२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

बर्दियामा बाघमा बाघ–बाघबीच क्षेत्रीय द्वन्द्व बर्दिया राष्ट्रिय निकुञ्जमा एक पोथी बाघ मृत फेला

बर्दिया, असार ४  बर्दिया राष्ट्रिय निकुञ्जमा बाघबीचको क्षेत्रीय प्रतिस्पर्धा बढ्दै जाँदा फेरि एक बाघको मृत्यु भएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गेरुवा गाउँपालिका–१ मा रहेको माधव सामुदायिक वनमा सोमबार करिब एक वर्षको पोथी बाघ मृत अवस्थामा फेला परेको हो ।

निकुञ्ज प्रशासनका अनुसार मृत बाघको शरीरमा देखिएका चोटपटक र घटनास्थलको अवस्थाका आधारमा दुई बाघबीच भएको जुधाइका कारण मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । घटनामा संलग्न अर्को बाघ घाइते भए पनि जीवित र सुरक्षित रहेको बताइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले मृत बाघको पोस्टमार्टम सम्पन्न गरिएको जानकारी दिँदै विस्तृत प्रतिवेदन आएपछि मृत्युको कारण थप स्पष्ट हुने बताए । प्रारम्भिक अनुसन्धानले भने बाघबीचको आपसी संघर्षलाई नै मुख्य कारण देखाएको उनले उल्लेख गरे ।

निकुञ्जमा पछिल्ला वर्षहरूमा बाघको संख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै उनीहरूबीच क्षेत्र नियन्त्रण र आहारको स्रोतका लागि हुने प्रतिस्पर्धा पनि बढ्दै गएको संरक्षणकर्मीहरू बताउँछन् । यही कारणले वयस्क तथा युवा बाघबीच बेला–बेलामा घातक संघर्ष हुने गरेको छ । यसअघि २०८१ चैत २६ गते पनि निकुञ्जको लगुना फाँटा र गैंडा मचान क्षेत्रबीचको घना झाडीमा दुई भाले बाघ मृत भेटिएका थिए । करिब १० देखि १२ वर्ष उमेरका ती बाघहरू पनि आपसमा जुध्दा मारिएको अनुसन्धानबाट खुलेको थियो ।

पछिल्लो बाघ गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ रहेका छन् । बाघको संख्या बढ्नु संरक्षणको सफलताको संकेत भए पनि सीमित क्षेत्रभित्र बढ्दो घनत्वका कारण बाघबीचको द्वन्द्व चुनौतीका रूपमा देखिन थालेको निकुञ्जका अधिकारीहरू बताउँछन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।