बालापुर क्षेत्र सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित छ । भौगोलिक अवस्थाका कारण यहाँ सतही सिँचाइ सुविधा विस्तार गर्न सहज थिएन । त्यसैले अधिकांश किसान वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए । वर्षा राम्रो भयो भने उत्पादन राम्रै हुन्थ्यो, नभए खेतमा लगानीसमेत उठाउन गाह्रो पर्थ्यो । कतिपय जमिन वर्षभरि बाँझै रहने अवस्था थियो । तर निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले लिफ्ट प्रविधिको प्रयोग गरी नहरको पानी माथिल्लो क्षेत्रमा पुर्याउन थालेपछि गाउँको तस्वीर नै बदलिन थालेको छ ।
राप्तीसोनारी, असार ३ केही वर्षअघिसम्म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो । असार लागेपछि उनको नजर आकाशतिर हुन्थ्यो । बादल लाग्दा आशा पलाउँथ्यो, पानी नपर्दा चिन्ता बढ्थ्यो । खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णयसमेत मौसमले गर्थ्यो । मेहनत धेरै हुन्थ्यो, तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुस्किल पर्थ्यो ।
आज भने त्यही लोकबहादुरको दिनचर्या बदलिएको छ । खेतमा हरियाली छ, बालीका लहराहरू छन् र भविष्यप्रति विश्वास पनि छ । उनी भन्छन्, ‘पहिला खेती गरेर खान पनि पुग्दैनथ्यो । अहिले भने खान पुगेर केही बचतसमेत गर्न सक्ने भएका छौँ । दुई वर्षदेखि लिफ्ट सिँचाइको पानी आउन थालेपछि खेतबारी सधैँ हरियो देखिन्छ ।’ लोकबहादुरको अनुभव उनको व्यक्तिगत कथा मात्र होइन, बालापुरको बदलिँदो सामाजिक र आर्थिक यथार्थको प्रतिबिम्ब हो । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत लिफ्ट सिँचाइ प्रणालीमार्फत खेतबारीमा पानी पुग्न थालेपछि यहाँका किसानको जीवनशैली र खेती प्रणाली दुवैमा उल्लेखनीय परिवर्तन आएको छ ।
बालापुर क्षेत्र सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित छ । भौगोलिक अवस्थाका कारण यहाँ सतही सिँचाइ सुविधा विस्तार गर्न सहज थिएन । त्यसैले अधिकांश किसान वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए । वर्षा राम्रो भयो भने उत्पादन राम्रै हुन्थ्यो, नभए खेतमा लगानीसमेत उठाउन गाह्रो पर्थ्यो । कतिपय जमिन वर्षभरि बाँझै रहने अवस्था थियो । तर निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले लिफ्ट प्रविधिको प्रयोग गरी नहरको पानी माथिल्लो क्षेत्रमा पुर्याउन थालेपछि गाउँको तस्वीर नै बदलिन थालेको छ । पहिले वर्षमा एक वा दुई बाली लगाउन संघर्ष गर्ने किसान अहिले तीन बाली उत्पादन गर्ने अवस्थामा पुगेका छन् । धान, गहुँ र मकैसँगै तरकारी तथा बेमौसमी खेतीसमेत विस्तार हुन थालेको छ ।

स्थानीय किसान उमा देवकोटाले विगत सम्झँदा अझै पनि कठिन दिनहरू ताजा रहेको बताउँछिन् । उनका अनुसार आकाशे पानीमा निर्भर खेती गर्दा उत्पादनले परिवार धान्नै मुस्किल पर्थ्यो । ‘पानी नपरेको वर्ष ऋण गरेर घर चलाउनुपर्ने अवस्था आउँथ्यो,’ उनी भन्छिन्, ‘सिक्टा नहर बनिरहेको बेला पनि त्यो पानी हाम्रो खेतसम्म आइपुग्छ भन्ने विश्वास थिएन । सिक्टाको पानी हाम्रो लागि होइन जस्तो लाग्थ्यो । तर अहिले त्यही पानीले हाम्रो जीवन बदलिरहेको छ ।’ उमा अहिले वर्षमा तीन बाली लगाउने किसानमध्ये एक हुन् । उत्पादन बढेसँगै आम्दानी बढेको छ र परिवारको आर्थिक अवस्था सुधारिएको छ । तर उनी अझै केही व्यवस्थापन आवश्यक रहेको बताउँछिन् । खेतसम्म पानीको पहुँच थप सहज बनाउन वितरण प्रणालीमा सुधार र थप ‘प्वाइन्ट’ निर्माण गर्नुपर्ने उनको माग छ ।
बालापुरमा अहिले देखिएको परिवर्तन कृषि उत्पादन वृद्धिसम्म सीमित छैन । खेतीप्रति किसानको दृष्टिकोण बदलिएको छ । पहिले खेतीलाई जीविकोपार्जनको बाध्यता मान्ने किसान अहिले यसलाई आयआर्जनको माध्यमका रूपमा लिन थालेका छन् । खेतबारीमा वर्षभरि चहलपहल देखिन थालेको छ । बाँझो जमिन घटेको छ र कृषि गतिविधि बढेको छ । सिक्टा सिँचाइ आयोजना आयोजना निर्देशक राजु आचार्यका अनुसार सतही सिँचाइ सुविधा पुर्याउन नसकिने क्षेत्रका लागि लिफ्ट प्रविधि प्रभावकारी विकल्प बनेको छ । उनका अनुसार पश्चिम र पूर्वी नहर आसपासका विभिन्न स्थानमा यस्ता प्रणाली विस्तार भइरहेका छन् । आयोजनाको लक्ष्य करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने रहेको छ भने हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिसकेको छ ।
सतही सिँचाइ सम्भव नभएका १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पुर्याउने योजना अन्तर्गत पश्चिम नहर क्षेत्रमा चारवटा आयोजना सञ्चालनमा आइसकेका छन् । पूर्वी नहरका ११ स्थान र पश्चिम नहरको एक स्थानमा निर्माण कार्य जारी छ । बालापुरको अनुभवले देखाएको छ कि सिँचाइ सुविधा पानीको उपलब्धता मात्र होइन, ग्रामीण जीवन परिवर्तनको आधार पनि हो । पानी पुगेपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि आम्दानी बढ्छ, र आम्दानी बढेपछि किसानको जीवनस्तरमा सुधार आउँछ । यही परिवर्तन अहिले बालापुरमा देख्न सकिन्छ । एक समय आकाशतिर हेरेर खेतीको भविष्य अनुमान गर्ने किसानहरू अहिले आफ्नै खेतको हरियाली हेरेर भविष्यका योजना बनाउन थालेका छन् । सिक्टा सिँचाइ आयोजनाको लिफ्ट प्रणालीले बालापुरका किसानलाई पानी मात्र दिएको छैन, उनीहरूको आत्मविश्वास, आशा र समृद्धिको नयाँ आधार पनि दिएको छ । खेतमा बगेको पानीसँगै यहाँका किसानका सपना पनि अब अघि बढ्न थालेका छन् ।














