चिसापानी–बबई सुरुङमार्ग कर्णाली प्रदेशको यातायात सहज बनाउन प्रस्ताव गरिएको महŒवपूर्ण पूर्वाधार परियोजना हो । सरकारले आर्थिक वर्ष २०८४/०८५ मा यसको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हाल करिब ३३.२ किलोमिटर घुमाउरो र जोखिमपूर्ण सडक पार गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । सुरुङमार्ग निर्माण भएमा दूरी र यात्रा समय उल्लेखनीय रूपमा घट्ने, पहिरो र दुर्घटनाको जोखिम कम हुने तथा व्यापार, कृषि र पर्यटन क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । यो परियोजनालाई कर्णालीको विकासमा ‘गेम चेन्जर’का रूपमा हेरिएको छ ।
नेपालगन्ज, जेठ १८ दशकौँदेखि घुमाउरा सडक, जोखिमपूर्ण मोड र बर्सेनि दोहोरिने पहिरोको सास्ती झेल्दै आएका कर्णालीबासीका लागि एउटा नयाँ आशा पलाएको छ । सरकारले आर्थिक वर्ष २०८४/०८५ को बजेटमार्फत बाँकेको चिसापानी र बर्दियाको बबई जोड्ने सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययन अघि बढाउने घोषणा गरेसँगै यो क्षेत्रका नागरिक उत्साहित बनेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यमा चिसापानी–बबई सुरुङमार्गको अध्ययन गरिने उल्लेख गरेपछि कर्णाली प्रदेशलाई तराईसँग अझ सहजरूपमा जोड्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । हाल चिसापानी–बबई सडक खण्ड कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ । दैनिक सयौँ सवारीसाधन यही मार्ग हुँदै आवतजावत गर्छन् । खाद्यान्न, निर्माण सामग्री, कृषि उपजदेखि आपतकालीन सेवासम्म यही सडकमा निर्भर छन् । तर करिब ३३ दशमलब २ किलोमिटर लामो यो पहाडी खण्डमा रहेका तीव्र घुम्ती, साँघुरा मोड र पहिरोको उच्च जोखिमका कारण यात्रुहरूले सधैँ कठिन यात्रा गर्न बाध्य छन् ।

सामान्य अवस्थामा पनि यो दूरी पार गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । वर्षायाममा भने स्थिति अझ चुनौतीपूर्ण बन्छ । सानो वर्षासमेत सडक अवरुद्ध हुने, पहिरो खस्ने र यातायात घण्टौँसम्म रोकिँदा यात्रुहरूले ठूलो सास्ती खेप्ने गरेका छन् । कतिपय अवस्थामा सडक खुलाउन चारदेखि पाँच घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था आउने स्थानीय बताउँछन् । यसले यात्रु मात्र होइन, आपूर्ति प्रणाली र आर्थिक गतिविधिमा समेत असर पार्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन ढिलाइ हुने, विद्यार्थीको आवतजावत प्रभावित हुने तथा व्यवसायिक ढुवानीमा अतिरिक्त लागत थपिने समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ ।
यही समस्याको दीर्घकालीन समाधानका रूपमा प्रस्तावित चिसापानी–बबई सुरुङमार्गलाई हेरिएको छ । सुरुङ निर्माण भएमा हालको घुमाउरो सडकको दूरी उल्लेखनीयरूपमा घट्नेछ । यात्रा समय छोटिने मात्र होइन, जोखिमपूर्ण मोड र पहिरो प्रभावित क्षेत्रलाई बाइपास गर्न सकिनेछ । यसले यात्रालाई सुरक्षित, सहज र भरपर्दो बनाउने अपेक्षा गरिएको छ । यातायात तथा पूर्वाधार क्षेत्रका जानकारहरूका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि इन्धन खर्च, सवारीसाधनको मर्मत लागत र ढुवानी खर्चसमेत उल्लेखनीयरूपमा घट्नेछ । यसको प्रत्यक्ष लाभ कर्णालीका किसान, व्यवसायी र उपभोक्ताले पाउनेछन् ।
विशेषगरी कर्णालीमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुहरू बजारसम्म छिटो र कम लागतमा पुग्ने भएकाले स्थानीय अर्थतन्त्रलाई नयाँ ऊर्जा मिल्ने अपेक्षा गरिएको छ । सहज पहुँचले पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास गरिएको छ । कर्णालीका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूमा पर्यटकको आवागमन बढ्न सक्ने सम्भावना देखिएको छ । स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिहरूले यसलाई कर्णालीको ‘गेम चेन्जर’ परियोजनाका रूपमा लिएका छन् । उनीहरूको बुझाइमा यो परियोजना सफल भएमा सडक पूर्वाधारको विकास मात्र हुने छैन, कर्णालीको आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत महŒवपूर्ण योगदान पुग्नेछ ।
अहिलेलाई सरकारले अध्ययन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । तर अध्ययनदेखि निर्माणसम्मको यात्रा पूरा भएमा चिसापानी–बबई सुरुङमार्ग कर्णालीका लागि भौतिक दूरी घटाउने माध्यम मात्र नभई विकास, समृद्धि र सहज जीवनतर्फको ऐतिहासिक कदम बन्न सक्ने अपेक्षा गरिएको छ । वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका हजारौँ नागरिकका लागि यो योजना आधुनिक र सुरक्षित यातायात प्रणालीतर्फ खुलेको नयाँ आशाको ढोका बनेर आएको छ ।














