बाँके, वैशाख २० रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा गत बिहीबार भएको भीषण जिप दुर्घटनामा २० जनाको ज्यान गएपछि सरकार सडक सुरक्षा प्रणाली सुधारमा नीतिगत तथा संरचनागत रूपमा कठोर कदम चाल्ने प्रतिबद्धतामा पुगेको छ ।
दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिले तयार पार्ने प्रतिवेदनका निष्कर्ष तथा सुझावहरू तत्काल कार्यान्वयन गर्ने जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषय भएकाले यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरिएको छ ।
सरकारका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र सत्यतथ्य सार्वजनिक गर्न गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो । उक्त समितिको संयोजकत्व लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले गरेका छन् । समितिको कार्यावधि शनिबार नै समाप्त हुने भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिइएपछि त्यसका सुझाव कार्यान्वयनमा ढिलाइ नगर्ने सरकारको दाबी छ ।
विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार सडक सुरक्षासम्बन्धी प्राविधिक कमजोरी मात्र होइन, मानवीय त्रुटि र व्यवस्थापकीय कमजोरी समेत सुधार गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्ने उल्लेख छ । दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिलाई गम्भीर रूपमा लिँदै सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाइने पनि जनाइएको छ ।
सरकारले दुर्घटनाको पुनरावृत्ति रोक्न आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत सुधारलाई तीव्र बनाइने संकेत गरेको छ । साथै, आगामी दिनमा सडक यातायात व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन सबै सरोकारवालासँग समन्वय गरिने बताइएको छ ।















