नेपालगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत देशभर गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार अधिवेशन हुँदैछ । बाँकेमा पनि जिल्लाका आठवटै स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि गाउँ तथा नगर अधिवेशन हुँदैछ ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको महाधिवेशन कार्य तालिकाअनुसार असोज ७ गते गाउँ तथा नगर अधिवेशन, असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन तथा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने कार्यक्रम छ ।
बाँकेका ८१ वटै वडामा वडा अधिवेशन सम्पन्न भएसँगै बुधबार गाउँ तथा नगर अधिवेशन हुन लागेको हो । वडा अधिवेशनका क्रममा अधिकांश वडामा सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि तथा वडा कार्यसमिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत वीरबहादुर रोकायले जानकारी दिए ।
असोज ३ गतेदेखि देशभर सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको प्रारम्भिक चरण अन्तर्गत बाँकेमा वडा अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत रोकायले बताए ।

यसैबीच गाउँ तथा नगर अधिवेशनमा नेतृत्वका लागि विभिन्न आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सभापतिका लागि विनोद रिजाल र धनराज बर्माले उम्मेदवारी घोषणा गरेका छन् । कोहलपुर नगरपालिकाको नेतृत्वका लागि चिन्तामणि धिताल र वीरेन्द्रकुमार शाहले पदाधिकारीसहितको प्यानल घोषणा गरेका छन् । धिताल नेतृत्वको समूहबाट उपसभापतिमा सविता चौधरी र भरत शर्मा, सचिवमा दीपेन्द्र कठायत तथा सहसचिवमा ओमजंग शाही उम्मेदवार रहेका छन् ।
त्यस्तै, वीरेन्द्रकुमार शाह नेतृत्वको समूहबाट उपसभापतिमा सुभद्रा शर्मा र दीपेन्द्रकुमार चौधरी, सचिवमा रविनकुमार शर्मा तथा सहसचिवमा रामबहादुर वली उम्मेदवार छन् । खजुरा गाउँपालिकाको सभापतिका लागि महेन्द्र मल्ल, बैजनाथ गाउँपालिकाको नेतृत्वका लागि निर्मला रोकाय र भूमिसरा रानाको नाम चर्चामा छ । जानकी गाउँपालिकाको सभापतिका लागि अजय बर्माको नाम पनि चर्चामा रहेको कांग्रेस नेताहरूले बताएका छन् । राप्तीसोनारीमा वर्तमान सभापति भिम बहादुर राना क्षेत्री र बालकृष्ण थारुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
बाँकेका अन्य स्थानीय तहमा पनि नेतृत्वका लागि आकांक्षीहरू बीच आन्तरिक छलफल र तयारी भइरहेको बताइएको छ । बुधबार हुने अधिवेशनबाट स्थानीय तहको नयाँ नेतृत्व चयन हुनेछ ।















