्नै भौतिक संरचना अभावमा लुम्बिनी प्राविधिक विश्वविद्यालय ले हाल ठूलो रकम भवन भाडामै खर्च गर्नुपरेको छ । विश्वविद्यालयले नेपालगन्जको धम्बोजीस्थित पुरानो कृषि विकास बैंकको भवन भाडामा लिएर पठनपाठन सञ्चालन गरिरहेको छ, जसका लागि वार्षिक करिब आधा करोड रुपैयाँ खर्च भइरहेको छ ।

विश्वविद्यालयले मासिक ४ लाख रुपैयाँ भाडा तिर्दै आएको छ । उक्त भवनमा हाल २४ वटा कक्षाकोठा प्रयोग गरेर इन्जिनियरिङ तथा सूचना प्रविधिसम्बन्धी कक्षाहरू सञ्चालन भइरहेका छन् । प्रशासनिक कार्यालय भने लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको भवनबाट सञ्चालन भइरहेको छ, जसको भोगाधिकार विश्वविद्यालयले प्राप्त गरिसकेको छ । विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीका अनुसार भाडाको भवनमै कक्षा सञ्चालन गर्नु परेकाले दीर्घकालीन रूपमा आर्थिक भार बढिरहेको छ । उनले स्थायी संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया अझै टुङ्गो नलाग्दा विश्वविद्यालयले वर्षेनि ठूलो रकम भाडामा खर्च गर्न बाध्य भएको बताए ।
यसबीचमा विश्वविद्यालयले वार्षिक करिब ४८ लाख रुपैयाँदेखि आधा करोड रुपैयाँसम्म भाडामै खर्च गर्दै आएको छ, जसले दीर्घकालीन शैक्षिक पूर्वाधार विकासमा चुनौती थपिएको छ ।

किन फिर्ता आयो फाइल ?

लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरस्थित जग्गा प्राप्ति प्रक्रिया संघीय मन्त्रालयबाट पुनः प्रदेशमै फिर्ता भएपछि परियोजना लामो समयदेखि अन्योलमा परेको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको विश्वविद्यालयको जग्गा व्यवस्थापन प्रक्रिया विभिन्न कानुनी र प्रशासनिक कारणले जटिल बनेको हो । लुम्बिनी प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा बाँकेमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । पछि मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले करिब ९०–९६ बिघा ऐलानी जग्गामा विश्वविद्यालय निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही आधारमा प्रदेश सरकारले फाइल संघीय सरकारमा पठाएको थियो ।

तर संघीय सरकारका विभिन्न मन्त्रालयबीच छलफल हुँदा उक्त फाइल प्रक्रियागतरूपमा त्रुटिपूर्ण रहेको भन्दै पुनः प्रदेशमै फिर्ता पठाइएको हो । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत जग्गा प्राप्तिका लागि निर्णय गर्दै फाइल संघीय सरकारमा पठाएको थियो । संघीय सरकारमा विभिन्न मन्त्रालयबीच छलफल हुँदा उक्त फाइल मन्त्रिपरिषद्बाट निर्णय भएर आउनुपर्नेमा मुख्यमन्त्री कार्यालयबाट मात्रै पठाइएको भन्दै पुनः प्रदेशमै फिर्ता पठाइएको विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले बताए । उनका अनुसार फाइल फिर्ता आएपछि २०८२ असोज २५ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले पुनः निर्णय गरी प्रदेश सरकारमार्फत प्रक्रिया अघि बढाइएको छ । हाल उक्त फाइल भूमि व्यवस्था मन्त्रालय, वन मन्त्रालय हुँदै कानुन मन्त्रालयसम्म पुगेको छ ।

प्रदेश सरकारका अनुसार संघीय भूमि ऐन संशोधनपछि सरकारी जग्गा उपयोग तथा लिज प्रक्रियामा नयाँ कानुनी जटिलता थपिएको छ । ‘कार्यनीति–२०७९’ अनुसार जग्गा लिजमार्फत मात्र लिनुपर्ने र अधिकतम ५० बिघाको सीमा तोकिएकाले पनि प्रक्रिया झन् जटिल बनेको बताइएको छ । प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री दिनेश पन्थीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारी भइरहेको बताएका छन् । तर संघीय–प्रदेश समन्वयको कमजोरी र कानुनी अस्पष्टताका कारण विश्वविद्यालयको जग्गा व्यवस्थापन प्रक्रिया अझै अन्योलमै रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।