उखुको मूल्यमा सरकार र किसानबीच सहमति जुट्न नसक्दा चिनी उद्योगको क्रसिङ सिजन प्रभावित हुने भएको छ। सरकारले प्रस्ताव गरेको मूल्य अस्वीकार गर्दै किसानहरूले प्रतिक्विन्टल एक हजार ५० रुपैयाँ कायम गर्न माग गरेका छन्। माग सम्बोधन नभए चिनी उद्योग सञ्चालनमै अवरोध गर्ने चेतावनीसहित किसानहरू आन्दोलनको तयारीमा जुटेका छन्।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उखु उत्पादक किसानका प्रतिनिधि र चिनी उद्योगीबीच दुई चरणमा भएको वार्ता निष्कर्षविहीन भएपछि किसानहरू आन्दोलनको तयारीमा जुटेका हुन्। सरकारको प्रस्तावित मूल्यले उत्पादन लागतसमेत नधान्ने भन्दै किसान प्रतिनिधिहरू असन्तुष्ट बनेर तराई फर्किएका छन्।
सरकारको रोहवरमा भएको पहिलो चरणको वार्तामा सरकारी टोलीले अनुदानबाहेक गत वर्षको तुलनामा प्रतिक्विन्टल आठ रुपैयाँ वृद्धि गरी ६२८ रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको थियो। किसानहरूले उक्त प्रस्ताव अस्वीकार गरेपछि मन्त्रालयले दोस्रो चरणमा चिनीको बजार मूल्य र उखुको उत्पादन लागतबारे अध्ययन गर्ने भन्दै छुट्टाछुट्टै छलफल गरेको थियो।
दोस्रो छलफलमा सरकारले किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबाहेक सामान्य जातको उखुको मूल्य ६५० रुपैयाँ र बढी चिनी उत्पादन हुने जातको उखुको मूल्य ६७५ रुपैयाँ प्रस्ताव गरेको थियो। तर, किसानहरूले दुवै प्रस्ताव अस्वीकार गर्दै प्रतिक्विन्टल एक हजार ५० रुपैयाँ नै कायम गर्नुपर्ने अडान राखेका छन्।

सरकारले किसानको उत्पादन लागत, चिनीको बजार मूल्य र बढ्दो महँगीलाई बेवास्ता गर्दै उद्योगीको स्वार्थअनुकूल मूल्य निर्धारण गर्न खोजेको उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले आरोप लगाए।
बन्द कोठाभित्र चिनी उद्योगीको इसारामा किसानलाई मार पर्ने मूल्य निर्धारण गर्न खोजिएको उनको भनाइ छ।
‘कृषि मन्त्रालयले उखुको मूल्य निर्धारणका विषयमा हामीलाई दुई पटक वार्तामा बोलायो, तर हाम्रो माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर देखिएन’, अध्यक्ष रायले भने, ‘सरकारी टोलीले चिनी उद्योगीको इसारामा किसानलाई मार पर्ने मूल्य तय गर्न खोजिरहेको छ। यस्तो अवस्थामा हामी चुप लागेर बस्दैनौँ, चिनी उद्योग सञ्चालन हुन नदिने गरी आन्दोलनमा उत्रिने तयारी गरिरहेका छौँ।’
सरकारले भने आगामी शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा उखुको मूल्य निर्धारणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको छ। किसानहरूले माग सम्बोधन नगरी हचुवाका भरमा मूल्य निर्धारण गर्न खोजिएको भन्दै सरकारी प्रस्तावप्रति असहमति जनाएका छन्।
यता, देशभरका चिनी उद्योगहरूले चालु क्रसिङ सिजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्। तर, सरकार, किसान र उद्योगीबीच मूल्यमा सहमति नजुट्दा उद्योग सञ्चालन अन्योलमा परेको छ। उखु बिक्रीबाट जीविकोपार्जन गर्ने किसानसमेत आफ्नो उत्पादनको मूल्य र बिक्रीको टुङ्गो नलाग्दा समस्यामा परेका छन्।
















