बर्दिया, माघ १३बर्दियाको गुलरियामा निर्माणाधीन घरेलु तथा साना उद्योग कार्यालयको भवन पाँच वर्षदेखि अलपत्र परेको छ । सम्झौता अनुसार समयमा निर्माण कार्य सम्पन्न नगर्दा कार्यालयको आफ्नै भवन बन्न नसकेको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इन्द्रराज खत्रीका अनुसार गुलरियास्थित उक्त भवन निर्माणको ठेक्का अमन कन्स्ट्रक्सन गुलरियाले २०७७ फागुन २० गते पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०७८ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था थियो । तर तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्दा भवन अझै अधुरो अवस्थामा रहेको उनले बताए ।
कार्यालयका अनुसार निर्माण कम्पनीले ६० लाख ८८ हजार ७२५ रुपैयाँमा ठेक्का लिएको थियो । हालसम्म निर्माण कम्पनीले काम गरेबापत ३४ लाख ४५ हजार ६९३ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर भुक्तानी लिएपछि पनि निर्माण कार्यलाई तीव्रता नदिई पटक–पटक म्याद थप गर्दै काम नगर्ने प्रवृत्तिका कारण भवन निर्माण अलपत्र परेको कार्यालयको भनाइ छ ।
पछिल्लो समय निर्माण कम्पनी कार्यालयको सम्पर्कमा समेत नआएको र निर्माण स्थलमा कुनै गतिविधि नरहेको खत्रीले बताए । ‘म्याद थप गर्ने तर काम नगर्ने परिपाटीका कारण कार्यालयको आफ्नै भवन प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने । भवन निर्माण सम्पन्न नहुँदा घरेलु तथा साना उद्योग कार्यालय हाल भाडाको घरमा सञ्चालन गर्न बाध्य भएको छ । यसले सेवा प्रवाहमा समस्या हुनुका साथै राज्यको स्रोतसमेत अनावश्यक रूपमा खर्च भइरहेको सरोकारवालाहरू बताउँछन् ।

स्थानीयवासी र सरोकार निकायले निर्माण कम्पनीमाथि कडाइका साथ कारबाही गर्दै अधुरो भवन निर्माण शीघ्र सम्पन्न गर्न माग गरेका छन् । लामो समयदेखि अलपत्र परेको सरकारी भवन निर्माणले सार्वजनिक ठेक्का व्यवस्थापनप्रति प्रश्न उठाएको छ ।















