२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

सेयर बजारले नयाँ सरकारलाई गरेन विश्वास,सेयर बजारमा भारी गिरावट

काठमाडौं, १५ चैत   नयाँ सरकार गठनसँगै सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको भए पनि आइतबारको कारोबारमा भने बजार उल्टै ओरालो लागेको छ। करिब दुई तिहाइ बहुमतको सरकार बनेपछि राजनीतिक स्थिरता आउने र त्यसले बजारलाई उकास्ने अनुमान गरिए पनि प्रारम्भिक कारोबारमै नेप्से परिसूचक घटेको हो।

आइतबार कारोबार सुरु भएको पहिलो एक घण्टामै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३५ अंकले घटेर २ हजार ९१४ बिन्दुमा झरेको छ। बजार खुलेको छोटो समयमै उल्लेख्य गिरावट देखिँदा लगानीकर्ताहरु केही अन्योलमा देखिएका छन्। सो अवधिमा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा सक्रियता भने कायम रहेको संकेत गर्छ।

१२ बजेसम्मका तथ्यांकअनुसार सबै उपसमूहका सूचकहरु घटेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, व्यापार तथा माइक्रोफाइनान्स समूहका सूचकहरु एक प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। समग्र बजारमा १० कम्पनीको मूल्य बढ्दा २५२ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यद्यपि, हालै सूचीकृत भएका केही कम्पनीहरुको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर कम्पनीहरुको मूल्य १० प्रतिशतले बढेको छ। नयाँ कम्पनीप्रति लगानीकर्ताको आकर्षण अझै कायम रहेको देखिएको छ।

बजार विश्लेषकहरुका अनुसार आइतबारको गिरावटको प्रमुख कारण ‘नाफा बुकिङ’ हो। गत साता मात्रै नेप्से ७३ अंकले बढेको थियो भने पछिल्लो एक महिनामा बजार २७७ अंक अर्थात् १०.३६ प्रतिशतले उकालो लागेको थियो। लगातार बढिरहेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाउँदा बजारमा दबाब परेको हो।

गत फागुन १७ गते नेप्से परिसूचक २६७३ बिन्दुमा रहेकोमा आइतबार बजार २९५० बिन्दुबाट खुलेको थियो। यस्तो अवस्थामा धेरै लगानीकर्ताले बिक्रीका लागि उपयुक्त समय पर्खिरहेका हुने र नयाँ सरकार गठनसँगै बजारमा उच्च कारोबार हुने अनुमानका आधारमा बिक्री बढाएको एक ब्रोकर कम्पनीका सञ्चालकले बताएका छन्।

उनका अनुसार सेयर बजार प्रायः राजनीतिक तथा आर्थिक घटनाक्रमभन्दा अघि नै प्रतिक्रिया जनाउने गर्छ। “बजार एक कदम अगाडि हिँड्ने स्वभावको हुन्छ, परिवर्तन हुनुअघि नै त्यसको असर देखिन्छ, तर परिवर्तन भएपछि उल्टो प्रतिक्रिया देखिन सक्छ,” उनले भने।

अर्कोतर्फ, नयाँ सरकार गठनसँगै केही राजनीतिक गतिविधि चर्किनु र धरपकडका घटना बढ्नुले पनि लगानीकर्ताको मनोविज्ञानमा असर परेको विश्लेषण गरिएको छ। केही राजनीतिक दलका नेताहरु पक्राउ पर्नु र विरोध प्रदर्शन चर्किन सक्ने आशंकाले बजारमा नकारात्मक प्रभाव पारेको जानकारहरु बताउँछन्।

यस्तै, नेपाल स्टक एक्सचेञ्जले हालै मार्जिन कारोबारसम्बन्धी कार्यविधि तयार पारेको भए पनि त्यसले तत्काल बजारमा सकारात्मक प्रभाव देखाउन सकेको छैन। प्रारम्भिक कारोबारको अवस्थाले बजार दिनभर नै दबाबमा रहने संकेत गरेको छ।

समग्रमा, उच्च अपेक्षाका बीच खुलेको बजारमा गिरावट देखिँदा लगानीकर्तामा सतर्कता बढेको छ भने आगामी दिनमा बजारको दिशा कस्तो हुन्छ भन्ने विषयमा चासो बढेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।