धनगढी, असार २ धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको प्रजनन स्वास्थ्यसम्बन्धी विशेष स्वास्थ्य शिविरमा सहभागी महिलामध्ये २ सय ३३ जनामा ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीहरूले एचपिभी संक्रमणलाई पाठेघरको मुखको क्यान्सरको जोखिमसँग जोडिने महत्वपूर्ण संकेतका रूपमा लिँदै समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।
उपमहानगरपालिकाले २०८२ चैत २५ गतेदेखि २०८३ जेठ १० गतेसम्म नगरका विभिन्न २० स्थानमा सञ्चालन गरेको प्रजनन स्वास्थ्य स्क्रिनिङ कार्यक्रमअन्तर्गत २ हजार ३ सय २१ महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एचपिभी डिएनए परीक्षण गरिएको थियो । परीक्षणमा करिब १० प्रतिशत अर्थात् २ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार संक्रमण देखिएका अधिकांश महिला ३० देखि ४४ वर्ष उमेर समूहका छन् । यस उमेर समूहका २ सय २३ महिलामा एचपिभी पोजेटिभ नतिजा आएको छ भने ४० वर्षभन्दा माथिका १० जनामा पनि संक्रमण देखिएको छ ।
शिविरमा पाठेघरको मुखको क्यान्सरसँगै आङ खस्ने, फिस्टुला तथा स्तन क्यान्सरसम्बन्धी परीक्षणसमेत गरिएको थियो । आङ खस्ने समस्याको परीक्षण गरिएका महिलामध्ये ४० जनामा समस्या पहिचान भएको र तीमध्ये १० जनालाई रिङ पेसरीमार्फत उपचार सेवा प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, २ हजार २ सय ८ महिलाको स्तन क्यान्सर र फिस्टुलासम्बन्धी परीक्षण गरिएकोमा सबैको नतिजा सामान्य आएको जनाइएको छ ।
उपमहानगरपालिकाले एचपिभी पोजेटिभ देखिनु भनेको पाठेघरको मुखको क्यान्सर भइसकेको अवस्था नभएको स्पष्ट पारेको छ । एचपिभी संक्रमणले भविष्यमा क्यान्सरको जोखिम बढाउन सक्ने भए पनि समयमै थप परीक्षण, नियमित निगरानी, परामर्श र उपचारबाट जोखिमलाई नियन्त्रण गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । महिलाहरूमा प्रजनन स्वास्थ्यप्रति सचेतना बढाउन र रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न यस्ता कार्यक्रम प्रभावकारी भएको उपमहानगरपालिकाले जनाएको छ ।












