कोहलपुर, जेठ ४ नेपालगन्ज म्याराथनले विश्व दौड जगत्को प्रतिष्ठित ‘एम्स सामाजिक पुरस्कार’ प्राप्त गर्ने भएको छ । विश्वभरका म्याराथन तथा दूरी दौड आयोजकहरूको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एआईएमएस) ले सन् २०२६ का लागि उक्त पुरस्कार नेपालगन्ज म्याराथनलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नर्वेको ट्रम्सो मा आगामी जुन १८ देखि २० तारिखसम्म हुने एम्सको २५औँ विश्व सम्मेलनमा पुरस्कार प्रदान गरिने तय भएको छ । छनोट समिति संयोजक तथा एम्सकी उपाध्यक्ष मार्था मोरालेस ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी लाई पत्रमार्फत पुरस्कारबारे जानकारी दिँदै बधाई दिएकी हुन् । उनले पठाएको पत्रमा नेपालगन्ज म्याराथनलाई खेलकुदमार्फत सामाजिक रूपान्तरण, दिगो विकास र समुदायमा सकारात्मक प्रभाव पुर्याएको आधारमा सम्मान गरिएको उल्लेख छ । प्रत्येक वर्ष समाजमा उदाहरणीय कार्य गर्ने उत्कृष्ट म्याराथन आयोजकलाई मात्र यो सम्मान प्रदान गरिने उनले बताएकी छन् ।
यसअघि ग्रेट इथियोपियन रन, टोकियो म्याराथन र म्युनिख म्याराथन लगायत विश्वप्रसिद्ध दौड प्रतियोगिताले यो पुरस्कार प्राप्त गरिसकेका छन् । केही वर्ष रोकिएको यो पुरस्कार यस वर्षदेखि पुनः निरन्तर प्रदान गर्न लागिएको एम्सले जनाएको छ । नेपालगन्ज म्याराथनले २०७२ सालदेखि शान्ति, सद्भाव र एकताको सन्देशसहित आफ्नो यात्रा सुरु गरेको थियो । विस्तृत शान्ति सम्झौताको स्मरणमा सुरु गरिएको यो म्याराथन अहिले पश्चिम नेपालको प्रमुख दौड प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ ।
मुख्य म्याराथनसँगै संस्थाले विभिन्न सामाजिक अवधारणामा आधारित भगिनी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले ‘गौघाट हरित दौड’ र ‘राप्तीसोनारी प्रकृति दौड’ सञ्चालन भइरहेका छन् भने रातिको समयमा सुरक्षित वातावरणको सन्देश दिन ‘नेपालगन्ज १० किलोमिटर रात्रि दौड’ आयोजना गरिएको छ । त्यसैगरी नेपाली कला, संस्कृति र सम्पदाको अन्तर्राष्ट्रिय प्रचारका लागि ‘काठमाडौं २५ किलोमिटर सम्पदा दौड’ सुरु गरिएको छ भने कर्णाली क्षेत्रमा ‘कर्णाली अर्ध म्याराथन’ समेत सञ्चालनमा ल्याइएको छ ।

कोभिड महामारीका बेला पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरेको नेपालगन्ज म्याराथनले गत वर्ष एम्स बोर्ड बैठक तथा नेपाल अन्तर्राष्ट्रिय दौड सम्मेलनसमेत आयोजना गरेको थियो । उक्त सम्मेलनमा १८ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । यस वर्षदेखि ‘एक विश्व एक माइल’ अभियानअन्तर्गत कोहलपुर माइल पनि सुरु गरिँदै छ । साथै ‘नेपाल रनिङ म्यागजिन’ समेत निरन्तर प्रकाशन हुँदै आएको छ ।
संस्थापक टीएस ठकुरीले नेपालगन्ज म्याराथनले खेलकुदलाई सामाजिक अभियानसँग जोडेर निरन्तर काम गर्दै आएको विषयको मूल्यांकनस्वरूप यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको बताए ।















