२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

आर्थिक विकासमा धार्मिक पर्यटनको भूमिका

नेपाल धार्मिक विविधताले युक्त भन्ने विशेष पहिचान बनाउन सफल देश भएकाले यसको उपयोग गरी आर्थिक विकासमा प्रभावकारी प्रयास गरी रोजगारी सिर्जना तथा पर्यटन व्यवसायको विकासमा महत्ववपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । यसले देशको गार्हस्थ्य उत्पादनमा वृद्धि गर्नुका साथै विदेशी मुद्रासमेत आर्जन गर्न सकिन्छ ।

आफ्नो धार्मिक आस्थाअनुसार विभिन्न धार्मिक स्थलको अवलोकन गर्ने, भगवान्को पूजा–आराधना गर्ने र आफ्नो मनोकांक्षा पूरा गर्ने उद्देश्यले गरिने पर्यटनलाई धार्मिक पर्यटन भनिन्छ । पछिल्लो तथ्यांकअनुसार हाम्रो देशमा ४२ सय धार्मिक स्थल रहेका छन् । केही महत्ववपूर्ण र चर्चित धार्मिक स्थलमा पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, मनकामना, लुम्बिनी, रुरु क्षेत्र, स्वर्गद्वारी, सुपा देउराली, रामजानकी मन्दिर, गोसाइँकुण्ड आदि रहेका छन् ।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म मनाइने प्रसिद्ध धार्मिक कथावाचन तथा काठमाडौँको साँखुमा लाग्ने बृहत् मेलाले आम श्रद्धालु भक्तजनलाई मोहित बनाउँदै आएको छ । यसबाट आर्थिक, सांस्कृतिक तथा सामाजिक विकासमा समेत टेवा पुगिरहेको छ । यस मेलामा महिना दिनसम्म गरिने पूजा–आराधना तथा व्यापारका लागि स्वदेशबाट मात्र नभई विदेशबाट पनि भक्तजन तथा व्यापारीहरूसमेत आएर आर्थिक कारोबारमा सहभागी रहने गरेका छन् । यसले धार्मिक सहिष्णुता तथा आम्दानीमा समेत उल्लेख्य मात्रामा सहयोग पुग्छ । यस मेलाबाट रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनले बजार पाउने तथा अन्य उत्पादनले समेत सहज रूपमा बजार पाउने भएकाले यस्ता मेलाले बहुआयामिक महत्वव राख्ने गर्छ ।

यसैगरी पशुपतिनाथको मन्दिर परिसरमा शिवरात्रिका अवसरमा मनाइने मेलामा पनि करोडौँ मूल्यको आर्थिक कारोबार गरिने तथा धार्मिक आस्थाको प्रदर्शन मात्र नभई धार्मिक सहिष्णुताको पनि उदाहरण प्रत्यक्ष रूपमा देख्न सकिन्छ । यस अवसरमा विश्वभरका हिन्दू धर्मावलम्बी, साधुसन्तहरू भगवान् शिवको दर्शनका लागि आउने गर्छन् । पशुपति क्षेत्रमा गुह्येश्वरी, श्लेषमान्तक वन, पवित्र बागमती नदी, आर्यघाट, विभिन्न पाटीपौवा तथा हजारभन्दा धेरै शिवलिंग रहेकाले हजारौँ धार्मिक पर्यटक अवलोकन गर्न र पूजा–आराधना तथा दर्शनका लागि आउने गर्छन् । बालाचतुर्दशीका अवसरमा देशभरका भक्तजनहरू आफ्ना पितृ उद्धारका लागि दीप प्रज्वलन गरी रातभर जाग्राम बसेर भोलिपल्ट श्लेषमान्तक वनमा सद्बीज छर्ने गरिन्छ । यसले पनि धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग पुग्छ ।

हाम्रो देशको विशेष र विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा विश्वका हरेक देशका बौद्ध धर्मावलम्बीलगायतका पर्यटकहरू लुम्बिनी भ्रमण गर्न आउने गर्छन् । भ्रमणमा आउने धार्मिक पर्यटकबाट होटल तथा लजको प्रयोग गर्दा व्यवसायीहरूले काम पाउने गर्छन्, जसबाट रोजगारी तथा आय आर्जनमा समेत टेवा पुग्छ । महामानव शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म रुपन्दही जिल्लाको लुम्बिनी भन्ने स्थानमा इसापूर्व ५६३ मा भएको थियो । शाक्यमुनि गौतमबुद्धले शान्ति र अहिंसाको सन्देश लुम्बिनीबाट विश्वभर फैलाउनुभयो ।

बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र पवित्र भूमि लुम्बिनीमा हरेक वर्ष लाखाँै धार्मिक पर्यटक नेपालमा भ्रमणका लागि आउने गर्छन् । यो नेपालको राष्ट्रिय गौरवको विषयसमेत हो । यस पवित्र स्थलमा विभिन्न देशले स्तूप पनि निर्माण गरेका छन् । दृष्टान्तका लागि चीन, कोरिया, इन्डोनेसिया, जापान आदि रहेका छन् । शान्तिका लागि र अहिंसाको सन्देश विश्वभर फैलाउन सफल गौतमबुद्धको योगदानको उच्च कदर गरी राष्ट्रिय विभूति घोषणा गर्दै आम बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई अन्य खोज तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरूका लागि पनि उपयोगी स्थलको रूपमा चिनिएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ तथा चाँगुनारायणको मन्दिरजस्ता प्रसिद्ध धार्मिक स्थलहरू काठमाडौं उपत्यकामा रहेका छन् । यी स्थानमा पनि हरेक वर्ष लाखौँ धार्मिक पर्यटक भ्रमणका लागि आउने गर्छन् । यसबाट व्यापार वृद्धि तथा रोजगारी सिर्जनामा समेत प्रभावकारी रूपले सहयोग पुग्ने गरेको छ । नेपालको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनमा पनि यस्ता धार्मिक पर्यटकबाट महत्ववपूर्ण भूमिका निर्वाह हुन्छ, जसले समग्र पर्यटन उद्योग विकास गर्नमा सहज वातावरण सिर्जना गर्छ । हरेक स्थानमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक रोजगारी सिर्जनाका आधार र विकासका माध्यम भएकाले हामीले हरउपायको अवलम्बन गरी धेरैधन्दा धेरै पर्यटक नेपालका विभिन्न धार्मिक स्थलमा भ्रमण गर्न जानका लागि उचित वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

देशका विभिन्न स्थानमा अवस्थित हाम्रा धार्मिक स्थलहरू पर्यटकका लागि व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउनका लागि प्रभावकारी योजना निर्माण गरी त्यसको नतिजा देखिने गरी कार्यान्वयनको मार्गमा जान सक्नुपर्छ । विकास महत्ववपूर्ण क्षेत्रको रूपमा रहेका हाम्रा धार्मिक स्थलहरूलाई थप आकर्षणयुक्त बनाउनका लागि नवीन उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । प्रदेश २ अन्तर्गत रहेको प्राचीन र ऐतिहासिक महत्ववको पवित्र धार्मिक स्थल जनकपुरको जानकी मन्दिरको महिमा पनि अद्वितीय रहेको छ । हरेक वर्ष विवाह पञ्चमीका अवसरमा हजारौँ भक्तजनको भीड लाग्ने उक्त स्थलको महत्वव उच्च छ । आदर्श नारी सीता तथा राम, जानकी अनि राजा जनकसँग जोडिएको यस पवित्र तीर्थस्थलका कारण धार्मिक पर्यटनमा ठूलो टेवा पुग्दै आएको छ । राष्ट्रिय विभूति सीता र भगवान् राम जानकीको दर्शन गर्न आफ्नो मनोकांक्षा पूरा गर्ने उद्देश्यले बर्सेनि लाखौँ भक्तजन जनकपुर आउने गर्छन् ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष महत्ववका सयौँ धार्मिक स्थलको प्रचार–प्रसार तथा ओझेलमा परेका धार्मिक स्थलहरूलाई चर्चामा ल्याउने काममा पर्यटन मन्त्रालयले विशेष ध्यान दिनु जरुरी देखिन्छ । अर्को महत्ववको धार्मिक तथा पर्यटकीय स्थल चितवनको देवघाट धाम हो । यस स्थानमा हरेक वर्ष माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ । यस पवित्र दिनमा त्रिवेणी धाममा स्नान गरी पूजा–आराधना गर्दा पूण्य प्राप्ति हुने आम जनविश्वास रहेको छ । यस दिन स्वदेश तथा विदेशका धार्मिक पर्यटकहरूको पनि उल्लेख्य रूपमा सहभागिता रहने गरेको छ । धार्मिक मात्र नभई निकुञ्जमा जल सफारी, हात्तीमा यात्राजस्ता कार्य गर्न पनि पर्यटकहरू आउँछन् । नारायणी नदीमा डुंगा सफर तथा र्‍याफ्टिङका लागि पनि हजारौँको संख्यामा पर्यटकहरू आउने गर्छन् । यसले रोजगारी सिर्जना गर्न तथा होटल व्यवसायी र अन्य पथप्रदर्शकहरूका लागि पनि आय आर्जनको मार्ग सहज बन्ने गरेको छ ।

हलेसी महादेव, पाथीभरा, चन्दननाथ, काँक्रेविहार, वागेश्वरी, शैलेश्वरी, मौलाकालिका, बागलुङ कालिका, गढीमाई, पलान्चोक भगवती, भीमेश्वर, बुढासुब्बा, चतराधाम, छिन्नमस्ता, दक्षिणकाली, गोसाइँकुण्डजस्ता सयौँ धार्मिक स्थलमा धार्मिक पर्यटनका लागि पर्यटकहरू आउने गर्छन् । यसबाट व्यापार वृद्धि तथा रोजगारी सिर्जना अनि रैथाने उत्पादनले बजार पाउने गर्छ, जसले हाम्रो आर्थिक विकासमा समेत महत्ववपूर्ण भूमिका खेलेको हुन्छ । रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्डको महिमा पनि उच्च छ । हरेक वर्ष जनै पूर्णिमाका दिन र दशहरामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूको आगमन हुने गर्छ । यस अवसरमा गोसाइँकुण्डमा रहेका दूधकुण्ड, भैरव कुण्डलगायतका अन्य कुण्डको अवलोकन भ्रमण पनि गर्छन् ।

विश्वमा नै नेपाल धार्मिक पर्यटनको उच्च सम्भावना रहेको देश भएकाले यसबाट विभिन्न फाइदा लिन सकिन्छ । त्यसतर्फ भने गम्भीर भई नवीन कार्यक्रम तथा योजनाहरू ल्याएर धार्मिक पर्यटनको विकासमा जोड दिन सक्नुपर्छ । मठ, मन्दिर, गुम्बा, मस्जिद, विहारजस्ता हजारौँ धार्मिक स्थलमा सुरक्षा तथा मर्मत सम्भार जीर्ण स्थलहरूका जीर्णोद्धार अनि पुनर्निर्माण गरी आकर्षक र मनमोहक बनाउनेतर्फ पनि विशेष ध्यान दिन जरुरी छ । पौषे औँसीमा नुवाकोट र रसुवाको सीमामा रहेको पवित्र धार्मिक स्थल उत्तरगयामा आफ्ना पितृको श्राद्ध गर्न हजारौँ भक्तजनको ठूलो भीड लाग्ने गर्छ । आम जनविश्वास के छ भने उत्तरगयामा श्राद्ध नगरी बनारस, केदारनाथ र बद्रीनाथमा श्राद्ध गर्न जानु हुँदैन । यसैगरी काठमाडौँको गोकर्णमा पनि भाद्र औँसीका दिन पितृसम्झना तथा उद्धारका लागि श्राद्ध गर्ने गरिन्छ । यसरी धार्मिक पर्यटनमा यस्ता मान्यता, संस्कृति तथा विश्वासका कारण पनि थप टेवा पुगिरहेको छ । हाम्रा रीति, मान्यता र परम्पराले पनि धार्मिक पर्यटनमा योगदान पुगिरहेको वास्तविकता भुल्नु हुँदैन ।

धार्मिक पर्यटनका फाइदाका सन्दर्भमा चर्चा गर्दा, रोजगारीको सिर्जना भई स्थानीय व्यापारी तथा उद्यमीहरूले आय आर्जनमा वृद्धि गर्न सहयोग पुग्छ । यसैगरी स्थानीय उत्पादनले बजार सहज रूपमा प्राप्त गर्न सक्छ भने विभिन्न धार्मिक स्थलमा जानका लागि बाटोको निर्माण हुन्छ । सो स्थलमा विद्युत, सञ्चार, खानेपानीजस्ता पूर्वाधारहरूको विकास पनि सहज रूपले हुने गर्छ । यसबाट स्थानीय नागरिकले समेत सेवा तथा सुविधा उपभोग गर्न सक्छन् । धार्मिक पर्यटनका माध्यमले स्रोतसाधनको पनि संरक्षण गर्न सहयोग पुग्छ । वातावरण संरक्षणमा पनि धार्मिक पर्यटनका कारणले टेवा पुग्छ । नेपालमा धार्मिक पर्यटनका माध्यमबाट गरिबी घटाउने कार्यमा पनि थोरै मात्र भए पनि सहयोग पुग्छ । धार्मिक पर्यटनको विकास र विस्तारका लागि स्थानीय, प्रदेश र संघ तीनवटै सरकारका बीचमा समन्वय गरी धार्मिक पर्यटनको प्रवद्र्धनमा जोड दिनुपर्छ ।

हाम्रो देश धार्मिक पर्यटनको उच्च सम्भावना भएको मुलुक भएकाले यसको विकासमा हरसम्भव प्रयास गरिनुपर्छ । बढ्दो बेरोजगारी तथा आन्तरिक उत्पादनले समेत बजारीकरणको अवसर प्राप्त गर्ने भएकाले धार्मिक पर्यटनलाई अझ प्रभावकारी तरिकाले विकास गर्न गम्भीरताका साथ कार्य गर्न अब विलम्ब गर्नु हुँदैन । यसका लागि पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन मन्त्रालयको भूमिका अझ ज्यादा हुने भएकाले सबै जिम्मेवार भई धार्मिक पर्यटनको विकासमा लाग्नुपर्छ । साभारः कारोबार दैनिक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।