२०८२ चैत्र ४ बुधबार
२०८२ चैत्र ४ बुधबार

फुर्सदको समयबाट आम्दानी

दाङ, चैत ३  गाउँघरमा गृहिणीहरूको फुर्सदको समय प्रायः गफगाफ वा घरायसी काममै सीमित हुने गरेको देखिन्छ । तर दाङको राप्ती गाउँपालिका–८ पिपरीका केही महिलाले भने यही फुर्सदको समयलाई आम्दानीको अवसरमा बदल्न थालेका छन् । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै उनीहरूले धुप र साबुन उत्पादन सुरु गरेका छन् । सानो प्रयासबाट सुरु गरिएको यो काम अहिले गाउँमै सानो घरेलु उद्योगका रूपमा विकास हुँदै गएको छ ।

पिपरीका पिङकु चौधरी, यमा चौधरी, अनिता चौधरी, माया चौधरी, शोभा चौधरी र अञ्जु चौधरीले मिलेर “राप्ती लालीगुराँस साबुन तथा धुप उद्योग” सञ्चालन गरेका छन् । दैनिक घरधन्दा सकेपछि खाली समय सदुपयोग गर्ने उद्देश्यले उनीहरूले यो उद्यम सुरु गरेका हुन् । कृषिबाहेक अन्य समयमा गाउँमा धेरै महिलाहरू खाली बस्नुपर्ने अवस्था रहेकाले सानो लगानीबाट केही गरौँ भन्ने सोचले उद्योग स्थापना गरिएको उनीहरू बताउँछन् । स्थानीय वडा कार्यालय र गाउँपालिकाको सहयोगमा धुप, साबुन तथा अन्य घरेलु सामग्री उत्पादनसम्बन्धी तालिम पाएपछि उनीहरू उद्यमतर्फ आकर्षित भएका थिए । सुरुमा १६–१७ जना महिलाले तालिम लिए पनि अन्ततः छ जनाले जनही दुई हजार पाँच सय रुपैयाँ संकलन गरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगले गाउँमै पाइने कच्चा पदार्थ प्रयोग गरेर अर्गानिक ‘बाटेको धुप’ उत्पादन गरिरहेको छ । सयपत्रीका सुकेका फूल, धुपी सल्लो, कपुर र खोटालगायत सामग्री प्रयोग गरी धुप तयार गरिन्छ । धुपको प्याकेजिङका लागि स्थानीय रूपमा उत्पादन हुने नेपाली कागज प्रयोग गरिन्छ । उद्योग सञ्चालक समितिका सदस्य शोभा चौधरीका अनुसार आवश्यक अधिकांश कच्चा पदार्थ गाउँमै पाइने भएकाले उत्पादन गर्न सहज भएको छ । महिलाहरूका अनुसार बजारमा पाइने धेरैजसो धुपमा बाँसको डण्डी प्रयोग गरिन्छ, जसबाट निस्कने धुवाँ स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । त्यसैले आफूहरूले बाँसको डण्डीबिनाको ‘बाटेको धुप’ उत्पादनमा जोड दिएको उद्योग सञ्चालक समितिका सदस्य माया चौधरी बताउँछिन् । यस्तो धुप तुलनात्मक रूपमा स्वास्थ्यका लागि सुरक्षित मानिने भएकाले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइएको उनीहरूको भनाइ छ ।

उद्योगले उत्पादन गरेको धुप अहिले स्थानीय बजारसँगै विभिन्न मठमन्दिर र मेला–महोत्सवमा बिक्री हुँदै आएको छ । विशेषगरी प्युठानस्थित स्वर्गद्वारी मन्दिरमा यसको माग बढी रहेको छ । प्रतिप्याकेट धुप फुटकरमा १ सय रुपैयाँ र थोकमा ८० रुपैयाँमा बिक्री हुने गरेको छ । धुपसँगै महिलाहरूले एलोभेरा, निम र तितेपातीजस्ता जडीबुटी प्रयोग गरी साबुन पनि उत्पादन गरिरहेका छन् । सानो, मझौला र ठुलो गरी तीन साइजका साबुन बजारमा उपलब्ध छन् । सानो साबुन मुख्यतः हात धुने प्रयोजनका लागि स्थानीय होटलहरूमा आपूर्ति हुने गरेको छ । उद्योग सञ्चालन गरेको करिब एक वर्ष भए पनि घरायसी जिम्मेवारीका कारण महिलाहरू पूर्ण रूपमा व्यावसायिक रूपमा काम गर्न सकेका छैनन् । उनीहरू बिहान घरको काम सकेपछि करिब १०–११ बजेदेखि बच्चाहरू स्कुलबाट फर्किनुअघि सम्म उत्पादनमा समय दिन्छन् ।
यद्यपि, सानो लगानीबाट सुरु गरिएको यो प्रयासले उनीहरूलाई आत्मनिर्भर बन्ने आत्मविश्वास दिएको छ । आवश्यक पुँजी, उपकरण र बजार विस्तारको सहयोग प्राप्त भएमा उद्योगलाई अझ व्यवस्थित र ठूलो बनाउन सकिने उनीहरूको विश्वास छ । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै सुरु गरिएको पिपरीका महिलाहरूको यो सानो प्रयासले ग्रामीण क्षेत्रमा घरेलु उद्योगमार्फत रोजगारी र आयआर्जनको सम्भावना उजागर गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।