राप्तीसोनारी, मंसिर २९ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगञ्जस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजना गरिएको तेस्रो वडाध्यक्ष कप आधारभूतस्तरीय खेलकुद प्रतियोगिता तथा छैटौँ स्वर्गीय मनबहादुर केसी स्मृति कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिवशक्ति माध्यमिक विद्यालय पेरानी सर्वाधिक अंक प्राप्त गर्दै समग्र विजेता बनेको छ ।

शिवशक्ति मावि पेरानीले प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गरी कुल ४० अंक जोड्दै पहिलो स्थान हासिल गरेको हो । विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भएका छन् ।
दोस्रो स्थानमा दुर्गा भुवानी माध्यमिक विद्यालय शमशेरगञ्ज रहँदै ५ स्वर्ण, ७ रजत र ४ कास्य पदक सहित ३३ अंक प्राप्त गर्यो । त्यस्तै, जनशक्ति माध्यमिक विद्यालय बालापुरले ४ स्वर्ण, २ रजत र ५ कास्य सहित २१ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्यो । चौथो स्थानमा गणेश माध्यमिक विद्यालय ढकेरीले २ स्वर्ण, ४ रजत र ४ कास्य सहित १८ अंक प्राप्त गर्यो । जनता माध्यमिक विद्यालय बैजनाथपुरले ३ स्वर्ण, ३ रजत र २ कास्य सहित १७ अंक प्राप्त गर्दै पाँचौँ स्थानमा रह्यो भने शमशेरगञ्ज ई.एम.आइ. माध्यमिक विद्यालय पेरानीले २ स्वर्ण, ३ रजत र ३ कास्य सहित १५ अंक प्राप्त गर्दै छैटौँ स्थान हासिल गर्यो ।
समापन कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारुले खेलकुदले विद्यार्थीको शारीरिक विकाससँगै अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना विकास गर्न महŒवपूर्ण भूमिका खेल्ने बताइन् । उनले गाउँपालिकाले विद्यालयस्तरमा खेलकुद प्रवद्र्धनका लागि आगामी दिनमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिन् । ‘खेलकुदमार्फत विद्यार्थीको प्रतिभा उजागर हुन्छ, त्यसलाई संस्थागत रूपमा अगाडि बढाउन स्थानीय तहले जिम्मेवारी लिनुपर्छ,’ उपाध्यक्ष थारुले भनिन् ।
उत्साहपूर्ण वातावरणमा सम्पन्न प्रतियोगिताले विद्यार्थी, शिक्षक तथा अभिभावकमा खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।









