घोराही, असार ९ घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षको अवधिमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र डिजिटल सेवा विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । नगरपालिकाले यस अवधिमा १९८ किलोमिटर सडक कालोपत्र गर्नुका साथै सयौं किलोमिटर सडक स्तरोन्नति तथा नयाँ सडक निर्माण गरेर स्थानीय पूर्वाधार विकासलाई तीव्रता दिएको छ ।
नगरप्रमुख नरुलाल चौधरीका अनुसार नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल गरिएको छ भने २८० किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । यसै अवधिमा ६८ दशमलव ३ किलोमिटर सडक मर्मत गरिएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्ने उद्देश्यले २०७ वटा कल्भर्ट तथा पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सहरी व्यवस्थापनतर्फ ९९ किलोमिटर ढल निर्माण गरिएको छ भने फोहोर व्यवस्थापनका लागि व्यवस्थित स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । बाढी तथा कटानको जोखिम न्यूनीकरण गर्न २० दशमलव ९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ ।
खानेपानीको पहुँच विस्तारका लागि १०८ वटा कुवा र ७७ वटा डिपबोरिङ निर्माण गरिएको छ । यसबाट हाल नगरका ९२ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको नगरप्रमुख चौधरीले बताए । कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि ४३ वटा कृत्रिम जलाशय निर्माण गरिएका छन्, जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ऊर्जा पूर्वाधार विस्तारअन्तर्गत ८७ किलोमिटर विद्युत् प्रसारण लाइन विस्तार गरिएको छ भने सात वटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको नगरपालिकाले जनाएको छ । शिक्षा क्षेत्रमा २७ वटा विद्यालय भवन निर्माण गरिनुका साथै ३९ वटा नयाँ कक्षाकोठा थपिएका छन् । अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउन २८ वटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको जानकारी दिइएको छ ।
सामाजिक सुरक्षातर्फ १७ हजार ३७४ जना लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय शासनलाई प्रभावकारी बनाउन घोराहीले हालसम्म १३८ वटा स्थानीय कानुन निर्माण गरेको छ । साथै वडास्तरबाटै अनलाइन घटना दर्ता, नागरिकता सिफारिस तथा राजस्व संकलनजस्ता विद्युतीय सेवा सञ्चालनमा ल्याएर सेवा प्रवाहलाई सहज र पारदर्शी बनाइएको नगरप्रमुख चौधरीको भनाइ छ । वातावरण संरक्षण तथा स्वच्छ ऊर्जाको प्रयोग प्रवद्र्धन गर्न एक हजार ३०० वटा इन्डक्सन चुलो र ४५० वटा सुधारिएको चुलो वितरण गरिएको छ । नगरपालिकाले यी कार्यक्रममार्फत धुवाँमुक्त भान्सा अभियानलाई समेत टेवा पुगेको जनाएको छ ।












