२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

रसुवामा बाढी : ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिँदा आपूर्ति प्रभावित

रमुवा, भदौ–१० गते।   रसुवामा आएको आकस्मिक बाढीले जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा क्षति पुर्‍याउँदा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् प्रणालीबाट बाहिर गएको हो।

प्राधिकरणले बुधबार जारी गरेको सूचनामा बाढीका कारण जनधनमा अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।

बाढीका कारण प्राधिकरणको उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको छ। रसुवागढी, चिलिमे, त्रिशूली–३ एलगायतका जलविद्युत् आयोजना तथा त्रिशूली–३ बी हब २२० केभी सबस्टेसनलगायतका संरचनामा समेत असर परेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ।

बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत आग्रह गरेको छ। बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको अवस्था पहिचान गरी विद्युत् प्रणालीलाई सुरक्षित र सम्भव भएसम्म शीघ्र सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको प्राधिकरणले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।