गुल्मी, असार २ माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा पुनः परीक्षण (रि–टोटलिङ)पछि गुल्मी जिल्लामा थप तीन विद्यार्थीले चार जीपीए प्राप्त गरेका छन् । यससँगै जिल्लामा चार जीपीए ल्याउने विद्यार्थीको संख्या ९ पुगेको छ ।
रि–टोटलिङपछि सिद्धबाबा माध्यमिक विद्यालयका दुई जना विद्यार्थी र शान्तिपुरस्थित चक्रेश्वर इंग्लिस बोर्डिङ स्कुलकी एक छात्राले पूर्ण जीपीए हासिल गरेका हुन् । सिद्धबाबाका छात्र विशाल विक र विश्वास थापा तथा चक्रेश्वरकी छात्रा सरगम सुवेदीले चार जीपीए प्राप्त गरेका विद्यालय स्रोतले जनाएको छ । यसअघि प्रकाशित प्रारम्भिक नतिजामा सिद्धबाबाका विशाल विक र विश्वास थापाले समान ३.९८ जीपीए प्राप्त गरेका थिए भने चक्रेश्वरकी सरगम सुवेदीले ३.९५ जीपीए हासिल गरेकी थिइन् । तर, पुनः मूल्यांकनपछि तीनै जनाको नतिजा सुधार भई चार जीपीए पुगेको हो ।
यसअघि नै गुल्मी जिल्लामा विभिन्न विद्यालयका ६ जना विद्यार्थीले चार जीपीए प्राप्त गरिसकेका थिए । तीमध्ये रेन्बो इंग्लिस बोर्डिङ स्कुलका दुई जना विद्यार्थी, महेन्द्र माध्यमिक विद्यालय, रिडी माध्यमिक विद्यालय, रेसुंगा माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयका एक/एक विद्यार्थी रहेका छन् । रि–टोटलिङपछि थप विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेसँगै जिल्लामा शैक्षिक उपलब्धिको चर्चा थप बढेको छ । शिक्षासम्बद्ध व्यक्तिहरूले यसलाई विद्यार्थीको मेहनतसँगै विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको संकेतका रूपमा व्याख्या गरेका छन् ।
जिल्लामा पछिल्ला वर्षहरूमा निजी तथा सामुदायिक दुवै विद्यालयबीच प्रतिस्पर्धा बढ्दै गएको र त्यसको सकारात्मक प्रभाव एसइई नतिजामा देखिन थालेको सरोकारवालाहरूको भनाइ छ ।















