गुटबन्दीको मनोविज्ञान नेतास्तरमा सीमित हुँदैन । त्यो कार्यकर्ता र मतदातासम्म सर्छ । जब पार्टीभित्र स्पष्ट सन्देश नपुग्दा मतदाता पनि दुविधामा पर्न सक्छन् । त्यसैले कांग्रेसका लागि यसपालिको चुनाव बाह्य दलसँगको प्रतिस्पर्धा मात्र होइन, आन्तरिक एकताको परीक्षा पनि हो ।
नेपालगन्ज, फागुन १२ नेपाली कांग्रेसभित्र एउटा कथन छ, ‘बाहिर अरु दलसँग प्रतिस्पर्धा छ तर, आफ्नै पार्टीभित्र धेरै कठिन छ ।’ यो कथनको अर्थ हो, ‘पार्टीभित्र चरम गुटबन्दी छ । एकले अर्कोलाई नस्वीकार्दा हराउने रणनीति बन्छ र, नतिजा आफू अनुकुल आउँदैन ।’ यो अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि झन पार्टीभित्र गुटगत मनोविज्ञान जबरजस्त हाबी छ । विशेष महाधिवेशनले पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको सम्मानजनभन्दा लज्जास्पद बिदाइ गरेपछि पूर्व संस्थापन (शेरबहादुर देउवा) पक्ष र हालको संस्थापनपक्ष (गगन थापा) पक्ष स्पष्ट गुट देखिएको छ ।
नेता शेखर कोइरालाको गुट पनि उत्तिकै सक्रिय छ ।जसले गर्दा शीर्ष नेताहरूबीचको दूरीले विशेषगरी बाँकेका तीनै निर्वाचन क्षेत्रमा मत विभाजनको त्रास बढाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा उभिएको नेपाली कांग्रेस यतिबेला बाह्य प्रतिस्पर्धाभन्दा आन्तरिक समीकरणका कारण बढी चुनौतीमा देखिएको छ । विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिएको छ । पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवाको सम्मानजनक बिदाइ हुन नसकेको भन्दै उनका समर्थकहरू असन्तुष्ट देखिएका छन् । नेतृत्वमा देखिएको नयाँ संरचनाले गगन थापा पक्षलाई संस्थापनको रूपमा उभ्याएको छ भने शेखर कोइराला समूह समानान्तररूपमा सक्रिय छ । शीर्ष तहमा औपचारिक एकता देखिए पनि तल्लो तहमा गुटगत मनोविज्ञान अझै बलियो रहेको स्थानीय नेताहरू स्वीकार गर्छन् ।
यतिबेला कांग्रेस चुनावी अभियानमा व्यस्त छ, तर देउवाको सार्वजनिक मौनता राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा व्याख्या भइरहेको छ । उनी खुलारूपमा सक्रिय नदेखिँदा उनका निकटस्थ नेताहरू र कार्यकर्तामा पनि उत्साह कम देखिएको गुनासो छ । बाँकेका एक नेता भन्छन्, ‘नेतृत्व तहमा देखिने दूरी तलसम्म सन्देशका रूपमा जान्छ । कार्यकर्ता कति मनदेखि लाग्ने भन्नेमा त्यसको प्रभाव पर्छ ।’ उनका अनुसार मौन असन्तुष्टि चुनावी परिणाममा सानो तर निर्णायक असर पार्न सक्छ ।बाँके क्षेत्र नम्बर १ मा टिकट वितरणको विषयले केही असन्तोष जन्माएको थियो । विभिन्न नाम सिफारिस भए पनि अन्ततः जिल्ला सभापति नारायणप्रसाद गौडेल उम्मेदवार बने । शक्ति सन्तुलन परिवर्तनपछि निर्णय भएको भन्दै केही आकांक्षी समूह असन्तुष्ट भएको चर्चा छ । यद्यपि औपचारिकरूपमा सबैले पार्टी निर्णय स्वीकार गरेको जनाइएको छ, तर भित्रीरूपमा मत कता मोडिन्छ भन्ने अन्योल कायम छ ।
क्षेत्र नम्बर २ मा भने तुलनात्मकरूपमा एकता देखिएको छ । अन्तिममा सुधांशु कोइरालाले टिकट पाएपछि ठूलो विरोध देखिएन । कार्यकर्ता तहमा समन्वय र सक्रियता तुलनात्मकरूपमा राम्रो देखिएकाले यो क्षेत्र कांग्रेसका लागि सहज मानिएको छ ।तर क्षेत्र नम्बर ३ मा विवाद चर्किएको थियो । सिफारिस भएका स्थानीय आकांक्षीलाई पन्छाएर बाहिर जिल्लाका उम्मेदवारलाई टिकट दिइएको भन्दै केही कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमै तालाबन्दी गरेका थिए । लुम्बिनी प्रदेश सभापति अमर पुन उम्मेदवार बनेपछि देखिएको विरोध अहिले शान्त देखिए पनि पूर्णरूपमा साम्य भइसकेको छैन । स्थानीय तहमा असन्तुष्टि मौनरूपमा बाँकी रहेको नेताहरू बताउँछन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसको परम्परागत मत आधार बलियो भए पनि मत विभाजनको जोखिमले परिणाम उल्टाउन सक्छ । बहुकोणीय प्रतिस्पर्धामा केही हजार मतको हेरफेरले सिट गुम्ने सम्भावना रहन्छ । विगतका निर्वाचनमा पनि आन्तरिक असन्तुष्टिका कारण आधिकारिक उम्मेदवार कमजोर बनेका उदाहरण कांग्रेसभित्रै छन् ।
बाँके–२ बाहेक १ र ३ मा मत विभाजनको जोखिम बढी देखिएको स्थानीय नेताहरूको आँकलन छ । क्षेत्र नम्बर १ का एक नेता भन्छन्, ‘यदि हामीले आफ्नै मत जोगायौँ भने तीनै क्षेत्रमा जित सम्भव छ । तर आफ्नै मत खण्डित भयो भने परिणाम भन्न सकिँदैन ।’ यतिबेला कांग्रेसले घरदैलो, टोलसभा र संयुक्त कार्यक्रममार्फत मतदातासम्म पुग्ने प्रयास गरिरहेको छ । शीर्ष नेताहरू पनि क्षेत्रीय कार्यक्रममा सहभागी भइरहेका छन् । तर संगठन सुदृढीकरणसँगै आन्तरिक मनोविज्ञान मिलाउन नसके बाह्य प्रतिस्पर्धामा बलियो देखिन कठिन हुने बुझाइ छ ।
गुटबन्दीको मनोविज्ञान नेतास्तरमा सीमित हुँदैन । त्यो कार्यकर्ता र मतदातासम्म सर्छ । जब पार्टीभित्र स्पष्ट सन्देश नपुग्दा मतदाता पनि दुविधामा पर्न सक्छन् । त्यसैले कांग्रेसका लागि यसपालिको चुनाव बाह्य दलसँगको प्रतिस्पर्धा मात्र होइन, आन्तरिक एकताको परीक्षा पनि हो । यदि शीर्ष नेतृत्वले अन्तिम समयमा स्पष्ट सन्देशसहित साझा अभियान सञ्चालन गर्न सके मत विभाजनको त्रास कम हुन सक्छ । तर मौन असन्तुष्टि र गुटगत दूरी कायम रह्यो भने ‘बाहिरभन्दा भित्रै कठिन’ भन्ने पुरानो कथन फेरि प्रमाणित हुन सक्ने संकेत देखिन्छ ।



















