नेपालको राजनीतिक यात्रामा कहिलेकाहिँ यस्ता मोडहरू आउँछन्, जसले देश मात्र होइन नेतृत्वलाई पनि गहिरो परीक्षा दिन्छ । मैले सरकारको नेतृत्व सम्हालेको समय पनि त्यस्तै एक कठिन मोड थियो । अनिश्चितता, अविश्वास र आन्दोलनको वातावरणबीच सरकारको नेतृत्व लिनु र सीमित समयभित्र देशलाई शान्तिपूर्ण निर्वाचनसम्म पुर्याउनु सामान्य काम थिएन । तर परिस्थितिले दिएको जिम्मेवारीबाट भाग्नु सम्भव थिएन । त्यसैले मैले त्यो जिम्मेवारी स्वीकार गरेँ र आफ्नो क्षमताले भ्याएसम्म पूरा गर्ने प्रयास गरेँ ।
जब म प्रधानमन्त्री भएँ, देशको वातावरण निकै अस्थिर थियो । आन्दोलनको असर समाजमा गहिरोसँग बसेको थियो । मानिसहरूमा निराशा थियो, राजनीतिक दलहरूप्रति अविश्वास बढेको थियो र राज्यका संस्थाहरू पनि दबाबमा थिए । त्यस्तो अवस्थामा सरकारको नेतृत्व गर्नु केवल प्रशासनिक काम मात्र होइन, देशलाई आश्वस्त पार्ने जिम्मेवारी पनि थियो । म प्रधानमन्त्री बन्ने व्यक्ति हुँ भन्ने कुरा मैले जीवनमा कहिल्यै सोचेकी थिइनँ । मेरो जीवनको अधिकांश समय न्यायालयमै बित्यो । कानुन र न्यायको क्षेत्रमा काम गर्दै गर्दा मैले देशको राज्य संरचना, प्रशासन र राजनीतिक संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाएँ । तर कार्यकारी नेतृत्व सम्हाल्नु बिल्कुल फरक अनुभव थियो । सुरुमा मलाई पनि ‘के म सक्छु?’ भन्ने प्रश्न उठेको थियो । तर समयसँगै मैले बुझेँ—आत्मविश्वास र निष्ठा भए असम्भव देखिएका काम पनि सम्भव हुन्छन् ।
मेरो नेतृत्वकाल केवल छ महिनाको थियो । तर त्यो छ महिनाको समय सामान्य राजनीतिक कार्यकाल जस्तो थिएन । देशमा आन्दोलनको प्रभाव अझै बाँकी थियो । विभिन्न समूहहरू आ–आफ्नो मागसहित सक्रिय थिए । राजनीतिक दलहरूबीच पनि अविश्वासको वातावरण थियो । त्यसैले सरकारको पहिलो जिम्मेवारी नै देशमा स्थिरता कायम गर्नु थियो । सरकार गठन भएको भोलिपल्टदेखि नै हाम्रो ध्यान निर्वाचनतर्फ केन्द्रित भयो । देशलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउनु अत्यन्त जरुरी थियो । निर्वाचन नै जनताको मत प्रकट गर्ने सबैभन्दा ठूलो माध्यम हो । त्यसैले मैले सुरुदेखि नै एउटा लक्ष्य राखेँ—देशमा निर्वाचन शान्तिपूर्ण हुनुपर्छ, कुनै नागरिकको ज्यान जानु हुँदैन, एकथोपा रगत पनि झर्नु हुँदैन ।
त्यो लक्ष्य प्राप्त गर्नु सजिलो थिएन । देशभर विभिन्न किसिमका राजनीतिक र सामाजिक तनाव थिए । कतै धार्मिक संवेदनशीलता, कतै आन्दोलनका असर, कतै राजनीतिक प्रतिस्पर्धाका कारण सम्भावित द्वन्द्वको खतरा थियो । तर हामीले सुरक्षा निकाय, प्रशासन र निर्वाचन आयोगसँग समन्वय गर्दै वातावरण निर्माण गर्ने प्रयास गर्यौँ । सरकारप्रति आलोचना पनि धेरै आए । सुरुका दिनहरूमा धेरैले यो सरकार सफल हुँदैन भन्ने अनुमान गरेका थिए । केहीले त यो सरकार टिक्दैन पनि भने । कतिपयले त खुला रूपमा नै सरकारलाई असफल बनाउनुपर्ने कुरा गरे । यस्तो अवस्थामा नेतृत्व सम्हाल्नु कुनै पनि व्यक्तिका लागि चुनौतीपूर्ण हुन्छ ।
माथि त्यसमा पनि म एक महिला थिएँ । नेपालको राजनीतिमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भइसकेको छैन । मैले लगाएको कपडादेखि लिएर मेरो बोली, हिँडडुल, व्यवहारसम्म टिप्पणी गरियो । तर मैले ती सबै कुरालाई व्यक्तिगत रूपमा लिएर प्रतिक्रिया जनाइनँ । मेरो विश्वास के थियो भने, समयले नै कामको मूल्यांकन गर्छ । नेतृत्वको एउटा महत्वपूर्ण पक्ष धैर्य हो । आलोचना र अविश्वासका बीच पनि आफ्नो लक्ष्यबाट विचलित नहुनु नेतृत्वको परीक्षा हो । मैले पनि त्यही प्रयास गरेँ । म आफ्नो काममा केन्द्रित रहेँ । मानिसले जे भने पनि देशको जिम्मेवारीबाट पछि हट्न सकिँदैन भन्ने विश्वास मभित्र थियो ।
निर्वाचन सफल बनाउन सबैभन्दा महत्वपूर्ण कुरा राजनीतिक सहमति थियो । देशमा साना–ठूला गरेर सयभन्दा बढी राजनीतिक दल सक्रिय थिए । हरेक दलका आफ्नै धारणा र स्वार्थ थिए । त्यसैले हामीले सबैसँग संवाद गर्ने नीति अपनायौँ । धेरै पटक दिनभरि बैठकहरू भए । कतिपय दिन त एकैदिनमा १०–१४ वटा बैठकसम्म पनि गरियो । मध्यरातसम्म छलफल चल्थ्यो । कहिलेकाहीँ राति दुई–तीन बजेसम्म पनि बैठक बस्नुपर्यो । त्यो सबैको उद्देश्य एउटै थियो—देशलाई निर्वाचनसम्म सुरक्षित रूपमा पुर्याउनु । यस क्रममा मैले प्रमुख राजनीतिक दलका नेताहरूसँग पनि धेरैपटक छलफल गरेँ । राजनीतिक प्रतिस्पर्धा आफ्नै ठाउँमा हुन्छ, तर राष्ट्रिय जिम्मेवारीका विषयमा सबै एकजुट हुनुपर्छ भन्ने मेरो विश्वास थियो । लोकतन्त्रको सुन्दरता पनि त्यही हो—असहमति भए पनि संवादको ढोका खुला रहन्छ ।
निर्वाचन सफल बनाउन सुरक्षा निकायहरूको भूमिका अत्यन्त महत्वपूर्ण थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सबैले समन्वय गरेर काम गरे । सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भयो ।
देशभर सुरक्षाको वातावरण कायम राख्न उनीहरूले ठूलो मेहनत गरे । त्यसैगरी निर्वाचन आयोगको भूमिका पनि उल्लेखनीय रह्यो । सीमित स्रोतसाधनका बीच पनि आयोगले अत्यन्त जिम्मेवारीका साथ काम गर्यो । निर्वाचनको व्यवस्थापन, कर्मचारी परिचालन, मतदानको वातावरण निर्माण जस्ता सबै काम प्रभावकारी रूपमा सम्पन्न भए । सरकारको जिम्मेवारी केवल निर्वाचन गराउनु मात्र होइन, सुशासनको आधार तयार पार्नु पनि हो । त्यसैले हामीले मितव्ययितालाई प्राथमिकता दियौँ । अनावश्यक खर्च कटौती गर्ने प्रयास गर्यौँ । राज्यको स्रोत सीमित हुन्छ, त्यसैले त्यसको उपयोग सावधानीपूर्वक हुनुपर्छ भन्ने हाम्रो धारणा थियो ।
भ्रष्टाचार नियन्त्रण पनि हाम्रो प्राथमिकतामा थियो । मैले सधैं विश्वास गरेको कुरा के हो भने, राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ । जब संस्थाहरू स्वतन्त्र रूपमा काम गर्छन्, तब मात्रै सुशासन सम्भव हुन्छ । यसबीचमा मलाई व्यक्तिगत रूपमा धेरै भावनात्मक क्षणहरू पनि अनुभव गर्नुपर्यो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका परिवारहरू बालुवाटारमा भेट्न आएका दिनहरू निकै पीडादायी थिए । उनीहरूको आँसु देख्दा हृदय भारी हुन्थ्यो । त्यसले मलाई अझ जिम्मेवार बनायो । म सधैं सोच्थेँ—देशका नागरिकले यति धेरै दुःख भोगिरहेका छन् भने राज्यले उनीहरूलाई कम्तीमा स्थिरता र आशा दिनुपर्छ । यही सोचले मलाई काम गर्न प्रेरित गरिरह्यो ।
निर्वाचन सम्पन्न भएपछि धेरैले यसलाई ऐतिहासिक उपलब्धि भने । तर मेरो दृष्टिमा यो केवल एउटा जिम्मेवारी पूरा भएको मात्र हो । जीवनमा परीक्षा निरन्तर भइरहन्छन् । एउटा परीक्षा पास भएपछि अर्को सुरु हुन्छ । देशको राजनीतिक यात्रा पनि त्यस्तै हो । निर्वाचनको परिणामले देशमा परिवर्तनको चाहना देखाएको छ । नयाँ राजनीतिक शक्तिहरूले उल्लेखनीय समर्थन पाएका छन् । युवापुस्ताले परिवर्तन चाहेको स्पष्ट संकेत दिएका छन् । यो लोकतन्त्रका लागि सकारात्मक कुरा हो । तर परिवर्तनको अर्थ पुरानो सबै कुरा अस्वीकार गर्नु होइन । अनुभव र नयाँ ऊर्जा दुवैको संयोजन आवश्यक हुन्छ । पुराना दलहरूले पनि आत्मसमिक्षा गर्नुपर्छ र नयाँ शक्तिहरूले पनि जिम्मेवारीका साथ काम गर्नुपर्छ ।
देशको सबैभन्दा ठूलो समस्या अहिले पनि रोजगारी हो । युवाहरू देशभित्र अवसर नपाएर विदेश जान बाध्य छन् । धेरैजना विदेशमा श्रम गरेर बाकसमा फर्कने दुःखद् घटना पनि भइरहेका छन् । यो अवस्था परिवर्तन गर्न आवश्यक छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी—यी तीन विषय अहिले नेपालको सबैभन्दा महत्वपूर्ण एजेन्डा हुन् । नयाँ सरकारले यी विषयलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो अपेक्षा छ । यससँगै प्रशासनिक सुधार पनि अत्यन्त जरुरी छ । सरकारी संयन्त्र चुस्त र जिम्मेवार नभएसम्म कुनै पनि सरकार सफल हुन सक्दैन । नीति बनाउने मात्र पर्याप्त हुँदैन, त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्छ ।
अब मेरो व्यक्तिगत जीवनतर्फ फर्किने समय आएको छ । मैले आफ्नो जिम्मेवारी पूरा गरेकी छु । अब म फेरि आफ्नो पुरानो जीवनशैलीमा फर्किन चाहन्छु । मलाई पद वा शक्ति प्रति कुनै विशेष मोह छैन । मेरो जीवनमा धेरै कुरा पाइसकेको छु । न्यायालयमा काम गर्ने अवसर पाएको छु, देशको प्रधानमन्त्री बन्ने जिम्मेवारी पनि निभाउने अवसर पाएको छु । त्यसैले अब मलाई व्यक्तिगत रूपमा अरू केही चाहिएको छैन । म केवल यही चाहन्छु—नेपालमा स्थिरता, शान्ति र समृद्धिको वातावरण बनोस् । युवाहरूले आफ्नो भविष्य यही देशमा देख्न सकून् । नागरिकले राज्यप्रति विश्वास गर्न सकून् । नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न देश हो । यहाँको भौगोलिक विविधता, सांस्कृतिक सम्पदा र मानवीय ऊर्जा अद्वितीय छ । यदि सही नेतृत्व र सही नीतिहरू लागू भए भने नेपालले ठूलो प्रगति गर्न सक्छ ।
अन्ततः लोकतन्त्र भनेको केवल सरकार परिवर्तन गर्ने प्रक्रिया होइन । यो नागरिक र राज्यबीचको विश्वासको सम्बन्ध हो । त्यो विश्वास कायम राख्नु सबैको साझा जिम्मेवारी हो । मैले आफ्नो कार्यकालमा त्यही विश्वास कायम राख्ने प्रयास गरेकी छु । अब त्यो जिम्मेवारी नयाँ नेतृत्वको काँधमा जानेछ । मलाई आशा छ, उनीहरूले देशलाई अझ राम्रो दिशामा अघि बढाउनेछन् । नेपालले धेरै संघर्ष पार गरेको छ । अब शान्ति, स्थिरता र विकासको यात्रा सुरु हुनुपर्छ । यही मेरो अन्तिम कामना हो ।


















